नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
कतिपय सर्वसाधारण नेपाली जनतालाई अहिले पनि के मात्रै थाहा छ भने, एकजना नेताले भाषण गरेको ठाउँमा पुगेपछि कम्तीमा तीनपटक त अनिवार्यरूपमा ताली बजाउनैपर्छ । यही क्रममा पहिला “नेपालमा सङ्घीयता, गणतन्त्र चाहिन्छ” भन्दा कतिपय जनताले कुरै नबुझीकन ताली बजाएका थिए होलान् । त्यस्तो सुन्ने/सुनाउने बेलामा ‘माओवादी जनयुद्ध’ भएकोले, माओवादी नेता र तिनका छापामारले जे भने पनि ‘हस् हजुर ’ भनेर हात नजोडी धरै थिएन । तर अहिले आएर तिनै ताली बजाउने र ‘हस् हजुर’ नभनी धर नपाउनेहरूले समेत आफूहरूले बढी कर तिर्नुपर्दा नेपालको सत्ताकेन्द्रित राजनीतिबारे बुझ्न थालेका छन् । विदेशीले नेपाललाई सखाप पार्न अनेक चाराहरू छर्दै ल्याएको कुरा बुझ्न बाँकी रहे पनि देश विकास होइन, नेतामय भएको चाहिँ प्रष्ट बुझिसकेका छन् तिनीहरूले । हिजो आश्रय दिई खुवाएर पालिएका मरन्च्याँसे नेता आज चिल्ला, बलिया, सुकिला ज्यान लिएर करोडको जीप र कारमा चढी आफूलाई धुलोहिलो उडाएको/छ्यापेको पनि भोग्दै छन् । आफ्नो अवस्था यस्तो हुनुको कारण तिनै लोभीपापी नेता हुन् भन्ने कुरा त ती आफैँले बुझिसके । शासक नेतागणको राजसी जिन्दगी हामीले नै तिरेको करबाट सम्भव भएको हो भन्ने कुरा पनि ती अबुझी जनतालाई कसैले बुझाइदियो होला ! भलै तिनीहरूलाई नेतागणले गरेका असङ्ख्य भ्रष्टाचारको जानकारी नहोस् ।
यसरी शासक राजनीतिक नेतहरूको चरम स्वार्थी प्रवृत्ति र भ्रष्टाचारी मनोवृत्ति छताछुल्ल भएपछि जनमानसमा यतिखेर वर्तमान राजनीतिक गतिविधिप्रति घोर निराशा र आक्रोश व्याप्त भएको छ । हाम्रा गाउँहरूमा आजकल बूढाबूढी र केटाकेटी मात्र छन् । खानै नपाउनेहरू भारत, आरामदायी जीवन बिताउन चाहनेहरू खाडी र दक्ष जनशक्ति युरोप/अमेरिकातिर जाने क्रम सुरु भएको धेरै भै सक्यो । फेसबुकका भित्ता विदेश जानेलाई बिदाइ गरेका तस्बीरले भरिएका छन् । सबै जिल्ला प्रशासन कार्यालयमा पासपोर्ट बनाउनेहरूको भीड देख्न पाइन्छ । पासपोर्ट बनाउन कम गराउने होइन, पासपोर्ट बनाउने कामलाई छिटोछरितो गराउनेतिर सरकारले ध्यान दिएको देखिन्छ ।
कृषि प्रधान देश भारतलगायत विभिन्न देशबाट अन्न नझिकाई बाँच्न नसक्ने ! हाम्रा अमृतमय फलफूल/तरकारी फल्ने खेतबारी बाँझै राखेर विषादीयुक्त भारतीय फलफूल/तरकारी खान बाध्य गराइएका छौँ हामी ।
देशको आर्थिक अवस्था टाट भै सक्यो । व्यापार घाटा, वैदेशिक ऋण घाँटीघाँटी आइसक्यो । नागरिकका थाप्लामा भएको ऋण झनझन बढ्दै छ । अवस्था यस्तो हुँदा पनि हाम्रा नेतागणलाई चाहेबमोजिमको पद पुगेकै छैन । उपलब्ध सुविधामा चित्त बुझेकै छैन । देशलाई आत्मनिर्भर बनाउने, अनावश्यक खर्च घटाउने, रोजगारी बढाउने, स्वाभिमान बचाउने र सुशासन कायम गर्ने भन्ने विषयमा न त कसैको चिन्ता छ न त कसैबीच मतैक्य !
तिनीहरू फरक फरक नामका छन् । हिजोका दुश्मन भनेर पनि चिनिन्छन् । बेलामौकामा एक अर्काको विरोध गरेझैँ पनि गर्छन् । तर आजका तिनीहरू अन्तरङ्ग मित्र हुन् । मिलेर चुनाव जित्छन् । मिलेर पद बाँड्छन् । मिलेर आफ्नो कार्यकाल तोक्छन् । आफ्नो स्वार्थ र फाइदाका लागि तिनीहरूबीच ‘बृहत् एकता’ र ‘अद्वितीय सहकार्य’ छ ।
पछिल्लो समय, एउटा शक्तिले सरकारको नेतृत्व गरेकै बेलामा उसका अपराधबारे चर्चा हुने वातावरण बनेपछि ‘चोरको खुट्टो काट्’ भन्दा झिकेजस्तो पारा पनि देखियो । यस्तै हो, देश कुपात्रहरूको हातमा परेपछि !
Leave a Reply