भर्खरै :

चर्चा राष्ट्रपतिको, सम्झना सर्वपल्ली राधाकृष्णन्को

चर्चा राष्ट्रपतिको, सम्झना सर्वपल्ली राधाकृष्णन्को

प्लेटोको ‘फिलोसफर किङ्ग’को अवधारणा
स्वतन्त्र भारतको राष्ट्रपतिको निर्वाचनमा विख्यात विद्वान एवं दार्शनिक डा. सर्वपल्ली राधाकृष्णन्ले कूलमतको ९७.९८ प्रतिशत प्राप्त गरे । राधाकृष्णन् स्वतन्त्र भारतको दोस्रो राष्ट्रपतिमा यसरी निर्वाचित भएपश्चात् अङ्ग्रेज दार्शनिक बट्र्रान्ड रस्सेलले घोषणा गरे – “सर्वपल्ली राधाकृष्णन् राष्ट्रपति चुनिनु दर्शनशास्त्रकै ठूलो सम्मान हो । म एक दार्शनिक भएको नाताले प्रफुल्लित भएको छु । यूनानी दार्शनिक प्लेटोले सधँै कुनै पनि देश वा राज्यको राजा दार्शनिक हुनुपर्ने अथवा त्यो देश वा राज्यलाई एक दार्शनिकले शासन गर्नुपर्ने कुरामा जोड दिइरहे । भारतले आफ्नो राष्ट्रपति एकजना दार्शनिकलाई बनाई प्लेटोको सपना साकार पारेका छन् ।” नोबेल पुरस्कार बिजेता ‘द गुड अर्थ’ का लेखक पर्ल एस बकले भारतलाई धन्यवाद र बढाई चढाए । एक दार्शनिक देशको राष्ट्रपति भएकोमा धेरैले प्लेटोको ‘दार्शनिक राजाको अवधारणा’ (Concept of Philosopher King) भारतमा साकार भएकोमा खुशी व्यक्त गरेका थिए ।
नेपालमा आज फागुन २५ गते राष्ट्रपतिको चुनाव हुँदैछ । तर, दुर्भाग्य, राष्ट्रपतिको लागि कुनै दार्शनिक, देशभक्त, कुनै विद्वान वा बौद्धिक, वैज्ञानिक व्यक्तित्वको खोजी र चर्चा कतैबाट भएको देखिएन । उल्टो विदेशी स्वार्थ समूहले आफ्ना कठपुतलीदेखि तावेदार लठुवाहरूलाई राष्ट्रपतिमा प्रस्ताव गरेको देखियो । प्रस्तावित दुई उम्मेदवारहरू पार्टीका शीर्षनेता नै भएपनि विशेष गुण वा क्षमताले युक्त देखिएनन् । न त उनीहरूमा भएको कुनै विशेष सामथ्र्यलाई आजका दिनसम्म कसैले आँैल्याउन सके । प्रस्तावित उम्मेदवारहरू भोलि राष्ट्रप्रमुख भएर म यो गर्छु भन्ने कुनै कार्ययोजना नै पेश गरेको पनि देखिएको छैन् । फगत सरकारी कार्यालयमा तस्बिर झुण्ड्याउने र कार्यकाल सकिएपश्चात् सरकारी ढुकुटीबाट पूर्व राष्ट्रपतिले पाउने सुविधा र भत्ताको दाबी गर्नेबाहेक उनीहरूले अरू केही गर्लान् भनेर जनताले आशा गरेका छैनन् । हाम्रा विगतका दुई राष्ट्रपतिहरू र अहिले प्रस्तावित उम्मेदवारहरूको विगत र उनीहरूको कार्य क्षमतालाई सर्सर्ती मूल्याङ्कन गर्दा जनताको हातमा शुन्यबाहेक केही नपर्ने पक्कापक्की छ ।
हाम्रो देशको राजदूतहरूको नियुक्ति, राष्ट्रपतिको निर्वाचनको पृष्ठभूमी र राष्ट्रपतिका उम्मेदवारहरूको क्षमता र स्वतन्त्र भारतमा राजदूत र राष्ट्रपतिहरूको छनोटको पृष्ठभूमि र क्षमताका बारेमा केही चर्चागर्दा हाम्रो राजनैतिक नेतृत्वको क्षमता, देशप्रति उनीहरूको माया र चिन्तनका बारेमा अनुमान लगाउन सहज हुनेछ ।

राधाकृष्णन् सोभियत सङ्घको निम्ति भारतीय राजदूत
दोस्रो विश्वयुद्धको समाप्तिपश्चात् ‘भारत छोड’ आन्दोलनका राजनैतिक बन्दीहरूलाई अङ्ग्रेज सरकारले धमाधम रिहा गर्दै थियो । हिन्दूस्तान अङ्ग्रेजको दुई सय वर्षको उपनिवेशबाट स्वतन्त्र हुँदै थियो । स्वतन्त्र घोषणा हुनुअघि सत्ता हस्तान्तरणको सङ्क्रमण कालमा सन् १९४६ सेप्टेम्बरमा जवाहरलाल नेहरूको नेतृत्वमा एक अन्तरिम सरकार गठन गरिसकेको थियो । विभिन्न देशहरूसँग भारतको दौत्य सम्बन्ध कायम गर्नु अति आवश्यक थियो र बेलायत एवम् अमेरिकालाई रिझाउँदै अगाडि बढ्नु पनि कम चुनौतीपूर्ण थिएन । सन् १९१७ को अक्टोबर क्रान्ति, सो क्रान्तिका नेता लेनिन र स्तालिन नेतृत्वको सोभियत सङ्घले गरेको विकास र समाजवादी विचारबाट प्रभावित सम्झिएका नेहरूले सर्वप्रथम सोभियत सङ्घसँग राम्रो दौत्य सम्बन्ध कायम गर्न आफ्नै बहिनी विजयालक्ष्मी पण्डितलाई सोभियत सङ्घको लागि पहिलो राजदूत नियुक्ति गरे । विजयालक्ष्मी पण्डित नेहरूकी बहिनी मात्र थिइनन्, उनी स्वतन्त्रता सङ्ग्रामका एक योद्धा, यूपीका मन्त्रीमण्डलका मन्त्री र विशेष एवम् आकर्षक व्यक्तित्वका धनी समेत थिइन् । यद्यपि, तिनीले सोभियत सङ्घसँग भारतको दौत्य सम्बन्ध स्थापना गर्नबाहेक सम्बन्धलाई कुनै विशेष बनाउन सकिनन् । अझ उनले स्तालिनको भेटसम्म पनि पाइनन् । पछि विजयालक्ष्मीलाई भारत सरकारले अमेरिकाको लागि राजदूत बनायो । यता नेहरू सोभियत सङ्घको लागि नयाँ राजदूतको उम्मेदवारको लागि विशेष व्यक्तित्वको खोजीमा देवदास गान्धिदेखि के एम पनिकरसम्मलाई नियाल्दै थिए । यही सिलसिलामा उनले सर्वपल्ली राधाकृष्णन्लाई सम्झे । राधाकृष्णन्को भारतीय वैचारिक परम्पराको व्याख्या, पूर्वीय दर्शन र सभ्यताबारे उनको ज्ञानबाट नेहरू स्वयं प्रभावित र आफ्नो लेख रचनामा समेत उनले राधाकृष्णन्को विचार साभार गरेका थिए । राधाकृष्णन् बनारस हिन्दू विश्वविद्यालयमा चान्सलर हुँदा धेरै पटक उनीसँग साक्षात्कार र सास्त्रार्थ गरेका थिए । उनी तीव्र गतिमा बदलिरहेको विश्व परिवेशसँग परिचित थिए । ‘लिग अफ नेसन’ र यसअन्तर्गतको युनेस्कोको कार्यमा उनको योगदान अतुलनीय थियो । त्यसैले सर्वपल्ली राधाकृष्णन् अन्तर्राष्ट्रिय मन्चमा पनि प्रख्यात थिए । उनको यहि गुण क्षमताको कारणले बदलिँदो परिवेश र सोभियत सङ्घसँग भारतको बलियो सम्बन्ध कायम गर्न नेहरूले राधाकृष्णन्लाई नै उपयुक्त राजदूत हुनसक्ने आकलन गरी उनलाई १२ जुलाई १९४९ मा मस्कोको निम्ति राजदूत नियुक्ति गरे ।
नेहरूको छनोटलाई धेरैले आश्चर्य र खुशीले स्वागत गरे । नेहरूको तर्क थियो – ‘सर्वपल्ली राधाकृष्णन्को छनोट एउटा ठूलो प्रयोग पनि हुनेछ । विदेशी भूमीमा अब भारतीय भाषा होइन बरु भारतीय मस्तिष्क बोल्ने छ । अरुलाई यो अलि अप्ठेरो सुन्ला, तर उनीहरूलाई बिस्तारै महसुस गराउनुपर्छ र पछि बुझ्ने छन् भारत खाली पश्चिमको छायाँप्रति मात्र होइन ।’ नेहरूलाई सायद लाग्यो, विजयालक्ष्मीलाई सोभियत सङ्घले नस्वीकार्नुमा भारत र उनका प्रतिनिधिले अमेरिका र बेलायतप्रति बढी झुकाव राखेको भ्रमलाई सर्वपल्ली राधाकृष्णन्को विद्वताले चिर्नेछ । नेहरूको आकलन पछि सही साबित भयो ।
स्तालिनसँग राधाकृष्णन्को साक्षात्कार
अक्सफोर्ड विश्वविद्यालयमा आबद्ध भएका राधाकृष्णन्ले उनको त्यो आबद्धता रहिरहने सर्तमा मात्र राजदूत पद स्वीकारेका थिए । त्यस सर्तअनुसार उनले वर्षमा आठ हप्तासम्म अक्सफोर्डमा पढाउन पाउने भयो । मस्कोमा उनी कार्यरत भएको केही हप्तापछि क्रेमलिनबाट खबर आयो – स्तालिनले राधाकृष्णन्सँग आजै (खबर आएकै दिन) भेट्न चाहेका छन् । राधाकृष्णन्को राति ढिलो नसुत्ने बानीको कारण भेटघाटको समय बेलुकी ९ बजे तय गरियो । सामान्यतया यस्तो भेटघाट स्तालिन मध्यराति मात्र गर्थे । क्रेमलिनको शिष्टाचार महापालले एक कोठाबाट अर्को गर्दै उनलाई स्तालिनको कोठासम्म पु¥याए । स्तालिन तत्कालीन सोभियत विदेशमन्त्री भेनेस्काईसँग थिए र अनुवादक प्याभलभ थिए । तीन घण्टा चलेको बैठकमा राधाकृष्णन्ले स्तालिनलाई ‘मार्शल’ र स्तालिनले उनलाई ‘प्रोफेसर’ भनी सम्बोधन गरेका थिए । उक्त भेटघाटमा राधाकृष्णन्ले स्तालिनलाई, ‘अध्यक्ष महोदय, तपाईँलाई भेट्न यस्तो किन गा¥हो ?’ भनी पहिलो प्रश्न गरेका भनिन्छ । प्रतिउत्तरमा स्तालिनले हाँस्दै, ‘मलाई भेट्न गा¥हो ? लौ, अहिले हामीसँगै छौं त’ भनी बैठकको वातावरणलाई कुराकानी गर्न सहज बनाउँदै राजनीतिका विभिन्न आयामका बारेमा छलफल गरेका थिए । कुराकानीकै क्रममा राधाकृष्णन्ले आज रुसी जनता जहाँ छन् ती सब उनीहरूकै कारण भएका र रुसले भारतबाट अहिले केही पाउनु छैन तर भारतले रुसबाट धेरै आशा गर्ने र सिक्ने कुराहरू भएको तर यसको अर्थ भारतको परिवेशमा नसुहाउने कुनै कुरा भारतले रुसबाट नक्कल गर्नुपर्छ भन्ने बाध्यता होइन भनेका थिए । कुराकानीकै सिलसिलामा राधाकृष्णन्ले स्तालिनलाई विनाशकारी कलिंगाको युद्धको जीतपछि सम्राट अशोक युद्धबाट आजित हँुदै पछि भिक्षु भएको प्रसङ्ग कोट्याउदै स्तालिन स्वयंले धेरै युद्धहरू भोगिसकेकाले उनीपनि पछि अशोकजस्तै नहोला भन्न नसकिने अभिव्यक्तिको जवाफमा स्तालिनले हाँस्दै, ‘हो चमत्कारी घटनाहरू घट्छन्, मैले पनि धार्मिक कलेजमा पाँच वर्ष बिताएको थिएँ ।’ भनेका थिए । वार्तालाप सकिएपछि स्तालिनले उनका अनुवादक प्याभलभलाई राधाकृष्णन्को बारेमा उनी सङ्कीर्ण देशभक्त नभएको र साँच्चिकै मानवीय पीडामा उनको मन दुख्ने बताएका थिए । भनिन्छ, राधाकृष्णन् र स्तालिनको यही भेटवार्ताले भारत र सोभियत सङ्घबीचको सुमधुर सम्बन्ध कायम हुन ढोका खोलेको थियो ।
आफ्नो कार्यकाल सम्पन्न गरी भारत फर्कने दिन राधाकृष्णन्को सन्मानमा रुसी विदेशमन्त्री भेनेस्काईले दिवाभोजको आयोजना गरे । रुसी विदेश विभागले आफ्नो देशमा रहेका विदेशी कूटनीतिज्ञहरूका लागि आयोजना गरिएको यही नै पहिलो दिवाभोज थियो । दिवाभोजकै क्रममा स्तालिनले उनलाई भेट्न खोजेको जानकारी आयो । हतारमा भेटघाटको चाँजोपाजो मिलाइयो । विभिन्न दस्तावेजका अनुसार, यस भेटघाटमा राधाकृष्णन्ले स्तालिनको गालामा हल्का थप्थपाए र उनको हात स्तालिनको शीरतिर लगे । प्रतिक्रियामा स्तालिनले भनेका थिए – “तपाईँ नै पहिलो व्यक्ति हुनुभयो जसले मलाई एक सामान्य मानवको रूपमा व्यवहार गर्नुभयो न कि कोही भिमकाय व्यक्तिका रूपमा । तपार्इँ जाँदै हुनुहुन्छ हामीलाई दुःख लागेको छ, तपाईँको लामो आयुको कामना गर्दछु ।” राधाकृष्णलाई बिदाइ गर्दा स्तालिनको आँखा रसाएको कुरा राधाकृष्णन्ले पछि सम्झना गरेको बताइन्छ । यही भेटघाटको छ महिनापछि स्तालिनको निधन भएको थियो ।

उपराष्ट्रपति र स्कूल अफ हेलास
सोभियत सङ्घमा अत्यन्तै सफल राजदूतको रूपमा कार्य गरेका राधाकृष्णन्बाट नेहरू सा¥है प्रभावित भए र उनीमाथि थप सन्मान र आस्था प्रकट गर्दै नेहरूले उनलाई भारतको उपराष्ट्रपतिको रूपमा कार्य गर्न आग्रह गरे । सन् १९५२ मे महिनामा राधाकृष्णन् भारतको उपराष्ट्रपतिमा ५ वर्षका लागि निर्वाचित भए । त्यतिबेला भारतको उपराष्ट्रपति माथिल्लो सदन राज्यसभाको पदेन अध्यक्ष हुने प्रावधान थियो । राज्यसभा सञ्चालनमा उनले प्राविधिक कुराहरूलाई ध्यानदिनुभन्दा धेरै सरल र सहजरूपमा विनोदभावका साथ सभालाई अगाडि बढाए । जब कोही सदस्य आवेशमा आई बोल्न थाल्छ राधाकृष्णन्ले विद्यार्थीलाई शिक्षकले भनेजस्तै मुसुमुसु हाँस्दै भन्थे, ‘माननीयज्यू तपार्इँले धेरै बोल्नुभयो अब बस्नुस् ।’ माननीयहरू गुरुको आज्ञापालक शिष्यजस्तै थच्चक कुर्सीमा बस्थे । के गरम, के नरम सबै पार्टीका माननीयहरूले राधाकृष्णन्को अध्यक्षता र राज्यसभाको सञ्चालनलाई सहजै स्वीकारे र प्रशंसा गरे । राज्यसभामा राधाकृष्णन् वरिष्ठ सदस्यको आदर गर्थे र कनिष्ठलाई उत्साहित गर्थे । कम्युनिस्ट पार्टीका हिरन मुखर्जीले राज्यसभा र राधाकृष्णन्द्वारा यसको सञ्चालनलाई ‘स्कूल अफ हेलासको’ (School of Hellas) को संज्ञा समेत दिएका थिए । प्राचिन यूनानको एथेन्स्मा इशापूर्व ४६१ देखि ४२९सम्मको करिब तीन दशको समयका शासक पेरिकल्स् थिए । पेरिकल्स् स्वयं पनि वाक्कलामा पोख्त मानिन्थे । उनको नेतृत्वमा एथेन्समा कला, साहित्य, संस्कृति, विज्ञान, दर्शन र ज्ञानका अरु धेरै विधाहरूको विकास भएको थियो त्यसैले पेरिकल्सले त्यतिबेला एथेन्सलाई ‘स्कूल अफ हेलास’ भन्थे । वास्तवमा यस युगलाई ‘एथेन्सको स्वर्णयुग’ पनि भनिन्थे ।
मुखर्जीले राधाकृष्णन्को प्रशंसा गर्दै भनेका थिए– उनले मात्र आलङ्कारिक पदको रूपमा रहेको र राष्ट्रपतिको मृत्युपश्चात् जागा हुने उपराष्ट्रपतिको छविलाई जीवन्त बनाए । कहिलेकाही उपद्रवसमेत मच्चिने राज्यसभालाई राधाकृष्णन्ले आफ्नो ज्ञान र विवेकले शान्त र सौम्य बनाए । भारतीय कङ्ग्रेस पार्टीको सहयोग र समर्थनमै उनी उपराष्ट्रपति भएपनि उनले कङ्ग्रेस सरकारले गरेको आपतिजनक कार्यलाई समर्थन गरेनन् । देशका यस्ता विभिन्न घटनाहरूका बारेमा राष्ट्रपति राजेन्द्रप्रसादसँग उनको गहिरो संवाद हुन्थ्यो । सन् १९५९ मा केन्द्रीय सरकारले केरलाको कम्युनिस्ट सरकारलाई दबाएको घटनालाई लिएर राष्ट्रपति र उपराष्ट्रपति दुवैले एकै स्वरमा भारतको कङ्ग्रेस सरकारले यस्तो कार्य गरेर केही नैतिक आधार गुमाएको अभिव्यक्ति दिएका थिए ।

अन्तमा,
सर्वपल्ली राधाकृष्णन् राजदूत हुँदा होस् या दुई कार्यकालसम्म उपराष्ट्रपति हँुदा होस् या अर्को दुई कार्यकाल राष्ट्रपति हुँदा होस् उनको सादगी जीवनमा कुनै परिवर्तन आएको थिएन । सामान्त्न्दा सामान्य खानपान र हरेक समय संसारको कुनै कुनामा रहँदा पनि उही भारतीय पोशाकलाई नै उनको आफ्नो प्रमुख पहिरन बनाए । अध्ययन र शास्त्रार्थ, लेखन र छलफल उनको जीवनको पर्याय रह्यो । राजनैतिक मुद्दामा कसैले सल्लाह माग्न आउँदा होस् या दिन आउँदा होस् उनले सबै स्तरका व्यक्तिहरूलाई उत्तिकै महत्व दिए । संस्कृति, सभ्यता, दर्शन, धर्म वा कुनै शैक्षिक विषयलाई लिएर उनको विचार र अभिव्यक्तिका लागि आउने जो कसैलाई उनले समय दिए र सन्तुष्ट तुल्याए ।
राष्ट्रपति हँुदै पनि राजनैतिक मुद्दालाई लिएर उनले आफूलाई लागेका कुराहरूमा प्रधानमन्त्री नेहरूसँग धेरै कुराहरूमा विमति जनाउन पछि परेनन् । विशेष गरेर भारत– चीन युद्धको समयमा भारतीय सरकारका तर्फबाट भएका कमीमजोरीहरूलाई उनले पटक पटक औँल्याए । रक्षामन्त्री कृष्ण मेननलाई हटाउन होस् या उत्तरपूर्व प्रान्तको लेफ्निेन्ट जनरललाई हटाउन होस् उनले नेहरूलाई दबाब दिँदै गरे ।
छिमेकी भारतसँग रोटीबेटीको सम्बन्ध र विशेष सम्बन्धको चर्चा गर्न रुचाउने हाम्रा नेताहरूले त्यहाँ कसलाई र कसरी राजदूत, उपराष्ट्रपति वा राष्ट्रपतिको लागि चयन गर्छन् थोरै सिको गर्दा आउँदा दिनमा देश र जनताको लागि केही राम्रो होला भन्ने आशा गर्न सकिएला कि !!?
२४ फागुन २०७९

Leave a Reply

Your email address will not be published. Required fields are marked *