भर्खरै :

सोभियत सङ्घमा अन्तर्राष्ट्रिय नारी दिवस

सोभियत सङ्घमा अन्तर्राष्ट्रिय नारी दिवस

२० औँ शताब्दीको प्रारम्भमा उत्तर अमेरिका र युरोपमा सुरु भएको मताधिकार र श्रमिक आन्दोलनले विश्वव्यापी महिला आन्दोलनलाई नयाँ उचाइमा पु¥यायो । २८ फेब्रुअरी १९०९ मा अमेरिकी समाजवादी पार्टीद्वारा न्युयोर्क सहरमा आयोजित राष्ट्रिय महिला दिवस सायद प्रथम राष्ट्रिय दिवस थियो । यसले सन् १९१० मा कोपेनहेगनमा आयोजित अन्तर्राष्ट्रिय समाजवादी सम्मेलनका महिला प्रतिनिधिहरू क्लारा जेट्किन, केटे डन्कर, पाउला थाइडे आदिलाई हरेक वर्ष विशेष महिला दिवस आयोजना गर्ने प्रस्ताव गर्न प्रेरित गर्यो । अर्काे वर्ष, मार्च १९, १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, डेनमार्क र स्विट्जरल्यान्डमा दस लाखभन्दा बढी मानिसहरूले मनाए । सन् १९१४ मा पहिलो पटक जर्मनीमा ८ मार्चमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो ।
८ मार्च १९१७ (जुलियन क्यालेन्डरअनुसार २३ फेब्रुअरी, १९१७) मा रुसको राजधानी पेत्रोग्राडमा महिला कपडा मजदुरहरूले एक प्रदर्शन सुरु गरे । यसले फेब्रुअरी क्रान्तिको सुरुवातसँगै अन्ततः अक्टोबर क्रान्ति जन्मायो ।

८ मार्च १९१७ मा रुसको राजधानी पेत्रोग्राडमा भएको महिला प्रदर्शन
१९१७ मा सोभियत रूसमा महिलाहरूले मताधिकार प्राप्त गरेपछि मार्च ८ लाई राष्ट्रिय दिवस मनाएका थिए । सोभियत रूसमा अन्तर्राष्ट्रिय नारी दिवसको आधिकारिक ग्रहणपछि समाजवादी देशहरूमा यसलाई राष्ट्रिय पर्वको रूपमा र अन्य देशहरूमा समाजवादी आन्दोलनको रूपमा मनाउन थालियो । मे ८, १९६५ मा सर्वोच्च सोभियतको निर्णयले अन्तर्राष्ट्रिय महिला दिवसको दिन सोभियत सङ्घमा छुट्टी दिने घोषणा गर्यो ।
सोभियत उद्योग कलकारखानाहरूमा महिलाहरूले काम गर्ने अवसर, समान ज्याला, र विश्रामको कानुनी व्यवस्था, शिक्षाको ग्यारेन्टी र राज्य सञ्चालनमा पुरुष सरह समान अधिकार प्राप्त गरे । विश्वमा सर्वप्रथम प्रसव र सुत्केरी बिदा सोभियत रसियामा २७ नोभेम्बर १९१७ को जन कमिसार परिषद्को निर्णयबाट सुरु गरिएको थियो ।
सन् १९६० को दशकको अन्ततिर नारीवादी आन्दोलनले यसलाई स्वीकार गरेपछि यो विश्वव्यापी बन्यो । सन् १९७७ मा संयुक्त राष्ट्रद्वारा मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला दिवसको दर्जा दिइयो र अब संसारभर मनाइन थालियो ।
सोभियत समाजमा महिलाहरूको ठूलो सम्मान थियो । समाजको हरेक क्षेत्रमा उनीहरूको दर्बिलो उपस्थिति थियो । महिला साक्षरता १०० प्रतिशतमात्र नभएर उनीहरू शिक्षा, कला, साहित्य, विज्ञान, प्रविधिमा पनि पुरुषकै हाराहारीमा देखिन्थे ।
हाम्रो अध्ययनताका स्कूल होस् या कलेज, विद्यार्थी होऊन् या प्रोफेसर सोभियत सङ्घमा महिलाहरूको बोलवाला हुनेगथ्र्यो । हाम्रा कक्षाहरू यसका साक्षी थिए । त्यहाँ केटीहरूको तुलनामा केटाहरूको सङ्ख्या कम हुन्थ्यो । हाम्रा प्रायः भाषा शिक्षिकाहरू महिला थिए । हुन पनि त्यो बेला जुनबेला नेपाली महिलाको साक्षरता दर १.८ प्रतिशतमात्र थियो । भ्यालेन्टिना तेरेस्कोभा अन्तरिक्षमा पुग्ने प्रथम महिला बनिसकेकी थिइन् । त्यो पनि २६ वर्षको कलिलो उमेरमा । उनको यो उडान विश्व महिला जगतको लागि प्रेरणाको स्रोत बन्यो । हामीले खार्कोभ पढ्दा प्रायः ट्रामका चालकहरू महिला देख्थ्यौँ । लाग्थ्यो, वास्तविक नारी मुक्ति कहीँ छ भने त्यो सोभियत भूमिमा छ ।
१९८४ मा खार्कोभमा आयोजित नारी दिवसको उपलक्षमा ट्राम ट्रलीबस विभागको छात्रावासहरूबिच “हामी महिलालाई सम्मान गर्छौँ” शीर्षकमा एमोच्योर कला प्रतियोगिता ।
सोभियत कालमा ८ मार्चको दिन महिलाहरू परम्परागत कामबाट मुक्त हुन्थे । पुरुषहरूले भान्सा सम्हाल्थे, अपार्टमेन्ट सफा गर्थे र आफ्नै हातले केक पकाउनेदेखि र घरको काम इमानदारीपूर्वक गर्न हरसम्भव प्रयासरत रहन्थे । यसलाई महिलाको विशेषाधिकार मानिन्थ्यो । ठाउँ ठाउँमा नारीहरूको सम्मानमा गीति कार्यक्रम र कन्सर्ट गरिन्थे ।

अन्तर्राष्ट्रिय नारी दिवस १९४९ मा सोभियत सरकारबाट निष्कासित हुलाक टिकट
अरू त अरू सोभियतकालमा ८ मार्चको दिन हाम्रो नेपाली छात्र सङ्घले समेत बर्सेनि नारी दिवस कार्यक्रम आयोजना गर्ने गथ्र्यो । सोभियत सङ्घ ढलेको तीन दशकभन्दा धेरै भइसक्यो । १९८० पछि जन्मेका त्यहाँका पुस्तालाई त त्यो बेलाको सोभियत परम्परा थाहा छैन होला । यद्यपि, आजसम्म सोभियत दीक्षित नेपाली अलमुनीहरूको संस्था मित्रकुञ्जले अन्तर्राष्ट्रिय नारी दिवसलाई निरन्तरता दिँदै आएको छ । सोभियत सङ्घमा यो दिवसलाई चाडपर्वजस्तै कति भव्यरूपमा मनाइन्थ्यो त भन्ने कुराको प्रमाण हो यो ।
लामो हिमपात र जाडो पछि मार्चको यो पर्वलाई वसन्तको पर्व पनि भनिन्छ । मे १ को श्रमिक दिवस, मे ९ को ‘विजय दिवस’ पर्वहरू जस्तै ८ मार्च कैयन् सोभियत पुस्ताको लागि संस्कृतिको अभिन्न अङ्ग बन्न पुग्यो ।
यो चाडपर्वको अवसरमा महिलाहरूलाई परम्परागतरूपमा फूल, पोस्टकार्ड र उपहारहरू मात्र नभएर, सम्मानपत्र, धन्यवाद र पुरस्कारहरू प्रदान गरिन्थ्यो । नारी दिवसमा अरू नभए पनि हाम्रो नेपाली विद्यार्थीहरूको फोकल टिचर ल्यूदमिला भिक्तोरोभ्नालाई मैले नेपाली कार्डहरू उपहार दिने गर्थेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *