भर्खरै :

एकता हो कि ए कता ?

एकता हो कि ए कता ?

सिद्धान्त र विचारको आधारमा पार्टी एकता हुनु स्वाभाविक हो । सिद्धान्त र विचारको आधारमा भएको पार्टी एकता दरिलो या टिकाउ हुन्छ । तर, यहाँ पार्टी एकता कहिले निर्वाचनमा बढीभन्दा बढी जित्न भएको हुन्छ त कहिले सरकारमा सामेल हुन या भागबन्डा पाउन हुन्छ । पार्टी एकताको कुरा एमाले र एकीकृत समाजवादीबिच भयो । एसका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने लोभमा एमालेले पार्टी एकताको कुरा गरेको थियो । माओवादी केन्द्र र एकीकृत समाजवादीबिच पनि पार्टी एकताको कुरा भयो । एस नेपालको तीन प्रतिशत नपुगेपछि र एमालेलाई टक्कर दिन एकताको प्रसङ्ग उठेको थियो । यस्तै एकताको कुरा पूर्वका माओवादी दलहरूमाझ पनि उठेको थियो । माओवादी दलहरू धेरै टुक्रामा विभाजित थिए ।
देशका वकिलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेपछि पूर्वमाओवादीहरू एकै ठाउँमा बसेर एकताको कुरा गर्न लागेका हुन् । तर, अहिलेसम्म कुन कुन दल कुन कुन दलसँग एकता हुने हो ? टुङ्गो लागेको छैन । एकता भइहाले पनि कति समय टिक्ने हो ? निश्चित छैन । वर्तमान प्रम दाहालले ‘जनयुद्ध’ को बेला ५ हजारको हत्या अभियोगको जिम्मेवारी आफूले लिने बताएको आधारमा निजमाथि अदालतमा कारबाहीको माग गर्दै मुद्दा दर्ता गरिएको हो । मुद्दाको प्रकरण कहाँसम्म पुग्छ ? त्यसले कुन रूप लिन्छ, त्यो आफ्नो ठाउँमा छ । तर, यतिबेला उक्त मुद्दाबारे देशभरि चर्चा परिचर्चाको विषय बनेको छ ।
यसरी कहिले बहुमत ल्याउने नाउँमा, कहिले सरकार टिकाउने नाउँमा त कहिले आफूहरू सुरक्षित हुनको निम्ति पार्टी एकताको प्रसङ्ग उठेको देखिन्छ । यतिबेला उक्त मुद्दाबाट पार लगाउन कानुन नै परिवर्तन गरेर अपराधीहरू सजायबाट मुक्त पाउने बाटो खोजिरहेको पनि राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ । यसरी नै सरकारले यसअघि जुनसुकै कारणले सम्पत्ति आर्जन गरे पनि वैध बनाउने विधेयक ल्याएको थियो । कर तिरेपछि जुनसुकै सम्पत्ति वैध हुने व्यवस्था ल्याउने वर्तमान सरकार स्वच्छ छविको नभएको प्रस्ट हुन्छ । त्यस्तो कार्यक्रममा कम्युनिस्ट भनिने माओवादी र एकीकृत समाजवादीहरू पनि किन लागेका हुन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *