भर्खरै :

स्वच्छ राजनीति नहुँदा देश पराधीन

सत्ता र शक्तिमा रमाउने शासकहरूको प्रवृत्तिले गर्दा देशको अवस्था बिग्रिँदै गएको हो । शासकहरूले व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि रहेर देशको लागि राजनीति गरेनन् । प्रतिनिधिसभा र प्रदेशसभाको निवार्चनमा गर्जेका केही दलका नेताहरू पनि सत्ताको राजनीतिमा भुले । तिनीहरू लामो समय सरकार नबसे पनि सत्ताको निम्ति राजनीति गरेको कुरा पुष्टि भयो । सीमित वर्गको हितमा भुलेका शासकहरू बहुमत जनताको ख्याल गर्दैनन् । देश विकास नहुनु र जनताको जीवन स्तर नउठ्नुको कारण पनि देशको पुँजीवादी व्यवस्थाले गर्दा हो । केही गर्ला कि भन्ने आशा पलाएका ती दलका नेताहरू सत्ताको राजनीतिमा मुछेको कारण बदनाम भयो । जनताको हितमा खासै काम गर्न नपाउँदै तिनीहरू सत्ताबाट च्युत भए । पालैपालो सत्तामा बस्ने, हुनसम्मको सेवा सुविधा लिने पैसामुखी राजनीतिले नेताहरूमा बाँकी रहेको देशभक्ति भावना, इमानदारिता र जनहितको कुरा सबै बगायो ।
साँच्चै मुलुक बनाउन हरेक शासकहरूले आ–आफ्नो पदको जिम्मेवारी बहन गर्नुपर्छ । जिम्मेवारी बहन नगरी सेवा सुविधामात्र खोजेका कारण शासक या मन्त्रीहरू भ्रष्टाचार र अनियमिततामा फसे । नेताहरू अवसरवादी भए । उनीहरू स्वार्थी भए । उनीहरू विदेशी दलाल बने । देश र देशवासीभन्दा उनीहरू विदेशी शासक र विदेशी शक्ति राष्ट्रहरूको उठबसमा लागे । अरू देशको भरमा रहेको हुँदा देशलाई कसरी अघि बढाउने, मुलुकको चेहरा कसरी बदल्ने भन्नेबारे उनीहरू चिन्तित भएनन्† संवेदनशील बनेनन्† जिम्मेवारी पूरा गर्न लागेनन् । यसकारण, देशमा राजनीतिक अस्थिरता देखियो, आर्थिक सङ्कटका लक्षणहरू देखिन थाले । सरकारमा सहभागी नभइकन पार्टी चल्दैन भन्ने दलका नेताहरूको मान्यताले देशमा स्वच्छ राजनीति अघि नबढेको हो । अस्वस्थ प्रतिस्पर्धा हुँदा या स्वच्छ राजनीतिले ठाउँ नपाउँदा देश एकपछि अर्काे पराधीन बन्दै गएको हो ।
शासक दलका नेताहरूले सत्ता स्वार्थको निम्ति दलको सिद्धान्त र विचारमा आँच पु¥याउने काम गर्नु हुँदैनथ्यो । सिद्धान्त, दर्शन र विचार छोडेर अवसरको राजनीति गर्नु हुँदैनथ्यो । तर, यहाँ सरकारमा जान पाएपछि सरकार टिकाउन या सरकार ढाल्न सिद्धान्त र विचार पक्षलाई लात मार्ने काम शासकहरूले गरिरहेका छन् । यही कारण देशको स्थिति झन्झन् जटिल बन्दै गएको हो । सीमित वर्गको पक्षमा राजनीति गरेर राज्यको ढुकुटी रित्याउने काममा शासकहरू लागिरहेका छन् । देशमा सुशासन छैन । विधिको शासन नाउँमात्रको छ । लोभलालचमा भुलेसम्म, झूटको राजनीति भइरहेसम्म न सरकारप्रति जनताको विश्वास बढ्छ, न त देशलाई निश्चित दिशामा लान सकिन्छ । यसकारण, शासकहरू जहिल्यै नैतिकवान, इमानदार, दूरदर्शी, देशभक्त, देश र जनताप्रति समर्पित हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *