नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा २०७३ सालयता स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आउँदो चैत ५ गते हुँदै छ । स्ववियु निर्वाचनलाई भौतिक बल र धनको प्रतिस्पर्धाको रूपमा लिने शासक दलका विद्यार्थी सङ्गठनहरूको प्रवृत्तिविरुद्ध नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले स्ववियु निर्वाचनलाई वैचारिक सङ्घर्ष र घोषणापत्रको प्रतिस्पर्धाको रूपमा उपयोग गर्दै आएको छ ।
नेक्राविसङ्घ र नेपाली विद्यार्थी आन्दोलन
नेपाली विद्यार्थी आन्दोलनमा देखापरेका देउसीवादी (आत्मसमर्पणवादी) प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्दै विसं २०२६ सालमा नेक्राविसङ्घ स्थापना भएको हो । नेपालको शैक्षिक आन्दोलन, देश र जनताको विषयमा नेक्राविसङ्घ सक्रियताका साथ सङ्घर्षमा लागिरहेको छ । सामन्तवादी तथा पुँजीवादी राजनीतिक बन्दोबस्तले बहुमत श्रमजीवी नेपाली जनताको हित गर्न नसक्ने प्रस्ट ठम्याइका साथ नेक्राविसङ्घ समाजवादी व्यवस्था स्थापनाको लागि क्रियाशील छ । सामन्तवाद र पुँजीवादले केही व्यक्तिको मात्र हित गर्छ भने समाजवादले सबैको हित हेर्छ ।
नेक्राविसङ्घ नेपाली विद्यार्थी आन्दोलनमा देखिएको सिद्धान्तहीन गठबन्धन र आत्मसमर्पणवादी तथा अराजनीतिक प्रवृत्तिको विरोधमा उभिएको छ । नेक्राविसङ्घले सधैँ सिद्धान्तनिष्ठ, क्रान्तिकारी र देशभक्त पक्षको अगुवाइ गर्दै आएको छ । सङ्घले मुखले चर्काे–चर्को कुरा गर्ने तर व्यवहारमा बहुमत श्रमजीवी वर्गका विद्यार्थीलाई विश्वासघात गर्नेलाई उदाङ्ग्याउँदै आएको छ । त्रिविबाट उपयुक्त विकल्पबिना प्रवीणता प्रमाणपत्र तह विस्थापन र स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गर्ने निर्णयमा शासक दलका विद्यार्थी सङ्गठनहरू नेविसङ्घ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले साक्षी बस्ने र निजी विद्यालयलाई पोस्ने अक्षम्य अपराध गरे । तर, नेक्राविसङ्घ अन्तिम क्षणसम्म प्रवीणता प्रमाणपत्र तह यथावत् राख्न सङ्घर्षमा रह्यो ।
नेक्राविसङ्घ देशको सार्वभौमिकता एवम् भू–अखण्डता रक्षा, शिक्षासँग जोडिएका न्यायपूर्ण राजनीतिक आन्दोलनमा लागिरह्यो र आत्मसमर्पणवादकोे विरोध ग¥यो । तर, पुँजीवादी विद्यार्थी सङ्गठनहरूमा झाङ्गिएको शिक्षालाई निजीकरण गर्ने चरित्रले गर्दा आज नेपाली विद्यार्थीहरू शिक्षाको लागि समेत विदेसिनुपर्ने अवस्था आयो । पुँजीवादी विद्यार्थी सङ्गठनहरूले ठूलठूला कुरा गर्ने तर बोलेका कुरा पूरा नगर्ने भए । पञ्चायतकालमा मण्डले विद्यार्थीले गर्ने दङ्गाफसाद, भ्रष्टाचार र छलछामको राजनीति आज ‘मूलधार’ दाबी गर्ने विद्यार्थी सङ्गठनहरू गर्दै छन् । यसरी ती सङ्गठनहरू हिजोका मण्डलेहरूका आधुनिक संस्करण बन्न पुगेका छन् ।
नेक्राविसङ्घले कामदार वर्गका विद्यार्थीहरूको साझा सङ्गठनको रूपमा देशभक्त, अनुशासित पहिचान स्थापित गरेको छ । नेक्राविसङ्घको यो छविलाई निरन्तरता दिनु अहिले सम्पूर्ण क्रान्तिकारी, सिद्धान्तनिष्ठ, देशभक्त र अनुशासित विद्यार्थीहरूको कर्तव्य हो ।
नेपालको शिक्षा व्यवस्थाबारे नेक्राविसङ्घको विश्लेषण
पँुजीवादले केही व्यक्तिको मात्र हित गर्छ भने नवउदारवाद एक आक्रामक पुँजीवाद हो । साम्राज्यवादले आर्थिकरूपमा कुनै देशलाई नियन्त्रणमा लिन नवउदारवादी अर्थनीति लागू गर्छ । शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता सामाजिक क्षेत्रहरूमा राज्यको लगानी कटौती गराइन्छ । यी क्षेत्रलाई पनि सेवाभन्दा व्यापारको रूपमा हेरिन्छ । साम्राज्यवादी देशहरूका नवउदारवादी ज्यावलहरू विश्व बैङ्क, एसियाली विकास बैङ्क, युरोपियन युनियन, अन्तर्राष्ट्रिय मुद्रा कोष र बहुराष्ट्रिय कम्पनीहरू हुन् । यी संस्थाहरूलाई ‘दातृ निकाय’ भनी प्रचार गरिन्छ ।
नवउदारवादले शिक्षा क्षेत्रमा राज्यको लगानी कटौती गर्छ, विश्व पुँजी बजारका लागि सस्तो ज्यामी तयार गर्छ, देशको आवश्यकताभन्दा पुँजी बजारका लागि आवश्यक विषयहरू पढाइन्छन् । ‘दातृ निकाय’हरूले सहयोगको बहानामा साम्राज्यवादीहरूकोे आवश्यकता र चाहनाअनुसार शिक्षा नीति, विषय तथा पाठ्य सामग्रीहरू तयार गर्न दबाब दिन्छन् ।
विश्वका विभिन्न पुँजीवादी र विकासोन्मुख देशहरूमा जस्तै नेपालमा पनि सरकार शिक्षाको दायित्वबाट पन्छिँदै छ । विदेशी ‘दातृ निकाय’ हरूले अनुदान र ऋणको लोभ देखाउँदै सरकारलाई शैक्षिक दायित्वबाट पन्छिन बाध्य पार्दै छन् । लगानी बोर्ड ऐनले नेपाली शिक्षा क्षेत्रमा वैदेशिक लगानी भित्याएर विदेशीको हालीमुहाली चलाउने बाटो खोलिदिएको छ । विश्वविद्यालयको पाठ्यक्रम हाम्रो देशको आवश्यकता र परिस्थिति सुहाउँदो छैन । साम्राज्यवादी देशको लागि उपयुक्त सस्तो कामदार तयार गर्ने पाठ्यक्रम चालू छ । क्याम्पसलाई स्वायत्तता दिने, प्रवीणता प्रमाणपत्र तहको विस्थापन र विद्यालयलाई समुदायमा हस्तान्तरण, बिनाआधार सेमेस्टर प्रणाली लागू गरी आङ्गिक क्याम्पसहरूलाई क्रमशः निजीकरण गर्ने नवउदारवादी शिक्षा नीतिकै परिणाम हो ।
विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा शासक दलहरूबिच हुँदै आएको भागबन्डाबाट कामदार वर्गका विद्यार्थीहरू पीडित छन् । विश्वविद्यालयहरू शासक दलको दलगत द्वेष, हानथाप र द्वन्द्वबाट कहिल्यै मुक्त गराइएन । शिक्षाका उच्च पदाधिकारीहरू आफूलाई नियुक्त गर्ने राजनीतिक दल र तिनका विद्यार्थी सङ्गठनहरूलाई खुसी पार्नमै व्यस्त छन् । योग्य र दक्ष प्राध्यापक एवम् कर्मचारीहरूभन्दा आफ्नै दलको सदस्यता बोकेका अयोग्यहरूलाई नियुक्त गरिँदा विश्वविद्यालयका स्रोत–साधनको ब्रह्मलुट भइरहेको छ । क्याम्पसलाई अनुसन्धान केन्द्रको रूपमा विकास गर्नुभन्दा पनि जनताको सम्पत्ति निजी क्षेत्रलाई सुम्पेर कमिसनमा रमाउने प्रवृत्ति बढ्दो छ । विद्यार्थीलाई चर्काे शुल्कको भारी बोकाएर क्याम्पसलाई व्यापारको थलो बनाइँदै छ । विद्यालय र कलेजको नाममा रहेको जग्गा खेलमैदान बनाउनुपर्नेमा नबनाई बहालमा लगाएर कमिसन खाने व्यवस्थापन र प्रशासनका दोषीहरूलाई कारबाही गर्नु जरुरी छ ।
शिक्षालाई उत्पादन श्रमसँग जोडेर अनुसन्धानमूलक र वैज्ञानिक बनाउने दिशामा हाम्रा शिक्षा मन्त्रालय र विश्वविद्यालयहरू कमजोर देखिए । फलतः विश्वविद्यालयहरू शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना बन्दै छन् र पुँजीवादी देशहरूमा सस्तो ज्यामी पठाउने गल्लावालाहरूको केन्द्र बन्दै छन् । प्राविधिक विषयमा दक्षिण एसियामै अब्बल मानिएका नेपालका क्याम्पसहरू दलगत तानातान र भ्रष्टाचारका कारण क्रमशः गुणस्तरहीन र अस्तव्यस्त बनेका छन् ।
नेपालको सबभन्दा पुरानो र सबभन्दा बढी विद्यार्थीहरूले अध्ययन गर्ने त्रिभुवन विश्वविद्यालयमा राज्यको लगानी क्रमशः कम हुँदै गएको छ । कुनै बेला ९० प्रतिशतभन्दा बढी सरकारी बजेटमा चलेको त्रिविलाई हाल सरकारले शिक्षक र कर्मचारीहरूको टाउको गनेर खर्च पठाइरहेको छ । त्रिविले प्राध्यापक र कर्मचारीहरूलाई तलब खुवाउन मात्र त्यो रकम विनियोजन गरेको छ ।
थोरै रकम विकास बजेट भनेर दिने गरिएको छ । सरकारको थोरै लगानीबाट त्रिविको आन्तरिक खर्च पनि चल्न सकेको छैन । विश्वविद्यालय बाध्य भएर ‘दातृ निकायसामु भिख माग्ने र विद्यार्थीबाट महँगोे शुल्क उठाउन लागिपरेको छ । ‘जसको सिता खान्छ उसको गीता गाउँछ भनेजस्तै ‘दातृ निकाय’ को अनुदानको भरमा चलेको शिक्षा मन्त्रालय र त्रिविले उनीहरूले चाहेजस्तै जनशक्ति तयार गर्ने गरेका छन् ।
नेपाललाई कुन क्षेत्रमा कति जनशक्तिको आवश्यकता छ भन्ने आँकडाको आधारमा नभई विश्व पुँजी बजारको आवश्यकता पूरा गर्ने योजना विश्वविद्यालयले बोकेर हिँडेको आजको वास्तविकता हो । तसर्थ, त्रिवि आज नेपाल र नेपाली जनताको हितमा भन्दा पनि पुँजीवादी विश्व बजारको लागि आवश्यक जनशक्ति पूर्ति गर्ने केन्द्र बनेको छ । न हाम्रो राष्ट्रिय योजना आयोगले कुन क्षेत्रमा कति जनशक्तिको आवश्यकता छ भन्ने आँकडा दिन सकेको छ, न त विश्वविद्यालयले यति वर्षभित्र यो क्षेत्रका लागि यति जनशक्ति विकास गर्छाैँ भन्ने कुनै योजना तर्जुमा गर्न सकेको छ ।
त्रिविमा राज्यको नियन्त्रण र लगानी अभावको कारण निम्तिएको दुष्परिणामको फाइदा आज निजी शैक्षिक व्यापारीहरूले उठाइरहेका छन् । त्रिविमा सरकारको तलब खाएका प्राध्यापक र कर्मचारीहरू निजी कलेजहरूमा संलग्न भइरहेका छन् । यस्तो अवस्थाका कारण आज त्रिवि धराशायी हुन पुगेको छ । त्रिविअन्तर्गतका अनुसन्धान केन्द्रहरू बजेट अभावका कारण पङ्गु बनेका छन् । शिक्षा मन्त्रालयले विभिन्न गैरसरकारी संस्थाहरूलाई अनुसन्धानको काम दिने तर त्रिविका अनुसन्धान केन्द्रलाई विश्वास नगर्नुका पछाडि कर्मचारीतन्त्रमा व्याप्त कमिसनतन्त्रको पनि भूमिका भएको घामजत्तिकै छर्लङ्ग छ ।
हचुवा, पूर्वाग्रह र पार्टीको अङ्गको रूपमा सरकारले घोषणा गरेका नयाँ विश्वविद्यालयहरूमा पनि अराजकता बढ्दो छ । ती विश्वविद्यालयमा निर्धारित शुल्क दर हेर्दा तिनीहरू पनि व्यापक कामदार जनताका छोराछोरीलाई उच्च शिक्षाबाट वञ्चित गर्ने उद्देश्यबाट स्थापित भएको प्रस्ट छ ।
सेमेस्टर प्रणालीबारे
नेक्राविसङ्घ सेमेस्टर प्रणालीको विरोधी होइन । तर, जुन नियतले यो प्रणाली ल्याइएको छ, त्यसले निम्त्याएको परिणामका कारण हामी विपक्षमा उभिनुपरेको हो । निःसन्देह आज प्रचारमा ल्याइएका जस्तै सेमेस्टर प्रणालीले विद्यार्थीको शैक्षिक नतिजा र व्यक्तित्व विकासमा केही सकारात्मक परिणाम नदिएको होइन । तर, सेमेस्टर प्रणालीमा ‘अब्बल विद्यार्थी भर्ना हुने नाममा लागु गरिएको कोटा प्रणालीले हजारौँहजार विद्यार्थीलाई विश्वविद्यालयको ढोका बाहिर राखेको छ ।
सेमेस्टर प्रणाली आज विश्वविद्यालयलाई क्रमशः निजीकरण गर्ने सङ्क्रमणकालीन प्रणाली बनेको छ । शुल्क संरचना, व्यवस्थापन, प्रवेश परीक्षा प्रणाली आदिका कारण आज त्रिविका आङ्गिक क्याम्पसहरूमा लागू गरिएका सेमेस्टर कार्यक्रमहरू कुनै पनि कोणबाट नाफामुखी निजी शिक्षालयहरूभन्दा भिन्न छैनन् । त्रिविको सेमेस्टर प्रणाली निजी क्याम्पसहरूको नक्कल साबित भएको छ । यो प्रणाली विश्वविद्यालयलाई क्रमशः राज्यको दायित्वबाट अलग गराउने र निजीकरणको दिशामा लाने प्रक्रिया बनेको छ । मनग्य तयारीबिना ‘दातृ निकाय’ हरूलाई रिझाउने उद्देश्यका साथ हतारमा लागू गरिएको सेमेस्टर प्रणालीको आजको भद्रगोल अवस्थाका निम्ति त्रिवि जति दोषी छ, त्यति नै दोषी सुरुमा विरोध गरेर कालान्तरमा सम्झौता गर्ने शासक दलका विद्यार्थी सङ्गठनहरू पनि हुन् ।
सेमेस्टर प्रणालीमा प्रयोगात्मक अङ्कका निम्ति शिक्षकलाई रिझाउनुपर्ने जस्ता अराजकता सृजना भएको छ । शिक्षक चिढिएमा राम्रो अङ्क नआउला भनेरै विद्यार्थीहरू शैक्षिक अराजकताको विरुद्धमा सङ्घर्ष गर्न सकिरहेका छैनन् । प्रत्येक शैक्षिक सत्रमा दस प्रतिशतका दरले शिक्षण शुल्क बढ्दा विद्यार्थी थप पीडित छन् । शैक्षिक गुणस्तर वृद्धिको नाममा फेरि पनि गाउँ–बस्तीबाट आएका, न्यून आय भएका कामदार जनताका छोराछोरीलाई विश्वविद्यालय शिक्षाबाट वञ्चित बनाउने काम सेमेस्टर प्रणालीमार्फत भइरहेको छ ।
तसर्थ, व्यापक कामदार जनताका छोराछोरीहरूलाई गुणस्तरीय शिक्षा सहज प्रदान गर्न निम्नानुसार कार्य गर्नुपर्ने हाम्रो ठहर छ :
क) सेमेस्टर प्रणालीमा कोटा प्रणाली खारेज गर्नुपर्छ । भर्ना भएका सबै विद्यार्थीहरूलाई सेमेस्टर प्रणाली सञ्चालन निर्देशिका २०७० बमोजिम विश्वविद्यालय शिक्षा दिनुपर्छ ।
ख) सेमेस्टर प्रणालीको नाममा बढाइएको शिक्षण शुल्क घटाउनुपर्छ ।
ग) ५ जनाभन्दा कम विद्यार्थी भर्ना भएको विषयलाई आङ्गिक क्याम्पसबाट विस्थापित गर्ने निर्णय खारेज गरिनुपर्छ । बरु विद्यार्थी सङ्ख्या कम भएका विषयमा छात्रवृत्ति बढाएर, प्रचारप्रसार गरेर, पाठ्यक्रम र शिक्षण पद्धतिमा समयानुकूल परिमार्जन गरेर र रोजगारीका अवसरहरू सृजना गरेर तिनलाई व्यापक बनाइनुपर्छ ।
घ) सेमेस्टर प्रणालीलाई फेरि पनि परीक्षाकेन्द्रित बनाइएको अवस्थामा शिक्षालाई उत्पादन श्रमसँग जोड्दै जानु आवश्यक छ ।
दुईथरी शिक्षा प्रणाली
आज त्रिविका आङ्गिक क्याम्पसभित्र एकातिर सरकारी लगानीका शैक्षिक कार्यक्रम र अर्काेतिर निजी शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन् । पुराना भौतिक पूर्वाधारमा पुरानै तरिकाले पुराना शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिएका छन् । अर्काेतिर नयाँ विषयको नाममा विद्यार्थीसँग अचाक्ली रकम उठाएर निजी तरिकाबाट तुलनात्मकरूपमा भौतिक पूर्वाधार सम्पन्न ठाउँमा अध्ययन–अध्यापन हुने गरेको छ । एउटै क्याम्पस परिसरभित्र यसप्रकारको वर्गभेदले भोलिका कर्णधार विद्यार्थीहरूको मनोभावनामा के असर पर्ने हो, सहजै अनुमान गर्न सकिन्छ ।
गरिबका छोराछोरी विद्यार्थीमा लघुताभाष र धनीका छोराछोरी विद्यार्थीमा उच्चताभास जन्माउने त्रिविको विभेदकारी शिक्षा प्रणालीको अन्त्य गरिनुपर्छ । नेपालको संविधानले सबै नागरिकलाई समानताको हक प्रदान गरेको छ । तर, विश्वविद्यालयमा धनीलाई एकथरि र गरिबलाई अर्काेथरी शिक्षाको व्यवस्था गर्नु गैरसंवैधानिक र पक्षपात हो । नेक्राविसङ्घ यस्तो विभेदकारी शिक्षाको अन्त्य गरी व्यक्तित्व विकासमा समान अवसर प्रदान गर्ने उत्पादन श्रमसँग जोडिएको शिक्षा व्यवस्थाको पक्षमा छ ।
स्वतन्त्र विद्यार्थी युनियन
स्वतन्त्र विद्यार्थी युनियन वैचारिक राजनीतिक र वर्गीय सङ्घर्षको थलो हो । स्ववियु कामदार जनताका छोराछोरीलाई सैद्धान्तिक र राजनीतिकरूपमा सचेत र सङ्गठित गर्ने दबु हो । पञ्चायती निरङ्कुशतालाई चुनौती दिँदै उठेको ऐतिहासिक विद्यार्थी आन्दोलनको साझा उपलब्धिको रूपमा स्थापित स्ववियुको अधिकार रक्षा गर्नु सम्पूर्ण क्रान्तिकारी विद्यार्थीको जिम्मेवारी हो । निरङ्कुश पञ्चायती व्यवस्था र प्रतिगमनविरुद्ध ऐतिहासिक जनआन्दोलन र शैक्षिक आन्दोलनहरूमा स्ववियुले निर्वाह गरेको महत्वपूर्ण भूमिकालाई कदापि उपेक्षा गर्न सकिन्न । हरेक न्यायपूर्ण सङ्घर्षमा स्ववियु सधँै क्रान्तिकारी विद्यार्थीको केन्द्रको रूपमा स्थापित छ ।
गरिमामय इतिहासको जगमा उठेको स्ववियुको छविलाई अक्षुण्ण र अझ व्यापक बनाउन नेपालको विद्यार्थी आन्दोलन सफल भइरहेको छैन । विद्यार्थीको शैक्षिक एवम् वैचारिक विकासको उत्प्रेरक, इमानदार, देशभक्त तथा अनुशासित नयाँ पुस्ता बनाउने थलो र विविध दर्शन र विचारको चिन्तन–मननको दबु बन्नुको सट्टा स्ववियु भ्रष्टाचार, हुलहुज्जत, आर्थिक अनियमिमता, अनुशासनहीनताको पर्याय बन्नु गलत हो । स्ववियु जित्नुको अर्थ विपक्षी विचारका विद्यार्थीलाई पशुबलको भरमा दबाउने, क्याम्पसका ठेक्कापट्टामा आफ्नो नियन्त्रण राखी कमिसन खाने, क्याम्पस कोष र विद्यार्थी कल्याण कोष अपारदर्शी र अनियमित गर्ने, प्राध्यापक एवम् कर्मचारीहरूलाई घमण्ड देखाउने, छात्रावास र प्रशासनमा नातावाद र कृपावाद लागू गर्ने, परीक्षामा नक्कल गर्न दिने र हुलहुज्जत गर्ने होइन । स्ववियुभित्र हुने यस्ता अमर्यादित र अप्रिय गतिविधिका कारण स्ववियु र समग्र विद्यार्थी आन्दोेलन बदनाम छ । त्यसो हुनुमा स्ववियु जित्नका लागि जस्तोसुकै निकृष्ट कार्य गर्न पनि पछि नपर्ने विद्यार्थी सङ्गठनहरू दोषी छन् । नेक्राविसङ्घ यस्ता गलत गतिविधिहरूको विरोधमा छ । नेक्राविसङ्घले स्ववियु जितेका क्याम्पसहरू रचनात्मक काममा केन्द्रित छन् । हामी स्ववियुलाई मर्यादित, अनुशासित र पारदर्शी निकाय बनाउन प्रतिबद्ध छौँ । स्ववियुलाई मूल्य–मान्यताको अभ्यासको थलो र विद्यार्थीका शैक्षिक, वैचारिक र शारीरिक विकासको उत्प्रेरक संस्था बनाउन कटिबद्ध छौँ ।
समसामयिक राष्ट्रिय परिस्थितिबारे हाम्रो धारणा
सरकारले २०७८ फागुन १५ गतेका दिन प्रतिनिधिसभा संसद्मा देशघाती एमसीसी सम्झौता बहुमतले पारित ग¥यो । नेपाल मजदुर किसान पार्टीले सडक र सदनमा एमसीसी सम्झौताको विरुद्धमा सङ्घर्ष ग¥यो । शासक दलहरूले देशघाती एमसीसी सम्झौताको समर्थन गरे । एमसीसी सम्झौताको दफा ५ मा वर्तमान र भविष्यको अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने, दफा ६.८ मा सम्झौताको कारण कुनै नेपालीको मृत्यु भएमा कतै उजुरी नलाग्ने, अनुसूची ५ (क) मा एमसीसीलाई चित्त बुझेको योजना नेपाल सरकारले पेश गर्नुपर्ने र त्यस्तो योजनामा भारत सरकारको समर्थन हुनुपर्ने, दफा ७.१ मा नेपालको कानुन र एमसीसी सम्झौता बाझिएमा सम्झौता नै लागू हुने प्रावधान छ । अनुसूची १ मा अमेरिकी सहयोग ५० करोड अमेरिकी डलरले २ करोड ९४ लाख नेपालीले बिजुली र सडक सुविधा पाउने तथा जीवन सुखी हुने झूटो कुरा उल्लेख गरिएको छ । अमेरिकी रक्षा विभागको दस्तावेज ‘ए ओपन एन्ड फ्री इन्डो प्यासिफिक ः एडभान्सिङ अ सेयर्ड भिजन, २०१९, अनुसार हिन्द–प्रशान्त क्षेत्रलाई अमेरिकी सेनाको कब्जामा पार्ने नियतले एमसीसी सम्झौता ल्याइएको हो । यसले एसियालाई युद्धमा फसाउनेछ । एसपीपी साझेदारीमा अमेरिकी सेना आएर नेपाली सेनाको ब्यारेक कब्जा गर्ने उल्लेख छ । यसकारण, देशघाती एसपीपी साझेदारी र एमसीसी सम्झौता तत्काल खारेज गराउन यो सङ्घ सङ्घर्षरत छ ।
वि.सं. २०६३ सालमा सरजमिन गराई जन्मको आधारमा नेपाली नागरिकता लिएका विदेशीका छोराछोरीलाई वंशजको नेपाली नागरिकता दिने नागरिकता विधेयक देशको हितमा छैन । यसले नेपाललाई सिक्किमजस्तो बनाउनेछ । यस्तो नागरिकता विधेयक खारेज गराउन नेक्राविसङ्घ सङ्घर्षरत छ हाम्रा घोषणाहरू
अ) राजनीतिक घोषणाहरू
– देशघाती एमसीसी सम्झौता, एसपीपी साझेदारी र नागरिकता विधेयक खारेज नभएसम्म सङ्घर्ष चालु राख्ने,
– नेपालको राजनीति, अर्थतन्त्र, संस्कृतिलगायतका क्षेत्रमा साम्राज्यवाद र विस्तारवादको हस्तक्षेपको विरोध चालु राख्ने,
– विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्कको लागि सङ्घर्ष चालु राख्ने,
– पुँजीवादी व्यवस्था र संरचनाको विकृति–विसङ्गतिलाई उदाङ्ग्याउँदै विद्यार्थीहरूलाई समाजवादी गणतन्त्र प्रचार अभियानमा सङ्गठित गर्ने,
– अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पुँजी एवम् विस्तारवादको विरोध चालु राख्ने,
– देशको सीमा सुरक्षा, भू–अखण्डता र सार्वभौमिकता रक्षाकोे आन्दोलनलाई अगाडि बढाउने,
– नेपालको विकासको बाधक बनेका असमान सन्धि–सम्झौताहरू खारेज गराउन तथा नेपालको भूमि डुबान र कटान हुने गरी भारतद्वारा एकतर्फी निर्मित बाँध, तटबन्ध र सडक भत्काउन सङ्घर्ष गर्ने,
– जातीय, भाषिक, धार्मिक, लैङ्गिक र क्षेत्रीय सङ्कीर्णता अन्त्य गर्दै वर्गीय आन्दोलनमा जोड दिने,
– स्थानीय तहलाई स्वायत्तता र विकेन्द्रीकरण दिइए प्रदेश सरकार र जिल्ला समन्वय समितिको औचित्य नहुनेबारे जनतामा प्रचार गर्ने ।
आ) शैक्षिक घोषणाहरू
– विश्वविद्यालयमा व्याप्त अराजकता र दण्डहीनताको अन्त्य गरी स्वच्छ शैक्षिक वातावरण निर्माणका लागि सङ्घर्ष गर्ने,
– स्ववियुभित्र भइरहेको भ्रष्टाचार, आर्थिक अनियमितता र हुलहुज्जतको अन्त्य गरी स्ववियुलाई मर्यादित एवम् सम्पूर्ण विद्यार्थीको साझा दबुको रूपमा स्थापित गर्ने,
– छात्रावास, निःशुल्कवृत्ति तथा छात्रवृत्ति वितरणमा भइरहेको भागबन्डा तथा नातावाद, कृपावादको विरोध गर्न र यसका लागि वैज्ञानिक मापदण्ड निर्धारणमा जोड दिने,
– विश्वविद्यालयको व्यवस्थित शैक्षिक क्यालेन्डर निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयनको लागि रचनात्मक भूमिका खेल्ने,
– प्राज्ञिक क्षेत्रमा भइरहेको शासक दलहरूको हस्तक्षेप एवम् भागबन्डाको विरोध गर्ने,
– विश्वविद्यालयमा हाल अध्यापन भइरहेको पाठ्यक्रमलाई उत्पादन श्रमसँग जोड्ने गरी परिमार्जित गराउन अगुवाइ गर्ने,
– यातायात र स्वास्थ्य सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यवस्थाको निम्ति आन्दोलनको अगुवाइ गर्ने,
– नेपाली शिक्षा प्रणालीमा विश्व बैङ्क, एसियाली विकास बैङ्कलगायतका साम्राज्यवादी ज्यावलहरूको चलखेललाई उदाङ्ग्याउने र त्यसको विरोधमा सङ्घर्ष गर्ने,
– सरकारी विश्वविद्यालय र सरकारी क्याम्पसहरूलाई ध्वस्त पार्ने शासक दलहरूको षड्यन्त्रविरुद्ध सङ्घर्ष गर्ने,
– विदेशी लगानीले नेपालको राष्ट्रिय उद्योगी–व्यापारीलाई नाङ्लो पसलमा झार्ने यथार्थबारे जनतालाई सुसूचित गर्र्नेे,
– विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरू खारेज गराउन सङ्घर्ष गर्ने,
– नेपालको शिक्षा व्यवस्थामा नवउदारवादी नीतिको विरोध गर्ने,
– त्रिविका अनुसन्धान केन्द्रहरूलाई मन्त्रालयहरूअन्तर्गतका अनुसन्धान कार्यहरूमा पहिलो प्राथमिकतामा राख्न सङ्घर्ष गर्ने,
– त्रिवि केन्द्रीय पुस्तकालयलाई अझ व्यवस्थित, आधुनिक प्रविधियुक्त स्रोत र साधनसम्पन्न बनाउन र हरेक प्रदेशमा त्यही स्तरको प्रादेशिक पुस्तकालय बनाउन आवाज उठाउने,
– लब्धाङ्क पत्र लिने, पुनर्योग गर्ने, पुनःपरीक्षण गर्ने आदि परीक्षासम्बन्धी काम विकेन्द्रित र व्यवस्थित गराउन सङ्घर्ष गर्ने,
– सबै क्याम्पसहरूमा बहुउपयोगी बारकोडसहितको इलेक्ट्रोनिक प्राध्यापक र विद्यार्थी परिचय–पत्र व्यवस्था गर्न आवाज उठाउने,
– निजी मेडिकल र इन्जिनियरिङ कलेजहरूको महँगोे शुल्क, मनोमानी र लुटपाटको विरोधमा सङ्घर्ष गर्ने,
– शोधपत्रको किनबेच पूर्णतः बन्द गरी शोध–अनुसन्धानलाई वैज्ञानिक र व्यवस्थित गराउन सङ्घर्ष गर्ने, िहरेक क्याम्पसबाट सङ्कायगत प्राज्ञिक एवम् खोजमूलक जर्नल प्रकाशनको लागि पहल गर्ने,
नाराहरू
– जातीय, क्षेत्रीय र भाषिक सङ्कीर्णता त्यागौँ, वर्गसङ्घर्ष अगाडि बढाऔँ !
– शैक्षिक क्षेत्रमा हुलहुज्जत, कमिसनतन्त्र र आर्थिक अनियमितता अन्त्य गर्न नेक्राविसङ्घलाई अत्यधिक मतले विजयी बनाऔँ !
– समाजवादी प्रचार अभियानलाई जनताको घरदैलोसम्म पु¥याऔँ !
– शिक्षामा नवउदारवादको विरोध गरौँ !
– शासक दलहरूको भागबन्डाको विरोध गरौँ !
– त्रिवि सिनेटमा अवैधानिकरूपमा शासक दलका विद्यार्थी सङ्गठनहरूको प्रतिनिधित्वको अभ्यासको विरोधमा सङ्घर्ष गरौँ !
– देशभक्त, प्रगतिशील र क्रान्तिकारी युवा–विद्यार्थी एक होऔँ !
– कामदार जनताका छोरा–छोरीको सङ्घ नै नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ हो !
– समाजवादी गणतन्त्र जिन्दावाद !
– उत्पादन श्रमसँग जोडिएको शिक्षा व्यवस्था लागू गराउन सङ्घर्ष गरौँ !
– व्यक्तित्व विकासमा समान अवसरको व्यवस्था गराउन सङ्घर्ष गरौँ !
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ
केन्द्रीय समिति
Leave a Reply