भर्खरै :

महासचिव सी तेस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित

महासचिव सी तेस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित

पेइचिङ, २६ फागुन (सिन्ह्वा) । जनगणतन्त्र चीनको राष्ट्रपतिमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का महासचिव सी चिनफिङ निर्विरोध निर्वाचित हुनुभएको छ । यहाँ जारी राष्ट्रिय जनकङ्ग्रेसको १४ औँ महाधिवेशनले उहाँलाई राष्ट्रपतिमा सर्वसम्मतिले चयन गरेको हो । महाधिवेशनले महासचिव सीलाई केन्द्रीय सैन्य आयोग (सीएमसी) को अध्यक्षमा समेत निर्विरोध निर्वाचित गरेको छ । राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि उहाँले ग्रेट हल अफ द पिपलमा संविधानप्रति आफ्नो निष्ठा एवम् प्रतिबद्धता दोहो¥याउनुभयो ।
महाधिवेशनले पूर्वउपप्रधानमन्त्री हान चाङलाई उपराष्ट्रपतिमा निर्वाचित गरेको छ । यसैबिच अमेरिकी समाचार समिति एसोसिएटेड प्रेसले गम्भीर आर्थिक चुनौतीका साथै अमेरिका र अन्यसँग बढ्दो तनावको बिचमा तेस्रो पाँचवर्षे कार्यकालका निम्ति सी जनकङ्ग्रेसबाट अनुमोदित हुनुभएको जनाएको छ । उहाँले दुई हजार नौ सय ५२ मत प्राप्त गर्नुभएको तथा उहाँको विपक्षमा एक मत पनि नपरेको जनाइएको छ ।
चिनियाँ नेताहरूले दशकमा एकपटक सत्ता हस्तान्तरण गर्ने परम्परालाई तोड्दै ६९ वर्षीय सी गत अक्टोबरमा तेस्रो पाँचवर्षे कार्यकालका निम्ति चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव बन्नुभएको हो । संविधानमा दुईपटकभन्दा बढी अवधि राष्ट्रपति बन्न नपाइने व्यवस्थालाई संशोधन गरेर उहाँ सत्तासीन हुनुभएको हो । गोप्यरूपमा भएको निर्वाचनमा उम्मेदवारको सूची सार्वजनिक भएको थिएन । सबै पदमा निर्विरोध भएको घोषणा गरिएको थियो । यद्यपि, ग्रेट हलको विशाल सभागारमा मतपेटिका राखिएको थियो ।
त्यस्तै अधिवेशनले चौधौँ राष्ट्रिय जन कङ्ग्रेसको स्थायी समिति अध्यक्ष (सभामुख) मा चाओ लेजीलाई निर्वाचित गरेको छ । चिकपा पोलिटब्युरो स्थायी समितिका सदस्य चाओ यसअघि पनि सोही पदमा हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *