भर्खरै :

सामन्तवाद र पुँजीवादले देश र जनताको हित नगर्ने, समाजवाद जरुरी

सामन्तवाद र पुँजीवादले देश र जनताको हित नगर्ने, समाजवाद जरुरी

भक्तपुर, २६ फागुन । ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ प्रभात एकाइ समितिको आयोजनामा ‘जनताको साहित्य र साहित्यकार’ पुस्तकबारे शुक्रबार अध्ययन गोष्ठी भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले वंश परम्पराको आधारमा राज्य सञ्चालन र राज्यस्रोतमाथि कब्जा गर्ने सामन्तवाद र केही व्यक्तिको हित हेर्ने पुँजीवादले देश र जनताको हित नगर्ने बरु समाजवादले मात्र सबैको हित गर्ने बताउनुभयो ।
“सांस्कृतिक स्तर उँचो भएकाहरू सामन्तवाद र पुँजीवादका विरोधी हुन्छन् अर्थात् समाजवादको समर्थक हुन्छन्”, उहाँले स्पष्ट पार्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “सामन्तवाद र पुँजीवादमा राज्यशक्ति दुरूपयोग गरी केही व्यक्तिले लुटपाट नै गर्ने हुँदा कालाबजारी, तस्करी, मिसावट, कृत्रिम मूल्य वृद्धि, ठगीजस्ता अपराधलाई सामान्य ठानिन्छ । यसबाट सर्वसाधारण मानिसको तनाव बढ्ने र मानसिक सन्तुलन बिग्रिने हुन्छ । कुहिएको, कीरा परेको, दुर्गन्धित वस्तुसमेत राम्रो भएको भनी विज्ञापन गरिन्छ ।”
“देश र जनताको हितमा नलेखिएको साहित्य कागजको खोस्ताजस्तै हुन्छ । जनताको साहित्यमा जनताको सांस्कृतिक स्तर माथि उठाउने र आमूल परिवर्तनको लागि सचेत र सङ्गठित हुन आह्वान गरिएको हुन्छ”, उहाँले भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “केही महिला राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख वा अन्य माथिल्लो पदमा पुग्नु नै महिला मुक्ति र राजनीतिक परिवर्तन होइन । सम्पूर्ण कामदार वर्गका महिलालाई एमसीसी, एसपीपी, युक्रेनमा अमेरिकी आक्रमण, नागरिकता विधेयक, गोर्खा भर्ती, सन् १९५० को सन्धि, वैदेशिक रोजगारीबाट देश र जनतालाई हुने अहितबारे सचेत र सङ्गठित गर्नु आवश्यक छ ।”
नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष एवं बाग्मती प्रदेशसभा सदस्य सृजना सैँजूले कामदार वर्गको साहित्यविना कामदार वर्गको हित नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय महिला आन्दोलन भनेको समाजवादी आन्दोलन थियो । नेपाली समाजमा शोषणविरूद्ध विभिन्न आन्दोलन र पुँजीवादी राज्य व्यवस्थाको विभिन्न आन्दोलनमा महिलाहरूको सशक्त भूमिका रहेको छ । रूसको अक्टोबर क्रान्ति संसारका श्रमिक महिलाहरूको मुक्तिको आन्दोलन हो ।”
समाजवादी व्यवस्थामात्र महिला मुक्ति सम्भव हुने धारणा राख्दै उहाँले भन्नुभयो, “राज्य संयन्त्रबाट हुने शोषण र सामाजिक संरचनाविरुद्ध पुरूषसँग हातेमालो गरेर महिलाहरूले मुक्तिको लागि सङ्घर्ष गर्नु आवश्यक छ ।”
आयोजक समितिका अध्यक्ष मीरा दुगुजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल बदनकेशरी प्रजापति, कृष्णसिंह धामी, रोशनी कोजू, रेश्मा कसलवट, रोजिना कोण्डा, मनिता थापा र सुनिता दुवालले पुस्तकबारे आ–आफ्नो पढाइको सार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *