भर्खरै :

माक्र्सवाद जडसूत्र होइन

माक्र्सवाद कुनै जडसूत्र होइन, बरू कार्यमा पथप्रदर्शक हो । यो यथार्थ हो । द्वन्द्वात्मक भौतिकवादीसम्बन्धी माक्र्सवादी दर्शनका दुई प्रमुख विशेषता छन् – एक, त्यसको वर्ग स्वरूप हो । यसले श्रमजीवी वर्ग या बहुमत जनताको सेवा गर्छ । दुई, व्यवहारिकता । सिद्धान्त व्यवहारमा आधारित हुन्छ । यसले व्यवहारको सेवा गर्छ, मनोगत भावनाले होइन । सच्चा माक्र्सवादीहरू कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई हेला होचो गर्दैनन् । पैसा, धाक, धम्की र पदको आधारमा गर्ने राजनीति पुँजीवादी दृष्टिकोण हो । मजदुरवर्ग र बहुमत जनताको काम गर्ने दल माक्र्सवादी हुँदैन । माक्र्सवादको बखान गरेर कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार छोड्ने, कम्युनिस्ट पार्टीको बदनाम गर्ने, कम्युनिस्ट पार्टी फुटाएर फाइदा लिने दल कदापि सच्चा कम्युनिस्ट हुँदैन, माक्र्सवादी हुँदैन । सिद्धान्ततः नेपालमा माक्र्सवादीहरू धेरै छन् । तर, उनीहरू माक्र्सवादको मूल्य र मान्यता आत्मसात गर्दैनन्, व्यवहारमा लागु गर्दैनन् ।
भाषण गर्न जान्नुपर्छ, यो आफ्नो ठाउँमा छ । तर, भाषण गर्न जान्नु नै नेतृत्व होइन । बनावटी गम्भीरता नै ज्ञानको सागर होइन न त चिप्लो घस्नेहरूको तारिफ नै आफ्नो वास्तविक स्थिति हो । भनिन्छ, हीरालाई कीराले बिगार्छ, हात्तीलाई भुसुनाले सताउँछ, छिटो चालले हिँड्ने वस्तु छिटो मोड्न सकिन्न । ठूला दलका ठूला नेता र शासकहरू पैसाको लोभमा फसेका छन्, मन्त्री भएर पदको दुरूपयोग गरी अकुत सम्पत्ति कुम्ल्याएका छन् । तिनीहरू सिद्धान्त र विचारलाई थाती राखेर सतही राजनीति गर्छन्, लोभलाग्दा कुरा फुकेर निर्वाचनमा जित्छन् । जनतामा पनि राजनीतिक, सांस्कृतिक र सैद्धान्तिक स्तर नहुँदा तिनीहरूकै लोभलालचमा फस्छन्, अनि शासकहरू ती नै श्रमजीवी वर्गमाथि शोषण गर्छन्, उनीहरूमाथि रजाइँ गरेर शासन गर्छन् । सारमा, पुँजीवादी विचारबाट प्रभावित नेता र शासकहरू कम्युनिस्ट हुनसक्दैनन् ।
आफूलाई प्रजातन्त्रवादी, कम्युनिस्ट भन्ने शासक र नेताहरू अर्काको श्रम, सीप र पसिनामा रजाइँ गर्ने विचार राख्छन् । आफ्नो सोँख, व्यक्तिगत र दलगत स्वार्थमा भुलेका शासकहरू कहिले पनि व्यापक जनताको पक्ष या सेवामा लाग्दैनन् । आफूलाई कम्युनिस्ट भनिने ठूला दलका नेता र शासकहरू बहुमत जनताको पक्षमा लागेका छैनन् । उनीहरू सच्चा कम्युनिस्टहरू भएका भए कमसेकम मावि तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य गर्नुपथ्र्यो; व्यक्तित्व विकासमा समान अवसर दिनुपथ्र्यो; क्रान्तिकारी भूमिसुधार लागु गर्नुपथ्र्यो । स्वास्थ्य सेवा निःशुल्क गर्नुपथ्र्यो, बन्द भएका सरकारी उद्योग तथा कलकारखानाहरू खोलेर देशको लागि आवश्यक आधारभूत सामग्रीहरूको बन्दोबस्त हुनुपथ्र्यो । कम्युनिस्टहरू विस्तारवादी भारत र साम्राज्यवादी अमेरिकाको पृष्ठपोषण गर्दैनन्, उनीहरूको उठवसमा चल्दैनन् । यसबारे जनता पनि सचेत हुनुपर्छ ।
माक्र्सवाद–लेनिनवाद पार्टीको पथप्रदर्शक मान्ने ठूला दलका नेताहरू माक्र्सवादलाई व्यवहारमा किन लागु गर्दैनन् ? तिनीहरू वर्गसङ्घर्षको बाटो छोडेर जोसँग पनि मिल्ने वर्ग समन्वयको बाटो किन लिन्छन् ? माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारा आत्मसात गरी व्यवहारमा लागु नगर्नेहरू संशोधनवादी हुन् । सामन्तवाद र पुँजीवादको विरोध गर्नुको अर्थ व्यक्ति विशेषको विरोध होइन बरू व्यवस्था र त्यसलाई साथ दिने वर्गको विरोध गर्नु हो । यसकारण, माक्र्सवादीहरूले देशका सामन्त, पुँजीपति, शोषक, जमिनदार, जालीफटाहा र प्रतिक्रियावादीहरूको विरोध गर्नुपर्छ, आमूल परिवर्तनको निम्ति समाजवादी बाटो आत्मसात गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *