भर्खरै :

खु्रश्चेभलाई माक्र्ससँग दाँज्ने गल्ती नगरौं

मदन भण्डारी
करभिका
७ असोज २०७४ मा कान्तिपुर दैनिकको शनिबारीय विशेषाङ्क कोसेलीमा बितेका २५० वर्षमा नेपालको बौद्धिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेका २५ जना व्यक्तित्वहरुको चर्चा गरियो । नेपालको बौद्धिक इतिहास लेखनको यो राम्रो प्रारम्भिक प्रस्थानबिन्दु हुनसक्छ । चुनिएका २५ जना व्यक्तित्वको चर्चा शिलशिलाको आरम्भ हुन सक्दछ, पूर्ण होइन ।
यो छोटो टिप्पणी भने २५ जनामध्ये एक जनाको विषयमा गरिएको विश्लेषणप्रति सैद्धान्तिक विमतिमा केन्द्रित छ । एमाले नेतृ बिन्दा पाण्डेले एमालेका पूर्वमहासचिव मदन भण्डारीबारे लेख्नुभएको लेख ‘नेपालका ती माक्र्स’ छलफलयोग्य छ ।
नेपालको सन्दर्भमा मदन भण्डारी साँच्चै कार्ल माक्र्स हुन् वा होइनन् ?, छलफल यही प्रश्नबाट शुरु गरौं ।
संसारमा आजभोलि धेरै माक्र्सवादी पार्टीहरु छन् । आफ्नो नाममा माक्र्सवाद झुण्ड्याएका सबै पार्टीहरु खासमा माक्र्सवादी समेत नहुने गरेका धेरै उदाहरण छन् । माक्र्सको विचार र योगदान अर्थात् माक्र्सवादलाई असफल बनाउन वा बद्नाम गर्न समेत धेरै पार्टीले आफ्नो नाममा ‘माक्र्सवाद’ भन्ने शब्द झुण्ड्याउने गरेका छन् । कतिसम्म भने साम्राज्यवादी देशहरुको गठबन्धन नाटो देशहरुले समेत विभिन्न ‘माक्र्सवादी’ पार्टी र चिन्तन समूह गठन गर्ने र तिनीहरुमार्फत् आफू अनुकूल माक्र्सवादको व्याख्या गराउने गतिविधि हुने गरेका छन् । त्यस्ता चिन्तन समूहमा केही माक्र्सवादी भनिने चिन्तकहरुमार्फत् माक्र्सवादी विचारको ‘व्याख्या’ गर्न लगाइएको हुन्छ र त्यसैलाई मानकको रुपमा स्थापित गर्ने प्रयास गरिन्छ । जबकि उनीहरुका यस्ता व्याख्या माक्र्सवादका आधारभूत प्रस्तावनाभन्दा विपरीत हुने गर्दछ । यो माक्र्सवादको झण्डा खसाल्न उठाइएको नक्कली माक्र्सवादको झण्डा हो । ती व्याख्याताहरुलाई चिन्न त्यत्ति गाह«ो हुँदैन । संसारमा ‘मुलधार’का सञ्चारमाध्यममा तिनका कुरा बिक्ने गर्दछ, तिनलाई पुस्तक वा लेख प्रकाशन गर्न कुनै कानुनी वा आर्थिक समस्या हुने गर्दैन । तिनलाई ‘वल्र्ड क्लास फोरम’मा माक्र्सवादका आधिकारिक व्याख्याता मानिएको हुन्छ ।
संसारका यस्ता धेरै पार्टीहरु छन्, जो आफूलाई माक्र्सवादी दाबी गर्छन् तर तिनका व्यवहारले पूँजीवादी बन्दोबस्तकै जग बलियो बनाउने काम गरिरहेको हुन्छ । यस्ता दलहरुका व्यवहारलाई नै माक्र्सवादको चिन्तनधारा मानिदिंदा खासमा माक्र्सवादको क्रान्तिकारी धार भुत्ते हुने गर्दछ ।

कार्ल माक्र्स


 
२०४६ सालमा सम्पन्न तात्कालीन नेकपा मालेको चौथौ महाधिवेशनमा मदन भण्डारीले प्रस्तुत गरेको जनताको बहुदलीय जनवाद(जबज)लाई मौलिक कार्यक्रम दाबी गर्दै एमाले आज पनि त्यसलाई आफ्नो राजनीतिक उपलब्धि मान्ने गर्दछ । साँच्चै के जनताको बहुदलीय जनवाद मौलिक कार्यक्रम थियो त ?
स्तालीनको हत्या(हेर्नोस् गोप्य दस्तावेज, वर्कर्स पब्लिकेशन) पश्चात सोभियत संघको नेतृत्वमा विश्रृंखलता शुरु भयो । सोभियत कम्युनिष्ट पार्टीको २० र २२ औं महाधिवेशनबाट पारित दस्तावेजले ख्रुश्चेभको संशोधनवादी नेतृत्व सोभियत कम्युनिष्ट पार्टीमा संस्थागत भयो । माक्र्सवाद र लेनिनवादका आधारभूत पक्षलाई निर्मुल गरी सोभियत नेतृत्वले वर्गसमन्वयवादको सिद्धान्त अंगीकार ग¥यो । सोभियत कम्युनिष्ट पार्टीलाई ‘कामदार जनताको अग्रदस्ता पार्टी’(Vanguard) बाट ‘सबै जनताको पार्टी’ घोषणा गरियो । राजनीतिक दल वर्गीय आधारमा गठन हुने र वर्गीय हितको निम्ति काम गर्ने न्युनतम तथ्यलाई समेत त्यागेर सोभियत कम्युनिष्ट पार्टीले सबै जनताको पार्टी बन्ने नाममा हिजो क्रान्तिबाट दबाइएका शोषक पूँजीपति र जालीफटाहाहरुलाई पनि पार्टीमा हुल्यो । पार्टी सदस्य बन्न कोही पनि व्यक्तिमा हुनुपर्ने न्यूनतम पूर्वशर्तलाई च्यातियो र रद्दीको टोकरीमा मिल्काइयो ।
तात्कालीन परिस्थितिमा सोभियत कम्युनिष्ट पार्टी संसारकै कम्युनिष्ट आन्दोलनको नेता र सबभन्दा विशाल पार्टी थियो । सोभियत संघको यो परिवर्तनबाट संसारको कम्युनिष्ट आन्दोलनमा अन्योलको अवस्था बन्यो । माओले नेतृत्व गरेको चिनियाँ कम्युनिष्ट पार्टी र अनवर होक्सा नेतृत्वको अल्बानियाली श्रमिक पार्टीले सोभियत संशोधनवादी नेतृत्वविरुद्ध लगातार संघर्ष गरे । अन्ततः सन् १९८९ मा सोभियत संघ विघटन भयो । संशोधनवाद अन्ततः असफल हुनु नै थियो ।
सोभियत संघको विघटनसँगै संसारभर कम्युनिष्ट आन्दोलन प्रतिरक्षात्मक अवस्थामा पुग्यो । धेरै देशका कम्युनिष्टहरुमा एक प्रकारको निराशा नै व्याप्त भयो । पाकिस्तानको कम्युनिष्ट पार्टी केन्द्रीय समितिका बहुमत सदस्यहरुले त पार्टी विघटनको घोषणा नै गरेका थिए । यस्तो विश्व परिवेशनमा मदन भण्डारीले एमालेमा जनताको बहुदलीय जनवादको कार्यक्रम ल्याएका थिए । ‘बदलिंदो विश्व कम्युनिष्ट आन्दोलन’ लाई औंल्याउँदै भण्डारीले सारमा सोभियत संशोधनवादी नेतृत्वले अघि सारेको विचारलाई नै नेपाली भाषामा अनुवादमात्र गरेका थिए ।
पाकिस्तानमा जस्तो नेपालमा कम्युनिष्ट आन्दोलन विघटनको मुखमा नै त पुगेन । त्यसको कारण नेपालको छिमेकी देश चीनमा माओ त्से तुङको नेतृत्वमा भएको सोभियत संशोधनवादविरोधी सैद्धान्तिक बहसको प्रभाव पनि थियो । तर मदन भण्डारीको तात्कालीन प्रस्ताव मुलतः सोभियत संशोधनवादले अघि सारेको माक्र्सवादको खोटो व्याख्यामा आधारित थियो । सोभियत कम्युनिष्ट पार्टीको बीसौं र बाइसौ महाधिवेशनबाट पारित ‘वर्गसमन्वयवाद’ र ‘सबै जनताको पार्टी’को सिद्धान्तलाई जनताको बहुदलीय जनवादले पनि स्वीकारेको छ । साथै शोषणमूलक पूँजीवादी बन्दोबस्तबाट समाजवादी बन्दोबस्तमा शान्तिपूर्ण संक्रमणको सिद्धान्त खु्रश्चेभ नेतृत्वको सोभियत कम्युनिष्ट पार्टीले जस्तै मदन भण्डारीको जबजले पनि स्वीकारेको छ । निसन्देश यो माक्र्सवादको संशोधनवादी बाटो थियो जसले अन्ततः परिणाममा पूँजीवादी बन्दोबस्तलाई नै बलियो बनाउने काम ग¥यो ।
सोभियत संघ औपचारिक रुपमा विघटन भएको तीन दशक पुग्दैछ । यसबीच रुसको वर्तमान अवस्था र नेपालको कम्युनिष्ट आन्दोलनमा एमालेको वर्तमान अवस्थाले संशोधनवादी विचारधाराले पूँजीवादको रौं उखेल्ने होइन, बरु टेको दिने रहेछ भन्ने तथ्य प्रमाणित गरेको छ ।
जब संशोधनवादी विचारधाराले माक्र्सवादमाथि हमला गरिरहेको थियो, एक जना माक्र्सवादीको कर्तव्य माक्र्सवादका आधारभूत पक्षहरुको रक्षा गर्नु हुने गर्दछ । माक्र्सवाद वर्गसंघर्ष र सर्वहारा वर्गको मुक्तिको दर्शन हो । जब कसैले माक्र्सवादका यी आधारभूत पक्षमाथि नै अनेक शब्दावलीको सहारामा हमला गर्ने गर्दछ भने माक्र्सवादीले त्यस्ता खोटा विचारविरुद्ध धावा बोल्नुनै माक्र्सवादीको धर्म हुने गर्दछ । कुनै ठूलो र सत्तासीन कम्युनिष्ट पार्टीले गलत विचार अंगालेको छ भने त्यो पार्टी ठूलो र सत्तासीन भएकै कारण उसका विचार पछ्याउनु माक्र्सवादी दर्शन विपरीत कुरा हो । त्यसै कारण सोभियत संशोधनवादले गरेका वैचारिक गल्ती र सैद्धान्तिक स्खलनविरुद्ध माओ र होक्साहरुले लगातार संघर्ष गर्नुप¥यो । सैद्धान्तिक संघर्ष कस्तो कष्टकर हुने गर्दछ भन्ने कुरा चीन र अल्बानियाको नेतृत्वले भोग्नुपरेको थियो । सैद्धान्तिक विमतिपश्चात माओ र होक्साहरुले सोभियत संघबाट पाउने गरेका सबै सहयोग लिन बन्द गर्नुप¥यो तर गलत विचारधारा अघि झुकेनन् । चीन र अल्बानिया त्यत्तिबेला ठूलो आर्थिक संकटमा फसेको थियो । बन्दै गरेका धेरै योजना बन्द गर्नुपर्ने अवस्था आएको थियो । तर माक्र्सवादविरुद्ध संशोधनवादको हमलाअघि क्रान्तिकारी नेतृत्व र असल माक्र्सवादीहरु झुक्न तयार भएनन् । संसारको कम्युनिष्ट आन्दोलनको इतिहासमा हो यो ।
मदन भण्डारी व्यक्तिगत रुपमा सरल, समर्पित र प्रतिभाशाली व्यक्ति हुनसक्छन् । तर नेपालमा मदन भण्डारीले माक्र्सवादको गलत व्याख्यालाई नै सही थपेर संशोधनवादको पुजा गरे । एक जना माक्र्सवादीको तात्कालीन कर्तव्य त्यस्तो थिएन । संशोधनवादविरुद्ध संघर्ष गर्नु पर्ने समयमा संशोधनवादको विकास गर्नु माक्र्सवादको विकास थिएन, माक्र्सवादप्रति घात थियो । अनि मदन भण्डारी कसरी नेपालका माक्र्स बन्न सक्छन् ? जसले माक्र्सवादका आधारभूत पक्षलाई बंग्याए, त्यही व्यक्तिलाई माक्र्ससँग तुलना गर्नु के जायज हो ? त्यसकारण मदन भण्डारीलाई नेपालका माक्र्स होइनन् बरु खु्रश्चेभ, बे्रजनेभ, एल्सिनको नेपाली संस्करण भन्नु उपयुक्त हुनेछ । नेपालको कम्युनिष्ट आन्दोलनलाई संशोधनवादको भासमा फसाउने र कम्युनिष्ट पार्टीको नाममा सामाजिक प्रजातान्त्रिक पार्टी बनाउने मदन भण्डारीलाई माक्र्स भन्नु अतिरञ्जना मात्र होइन, झुठ पनि हो ।
जनताको बहुदलीय जनवादका केही अंशहरु उद्र्धत गर्दै केही मानिसहरु आज पनि त्यसको सान्दर्भिकताको दाबा गरिरहेका छन् । त्यसका केही अनुच्छेद वा केही वाक्यहरु माक्र्सवादी विचारधारासँग मिल्नु आश्चर्यको कुरा होइन । ख्रुश्चेभका कतिपय भाषण पनि माक्र्सवादी र लेनिनवादी भन्ने छनक दिने खालका छन् । तर त्यसले मुलभूत रुपमा जुन सिद्धान्त स्थापित गरेको छ, त्यसले माक्र्सवादको मुलधारलाई कमजोर बनाएको छ ।
मदन भण्डारीलाई ‘नेपालका माक्र्स’ भन्नु कम्युनिष्ट आन्दोलन र माक्र्सवादप्रति फेरि पनि भ्रम सृजना गर्ने प्रयास हो । माक्र्सवादलाई कमजोर बनाउन माक्र्सको अनुयायी बनेकाहरु कसरी नेपालका माक्र्स हुन सक्छन् र ? अझ आजको एमाले त माक्र्सवादी, लेनिनवादी, समाजवादी र कम्युनिष्ट त परको कुरा सामाजिक प्रजातन्त्रवादी पार्टी समेत इमान्दारीपूर्वक बन्न सकेको छैन । बरु पटक पटक सत्तामा गएर नवउदार अर्थतन्त्रको समर्थन गरेर आजको एमाले त पूर्ण रुपमा पूँजीवादी पार्टी बनिसकेको छ । जसले नवउदारवादलाई काँधमा बोक्छ उसलाई माक्र्सवादी भन्ने गल्ती गर्नु बौद्धिक दरिद्रताको नमुना हो ।

खु्रश्चेभ


आज नेपालको सन्दर्भमा एमालेले बोकेको विचार नै कम्युनिष्ट विचारधारा हो भन्ने भ्रमले नेपालको समग्र कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको छ । एमालेको नाममा झुण्डिएको कम्युनिष्ट, माक्र्सवाद, लेनिनवाद आदि शब्दले नेपाली जनतालाई खासमा माक्र्सवाद के हो र संशोधनवादले कसरी माक्र्सवादलाई बिगारेको छ भन्ने विषयमा सत्यको नजिक पुग्नबाट वञ्चित गरेको छ । नेपालमा आफूलाई बौद्धिक दाबी गर्ने केही बोली बिक्ने बौद्धिकहरु समेत पार्टीको भागवण्डामा बौद्धिक भएका कारण आज जनतालाई यो सत्य बुझाउन सकिरहेका छैनन् । नेपालका बौद्धिकहरु या त उपकुलपति, राजदुत, क्याम्पसप्रमुख वा त्यस्तै लाभको पदको लोभमा ¥याल चुहाउँदै शासक दलका भाट बनेका छन् भने कोही केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको उम्दा तलबका कारण झुठको बिस्कुन बिसाउनले कर्ममा लागेका छन् । माथि चर्चा गरिएका तथाकथित ‘वल्र्डक्लास माक्र्सवादका व्याख्याताहरु’मध्ये नेपालका यस्तै केही बौद्धिकहरु पनि पर्दछन् ।
माक्र्सवाद संघर्षको दर्शन हो । माक्र्सवाद सरल बाटो कहिल्यै हिंडेको संसारको इतिहास छैन । माक्र्सवादको क्रान्तिकारी धारले धेरैको गल्ला रेटिने हुनाले आज अनेकन रुप र भंगिमामा माक्र्सवादविरोधीहरु माक्र्सवादको त्यो धार कमजोर बनाउन लागिपरेका छन् । उनीहरु कहिले माक्र्सविरोधी भएर त कहिले माक्र्सवादी भएर माक्र्सवादको धार कमजोर बनाउन लागेका देख्छौं । माक्र्सको विरोधी भएर गरेका हमलाभन्दा माक्र्सवादी भएर माक्र्समाथि हुने हमला अझ घातक हुने गरेको छ । माक्र्सवादलाई सामाजिक प्रजातन्त्रवादी विचारधारासँग छ्यासमिस गर्नेहरु सबभन्दा बढी माक्र्सवादविरोधी हुन् । विडम्बना आज तिनै माक्र्सवादविरोधीहरुलाई महान बनाउने काम भइरहेको छ ।
माक्र्सवादमाथिको हमलाको प्रतिरोध माक्र्सवादीहरुले मात्र गर्न सक्छन् । आज नेपालको तथाकथित मुलधारका मिडियाहरुमार्फत माक्र्सवाद र समग्र कम्युनिष्ट आन्दोलनमाथि भइरहेको हमलाको प्रतिकार गर्न सैद्धान्तिक संघर्षको विकल्प छैन । माक्र्सवादलाई ‘समयसापेक्ष रुप दिने’ नाममा त्यसका आधारभूत पक्षमाथिको हमला माक्र्सवादप्रतिको घात हो । माक्र्सवादको विकासको नाममा माक्र्सवादको गल्ला दबाउने काम संशोधनवादको शिलशिला हो । संशोधनवादविरोधी संघर्ष आज नेपालको मात्र होइन, संसारको कामदार वर्गीय माक्र्सवादको आन्दोलनको कर्तव्य बनेको छ । संशोधनवादलाई कमजोर बनाउन नसके भोलि खु्रश्चेभ र मदन भण्डारीहरु माक्र्सभन्दा माक्र्सवाद बन्न बेर लाग्ने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *