भक्तपुरको ख्वप अस्पतालबाट सिक्नुपर्ने पाठ
- कार्तिक १८, २०८३
उनले ‘रूसका सम्पूर्ण नागरिकहरू र युरोपेली देशहरूको जनमत प्राप्त गर्नको लागि एउटा अपिल मस्यौदा’ गरे । उनले त्यो अपिलमा आफू स्वयम्ले देखेको त्यो विध्वंशकारी घटनाको उल्लेख गर्दै अति सामान्य मानिसहरूलाई निर्दयतापूर्वक मारिएको र यो सम्पूर्ण स्थितिको जिम्मेवार जार स्वयम् भएको दाबी गरे । यो मस्यौदाको गुरुकापी पुलिसको हातमा पर्न पुग्यो । जनवरी ११ को दिन गोर्कीलाई सरकारले पक्र्यो र अति महत्वपूर्ण राजनीतिक अपराधीहरू राखिने जेल पटेर पाउल फोट्रिज भन्ने ठाउँमा उनलाई लगियो । अभियोगपत्रमा “कलाकार ए. एम. पेशकोभले वर्तमान राजनीतिक र सामाजिक व्यवस्थालाई उखेलेर फ्याँक्ने घोषणा गर्दै मानिसहरूलाई उत्तेजित पार्ने अपिल लेखेका छन्” भन्ने उल्लेख भएको थियो । उनलाई सरकारविरोधी गतिविधिमा सक्रिय रहेको ठिमाहाको रूपमा हेरिन्थ्यो ।
गोर्कीको गिरफ्तारीले पूरै रूसभरि विदेशमा समेत एउटा हलचल ल्यायो । गिरफ्तारीप्रति विरोध जनाउन जनआवाजका भयङ्कर लहरहरू उर्ले । बर्लिनका अखबारहरू ‘भोरवार्टस’ र ‘बर्लिनर रागसल्बाट’ भन्ने दुइटा पत्रिकाले २८ जनवरीको अङ्कमा ‘गोर्कीलाई बचाऊ’ शीर्षकअन्तर्गत जोशपूर्ण भाषामा लेखकप्रति तत्कालै मानवीय र न्यायपूर्ण काम होओस् भन्ने माग राखे । गोर्कीको महानता चाँडै नै विश्वभरका बुद्धिजीवी र कलाकारहरूको लागि एउटा चाखको विषय बन्यो । ख्यातिप्राप्त राजनीतिज्ञहरू र कलाकारहरूले गोर्कीको पक्षमा एउटा निवेदन तयार गरे र त्यसमा सही गरे । दस्तखत गर्नेहरूको सङ्ख्या अत्यधिक भयो । तर, अर्कोतिर सरकारी पक्षका र धार्मिक समुदायको संरक्षणका ‘नेउए प्रेउसिज्ये क्रेउजेइटुङ जर्मनिय’ र ‘कोल्निचे जेइटुङजस्ता पत्रिकाहरूले गोर्कीको मुक्तिको लागि वकालत गर्न इन्कार गरे । तिनीहरू अरूको देशको घरेलु मामलामा चासो देखाउन चाहँदैनथे । तर पनि युरोपभरि नै नाम चलेका मुख्य मान्छेहरूले गोर्कीको पक्षमा आवाज उठाए ।
त्यतिबेला नै धेरै बिन्तीभाउ गरेपछि गोर्कीलाई ‘साहित्यिक क्रियाकलापलाई जीवित राख्न कलम चलाउन पाउने’ अनुमति दिइयो । गोर्कीले आफ्नो साहसलाई यथावत् राखेर ‘सूर्जेका बालबच्चाहरू’ भन्ने एउटा नयाँ नाटक लेखे । उनको आफ्नै शब्दमा यो एउटा ‘रमाइलो संयोगान्त’ नाटक थियो । यो नाटक लेख्तै गर्दा गोर्की कोठामा एक्लै बसेर सा¥हो आवाज निकालेर एक्लै हाँस्थे । गोर्कीको यो अनौठो किसिमको व्यवहार देखेर उनको पहरा बसेका सिपाहीहरू दङदास पर्थे र हर्षले गद्गद् भएर खिल्खिलाउँदै निस्केको त्यो असङ्गत चिच्याहटको विषयमा तिनीहरू आफ्ना हाकिमलाई सुनाउँथे । पुलिसको हाकिम गोर्कीको कोठामा गएर घण्टौँसम्म त्यहाँ बस्थ्यो र उनीसित कुराकानी गथ्र्यो–
फेरि पनि सरकार आफ्नो निर्णय फेर्न बाध्य भयो । सरकारले यसरी आफ्नो अडान त्याग्नु परेको यो तेस्रो पटक थियो । सन् १९०५ को फेब्रुअरी महिनामा दस हजार रूबल धरौटी लिएर सरकारले गोर्कीलाई जमानतमा छाडिदियो । कारावासको अवधिमा उनको स्वास्थ्य चिन्ताजनक किसिमले बिग्रेको थियो । त्यसैले उनको परिवारसहित गोर्कीले याल्ता जाने अनुमति पाए । उनी त्यहाँ धेरै समयसम्म बसेनन् । मई १५ को दिन उनी फिनल्यान्डको कोउक्काला भन्ने ठाउँमा गए ।
पूरै रूसभरि उनको नाटक ‘गाउँलेहरू’ को प्रदर्शनमा सेन्सरले प्रतिबन्ध लगाएको छ भन्ने कुरो अगस्त महिनामा पत्रिकाहरूले प्रकाशनमा ल्याए । सेन्ट पिटसवर्ग र अरू सहरहरूमा प्रदर्शन भइरहेको नाटक ‘सूर्जेका बालबच्चाहरू’ पनि कुनै अपवादबिना नै होहल्लामुक्त वातावरणमा रोक्कियो ।
सेन्ट पिटसवर्गमा आइतबार भएको रक्तपातपूर्ण क्रान्तिकारी घटनाको दबाबमा परेको हुनाले अक्टोबर २७ को दिन जारले एउटा घोषणा प्रकाशित गर्यो । त्यो घोषणापत्रमा ‘नागरिक स्वतन्त्रतामा फेरबदल नहुने सिद्धान्तहरू’ जनताका लागि दिएको प्रतिज्ञा थियो । यो आदेशले रूसको पहिलो माक्र्सवादी पत्रिका ‘नोभाय शिज्न’ लाई बाटो खोल्यो । यो पत्रिका २७ तारिखमा लेनिनको सम्पादनमा पहिलो पल्ट प्रकाशित भयो । यो पत्रिका म्याक्सिम गोर्की र मारिया फ्योदोरोम्ना एन्ड्रेयेभाको आर्थिक लगानीबाट चलेको थियो । भूतपूर्व नाट्यकलाकार र गोर्कीको निर्वासनकालीन भविष्यको मित्र मारियाको सोचाइमा यो अखबार ‘सर्वोत्कृष्ट कविताहरू, सबभन्दा राम्रा कथाहरू र समसामयिक राजनीतिक लेखहरू’ छापिनुपर्छ भन्ने लागेको थियो । पत्रिकाका कर्मचारीहरूमा अरू मानिसहरूका साथसाथै लुनाचार्सत्की, मास्लोभ्, एन्ड्रेयेभ, वाल्मोन्ट, चिरिकोभ् र कार्ल काउट्की, कार्ल लियेवक्नेच र रोजा लक्जेम्वर्गजस्ता विदेशी सामाजिक प्रजातन्त्रवादीहरूसमेत थिए । पत्रिकाको पहिलो अङ्क जफत भयो । पत्रिकाको सम्पादक मण्डलले ‘सामाजिक प्रजातान्त्रिक अखबारमाथि आक्रमण’ भन्दै विरोध जनायो । तर, डिसेम्बर २ सम्म नै पत्रिका जफत गर्ने अभियान चल्दै गयो र आखिरमा गएर ‘नोभाया शिज्न’ को प्रकाशन स्थगित गर्नुपयो । त्यो मितिभन्दा अगाडि नै पत्रिकाले लेनिनको ‘पार्टी सङ्गठन र पार्टी साहित्य’ र गोर्कीको ‘निम्नमध्यम वर्गबारे टिप्पणी’ जस्ता लेखहरू प्रकाशित गरिसकेको थियो । यी लेखहरूमा रूसका क्रान्तिविरोधी तत्वहरूप्रति कडा प्रहार गरिएको थियो ।
यी महिनाहरूमा मस्कोमा बस्ताको समयमा, भाषण गरेर र लेखहरू लेखेर गोर्कीले अविरल गतिमा क्रान्तिको लागि काम गरे । उनले ‘मलाई जुत्ताको लागि पैसाको खाँचो छ’ भन्दै आगामी विद्रोहको लागि धन जम्मा गरे । उनको भाषामा ‘जुत्ता’ को मतलब हातहतियार थियो । उनले यी सरसामग्रीहरू आफ्नो डेरामा थुपारेर राखेका थिए । उनले नोभेम्बर २७ को दिन सेन्ट पिटसवर्गमा पहिलोपल्ट लेनिनलाई भेटे । डिसेम्बर ८ मा मस्कोमा हातहतियारसम्बन्धी तालिम सुरु भयो । त्यहाँका श्रमिकहरूको अत्यन्त राम्रो अडानप्रति गोर्की असाध्यै खुसी भए । डिसेम्बर १० मा प्यात्नीट्स्कीलाई लेखेको चिठीमा उनले संयमपूर्वक “वास्तवमा जितार पक्ष नै सरकार बन्ने छ, तर त्यो धेरै समयसम्म टिक्ने छैन … र तिनीहरूले आफ्नो विजयको निम्ति निकै महँगो मूल्य तिर्नुपर्नेछ” भन्ने उल्लेख गरे ।
गोर्कीको सोचाइ ठीक थियो । विद्रोहलाई निर्ममतापूर्वक दबाइयो । रूसभरका श्रमिकहरूलाई वितरण गरिएको एउटा हस्तलिखित पर्चामा गोर्कीले भने –
सर्वहारा वर्ग पराजित भएको छैन, तथापि यसले अत्यन्त ठूलो नोक्सानी बेहोर्नुपरेको छ । नयाँ आशाले भरिपूर्ण भएर सङ्घर्ष मजबुत भएको छ । रूसका श्रमिक जनता अन्तिम विजयको लागि सडकमा उत्रेका छन् । किनभने, तिनीहरू नै नैतिकरूपमा रूसका सबल, वर्ग सचेत र सामाजिक श्रेणी हुन् र तिनीहरू आफ्नो भविष्यको लागि आफैमा विश्वास राख्छन् ।
जीर्ण भएको आफ्नो आर्थिक अवस्थालाई सुधार्न जारतन्त्रीय सरकारले संसारका विभिन्न देशहरूबाट ऋण लिने योजना बनायो । सरकारको यो निर्णय जब प्रकाशमा आयो, रूसी समाजवादी प्रजातन्त्रवादी श्रमिक सङ्गठनको केन्द्रीय समितिले आफ्नो विशेष उद्देश्यको लागि गोर्कीको विश्वविख्यात ख्यातिको प्रयोग गर्ने काम अगाडि बढायो । गोर्कीले विश्वका विभिन्न देशहरूको भ्रमण गरून् र रूसी क्रान्तिको यथार्थ चित्रण संसारअगाडि राखून्, उनले भाषण गरेर र लेखहरू लेखेर रूसको जारशाही सरकारलाई दिइने ऋण रोक्ने काममा सहयोग गरून् र पार्टीको लागि अनुदान जम्मा गरून् भन्ने पार्टीको विचार भयो ।
सन् १९०६ को जनवरी महिनाको अन्त्यतिर गोर्कीले फिनल्यान्डको कुनै एउटा ‘गुप्त ठाउँ’ बाट उनकी श्रीमतीलाई चिठी लेखे । उनी त्यहाँ सम्भावित गिरफ्तारीबाट जोगिन लुकिरहेका थिए । उनले उनकी श्रीमतीलाई लेखेको चिठीमा “कठिन घडी आइरहेको छ, सरकारी अधिकारीहरू मलाई समात्न चाहन्छन् भन्ने कुरो प्रस्ट भइसकेको छ । मलाई जेलमा पर्न इच्छा छैन, त्यसैकारणले म विदेश भ्रमणमा जाँदै छु” भन्ने उल्लेख गरे ।
फेब्रुअरी महिनामा उनी बर्लिन आइपुगे । त्यहाँ उनले बेबेल, काउट्स्की, लिएब्क्नेच्ट् र मुख्यरूपमा माक्र्स रेछन् हडिट्लाई भेटे । मस्को नाट्यशालाका कलाकारहरू भ्रमणको सिलसिलामा त्यहाँ पुगेका थिए र त्यसबेलासम्म गोर्की ‘निम्नमध्यमवर्ग’, ‘सूर्जेका बालबच्चाहरू’ र सबभन्दा बढी ‘निकृष्ट खाडल’ नाटकको माध्यमबाट ख्यातिप्राप्त गरिसकेका थिए । रूसी गुप्तचर विभागले उनको भ्रमणको पासपोर्ट रोक्ने असफल प्रयत्न गरेको थियो । गुप्तचर विभागले उनलाई केवल निगरानीमा राख्न सक्थ्यो ।
ती लज्जालु लेखक, जसले केही मात्रामा सार्वजनिक सम्मान प्राप्त गरिसकेका थिए । भेष बदलेर आफ्नो यात्रा जारी राखे । यसरी उनी स्वीट्जरल्यान्ड पुगे । त्यसपछि पेरिस र चेरवर्ग हुँदै उनी न्युयोर्क पुगे, न्युयोर्कमा उनले “विशेष किसिमको भव्य र न्यानो स्वागत सम्मान” पाए । त्यतिबेलाको सम्झना गर्दै उनी भन्छन्, “उनन्चालीस घण्टासम्म न्युयोर्कका सम्पूर्ण प्रेसहरूले मेरो र मेरो यात्राको उद्देश्यबाहेक अरू कुनै कुरा लेखेनन् र भनेनन् । तीन दिनपछि बल्ल त्यो उत्कण्ठाको लहर घट्यो । रूसको गुप्तचर विभाग ‘ओखाना’ ले आफ्नो काम गरेको थियो । गुप्तचर विभागले गोर्की एउटा ‘अराजकतावादी र फुँडो’ हो भन्ने उल्लेख गरिएको फाइल अमेरिकी प्रेस र विदेश विभागलाई सुम्पिसकेको थियो । गोर्कीको साथमा सँगै गएकी यात्राकालीन सङ्गिनी एम. एफ. एन्ड्रेयेभ्ना उनकी वैधानिक श्रीमती होइनन् र रूसमा उनका जहान परिवार भोकभोकै मरिरहेका छन् भन्ने कुरा गुप्तचर विभागले उल्लेख गरेको थियो । न्युयोर्कको समाज गोर्कीको ‘नैतिक दुर्गति’ को विरोधमा उत्यो । गोर्की लेख्छन्, “म तीनओटा होटलबाट निकालिएँ र मेरो साथमा रहेका प्रत्येक मानिस मदेखि परपर भागे । मैले एकजना अमेरिकी लेखकको शरण पाएँ र अब हुने घटनालाई हेरेर बस्न थालेँ । अखबारपत्रहरूले मलाई देश निकाला गर्नुपर्छ भन्ने कुरामा बहस गर्न थाले ।” तर, त्यहाँको सबैभन्दा बढी प्रभावकारी अखबारले भने लेखहरू लेखिदिनको लागि गोर्कीसित पहिले नै सम्झौता गरिसकेको थियो र गोर्कीको विरुद्धमा बद्ख्वाँइ गर्ने काममा सामेल भएनन् । परिस्थिति बिस्तारै सामान्य हुँदै गयो र रूसको लागि पश्चिमका राष्ट्रहरूबाट दिइने ऋणको विरुद्धमा गोर्कीले अभियान चलाउन सुरु गरे । उनको मुख्य अडान, ऋणबाट प्राप्त जारशाही सरकारले क्रान्तिकारीहरूको क्रियाकलापलाई निर्ममतापूर्वक दबाउन दुरूपयोग गर्नेछ भन्ने कुरो प्रस्ट्याउनमा केन्द्रित थियो । उनको आह्वानले सार्वजनिक क्षेत्रको ध्यान उनीतिर आकर्षित ग¥यो र उनलाई ठूलो मात्रामा अनुदान रकम प्राप्त भयो ।
गोर्कीले बडो उत्सुक भएर गम्भीरतापूर्वक अमेरिकी जीवनपद्धतिको अध्ययन गरे । उनमा परेको अमेरिकी जीवनको छापबारे उनले ‘अमेरिकामा’ भन्ने उनको यथार्थवादी चित्रण र पर्चाहरूमा उल्लेख गरेका छन् । उनकै शब्दमा अमेरिकी जीवनको वर्णन यस्तो छ–
“मैले अत्यधिक मात्रामा गरिबी देखेको छु, अनुहारमा एक थोपा रगत नभएका, हाड, छाला मात्र भएका मान्छेहरू देखेको छु । तथापि पूर्वतिरको गरिबीको बीभत्स रूप भने मैले जानेबुझेसम्म सबभन्दा बढी खराब छ । यहाँका सडकहरू पिठोका बोराजस्तै मानिसहरूको भिडले खचाखच छ । केटाकेटीहरू सडकमा मिल्किएका फोहर टीनका डिम्बाहरू, फलफुल र तरकारीहरू खोज्छन् र जहाँ जति बेला जे पायो, त्यो हुसेरिहाल्छन् । ढुसी उम्रेका पदार्थहरूसमेत तिनीहरू छाड्दैनन् । सडक धूलो र दुर्गन्धले भरिएको छ । एउटा सानो रोटीको टुक्राको लागि केटाकेटीहरूमा पशुवत झैझगडा र शत्रुता सिर्जना हुन्छ । तिनीहरू रोटीको टुक्राको लागि कुकुर लुछाचुँडी गरेर लडाभाँति गर्छन् । तिनीहरू क्षुब्ध परेवाका बथानझैँ सडक ढाकेर हिँड्छन् । राति एकदुई बजेतिर र अझ त्यसभन्दा अबेरसम्म दर्दनाक गरिबीका ती कीटाणुहरू फोहर सडकमा लडीबुडी खेलिरहन्छन् ।”
‘पहेँलो शैतानको नगर’ का यी शब्दहरूमा पश्चिममा पुँजीवादले सिर्जना गरेका मानिसहरूका अत्यन्त नाजुक अवस्थाहरूप्रति गोर्कीले आफ्नो विरक्त पोखेका छन् । गोर्कीका ‘अन्तर्वार्ताहरू’ र काइसेर विलहेल्म, जार निकोलाज र ‘अमेरिकी राजा’ सितका उनका छोटा व्यङ्गयात्मक वार्तालापहरू पनि उत्तिकै आक्रमणकारी छन् ।
फ्रान्सेली सरकारले जारशाहीको अनुरोधमा रूसलाई ऋण स्वीकृत गर्ने निधो गरेपछि गोर्कीले ‘सुन्दर फ्रान्स’ भन्ने अति चर्चित ‘कुख्यात’ पर्चा लेखे ।
अमेरिकामा बसेर गएका गोर्कीका क्रान्तिकारी क्रियाकलापले रूसको वर्तमान शक्तिको स्वरूपमा हल्लीखल्ली मच्चाइदियो । गोर्की सन् १९०५ को फेब्रुअरीमा फोट्रीज झ्यालखानाबाट छुटेदेखि नै समाजवादी जनतान्त्रिक पार्टीका सदस्य बनेका थिए र उनको क्रान्तिकारी क्रियाकलापको कारणले गर्दा उनी रूसी सरकारका निम्ति विशेष चासोका विषय बनेका थिए । डिसेम्बर क्रान्तिभन्दा अगाडि उनले याल्टामा गएर आफ्नो परिवारलाई भेट्ने साहससम्म गर्न सकेका थिएनन् । उनको जीवन खतरामा थियो । उनी मस्कोमा रोकिएका थिए । अक्टोबर २४ १९०५ मा उनले आफ्नी श्रीमतीलाई लेखे, “यहाँ म मारिन्छु कि भन्ने निकै कम सम्भावना छ ।”
अमेरिकाको यात्राले लेखकको आशावादलाई फेरि टल्काएको थियो । गोर्कीकै शब्दमा– “विश्वक्रान्ति नजिकिँदै आइरहेको कुरा मलाई प्रत्येक दिनले आभास दिन्थ्यो ।” क्रान्तिको विजयप्रति उनको प्रगाढ विश्वास उनले अमेरिकामा लेखेको नाटक ‘शत्रुहरू’ र उनको प्रख्यात उपन्यास ‘आमा’ मा विशेषरूपमा मुखरित भएको छ । यी दुवै कृतिहरूमा उनले जनसमूहको बिचमा रहेको अज्ञात शक्तिको चित्र उतारेका छन् । शत्रुहरू नाटकमा उनले आफ्नो जीउ बचाउनको लागि देश, जनता, इज्जत र स्वतन्त्रतासमेत बेच्न तयार हुने उदारवादीहरूको लोकाचारलाई उदाङ्गो परेका छन् । ‘आमा’ उपन्यास सर्वप्रथम सन् १९०६ मा अमेरिका र लण्डनबाट अङ्ग्रेजी भाषामा प्रकाशित भएको थियो । जर्मनीमा किताबको रूपमा प्रकाशित हुनुभन्दा अगाडि यो उपन्यास १९०७ मा बर्लिनको ‘भोर्वार्टस्’ भन्ने पत्रिकाको जुलाई २ देखि अक्टोबरको ३० सम्म एउटा स्तम्भमा क्रमशः निस्कँदै गयो । रूसमा ‘ज्नानिए’ पत्रिकाको सोह्रौँ अङ्कमा यो उपन्यासको पहिलो भाग मात्र छापिएको थियो र हुलमुलमा नै सेन्सरबाट पास गराइएको थियो । यो उपन्यासको प्रकाशनको तत्कालैपछि सेन्ट पिटसवर्गको पुलिसको हाकिमले ‘कलाकार समूहको सदस्य अपराधी मास्टर ए. एम्. पेश्कोभ्’ को नाममा पक्राउ पुर्जी जारी ग¥यो ।
‘आमा’ उपन्यासका आदर्श पात्रहरू पाभेल भ्लासोभ् र उनकी आमा निलोभ्ना सन् १९०२ मई महिनामा भएको प्रदर्शनमा भाग लिएबापत जारशाही न्यायालयबाट सजाय पाएका श्रमिक प्योतर सालोमोभ् र तीर्थयात्रीको रूपमा देशभर चहार्दै क्रान्तिकारी पर्चा र लेखोटहरू वितरण गर्ने उनकी आमा थिइन् । जेलमा परेको आफ्नो छोरालाई अवैध किसिमले बम पु¥याउन तल्लीन भएकी एउटी आमालाई गोर्कीले चिनेका थिए । ‘आमा’ उपन्यास तिनीहरू र गोर्कीले चिनेका अरू कैयौँ वीर आमाहरूको स्मारक हो । रूसी साहित्यमा सर्वप्रथम गोर्कीले नै श्रमिक जनताको स्वतःस्फूर्त असङ्गठित सङ्घर्ष सङ्गठितरूपमा फेरिएको परिवर्तनको बयान गरे । उनले यो परिवर्तनलाई अत्यन्त गहिरिएर सूक्ष्म किसिमले वर्णन गरे । उनले यस्तो यथार्थ चित्रण पेस गरे कि ती पात्रहरू उडन्ते कल्पनाका उपज नभएर वास्तविक जीवनका रगत र मासुले बनेका पात्रहरू बने । लेनिनले यो कृतिलाई समकालीन इतिहास भन्दै ‘अति समसामयिक किताब’ भनेर सम्बोधन गरे । कर्ल काउट्स्कीकी श्रीमतीले गोर्कीकी सङ्गिनी एम.एफ. एन्ड्रेयेभालाई एउटा चिठी लेखेर यो किताबबारेको उनको धारणा यसरी पेस गरिन्–
“यो अनौठो उपन्यास गोर्कीका सुन्दर कृतिहरूमध्येको सबभन्दा बढी सुन्दर सिर्जना हो । यसले एउटा आत्मीय उच्च किसिमको स्नेहको प्रकाश छर्छ र त्यो प्रकाश तत्कालै हृदयको गहिराइसम्म पुगेको हुन्छ । यसले एउटा तेज फैलाउँछ, त्यो धेरैबेरसम्म चम्किरहन्छ । यो उपन्यास लेखकले आफ्नो मुटुको रगतले लेखेका हुन् भन्ने कुरो पाठकले अनुभव गर्छ । उपन्यासका पात्रहरूको वर्णन पनि अति नै स्पष्ट छ । आमालाई कसरी माया गर्नुपर्छ, मान्छे आमासित कसरी कष्ट भोग्छ, कसरी आमाको स्नेह गरिन्छ भन्ने कुरो किताबका प्रत्येक पानाले बताउँछन्– यो किताबको लागि म कति इमानदारीपूर्वक उनलाई धन्यवाद दिन चाहन्छु भन्ने कुरो कृपया तिम्रो अलेक्सेयीलाई सुनाइदेऊ ।”
आमा उपन्यास सबै प्रमुख भाषाहरूमा अनुवाद गरियो र यसले विश्वव्यापी सफलता हासिल गर्यो । अनुमान गरिएझैँ नै, पुँजीवादी र प्रतिक्रियावादी आलोचकहरूको यस पुस्तकबारेको धारणा नकारात्मक भयो । यस विषयमा तिनीहरूले रूसी लेखक डी.डब्ल्यु. फिलोसीफोभ्को अनुसरण गरे । फिलोसीफोभ्ले ‘गोर्कीको अन्त्य’ भन्ने उनको निबन्धमा गोर्कीविरोधी अभियानको सुरुआत गरेको थियो ।
सन् १९०७ को वसन्तऋतुमा लण्डनमा रूसी समाजवादी प्रजातन्त्रवादी पार्टीको पाँचाँै अधिवेशन भयो । गोर्कीले ह्वाइटच्यापेल चर्चमा प्लेखानोभद्वारा नेतृत्व गरिएको मेन्सेभिक दल र लेनिनद्वारा नेतृत्व गरिएको बोल्सेभिक दलको बिचमा भएको गरमागरम बहस घण्टौँसम्म सुने । ती महान् राजनीतिज्ञको त्यतिबेला उनमा परेको प्रभावको उल्लेख गर्दै ‘लेनिनको सम्झनामा’ भन्ने आफ्नो कृतिमा उनले यसरी लेखेका छन् –
“राजनीतिका अत्यन्त कठिन समस्याहरूको समाधान सरल किसिमले पनि गर्न सकिन्छ भन्ने कुरो मैले मेरो जीवनमा सर्वप्रथम पत्ता लगाएँ । यी मानिसले फूलबुट्टा भरेर कुरा गर्ने प्रयत्न गरेनन् । उनले प्रत्येक शब्दको अर्थलाई अति सरल किसिमले प्रस्ट्याए ।”
जुलाई १ को मध्यरातमा पैँतीसौँ बैठकपछि महाधिवेशन स्थगित भयो । बोल्सेभिक समूहका सबै प्रस्तावहरू बैठकबाट पास भएका थिए ।
यही बेलादेखि गोर्की र लेनिनको बिचमा मित्रता सुरु हुन्छ । गोर्कीले लेखेका छन् – “उनको र मेरो बिचको सम्बन्ध एउटा खरो गुरु र एउटा असल मित्रको रूपमा थियो ।” लेनिन प्रायः काप्री जान्थे, क्षयरोगले पीडित गोर्कीको स्वास्थ्यबारे सधैँ नै चिन्तित थिए, गोर्कीको कामको विकासमा चाख लिन्थे । उनले गोर्कीलाई साझा उद्देश्यको लागि हिँडेको एउटा शक्तिशाली मित्रको रूपमा हेर्थे । लेनिनका शब्दमा–
“गोर्की निर्विवादरूपमा अत्यन्त महत्वपूर्ण कलाकार हुन् । उनी विश्व सर्वहारा आन्दोलनका अत्यन्त उपयोगी कर्मयोगी बनेका छन् र उनको यो क्रियाकलाप यथावत रहनेछ ।”
सन् १९०८ को अन्त्यतिर, गोर्की लुनाचार्स्की, बोग्डानोभर अरूहरू प्लेखानोभको अति भौतिकवादी दर्शनबाट टेढिए । ‘सर्वहारा’ पाक्षिक पत्रिका र ‘भौतिकवाद र प्रयोगात्मक आलोचना’ भन्ने आफ्नो किताबमा लेनिनले उनको पक्ष त्यागेर पन्छिएका ‘ईश्वरको खोजी गर्नेहरू’ को खोइरो खने । त्यति नै बेला सेराफिनामा रूसी श्रमिकहरूलाई प्रचार कार्य गर्नको लागि तालिम दिन एउटा स्कूल खोलिएको थियो । यसमा गोर्कीको सक्रिय समर्थन थियो । यो स्कूललाई लेनिनले बोग्डानोभका समर्थकहरूको सङ्गठन बनाउने भनेर व्याख्या गरे । त्यसैकारणले उनले त्यो समूहमा भाषण गर्न इन्कार गरे । सन् १९०९ को जुलाईको सर्वहारा पत्रिकाको एउटा अङ्कमा लेनिनले ‘वैज्ञानिक समाजवादलाई धार्मिक अन्धविश्वासमा मुछेर समाजवादी प्रजातन्त्रलाई अन्धविश्वास र धर्मसम्बन्धी शिक्षा–दीक्षामा मिलाउने’ केही कमरेडहरूबाट भएको प्रयत्नको भन्डाफोर गर्दै एउटा वक्तव्य दिए । लेनिनले यी प्रयत्नहरूलाई ‘माक्र्सवादी सर्वहारा समाज विरुद्ध खडा गरिएको निम्न पुँजीवादी धारणा भएका मानिसहरूको क्रियाकलाप’ भन्ने आरोप लगाए । यो स्कूलका संस्थापकहरूलाई ‘अफिस र तालिम केन्द्रका’ प्रतिनिधि र ‘ईश्वरको सिर्जना’ को कित्तामा राखियो । गोर्कीसमेत मिलेर बोग्डानोभ् र उनका समर्थकहरूले आफ्नो समूहको प्रतिनिधित्व गराउन ‘अगाडि’ भन्ने पत्रिका प्रकाशनमा ल्याए । यो मतभिन्नताले चर्को रूप लियो र गोर्की समाजवादी प्रजातान्त्रिक पार्टीबाट निकालिए ।
गोर्कीले काप्रीको स्कूलमा रूसी साहित्यको इतिहासबारे वक्तव्यहरू दिए । यसको साथसाथै उनले पुश्किन र टाल्सटायबारे अनुसन्धान कार्य सुरु गरे । उनका विचारहरू विभिन्न विशिष्ट निबन्धहरू, खासगरी ‘व्यक्तित्वको विघटन’ मा प्रस्टिए । यो निबन्धमा गोर्कीले शासकवर्ग मात्रै सिर्जनात्मक कार्यको लागि सक्षम हुन्छ र केबल समाजबाट अलग, एकान्तमा रहेको व्यक्तिले नै कलात्मक कृतिहरूको आविष्कार गर्न सक्छ भन्ने झूटो लोकोक्तिको खण्डन गरेका छन् ।
“जनता भौतिक मान्यताका स्रोतका निर्माता मात्र होइनन् । बरु, तिनीहरू आध्यात्मिक मान्यताका अनन्त स्रोतहरूको पनि निर्माण गर्छन् । तिनीहरू विश्वका महानतम वियोगान्त नाटक र उत्कृष्ट कविताका कलाकर्मी, सर्वोत्तम योगी र कवि हुन् । यी कृतिहरूमध्येको सर्वश्रेष्ठ कृति सम्पूर्ण विश्वको संस्कृतिको इतिहास हो र यसका निर्माताहरू पनि तिनीहरू नै हुन् ।”
रोमानोभ्कोको तीनसयौँ जन्मजयन्तीको उपलक्ष्यमा जारले आममाफी घोषणा ग¥यो । गृहचिन्ताले अत्यन्त आत्तिएका गोर्कीले रूस फर्कने योजना बनाए । क्षयरोग उकल्चिएको हुनाले उनी रूस फर्कने काम ढिलो हुन गयो । उनलाई सहानुभूति दिँदै लेनिनले लेखे, “जाडो याममा तिमी रूस फर्कँदा तिम्रो स्वास्थ्य निकै नराम्रो किसिमले बिग्रन्छ कि भन्ठानेर म निकै चिन्तित छु ।” तर, गोर्कीको स्वास्थ्यमा बिस्तारै सुधार भयो र सन् १९११ को डिसेम्बरको अन्त्यतिर उनी रूस फर्कन सक्ने अवस्थामा भए । उनी सेन्टपिटसवर्ग नजिकै फिनल्यान्डमा बस्न थाले ।
Leave a Reply