भर्खरै :

देशको अर्थतन्त्र ध्वस्त भइरहेकोमा शासकहरू नै जिम्मेवार

देशको अर्थतन्त्र ध्वस्त भइरहेकोमा शासकहरू नै जिम्मेवार

भक्तपुर, ८ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सत्तारुढ दलले सरकारको नीति र कार्यक्रम नल्याएको कारण प्रधानमन्त्रीलाई नेमकिपाले विश्वासको मत नदिएको स्पष्ट पार्नुभयो ।
एकता टीभीका सन्तोष निरौलासँग मङ्गलबार कुराकानी गर्दै अध्यक्ष रोहितले प्रधानमन्त्रीलाई विश्वासकोे मत दिन चाहेका दलहरूले आ–आफ्नो न्यूनतम साझा कार्यक्रमबारे छलफलमा ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
राष्ट्रिय सहमतिको सरकारबारे राखिएको एक जिज्ञासाबारे अध्यक्ष रोहितले भन्नुभयो, “यो राष्ट्रिय सहमतिको सरकार होइन, सदनको बहुमत प्राप्त सरकार हो । राष्ट्रिय सहमतिको लागि सदनभित्र रहेका र सदन बाहिर रहेका दलहरूको पनि समर्थन लिनुपर्छ ।”
उहाँले सरकारी नीति र कार्यक्रम देश र जनताको हितमा हुनुपर्छ, नेमकिपा गलत कामको विरोध गर्छ भन्नुभयो ।
अध्यक्ष रोहितले सिद्धान्त र विचारको आधारमा होइन लेनदेनको आधारमा मन्त्रिमण्डल विस्तार भइरहेको हुँदा राजनीतिक अस्थिरता निम्तिने स्पष्ट पार्नुभयो ।
एमसीसी सम्झौतामा भारत र अमेरिकाको सम्बन्ध रहेको स्मरण दोहो¥याउँदै उहाँले नेपालको योजनामा भारतलाई चित्त नबुझिकन अमेरिकाले हात हाल्दैन भन्नुभयो ।
शासकहरूमा विश्वासको सङ्कट रहेको चर्चा गर्दै अध्यक्ष रोहितले नेका र भारतले माओवादीलाई अघि सारेको बताउनुभयो ।
“नेमकिपा सिद्धान्त र विचार छोडेर राजनीति गर्दैन, विचार नमिल्दैमा मारपिट गर्न पाइँदैन, प्रजातन्त्रमा बोल्ने अधिकार हुन्छ, त्यसमा हस्तक्षेप गर्नुहुँदैन,” अध्यक्ष रोहितले भन्नुभयो ।
शासकहरूले समयमै विचार नपु¥याए श्रीलङ्काको जस्तो आर्थिक सङ्कट नेपालमा पनि देखिने सम्भावना व्यक्त गर्दै उहाँले देशको अर्थतन्त्र ध्वस्त हुन गइरहेकोमा शासकहरू नै जिम्मेवार छन् भन्नुभयो ।
नेपालका शासकहरूमा शिष्टाचारको समेत ज्ञान नभएको स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “विदेशी सचिवसँग मन्त्री र प्रमले भेट्न मिल्दैन, भेटघाट समान स्तरको व्यक्तिसित हुने गर्छ ।”
वर्तमान सरकार स्थिर होला त भन्ने प्रश्नको जवाफमा अध्यक्ष बिजुक्छेँले नेकाले भनेको कुरा प्रचण्डले मानिरहेसम्म हुन्छ, अन्यथा सम्भव छैन भन्नुभयो ।
उहाँले एक अर्काे प्रश्नको जवाफमा भन्नुभयो, “कृषि अर्थतन्त्र दयनीय स्थितिमा छ, उद्योगधन्दामा प्रगति पटक्कै छैन ।”
संसद्मा नेमकिपाको भूमिका के हुन्छ भन्ने प्रश्नको जवाफमा अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “नेमकिपा सरकारले गर्ने हरेक गलत कामको विरोध र खण्डन गर्छ । देश र जनताको हितमा नेमकिपा सदन र सडकमा सङ्घर्षरत छ ।
सरकारले रासायनिक मलमा दिँदै आएको सरकारी अनुदान कटौती गरेर मूल्यवृद्धि गरेको विरोधमा नेक्राकिसङ्घ र अन्यले विरोध गरेपछि अनुदान कटौती फिर्ता लिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “देश र जनताको पक्षमा आवाज नउठाउने पार्टी जनताका पार्टी हुँदैन ।”
विश्वमा आतङ्क मच्चाएर साम्राज्य फैलाउने अमेरिकी राष्ट्रपतिहरूलाई युद्ध अपराधीको संज्ञा दिएर जेल हाल्नुपर्ने चर्चा भइरहेको उल्लेख गर्दै उहाँले साम्राज्यवादी देश अमेरिकाको विश्वसामु बदनाम भइरहेको छ भन्नुभयो ।
“सत्य निरूपण आयोगबारेको विधेयक छलफलमै ल्याइएको छैन भने बिना छलफल पास गर्नुहुँदैन” अर्काे एक प्रश्नको जवाफमा अध्यक्ष रोहितले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *