भर्खरै :

बोलिभिया : ल्याटिन अमेरिकाको बिजुलीघर

बोलिभिया : ल्याटिन अमेरिकाको बिजुलीघर

इतिहासमै पहिलोचोटि बोलिभिया बिजुली निर्यात गर्ने देश बनेको छ । युरोपमा बत्ती बाल्न पनि धौधौ भइरहेको बेला बोलिभियाको बिजुली कम्पनी इन्डेले अर्जेन्टिनालाई १३२ हजार भोल्ट विद्युत्् प्रदान गर्ने ऊर्जामन्त्री फ्राङ्कलिन मोलिनाले घोषणा गरे । इन्डे बोलिभियाली सरकारले राष्ट्रियकरण गरेको कम्पनी हो ।
यो किन महत्वपूर्ण छ ? लिथियम र हाइड्रोकार्बन सङ्कटको आजको युगमा कुनकुन देश सफल हुनेछन् भनी यहाँ चर्चा गरिनेछ । आफ्नो विकासको स्वामित्व लिने देशहरू नै भविष्यका कर्णधार हुन् ।
ऊर्जामन्त्री मोलिनाले भने, “हाम्रा देशहरू जोड्न यस सम्बन्धले ठूलो भूमिका खेल्नेछ र विद्युत्ीय ऊर्जा आदानप्रदानको बलियो संयन्त्र निर्माण गर्नेछ ।” आउँदो अप्रिलमा बोलिभिया र अर्जेन्टिनाको सीमामा दुवै देशको एउटा संयुक्त कार्यक्रम हुँदै छ । कार्यक्रममा विद्युत् निर्यात परियोजनाको औपचारिक उद्घाटन राष्ट्रपति लुइस आर्से र राष्ट्रपति अल्बर्टो फर्नान्डेजले संयुक्त रूपमा गर्नुहुने ऊर्जामन्त्री मोलिनाले जानकारी गराए ।
रुसमाथि पश्चिमा देशहरूले लगाएको आर्थिक प्रतिबन्धका कारण युरोपमा विद्युत्् महशुल १५ गुणा बढेको छ । यसैबेला बोलिभियाले पुरानो शुल्क लिएर देशभित्रका उपभोक्ताहरूको आवश्यकता पूरा गर्दै छ । बोलिभियाका जनताले अहिले प्रशस्त बिजुली पाएका छन् र बचेको बिजुली बोलिभियाले पहिलोचोटि निर्यात पनि गर्दै छ ।
विद्युत्् निर्यात बोलिभियाली सरकारको नेतृत्वमा भइरहेको विकासको एउटा नमुना हो । सन् १९९० को दशकमा बोलिभियामा संरा अमेरिकाको इशारामा नवउदारवादी अर्थनीति लागू गरिएको थियो । त्यति नै बेला सरकारी विद्युत् कम्पनीलाई निजीकरण गरिएको थियो । यसले गर्दा २००५ मा बोलिभियाका ३० प्रतिशत गाउँले मात्र बिजुली पाएका थिए । विद्युत्को आधारमा बोलिभिया ल्याटिन अमेरिकाकै कमजोर देश थियो । समाजवादतर्फको आन्दोलन (मास) पार्टीको विजयपछि सन् २००५ मा विद्युत् कम्पनी राष्ट्रियकरण गरियो र आज बोलिभियाका ९० प्रतिशत गाउँमा बिजुली पुगिसकेको छ । यस मामिलामा बोलिभिया ल्याटिन अमेरिकाकै विकसित देशहरूको हाराहारीमा पुगेको छ ।
खुला बजारले कहिल्यै पनि बोलिभियाको कुनाकन्दरासम्म बिजुली पु¥याउने हिसाबले लगानी उपलब्ध गराएन । बोलिभियाका केही स्थान त अत्यन्त विकट छन् । एन्डिज पर्वतमालादेखि अमेजन जङ्गलसम्म फैलेका धुलाम्य बाटामा बिजुली पु¥याउन गा¥हो थियो । त्यस्तै अर्जेन्टिना र पराग्वेको सीमासँग जोडिएका दक्षिणी मरुभूमि ‘शाको’ क्षेत्र पनि अत्यन्त विकट छ ।
भनिरहनु नपर्ला, विद्युत् मौलिक मानव अधिकार हो । आधुनिक विश्वसँग जोडिन विद्युुत् अनिवार्य बनिसकेको छ । संरा अमेरिकाको खटनमा बोलिभियामा चलेको नवउदारवादी अवधिको बेला हुर्केको पुस्ताका जोकोहीसँग पनि सोध्नुभयो भने धेरै कुरा थाहा हुन्छ । तिनताका हाम्रो घरपरिवार उत्तर पोतोसीको एन्डियन खानी नगरमा बस्थ्यो । नवउदारवादी अवधिमा काम गर्ने मानिसहरू साँझ साढे ६ बजेअघि नै घरमा पुग्नुपथ्र्यो । त्यसबेलासम्म नपुगे जूनको सहारामा सडक छिचोल्नुपर्ने हुन्थ्यो । साढे ६ बजेपछि सडकका बत्तीहरू निभ्थे । कृष्णपक्षका रातहरूमा त झन् सडक छामछाम–छुमछुम गर्दै घर पुग्नुपथ्र्यो ।
एमेजन क्षेत्रमा पर्ने पान्डो जिल्लाका बासिन्दा सांसद एभा हुमेरेजले मलाई गाउँले बिरानोपनबारे यस्तै कथा सुनाए :
मास पार्टी सत्तामा आउनुभन्दा अगाडि पान्डो जिल्लाका सानो नगर सेनामा सडक नै थिएन । नजिकैको अर्को नगरबाट ६ घन्टा डुङ्गाको यात्रा गरेपछि मात्र त्यहाँ पुग्न सकिन्थ्यो । त्यहाँका मानिसहरूसँग रेडियोधरी थिएन । देशको अन्य भागमा के भइरहेको छ भन्ने कुरा कसैलाई थाहा हुन्थेन । आज त्यो नगरका सबै ठिटाठिटीहरू आआफ्ना स्मार्टफोटमा इन्टरनेट चलाउँछन् ।
लिथियम
बोलिभियाको सरकारी विद्युत् कम्पनीले विभिन्न स्रोतबाट ऊर्जा उत्पादन गर्दै आएको छ । यसमा हाइड्रोकार्बन, सौर्य किरण, बायोऊर्जा, हाइड्रो–इलेक्ट्रिक बाँध र आजभोलि लिथियम पर्छ ।
हाइड्रोकार्बन र हाइड्रो–इलेक्ट्रिक बाधहरू लामो समयदेखि राष्ट्रिय रणनीतिमा पर्दै आएका छन् । यिनलाई सन् २००६ मा राष्ट्रियकरण गरिएको थियो । अहिलेको लुइस आर्सेको सरकारले हरित ऊर्जामा खर्च बढाइरहेको छ । सान्टा क्रुजको वायु ऊर्जाको आयोजनामा होस् वा एल अल्टोस्थित पुनःप्रशोधित वनस्पति तेलबाट जैविक इन्धन निकाल्ने परियोजना होस्, बोलिभिया सरकारले ऊर्जाको लागि लगानी गर्न कञ्जुस्याइँ गरेको छैन ।
यद्यपि, लिथियमले हरित ऊर्जातर्फको बोलिभिया सरकारको यात्रामा ठूलो भूमिका खेल्दै छ । यो सारा संसारको लागि पनि उत्तिकै महत्वपूर्ण हुन सक्छ । लिथियम विद्युतीय गाडी र ब्याट्रीतर्फको सङ्क्रमणमा कोशेढुङ्गा साबित हुन सक्छ । विश्वको ६० प्रतिशत लिथियम बोलिभिया, अर्जेन्टिना र चिलीको सीमाबीच पाइन्छ । सो क्षेत्रलाई “लिथियम त्रिकोण” भनिँदै आएको छ ।
सो क्षेत्रको महत्वलाई अमेरिकी सेनाले पनि स्वीकारेको छ । अमेरिकी सेनाको साउथकमकी कमान्डर लाउरा रिचर्डसनले भनिन्, “लिथियम त्रिकोणमा दुर्लभ तत्वहरूसहित प्रचुर स्रोतसाधन छन् । विश्वको ६० प्रतिशत लिथियम अर्जेन्टिना, बोलिभिया र चिलीको यही त्रिकोणमा पाइन्छ ।” यी देशहरूले अमेरिकी कर्पोरेसनहरूभन्दा पनि चीनलगायत देशहरूसँग कसरी काम गर्न चाहन्छन् भन्ने विषयमा आफूलाई चासो रहेको कमान्डर रिचर्डसनले लुकाइनन् ।
बोलिभिया सरकारले तोकेको मोडलमा उसले स्वदेशमै आफ्नो लिथियम भन्डारको औद्योगिकीकरण गर्न चाहन्छ । यसको लागि उसले ‘आइएलबी’ नामक सरकारी कम्पनी पनि खडा गरेर अत्यावश्यक लगानीका लागि चीनसँग पनि साझेदारी गरेको छ । पोतोसीमा पर्ने उयुनीमा स्थापना गरिएका प्रशोधन केन्द्रहरूमा ब्याट्रीको उत्पादन सुरु भइसकेको छ । चीनको लगानीमा थप दुई प्रशोधन केन्द्रहरू स्थापना हुँदै छ ।
प्राकृतिक स्रोतसाधनलाई राज्यको स्वामित्वमा राख्ने बोलिभियाली मोडलले देशमा ऊर्जा सुरक्षा हासिल गर्न मद्दत पुगेको छ । यसले देशभरि बत्ती बाल्न पनि सहज भएको होइन, बरु छिमेकी देशहरूलाई पनि विद्युतीय ग्रीडमा राखेर बोलिभियाले सहयोगको हात अघि बढाइरहेको छ । भविष्य यस्तै हुनेछ ।
(Bolivia : Electric Power house of Latin America)
MRonline, March 21,2023.
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *