भर्खरै :

सत्तालोलुपहरूबाट परिवर्तन असम्भव

  • चैत्र १०, २०७९
  • साने श्रेष्र्ठ
  • विचार
सत्तालोलुपहरूबाट परिवर्तन असम्भव

माओवादीको कारण राज्य व्यवस्था फेरेको हो, काङ्ग्रेस, एमालेले जनताको अवस्था फेर्न रोकेको, नचाहेको जस्ता फोस्रा कुराहरू माओवादी कार्यकर्ता, समर्थकहरू बोल्छन् । यस्ता झूटा कुरा गरेर अझै जनतामाझ आफूलाई रिझाउन माओवादीहरू प्रयासरत छन् ।
साँचो रूपमा ०६२÷६३ को जनआन्दोलनले राजतन्त्र व्यवस्था फालेर पुँजीवादी गणतन्त्रमा देश गएको हो । पुँजीवादी गणतन्त्रमा वर्ग विभेद झन् फराकिलो हुनेछ । धनी र गरिबको खाडल गहिरो भएको छ । कम्युनिस्टको नाममा आएको माओवादी यही अवस्थामा नै रम्न व्यस्त छ । पुँजीवादी व्यवस्थामा रहेर आर्थिक समानता, समान अवसर, स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टीको कुरा गर्नु दिवास्वप्नमात्र हुन्छ । यो व्यवस्थामा रहेर अवस्था बदल्ने भन्ने कुरा माओवादी समर्थक, कार्यकर्ताहरूको झूटा प्रचारबाजी मात्र हो भनेर सचेत नागरिकले बुझ्दै छ ।
अर्काको चाकरी गरेर मात्र सत्तामा पुग्ने, सत्तामा पुग्नको निम्ति देश र जनताको हित विपरीत कार्यहरू गर्न तम्तयार हुने माओवादीका प्रचण्ड, बाबुराम भट्टराईहरूको व्यवहारले स्पष्ट पारिसकेको छ । कम्युनिस्टहरूकै बदनाम र कम्युनिस्ट आन्दोलनलाई पछि धकेल्न तयारीका साथ आएको साम्राज्यवाद र विस्तारवादको गोटीको रूपमा माओवादीका नेताहरूलाई जनताले बुझ्दै छन् । विदेशी शक्तिको आडभरोसामा बारम्बार सत्ता परिवर्तन हुनु, विदेशी शक्तिकेन्द्रको अनुकुलतामा तेस्रो दल माओवादीको नेतृत्वमा सरकार बन्नुले यी शासक दलहरूमा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको बलियो प्रभाव भएको स्पष्ट पारेको छ ।
विदेशी शक्तीराष्ट्रहरूको दलाल पार्टी र नेताहरूबाट व्यवस्था परिवर्तन हुनसक्दैन र जनताको अवस्था त झन् कमजोर हुँदै जाने हो । देशमा बेरोजगारीको सङ्ख्या बढ्दै जानु, वैदेशिक ऋणको भार बढ्दै जानु र उत्पादनमा ह्रास हुँदै जानुले यही दर्शाउँछ । सार्वजनिक उद्योग, कारखानाको विकास भएको छैन । लाखौँ युवा शक्ति बाहिरिन बाध्य छ । व्यक्तिवादी, पुँजीवादी अर्थ नीति र व्यवस्थाले समाज र जनताको हित नहुने कुरा पुजीवादी अर्थ व्यवस्था भएका देशहरूबाट छर्लङ्ग हुन्छ । समाजवादी अर्थव्यवस्था वा समाजवादी राज्य व्यवस्थामा मात्र कामदार जनताको हित हुने कुरा जनतामाझ प्रचार हुँदै छ । तसर्थ, जनताको अवस्था बदल्न समाजवादी राज्य व्यवस्था निम्ति सङ्घर्ष गर्नु आवश्यक छ । पुँजीवादी विकृत र विसङ्गतिमा चुर्लुम्म डुबेकाहरूबाट जनताको अवस्था बदल्नेछ भन्ने आशा गर्नु मूर्खता हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *