भर्खरै :

अफ्रिकामा नयाँ राजनीतिक दलहरूको उदय : एक समीक्षा

अफ्रिकामा नयाँ राजनीतिक दलहरूको उदय : एक समीक्षा

(पछिल्लो समयमा अफ्रिकी मुलुकमा देखापरेको राजनीतिक परिदृश्यमा भइरहेको परिवर्तन नेपालको राजनीतिक परिदृश्यसँग हुबहु मिलेकोले वाङ युजुनद्वारा लिखित यस अनुवादित लेख नेपालीहरूको लागि सान्दर्भिक हुनेछ)
२१ औँ शताब्दीको सुरुदेखि धेरै अफ्रिकी देशहरूमा स्थापित दलीय राजनीतिक प्रणालीमा विभिन्न स्तरको प्रभाव र चुनौतीहरू खडा गरेका धेरै प्रभावशाली नयाँ राजनीतिक दलहरू देखा परेका छन् । हालैका वर्षमा अफ्रिकी दलिय राजनीतिमा यी दलहरूको कारणले महत्वपूर्ण घटना घटेका छन् ।
अफ्रिकामा उदीयमान राजनीतिक दलहरूको प्रकार र कार्यसम्पादन
२१ औँ शताब्दीको सुरुतिर अफ्रिकी देशहरूमा देखा परेका नयाँ राजनीतिक दलहरूलाई तिनीहरूको हैसियतअनुसार सामान्यतया तीन प्रकारमा वर्गीकरण गर्न सकिन्छ । पहिलो, स्थापनापछि चाँडै प्रमुख प्रतिपक्ष दल बन्नेहरूलाई जनाउँछ भने दोस्रो प्रकारमा धेरै पटकको चुनावपछि सत्तारूढ दल बनेकालाई । सुरुमा विपक्षी दलको रूपमा रहेको तर अन्ततः गठबन्धन पार्टी बन्न सफल भएकोलाई तेस्रो प्रकारमा राखिएको छ ।
पहिलो प्रकारका दलहरू आफ्नो स्थापनापछि तुरुन्तै प्रमुख प्रतिपक्ष दल बन्ने नयाँ दलहरू सबैभन्दा सामान्य छन् । तिनीहरू ‘दक्षिण अफ्रिकामा आर्थिक स्वतन्त्रताका सेनानी’, ‘¥याली फर डेमोक्रेसी एन्ड प्रोग्रेस’ र नामिबियामा ‘परिवर्तनका लागि स्वतन्त्र देशभक्त’, सेनेगलको ‘देशभक्त पार्टी’, युगान्डामा ‘राष्ट्रिय एकता प्लेटफर्म’, जिम्बाब्वेमा ‘परिवर्तनका लागि नागरिक गठबन्धन’ ले प्रतिनिधित्व गर्छन् भने बोत्सवानामा ‘लोकतान्त्रिक परिवर्तनको लागि छाता’ राजनीतिक दल रहेको छ ।
उदाहरणको लागि सेनेगलको ‘देशभक्त पार्टी’ जनवरी २०१४ मा सार्वजनिक सेवा वा निजी क्षेत्रका युवा राजनीतिज्ञद्वारा स्थापना गरिएको थियो । सन् २०१७ मा यो पार्टीले राष्ट्रिय सभाको निर्वाचन लडेको थियो र यसका नेता उसमान सोन्को संसद्मा निर्वाचित भएका थिए । त्यसपछि २०१९ को राष्ट्रपति चुनावमा सोन्को १५ दशमलव ६७ प्रतिशत भोटको साथै तेस्रो स्थानमा रह्यो । दोस्रो स्थानमा रहेको राष्ट्र (रेवमी) पार्टीका नेता सेकले आम निर्वाचनपछि सरकारमा सामेल भएका थिए ।
दोस्रो प्रकारका दलमा जाम्बिया को ‘प्याट्रियोटिक फ्रन्ट’ (पीएफ) र ‘युनाइटेड पार्टी फर नेसनल डेभलपमेन्ट’, सेनेगलमा ‘रिपब्लिकका लागि गठबन्धन’, नाइजेरियामा ‘प्रगतिशील काङ्ग्रेस’ र ‘सेशेल्स डेमोक्रेटिक एलायन्स’ समावेश छन् ।
‘जाम्बियन देशभक्ति मोर्चा’ र ‘राष्ट्रिय विकासका लागि युनाइटेड पार्टी’ (यूपीएनडी) को इतिहास सबैभन्दा विशिष्ट छ । १९९१ देखि २०११ सम्मको २० वर्षको अवधिमा जाम्बियाको राजनीतिक पार्टी परिदृश्यमा बहुदलीय प्रजातन्त्र पार्टी (एमएमडी) को उदय भयो जुन लामो समयसम्म सत्तामा रह्यो । तर, दोस्रो चुनावी चक्रको अन्त्यमा सत्तामा दुई नयाँ पार्टीहरू देखा परेका छन् । एउटा यूपीएनडी र अर्को पीएफ थियो । २००१ मा सत्तारुढ एमएमडीबाट अलग भएको पिएफले २००६ मा जाम्बियाको सबैभन्दा ठूलो विपक्षी दल बन्यो र एमएमडीलाई २०११ को आम चुनावमा पराजित गर्यो । यूपीएनडीको स्थापना १९९८ मा भएको थियो । २००१ को राष्ट्रपति चुनावमा आफ्नो राजनैतिक सुरुवातमा यूपीएनडी जाम्बियाको सबैभन्दा ठूलो विपक्षी दल बन्यो जसको उम्मेदवार माजोकाले सत्तारूढ (एमएमडी) बाट १ दशमलव ९ प्रतिशतको झिनो अन्तरले हारेको थियो । ५ वटा चुनावपछि यूपीएनडीका नेता हिचिलेमा अन्ततः अगस्त २०२१ को राष्ट्रपति चुनाव जित्न सफल भए ।
तेस्रो प्रकारका राजनीतिक दलहरू भनेको पार्टी स्थापनापछि चुनावमा सहभागी भएका दलहरू हुन् । अफ्रिकी देशहरूमा ठूलो सङ्ख्यामा साना दलहरू सरकार बनाउनुको लक्ष्य राख्दैनन् बरु सत्तारूढ दलहरूबाट संरक्षण खोज्छन् । सत्तारुढ दललाई सन्तुलनमा राख्न लामो समयसम्म प्रतिपक्षमा बस्न सक्ने दलहरू सीमित छन् र सा¥है कममात्र नयाँ दलहरू सत्तापक्ष बन्न सक्षम छन् । फलस्वरूप अफ्रिकाका दीर्घकालीन सत्तारूढ दलहरूले या त एक्लै शासन गर्छन् वा दक्षिण अफ्रिकामा एएनसीको नेतृत्वमा रहेको त्रिपक्षीय गठबन्धन जस्ता स्थिर गठबन्धनहरूमा प्रभुत्व जमाउँछन् । सत्तारूढ दलहरूले गठबन्धन सरकारहरूमा नयाँ दलहरूलाई विरलैमात्र समावेश गर्छन् ।
अफ्रिकाको उदीयमान राजनीतिक दलहरूः तिनीहरूको उदयका कारणहरू
अफ्रिकामा नयाँ राजनीतिक दलहरूको उदय अफ्रिकी समाजको संरचनात्मक परिवर्तन र लामो समयदेखि सञ्चित सामाजिक–राजनीतिक र आर्थिक समस्याहरूका साथै दीर्घकालीन सत्तारूढ दलहरूभित्रका अन्तरविरोधहरूको विकासबाट प्रभावित भएको छ ।
पहिलो द्रुत सहरीकरण र जनसङ्ख्याको पुनरुत्थानले उदीयमान राजनीतिक दलहरूलाई सामाजिक आधार प्रदान गरेको छ । सहरीकरण र रूपान्तरणजस्ता दुई महत्वपूर्ण प्रवृत्तिले २१ औँ शताब्दीको सुरुदेखि नै अफ्रिकाको विकासलाई चित्रण गरेको छ । लामो समयदेखि सरकारमा रहेका सत्ताधारी दलहरूले मुक्ति आन्दोलनबाट प्राप्त गरेको ऐतिहासिक वैधानिकता महसुस गरेन । नयाँ पुस्ता बेरोजगारी र गरिबीको चिन्ता गर्छ र आफ्नो जीवनस्तरमा परिवर्तन र सुधारको चाहना राख्छन् । युवाहरूको परिवर्तनको चाहनालाई समातेर फाइदा उठाउन सक्ने नयाँ राजनीतिक दलहरूलाई प्रायः उनीहरूले समर्थन गरेका छन् । २१ औँ शताब्दीदेखि अफ्रिकामा उदीयमान राजनीतिक दलहरू युवाहरूको आवाज र आवश्यकताको लागि एक शक्तिशाली प्रतिक्रियाको रूपमा द्रुत रूपमा देखा परेका छन् । यूपीएनडीसँग एक समर्पित युवा एकाइ छ र यसको मुख्य कार्यहरूमध्ये युवाहरूको आवाजलाई कसरी सम्बोधन गर्ने भन्ने हो । नयाँ पार्टीका नेताहरूको ध्यान पार्टीको स्थापनापछि युवाहरूका सामाजिक चासोहरूमा केन्द्रित भयो ।
दोस्रो, सामाजिक र आर्थिक सुशासनका मुद्दाहरूलाई सम्बोधन गर्न लामो समयदेखि सत्तामा रहेका दलहरूको असफलताले सामाजिक मुद्दाहरूमा नयाँ राजनीतिक दलहरूको उदयको लागि ठाउँ छोडेको छ । अफ्रिकी देशहरूमा आर्थिक र सामाजिक सुशासनका मुख्य दुई प्रकारका समस्याहरू छन् । पहिलो भनेको औपनिवेशिक कालदेखि बाँकी रहेका वा सञ्चित भएका पुराना समस्याहरू हुन् । त्यसमध्ये सबैभन्दा महत्वपूर्ण विषय भनेको जग्गा बाँडफाँडको हो । उपनिवेशीकरण प्रक्रियाको क्रममा औपनिवेशिक शासनको कारणले गर्दा सशस्त्र सङ्घर्ष र वार्ताबाट शासन कब्जा गरे र अन्तरजातीय मेलमिलापको बाबजुद कालो र गोरा जातीय समूहहरूबिच भूमिको असमान बाँडफाँडजस्ता आर्थिक समस्याहरू स्वतन्त्रतापछि पनि रहिरह्यो । स्वतन्त्रतापछि यी अफ्रिकी देशहरूको आर्थिक र सामाजिक विकास सन्तोषजनक हुन सकेको छैन । आम जनताको आर्थिक अवस्था, विशेषगरी भूमि वितरणको दीर्घकालीन अन्यायले खासै सुधार गर्न सकेको छैन । यसले जनतामा व्यापक असन्तुष्टि ल्याएको छ । दोस्रो, सन् १९९० को दशकदेखि अफ्रिकाको विकाससँगै उत्पन्न भएका नयाँ विरोधाभास र समस्याहरू अर्थात् असमान वृद्धिको समस्या रहेका छन् । यद्यपि, अफ्रिकी अर्थतन्त्रहरूले १९९० को मध्यदेखि र विशेषगरी २१ औँ शताब्दीदेखि लगभग ५ प्रतिशतको औसत वार्षिक वृद्धि दर कायम राखेका छन् । यो वृद्धि अत्यधिक असमान छ । यसबाट दुई कुरा प्रस्ट छः पहिलो, गरिबी बढेको छ । दोस्रो, आर्थिक वृद्धिसँगै बेरोजगारी बढेको छ । अफ्रिकाका पुराना र नयाँ समस्याहरूको अन्तरक्रियाले लामो समयसम्म सत्ताधारी पार्टीसँग जनतामा बढेको असन्तुष्टि र निराशा नै नयाँ राजनीतिक दलहरूको उदयको लागि सामाजिक आधार बनेको छ ।
तेस्रो, कुशासन र सत्तारुढ दलभित्रको आन्तरिक असन्तुष्टिले नयाँ दलहरूको उदयका लागि राजनीतिक अवसर प्रदान गरेको छ । अफ्रिकाका दीर्घकालीन सत्तारूढ दलहरूको आन्तरिक समस्याहरू मुख्यतया तीनवटा क्षेत्रमा देखिएको छ । पहिलो, पदाधिकारीमा रहेको भ्रष्टाचारी प्रवृत्ति । अफ्रिकी देशहरूमा दीर्घकालीन सत्तारूढ दलहरूका केही प्रमुख अधिकारीहरू गम्भीररूपमा भ्रष्ट छन् जुन उनीहरूको राष्ट्रिय स्रोत र अन्तर्राष्ट्रिय सहायता कोषको अपचलन र व्यापारिक हितहरूमा प्रयोग भएको देख्न सकिन्छ । दोस्रो, कर्मचारीतन्त्रको समस्या रहेको छ । धेरै अफ्रिकी देशहरूमा सामाजिक एकीकरण न्यून स्तरमा छ र ग्रामीण समाजमा राष्ट्रिय पहिचान सामान्यतया कमजोर छ । प्रशासनिक असक्षमता धेरै अफ्रिकी देशहरूको साझा विशेषता भएको छ । तेस्रो, नेतृत्वको उत्तराधिकार र अन्य कारणहरूले गर्दा पार्टी विभाजन रहेको छ । राजनीतिक दलभित्रको शासनमा हाबी रहेको नेतृत्व उत्तराधिकारी एक प्रमुख मुद्दा हो । जाम्बियामा देशभक्त मोर्चाले २०११ मा राष्ट्रपति चुनाव जित्नुको प्रमुख कारण लामो समयदेखि सत्तामा रहेको एमएमडीमा नेतृत्व उत्तराधिकारीको मुद्दाले विभाजित र कमजोर हुनुको कारण रहेको छ ।
अफ्रिकी राजनीतिक पार्टी परिदृश्यमा नयाँ राजनीतिक दलहरूको उदयको प्रभाव
धेरै नयाँ राजनीतिक दलहरूको उदयले केही अफ्रिकी देशहरूमा परम्परागत राजनीतिक परिदृश्यलाई गहिरो प्रभाव पारेको छ । यही समयमा उदीयमान राजनीतिक दलहरू र परम्परागत राजनीतिक दलहरूको मूल्यमान्यता र अभियान रणनीतिहरूबिच स्पष्ट भिन्नताहरूले गर्दा केही अफ्रिकी देशहरूमा पार्टी विचारधारा र राजनीतिक एजेन्डामा अभूतपूर्व परिवर्तनहरू निम्त्याएको छ ।
पहिलो, यसले सम्बन्धित देशहरूमा राजनीतिक दलहरूको आधारभूत परिदृश्यलाई प्रभाव पारेको छ । चुनावी अनुभवको सङ्कलन र प्रतिस्पर्धात्मक रणनीतिको परिपक्वतासँगै केही नयाँ दलहरूले पार्टी गठबन्धन, व्यक्तिगत सम्बन्धमा आधारित अनौपचारिक गठबन्धन र जनवादी सामाजिक परिचालनमार्फत आफ्नो प्रभाव विस्तार गरेका छन् । यी सबैले केही अफ्रिकी देशहरूमा पार्टी परिदृश्यमा महत्वपूर्ण प्रभाव पारेको छ । कतिपय अवस्थामा उनीहरूले परम्परागत राजनीतिक दलहरूको दीर्घकालीन शासनलाई विघटन गरेका छन् । जाम्बिया र सेनगलजस्ता देशमा नयाँ दलहरूले सत्तारूढ दलहरूलाई चुनावी प्रतिस्पर्धामा धेरै पटक पराजित गरेका छन् । २०१६ मा गाम्बिया र २०२० मा सेशेल्सको चुनावमा विपक्षी दलहरूले गठबन्धन बनाएर नयाँ पार्टी गठन गरेपछि सत्तारुढ दललाई पराजित गरेको थियो । कतिपय अवस्थामा सरकारहरू परिवर्तन नभए पनि विपक्षी दलको रूपमा नयाँ पार्टीको उदयले मतदाताबाट ठूलो समर्थन र राम्रो प्रतिक्रिया प्राप्त गरेको छ र सत्तारूढ दलको प्रभुत्वलाई कमजोर बनाएको छ । यहाँ दुइटा कुरा प्रस्ट देखिएको छः पहिलो, राष्ट्रपति चुनावमा सत्तारूढ दलको समर्थन उल्लेखनीय रूपमा घटेको छ । दोस्रो, संसदीय निर्वाचनमा सत्तारुढ दलले बहुमत गुमाएको छ ।
दोस्रो, यसले स्थानीय राजनीतिक परिदृश्यमा परिवर्तन ल्याउन सहयोग गरेको छ । अफ्रिकी देशहरूको राजनीतिक परिदृश्यमा नयाँ राजनीतिक दलहरूको उदयको प्रभाव स्थानीय सरकारहरूको नेतृत्व परिवर्तनमा पनि स्पष्ट देखिन्छ । दक्षिण अफ्रिकामा ईएफएफ र प्रजातान्त्रिक गठबन्धनको प्रभावमा सत्तारुढ अफ्रिकी नेसनल काङ्ग्रेस (एएनसी) ले हालैका वर्षहरूमा राष्ट्रव्यापी समर्थनमा कमीमात्र होइन केही महानगरीय क्षेत्र र प्रान्तहरूमा बिस्तारै नियन्त्रण गुमाउँदै गएको पनि छ । केही स्थानीय सरकारहरू नयाँ राजनीतिक दलहरूले नेतृत्व गरिरहेको तथ्यले स्थानीय क्षेत्रहरूमा सत्तारूढ दलको नियन्त्रणलाई कमजोर गर्नुका साथै सत्तारुढ दलको सामाजिक आधार हल्लाउँदै नयाँ दलहरूलाई समर्थन गर्न व्यापकरूपमा मतदाताहरूलाई उत्प्रेरित गर्ने सम्भावना पनि छ ।
तेस्रो, यसले पार्टीको विचारधारा र राजनीतिक एजेन्डामा परिवर्तन ल्याउनेछ । सत्ताधारी दलहरूको तुलनामा नयाँ दलहरूसँग राज्यका स्रोतहरूमाथि पहुँच छैन । त्यसैले उनीहरू मुद्दा र विचारधारालाई कब्जामा लिन्छन् । जसलाई सत्तारुढ दलहरूले बेवास्ता गरेका नयाँ दलका निम्ति जनताको समर्थन प्राप्त गर्नको लागि सामाजिक आधार छ । उदाहरणका लागि वामपन्थी लोकतान्त्रिक ईएफएफले दक्षिण अफ्रिकामा दलीय राजनीतिको वैचारिक सन्तुलन परिवर्तन गरेको छ । अर्थात् केन्द्रमा एएनसी, दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टी र दक्षिण अफ्रिकी ट्रेड युनियनहरूको काङ्ग्रेस वामपन्थी र प्रजातान्त्रिक गठबन्धन रहेका छन् । यसले देशमा अश्वेत वर्गको वामपन्थी वैचारिक झुकावलाई उत्प्रेरित ग¥यो भने श्वेत चरमपन्थी पार्टीहरूको प्रतिक्रियालाई प्रज्वलित ग¥यो । यसरी दक्षिण अफ्रिकामा राजनीतिक ध्रुवीकरण बढेको छ । भूमि र खनिज स्रोतहरूको पुनः वितरण दक्षिण अफ्रिकी चुनावी राजनीतिमा एक प्रमुख एजेन्डा बन्यो र एएनसीलाई क्षतिपूर्ति बिना भूमि कब्जा गर्न संवैधानिक संशोधनको छलफलको लागि धक्का दिन प्रेरित गरियो । दक्षिण अफ्रिकी चुनावी राजनीतिमा भूमि र खनिज स्रोतको पुनर्वितरणलाई प्रमुख मुद्दा बनाउन मद्दत गर्ने वामपन्थी दलले गरेको आह्वानको परिणामस्वरूप एएनसीले मुआब्जाबिना जग्गा कब्जा गर्न संवैधानिक संशोधनको वार्ताका लागि दबाब दिन बाध्य बनाएकोमा वामपन्थी दललाई धन्यवाद ।
अनुवाद : राजन
स्रोत : कन्टेम्पोररी वल्र्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *