भर्खरै :

विभ्रममा बाँचेका जीवनहरूको कथा – एक सर्काे माया

विभ्रममा बाँचेका जीवनहरूको कथा – एक सर्काे माया

विदेशी भूमिमा गरेको सङघर्ष, साथीभाइबिचको सम्बन्ध, घरपरिवार र गाउँघरको रहनसहन, प्रेमिकाको माया सबै चीजहरूको मीठो सङ्गमको कहानी हो ‘एक सर्को माया’ । उपन्यासमा मुख्य पात्रले माल्दिभ्सको बयान गर्दै जादा पाठकलाई आफू माल्दिभ्समै भएको महसुस सजिलै गराउँछ । दक्षिण एसियाको नयाँ पर्यटन डेस्टिनेसन मानिने माल्दिभ्सको भौगोलिक वर्णन यस उपन्यासको एउटा विशेषता हो भन्दा फरक नपर्ला ।
जब कथामा चालिसे नामक पात्रको प्रवेश हुन्छ र मुख्य चरित्र आलोकसँग भेट हुन्छ त्यहाँबाट कथाले गति लिन्छ । चालिसे र अहमदसँगको भेटदेखि नै आलोक नसामा डुबेको हुन्छ । थप पात्रहरू जस्तै, जेरौल्ड, जेडि, तृष्णा, राउधा जोडिँदै जाने क्रममा उपन्यास रोमाञ्चक हुँदै जान्छ । फरक चरित्रहरू एकै ठाउँ र कथामा उभ्याए पनि तिनीहरूको आ– आफ्नै भिन्नै कथाहरूलाई पनि रोचक ढङ्गले प्रस्तुत गर्न सक्नु लेखकको खुबी मान्नुपर्छ । यो प्रयोग सामान्य पाठकलाई नौलो लाग्नसक्छ । चालिसेको माल्दिभ्सकी एक महिला माज्दासँगको प्रेम र वियोगको कथा, जेरौल्डको जीवनको कुरा र नेपालमा भएको हवाई दुर्घटनाको कथा र सोको दोषी आफूलाई मान्नु र अर्को पात्र जेडीले आफ्नो बुबाले दलित महिलासँग अनौपचारिक सम्बन्ध राखेर गाउँ – समाजको हेला र तिरस्कार सहनुपरेका सबै कथाहरू एकदमै वास्तविक जीवनमा आधारित देखिन्छ । उपन्यासकारले यी सबै फरक देश र परिवेसका कथाहरूलाई शिलशिलाबद्घरूपमा पस्कन सक्नुमा लेखक सफल देखिन्छ ।
कथा पढ्दै जाँदा जब आलोक नेपाल फर्किन्छ, कथाले अब बिटमार्ने सङ्केत गरेको आभास पाठकलाई दिलाउँछ । तर, कथा रबरजस्तै तन्किँदै जाँदा अब फेरि के घटना घटाउने हो भने पाठकमा खुलदुली पैदा हुन्छ । कथामा जब आलोक जेडीको आमाबुबा खोज्न गाउँ जान्छ तब ऊ ठूलो अन्यौलको अवस्थामा पुग्छ । गाउँमा उसले भनेअनुसार कोही पनि पाउँदैन र तृष्णा जेडीको भाञ्जीको पनि आफूलाई जानकारी भएअनुसारको ठेगाना हुँदैन । जब जरौल्डले भनेअनुसार हवाई दुर्घटनामा उसले भनेका मानिसहरू मरेका हुँदैनन् तब कही सबै मिलेर आलोकलाई फसाएको त होइन भन्ने लाग्छ । फेरि यी सबै पात्र फरकफरक परिस्थितिमा भेटेका हुन् । कसरी एकै ठाउँमा जोडिन सम्भव हुन सकिन्छ र ? फेरि सबैले झूट नै बोले पनि आखिर किन र केका लागि ? माल्दिभ्समा रहँदा देखेको, बोलेको, रमाएको सबै कुराहरू सत्य हो, कुनै भ्रम होइन भन्ने कुरा पुष्टि गर्न नसक्दा कथा झन अन्योलमा जान्छ । कथा सुन्दै जाने क्रममा अब के हुन्छ भन्ने कुराले पाठकलाई पिरोलिरहन्छ । पाठकले आफैँ पृष्ठभूमि बाँधेर पात्रलाई दिशा दिन खोज्नु स्वाभाविक कुरा हो ।
हालसम्म पढेका धेरै उपन्यासहरूमध्ये ‘एक सर्को माया’ अरुभन्दा निकै फरक र यसमा नयाँ सूत्रको प्रयोग भएको देखिन्छ । आलोकले सोचेको वास्तविक संसार त मात्र कल्पना र सपनाको संसार भन्ने रहस्य उद्घाटन भएपछि पाठकको मानसपटल एकछिन खल्बलिन्छ । उपन्यास पढ्दै गर्दा मनमा धेरै प्रश्नहरू उब्जेका छन् । जुन प्रश्नहरूको उत्तर पाठक आफैँ खोज्न तत्पर हुन पुग्छ । के यस्तो वास्तविक जीवनमा सम्भव छ ? के मानिसले यतिसम्मको भ्रममा बाँच्न सक्छ ? यस्ता अनेकौँ प्रश्नहरू उब्जाउन उपन्यासकार सफल भएका छन् । यस उपन्यासले मानसिक स्वास्थ्यलाई केन्द्रमा राखेर त्यसको बारेमा पाठकसमक्ष केही चेतना जगाउन खोजेको रहेछ भने अन्तमा मात्र थाहा लाग्छ ।
हो, हाम्रो समाजमा मानसिक स्वास्थका बारेमा आवश्यकभन्दा धेरै कम चर्चा हुन्छ । मानसिक स्वास्थ्य भन्नासाथ पागलको पगडी गुठ्याउने हाम्रो समाजको सोचले गर्दा यसका बारेमा कम छलफल हुन्छ र अनि जानकारीको तह पनि समाजमा न्यून हुन्छ । ‘हेलुसिनेसन’ (Hallucination) एउटा यस्तो मानसिक अवस्था हो जहाँ उसले काल्पनिक कुराहरूलाई पनि वास्तविक संसारका घटना हुन् भनी भ्रममा पर्छ । मानसिक स्वास्थ्य विज्ञानअनुसार हेलुसिनेसन वा विभ्रम फरक फरक हुन्छन् । मानवीय पाँचै इन्द्रियसँग सम्बन्धित र अन्य पनि हुनसक्छ । वास्तवमै देखेको जस्तो तर त्यो भ्रममात्र हुने यसलाई दृश्य विभ्रम (Visual Hallucination), कुनै कुरा वास्तवमै सुनेको जस्तो तर त्यो पनि काल्पनिक र भ्रम, यसलाई श्रवण विभ्रम (Auditory Hallucination), कुनै वस्तु वा व्यक्तिलाई आफैले स्पर्श गरेको तर त्यो पनि काल्पनिक मात्र जसलाई स्पर्श विभ्रम (Tactile Hallucination), त्यस्तै घ्रान विभ्रम (Olfactory Hallucination), स्वाद विभ्रम (Gustatory Hallucination) यस्तै यस्तै । विभ्रम पैदा हुने धेरै कारणहरू हुन्छन् । जस्तै कुलतमा फस्नु (रक्सी, गाँजा) जस्ता मादक पदार्थको अत्याधिक सेवन गर्नाले पनि यस्ता समस्याहरू निम्त्याउन सक्दछ ।
उपन्यासमा माल्दिभ्समा पहिलोपल्ट, चालिसेको सङ्गतमा परेर नशा गरेदेखिको सबै क्षण हेलुसिनेसन रहेछ । सबै पात्र, प्रेम, यौन, घटनाहरू जुन उपन्यासमा समावेश छन् ती सबै भ्रम रहेछ । अन्त्यमा मुख्य पात्र र पाठकले यो सबै क्षण हेलुसिनेसन (विभ्रम) रहेको थाहा हुन्छ तब छानाबाट खसेजस्तै अनुभूति हुन्छ । सुरुमा पढ्दा सामान्य प्रेम, रोमान्स, नियात्राजस्तो लाग्ने पुस्तकले अन्त्यमा यति महत्वपूर्ण ज्ञान प्रदान गर्छ भन्ने पाठकहरूलाई नलाग्ला तर नयाँ विषयको कुरा सिक्न र बुझ्न पाउँदा अन्त्यमा जोसुकैलाई निकै खुसी र सन्तुष्टि हुनु स्वाभाविक नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *