भर्खरै :

धर्म र राजनीतिका नाममा

धर्म र राजनीतिका नाममा

‘धर्म’ शब्दको सिधा र विशिष्ट गरी अनेक अर्थहरू छन् । यसको एउटा अर्थ, ‘गुण वा विशेषता’ हुन्छ—जस्तो कि, ओरालो बग्नु पानीको धर्म हो । त्यस्तै ‘धर्म’को अर्थ ‘कर्तव्य’ पनि हुन्छ—जस्तो कि, बाबुआमाको सेवा गर्नु छोराछोरीको धर्म हो । यद्यपि, समाजमा हामी जुनरूपमा ‘धर्म’ शब्दको प्रयोग गर्दछौँ, त्यसको पहिलो र प्रचलित सामान्य अर्थचाहिँ ‘लोकको हित वा व्यवस्थाका लागि अँगालिने कर्म वा कर्तव्य, असल आचरण’ भन्ने बुझिन्छ । यसरी बुझ्दा, कुनै पनि धर्म र त्यसको विचार नराम्रो देखिंदैन । सबै धर्मको वास्तविक मर्म भन्नु एउटै हो । कुनै पनि धर्मले ‘झूटो बोल’, नराम्रो काम गर’, ‘चोर’, ‘अरूलाई दुःख देऊ’ भन्दैन । सबैले ‘साँचो बोल’, ‘राम्रो काम गर’, ‘नचोर’, ‘अरूमाथि दया गर’ नै भन्छन् !
व्यासले ठूलठूला अठाह्रवटा पुराण लेखे । तर ती सबैको सारस्वरूप आत्मवान् पण्डितले भनेका थिए :
“अष्टादश पुराणेसु व्यासस्य वचनद्वयम्
परोपकारः पुण्याय पापाय परपीडनम् ।।”
(व्यासले लेखेका अठाह्र पुराणमा खालि दुइटै वचन छ : पुण्य कमाउने हो भने परोपकार गर, पाप कमाउने हो अरूलाई दुःख देऊ ।)
शास्त्रमा पनि भनिएको छ :
क्षान्ति तुल्यं तपो नास्ति सन्तोषान्न सुखं परम्
नास्ति तृष्णा समो व्याधिः न च धर्मो दयापरः ।।
(धैर्यजस्तो तपस्या छैन, सन्तोषजस्तो सुख छैन । लोभ वा इच्छाजस्तो रोग अर्को छैन र दयाजस्तो धर्म अर्को छैन ।)
यसरी सम्झँदा, कुनै पनि धर्म मान्नु भनेको सामाजिक नियम, आदर्श र असल विचारलाई मन, वचन र कर्मले आत्मसात् गर्नु हो । ‘वसुधैव कुटुम्बकम्’ भन्ने सम्झेर मानवले मानवको हित चाहनु हो । यदि यो संसारमा कतै ईश्वर छन् भने ती पनि एउटै रूपका होलान् । हाम्रो हिन्दू धर्मले पनि यही बताएर एउटै ईश्वरका अनेक रूपका बारेमा चर्चा परिचर्चा गरेको छ । तेत्तीस कोटी देवताको प्रसङ्ग पनि उठाएको छ । त्यसको व्यापक र लाक्षणिक अर्थ पनि होला !
कुनै समयमा चर्चा र विवादमा आएका सत्य साइबाबाको भनाइ छ : “तिमी असल हिन्दू बन । तिमी असल इसाई बन । तिमी असल बौद्धमार्गी बन । तिमी असल इस्लाम धर्मावलम्बी बन । अर्थात् जुन धर्मावलम्बी बन्छौ असल बन ।”
साँच्चै नै यो भनाइ पनि कति गहिरो र यथार्थ छ ! तर यहाँ त्यसो हुन नसकी धर्मले आजसम्म मानिसलाई फाइदाभन्दा बढी बेफाइदा गरेको इतिहास साक्षी छ । धर्मका नाममा अनेक युद्धहरू भएका छन् र असङ्ख्य मानिसहरू मारिएका छन् । एउटै धर्मभित्र अनेक सम्प्रदायहरू छन् । उनीहरू सबै अरूको निन्दा नगरी आफ्नै हिसाबले ‘धार्मिक दिनचर्या’ मा रमाए त हुने नि ! तर त्यस्तो नभएर यहाँ एकले अर्काको धार्मिक गतिविधि र दैनिकी मनै पराउँदैनन् । मन पराउनु/सम्मान गर्नु त परै जाओस् देखिसहँदैनन् । एउटै धर्मभित्र पनि पानी बाराबारको स्थिति देखिन्छ । हिन्दु र मुस्लिम, सिया र सुन्नी, मुस्लिम र यहुदीबिच एकले अर्कोलाई सिध्याउनुलाई ‘धर्म’ मानिन्छ ! आफ्नो धर्म कसरी विस्तार गर्ने र अरूको धर्म कसरी सिध्याउने योजनाहरू छन् यहाँ । यसैका लागि असङ्ख्य लगानी गरिएका छन् । असङ्ख्य जनशक्ति परिचालित छन् ।
धर्म र धर्मावलम्बीका नाममा कोही पनि असल बन्न नसक्दा संसारमा अनर्थ भइरहेको छ । कथित् धार्मिक अगुवा र टाठाबाठाहरूले आफ्ना फाइदाका लागि सर्वसाधारणको अज्ञानताको फाइदा लिने गरेका छन् । सर्वसाधारणलाई कर्मकाण्डमा फसाउँदै आएका छन् ।
प्रत्येक मानिसले जिन्दगीमा विभिन्न अनुभव लिनैपर्छ । विभिन्न अनुभूति स्वीकार्नैपर्छ । जसरी एकजना रक्स्याहा पिर पर्दा रक्सी र खुसी हुँदा पनि रक्सी नै पिउँछ त्यसरी नै हिन्दु संस्कारमा पनि खुुसी हुँदा होस् वा दुःखी हुँदा होस्—केही न केही कर्मकाण्ड गर्नैपर्छ । ती गर्नुपर्ने मनोवैज्ञानिक र वैज्ञानिक कारण पनि होलान् तर त्यसबारे कसैलाई पनि जानकारी गराइँदैन । त्यसो त कतिपय पण्डितलाई नै पनि, आवश्यक सामग्री र आफूले पाउने दक्षिणाको हिसाबबाहेक त्यसबारे थाहा नहुन पनि सक्छ । जे होस्, मानिस जन्मेदेखि मृत्युसम्म गरिने अनेक संस्कारहरू छन् । मानिस सामाजिक प्राणी भएको हुँदा कुनै पनि समाजमा बसेपछि चित्त नबुझे पनि उसले ती कर्मकाण्ड र संस्कारहरू सामाजिक प्रतिष्ठाकै लागि पनि आँखा चिम्लेर, चूपचाप, अनिवार्यरूपमा गर्नैपर्छ ।
हिन्दू संस्कारअन्तर्गत गरिने न्वारान, व्रतबन्ध, विवाहमा सबै खुसी हुन्छन् । त्यस्ता कर्ममा मन फुकाएर खर्च नगर्ने कोही हुँदैनन् । आजकल त तिनमा गरिने खर्चको मात्रा झनै बढेको छ । तर आफ्ना परिवारजनको मृत्युमा खेप्नुपरेको पीडा जोकोहीका लागि पनि असह्य हुन्छ । तर त्यस्तो बेलामा पनि स्वर्ग/नर्कका साथै ‘यो’ वा ‘त्यो’ को नाममा गरिने/गराइने खर्च उत्तिकै हुन्छ । नेल्सन मण्डेलाको भनाइ छ : दुनियाँलाई बदल्ने शक्तिशाली हतियार भनेको शिक्षा हो । ‘दुनियाँलाई मूर्ख बनाउने हतियार भनेको धर्म हो ।’
यसै सन्दर्भमा, धर्मसँगै चर्चा गर्नुपर्ने अर्को शब्द ‘राजनीति’ पनि छ । यो शब्दको अर्थ पनि शब्दकोशमा ‘जनताको शान्तिसुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन–व्यवस्थाको प्रणाली निर्धारण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्ने र यस्तै अन्य कार्य गर्ने नीति, राज्यको शासन–व्यवस्थासम्बन्धी नीति, राज्य–सञ्चालन प्रणाली, राज्य र प्रशासनसँग सम्बन्धित एक सामाजिक सिद्धान्त भनेर दिइएको छ । यसरी हेर्दा धर्मजस्तै राजनीतिको अर्थ पनि धेरै कल्याणकारी छ । यो अर्थअनुसार राजनीतिमा लाग्ने मान्छे बौद्धिक र असल हुन्छ । मूर्ख र खराब मान्छे राजनीतिमा लाग्नै सक्दैन र लाग्नै हुँदैन पनि । तर राजनीतिका नाममा जन्मेका अनेक वाद र दर्शनका कारण पनि संसारमा धेरै मानिसहरू मारिएका छन् । अझ हाम्रो देशको सन्दर्भमा त राजनीति भनेको ढाँट्ने, भ्रम छर्ने, गफ हाँक्ने, कमाउने र भ्रष्टाचार गर्न पाउने सबैभन्दा आकर्षक पेसा ठहरिएको छ । यो गलत हो ।
यसरी हेर्दा संसारमै ‘धर्म’ र ‘राजनीति’ को हुर्मत लिने र दुरूपयोग गर्ने काम भइआएको हुँदा विवेकशील र चेतनशील प्राणी मानिएको मानिस अझै पनि साँचो अर्थमा मानिस बन्न सकेजस्तो लाग्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *