नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हजारौँ युवाहरू म्यानपावर एजेन्टलाई लाखौँ पैसा तिरेर विदेसिनु परेका छन् । नेपाल सरकारले नै श्रम स्वीकृत दिएर युवाहरूलाई सस्तो ज्यामीको रूपमा बेचेको हो । कति मानिसहरू केही रुपैयाँ कमाएर फर्केलान् । दैनिक ६/७ जना त लास भएरै काठको बाकसमा स्वदेश फिर्ता भइरहेको छ । वैदेशिक रोजगारीकै कारण कतिको घर परिवार छुटेका र फुटेका छन् । घर परिवारमा अशान्ति पैदा भएको छ । मानिसहरू ऋण गरेर विदेश जान्छन् । उनीहरूले विदेशमा काम नपाएर वा काम गरेको ज्याला नपाएर दुःख खेप्नु परेका छन् ।
सबै मानिससँग पैसा तिरेर विदेश जान सक्ने क्षमता हुँदैन । त्यस्ता मानिसहरू भारत हुँदै खाडी मुलुकहरूमा बेचिएको घटना दिनानुदिन आइरहेको छ । विशेषतः महिलाहरू घरेलु हिंसा तथा यौन शोषणमा परेका हुन्छन् । गाउँका अशिक्षित महिलाहरू गाउँ घरमा आम्दानीको स्रोत नहुँदा बेचिन बाध्य छन् । कुवेत र ओमन पुगेका महिलाहरूको दुःख वा वेदना सुन्दा हाम्रो देशमा सरकार भएको नभएको खास अर्थ राख्दैन । निमुखा महिला र युवतीहरू बेचिरहँदा हाम्रो सरकार दलाल, भ्रष्टाचारीहरूको अखडा भएको जो कसैलाई लाग्न सक्छ ।
एउटा महिला नेपालगञ्जको बोर्डर हँुदै भारत डिल्लीको एयरपोर्ट भएर कुवेत पुग्दा चारपाँच पटक बेचिनुपरेको हुन्छ । त्यस्ता एजेन्टहरू ठाउँ–ठाउँमा भएको ती पीडित महिलाहरू बोल्छन् । एउटी महिलालाई काठमाडौँ लैजाने पासपोर्ट बनाइदिने, मेडिकल चेकजाँच गराउने भिसा लगाई प्लेन टिकटसम्म सबै खर्च गरेर दुई वर्षको लागि भनी ८–१० लाखमा बेच्ने गरेका ती महिलाहरू गुनासो गर्छन् । कुवेत पुग्दा घर मालिकले एक हातमा लाखौँ पैसा र एजेन्टले महिलालाई एक आपसमा साटासाट गर्नेछ । तोकिएको समयसम्म ती महिला ती विदेशी घर मालिकको दास बन्नु पर्नेछ । आफ्नो स–साना बालबच्चा, घर परिवार छाडेर विदेशी भूमिमा बेचिनु पर्दा, दास हुनुपर्दाको स्थिति कस्तो होला ! सोच्न सकिन्न । आज भारत हुँदै तेस्रो मुलुक बेचिने महिलाहरूको सङ्ख्या दिनानुदिन बढ्दो छ । जुन नेपाल सरकारमा कुनै रेकर्ड हुँदैन ।
युवाहरूले विदेशी भूमिमा रगत पसिना बगाएर कमाएको पैसामा नेपालका शासक दलका नेता, मन्त्रीहरूले मोजमस्ती गरिरहेका छन्† देश र जनतालाई थप चुसिरहेका छन् । अझ भनाँै सोझा सीधा महिलाहरूलाई विदेशमा बेचेर सरकार आनन्दमा रमिरहेको जो कसैलाई भान हुन्छ । किनकि, मेनपावर, दलाल, भ्रष्टाचार, गुण्डाहरूको संरक्षण यही सरकारले गरिरहेको छ ।
Leave a Reply