भर्खरै :

आदर्शोन्मुख समाज स्थापना गर्न अझै सङ्घर्ष आवश्यक

देशमा सामाजिक सुरक्षा ऐन लागु भएको पाँच दशक नाघिसक्यो । तर, पनि सामाजिक सुरक्षा ऐन पूर्णतः व्यवहारमा लागु भएको देखिँदैन । सामाजिक सुरक्षा ऐनमा बहुविवाह, बालविवाह, अनमेल विवाह, छाउपडी प्रथा, जारी प्रथा, दाइजो प्रथा प्रतिबन्धित थियो । कानुनले आत्मसात नगरेका यी प्रथाहरू समाजमा अद्यापि छ । यो यथार्थले सम्पूर्ण जनसमुदायभित्र अझै जनजागरण अभियान नपुगेको या पुगेर पनि व्यवहारमा लागु नभएको थाहा हुन्छ । यसले जनतामा अझै राजनीतिक र सांस्कृतिक स्तर नउठेको या कमी भएको बोध हुन्छ । यी प्रथाले समाजमा झै–झगडा हुने, परिवारबिच फाटो हुने या पारपाचुके हुने, विवाह स्थायी नहुने र विवाद चरमोत्कर्षमा पुगेर हिंसात्मक घटना भइरहेको हामीले बेलाबखत सुनेका छौँ, देखेका छौँ, पढेका छौँ । समाज र परिवार भड्काउने, बेमेल हुने यस्ता घटनाहरू दोहोरिरहेसम्म समाजमा शान्ति हुनेछैन, आदर्शोन्मुख समाज बन्ने छैन । यस्ता कुप्रथाहरू अन्त्य गर्न समाजका महिलाहरू, अगुवाहरू सचेत र सक्रिय हुनुपर्छ, उनीहरूले गाउँ–गाउँ र बस्ती–बस्तीको घर–आँगनमा जनजागरण अभियान पु¥याउनुपर्छ ।
राजनीतिकरूपले सचेत र परिवर्तनको निम्ति लागिरहेको समाजमा यस्ता घटनाहरू कम हुनु स्वाभाविक हो, यस्ता घटना कम हुँदै छ । समाजमा व्याप्त अन्धविश्वास, कुरीति, विकृति र विसङ्गतिविरूद्ध महिलाहरू उठेकै कारण यस्ता प्रथाहरू घट्दै गएको यथार्थ हो । तर, यस्तो समस्या समाधान महिलाले गर्ला, त्यसविरूद्ध महिलाले नै सङ्घर्ष गर्ला भनेर अरू समुदाय मौन बस्नु ठीक होइन । समाजका सबै पक्ष मिलेर हिंसात्मक घटना निम्त्याउने सबै प्रकारका जाल र षड्यन्त्रलाई चकनाचुर पार्नुपर्छ । महिला समस्या महिलाको मात्र होइन, त्यो समस्या परिवारको हो, समाजको हो, देशको हो । यसकारण, यस्ता समस्या समाधान गर्न राजनीतिक कार्यकर्ता, सामाजिक कार्यकर्ता, शिक्षक तथा समाजका अगुवाहरू क्रियाशील हुनुपर्छ, पिछडिएका र नजानेका जनतालाई सचेत पार्नुपर्छ । यसका लागि राजनीतिक कार्यकर्ता, सामाजिक कार्यकर्ता, शिक्षक, बुद्धिजीवी तथा अगुवाहरू जुट्नुपर्छ ।
हो, अहिले समाजमा कति क्रियाशील अगुवा महिला र किशोरीहरू विकृति र विसङ्गतिविरूद्ध उठ्न थालेका छन् । समाजमा अगुवा र किशोरीहरू बालविवाह, बहुविवाह, छाउपडी प्रथाविरूद्ध जाग्न थालेका छन् । उनीहरू नै गाउँको बस्ती बस्तीमा पुगेर बालविवाह नगर्न र नगराउन आमा–बाबुहरूको घर–घरमा पुग्न थालेका छन् । दाइजोको कारण हुने मानसिक र शारीरिक यातना, कुटपिट, गर्भपतन, घर निकाला गर्ने आदि असामाजिक कार्यको विरोधमा महिलाहरू उठ्न थालेका छन् । बोक्सीको आरोपमा गरिने यातनाविरूद्ध उनीहरू उठ्न थालेका छन् । कुनै पनि दुःखद, लज्जास्पद र निन्दनीय घटनाको निन्दा गर्नुपर्छ, त्यसबारे अझै समाजमा चेतना जगाउनुपर्छ । यसका लागि समाजका सबै वर्ग सचेत हुनुपर्छ । आदर्शोन्मुख समाज स्थापना गर्न सबै पक्ष लाग्नुपर्छ । हाम्रो समाजमा त्यस्ता कुनै पनि आपराधिक, असामाजिक क्रियाकलाप नहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *