भर्खरै :

‘आवर इङ्गलिस’ का गुरु

‘आवर इङ्गलिस’ का गुरु

अङ्ग्रेजीका गुरु केही दिनपछि सेवानिवृत्त हुँदै थिए । हामीलाई औधी माया गर्ने मिजासिला गुरु केही दिनपछि बिदा हुने खबरले हाम्रो मन खिन्न थियो । कक्षा ८ मा ‘आवर इङ्गलिस’ पढाउने गुरु सबैका प्रिय हुनुको कारण उनी किताबका कुरा मात्र पढाउँथेनन्, बरु त्यसभन्दा बाहिरका अरू धेरै रोचक कुरा पनि सुनाउँथे । किताबका कविता त पढाउँथे नै । कतिबेला आफैले लेखेका कविता पनि सुनाउँथे । बेलायती साङ्गीतिक ब्यान्ड ‘बिटल्स’ का गीत गाउँथे । हामीलाई पनि कथा, कविता लेख्न हौस्याउँथे । जोक सुनाउँथे । हाम्रा कुरा पनि गम्भीरतापूर्वक सुन्थे । हाम्रो गृहकार्य र कक्षा कार्य जाँचेको कापीमा उनी केही न केही उत्प्रेरक टिप्पणी लेख्थे । आफ्नो कापीमा उनले के टिप्पणी लेखेका होलान् भनी कौतुहलताले हामीलाई उनको नजिक तान्थ्यो ।
उनको अन्तिम कक्षा हाम्रो लागि त बोझिलो थियो नै । उनकै लागि पनि हाम्रो निन्याउरो अनुहार हेर्न सजिलो थिएन । बिदाइको दिन उनले हामीलाई केही उपदेश दिए । उनका उपदेशले कक्षाको वातावरणलाई अझ भावुक बनाउँदै थियो । उनी सबैका प्रिय गुरु हुनुका धेरै कारणमध्ये एउटा कारण उनी हाम्रा कुरा ध्यान दिएर सुन्थे । हामीलाई प्रश्न सोध्न उत्साहित गर्थे । अन्तिम दिन पनि उनको त्यो बानी छुटेन । उनले भने, “लौ मलाई सोध्नुपर्ने तिमीहरूका केही कुरा छन् कि ?”
बल्लतल्ल आँखाको पानी थामेर बसेका हामीसँग के प्रश्न होला र सोध्न ¤
केही बेर कक्षा कोठा मध्यरात जस्तै सुनसान भयो । अनि मैले बिस्तारै उठेर गुरुलाई प्रश्न सोधेँ, “सर ! अब तपाईँ घरमा के गर्नुहुन्छ ?”
स्तब्धता फुटाएर त्यो समय यस्तो प्रश्न सोध्नु अस्वाभाविक लागेर हो कि मेरा केही साथीहरूले मेरो अनुहारमा क्वारक्वारती नियाले । तर, मेरो जिज्ञासाले गुरुलाई कति पनि असजिलो भएजस्तो लागेन । तालु छोप्न सधैँ लगाउने गरेको क्याप र बाक्लो चस्मा मिलाउँदै उनी मुुसुक्क हाँसे । अनि भने, “रिटायर्ड भएपछि गरुँला भनी त्यत्तिकै राखेका धेरै काम छन् । अब बिस्तारै गर्ने हो ।”
उनको उत्तरसँगै थप जिज्ञासा जन्मियो । सेवानिवृत्त भएपछि पूरा गर्न थाती राखिएमा के होला र त्यस्ता काम ?
हाम्रो अनुहारमा झल्किएका थप जिज्ञासा मेटाउन खोज्दै गुरुले भने, “मैले पढ्न नपाएका केही उपन्यासहरू छन् । अब धित मरुञ्जेल ती उपन्यासहरू पढ्छु । केही उपन्यास नेपालीमा अनुवाद गर्ने सोच छ । तिनको अनुवाद गर्नेछु । अनि फिल्म हेर्नेछु । पाएसम्म देश र विदेश घुम्नेछु ।”
अघिसम्म भावुकताले झन्डै रुझेको कक्षाको मनोभाव अलि बदलिएको थियो । गुरुका कुरा सुनेर मलाई लागेको थियो, “गुरु त सेवानिवृत्त होइन, झन् सेवाप्रवृत्त पो हुन लागेका रहेछन् ।”
उनले आफ्नो पढ्ने सूचीमा रहेका केही उपन्यासको नाम पनि लिएका थिए । कक्षा ८ का हामीले तीमध्ये धेरै उपन्यासका नाम त्यसअघि सुनेका पनि थिएनौँ । त्यसकारण, अहिले तिनको नाम पनि स्मरण छैन । तर, रुसी साहित्यकार म्याक्सिम गोर्कीको प्रसिद्ध उपन्यास ‘आमा’ (द मदर) को नाम भने अझै सम्झना छ ।
“सके त्यसको अनुवाद गर्ने इच्छा छ”, गुरुले ‘द मदर’ बारे भनेका थिए । गोर्कीको त्यो उपन्यासको नेपालीमा कम्तीमा तीन थरी अनुवाद भइसकेका छन् । तथापि, त्यसको अनुवाद गर्ने गुरुको इच्छा सुनेर हामी चकित थियौँ ।
बुढ्यौलीतिर लागिसकेका गुरुका यस्ता कुराले कक्षाका हरेक विद्यार्थीलाई फरकफरक प्रभाव पारेको हुनुपर्छ । तर, हामी केहीलाई भने उनका त्यस्ता कुराले विद्यालयको पुस्तकालयमा नियमित जान थप हौस्यायो । पुस्तकालयबाट किताब लान र पढ्न हामी अझ उत्साहित भयौँ ।
हाम्रो विद्यालयको पुस्तकालय कम्तीमा कक्षा १० सम्मका विद्यार्थीको लागि असाध्यै उपयुक्त खालको थियो । किशोरवयमा पढिने अङ्ग्रेजी उपन्यासका शृङ्खला नै थिए त्यहाँ । स–साना आकारका ती उपन्यासको पूरै शृङ्खला छिचोल्ने पढाकु पनि थिए हाम्रो कक्षामा । उनीहरू उपन्यासका पात्रहरूको खुब गन्थन गर्थे । त्यो चाख उनीहरूको लेखन र बोलाइमा पनि अभिव्यक्त भएको अनुभव हुन्थ्यो । उनीहरूले लेख्ने अङ्ग्रेजी प्रबन्धमा उतिबेला हामीले बुझ्न शब्दकोश पल्टाउनुपर्ने शब्दको भरमार प्रयोग हुन्थ्यो । उनीहरूसँग अङ्ग्रेजीको बोलाइमा छुट्टै आत्मविश्वास हुन्थ्यो ।
हामी केही भने नेपाली साहित्यका पुस्तकप्रति बढी आकर्षित थियौँ । हामी सकभर नेपाली साहित्यका कृति पढ्न रहर गथ्र्यौँ । तर, बाक्लो र ठुला लेखकका किताब पढ्दा साथीहरूसामू फाइँफुर्इँ बढ्ने केटाकेटी मनोविज्ञानले हो कि हामीले बाक्ला र हाम्रो उमेरले नभ्याउने किताब पढ्ने प्रयास गथ्र्यौँ† प्रायः सक्दैनथ्यौँ । अनि त्यस्ता पुस्तक दुई हप्ता घरमा थन्काएर पुस्तकालयमा बुझाउँथ्यौँ । कस्ता खालका किताबबाट पढ्न थाल्ने भन्ने परामर्श दिने कोही नहुँदा त्यत्ति उत्तम पुस्तकालयको हामीले भरमार उपयोग गर्न नसकेकोमा अहिले पनि थकथक लाग्छ । बरु अङ्ग्रेजी भाषाका किशोर उपन्यासका ती शृङ्खला नै छिचोलेका भए लाभ हुने थियो कि ! हिजोआजको मनको तर्कना ।
विश्वेश्वरप्रसाद कोइरालाको नाम धेरै सुनेकोले उनको कथासङ्ग्रह ‘दोषी चस्मा’ पढियो । चपाउन सकेजस्तो लाग्यो । (पचाउन त सकिएन कि ¤) अनि उनैका अरू कृति पढ्नतिर लागियो । ‘सुम्निमा’ । चपाउन पनि गाह«ो थियो । पचाउन त परको कुरा । तथापि, पढिसकेँ भन्नाको लागि पढेर भ्याइयो । ‘हिटलर र यहुदी’ । अहँ, पढ्न पनि सकिएन । केही पृष्ठ पढेर पुस्तकालयकै आलमारीमा फर्काइयो । हालसालै ‘हिटलर र यहुदी’ पढेँ । अहो ¤ यति गहिरो उपन्यास । कक्षा ८–९ मा के बुझेँ हुँला मैले । यस्ता अरू पनि केही पुस्तक छन् जो फूर्तिसाथ पुस्तकालयबाट ल्याएर कोठामा केही साता बास बसालेर फर्काएका थिए ।
विद्यालय र समुदायमा पुस्तकालय भएर मात्र पनि नहुने रहेछ । हामीलाई उपयुक्त किताब पढ्न सल्लाह दिने परामर्शदाता भएका भए सायद त्यसबाट हामी अझ धेरै लाभ लिन सक्ने थियौँ । पुस्तकालयबाट लिएर गएका पुस्तक पढ्यो–पढेन भनी जाँच्ने, सोध्ने र छलफल गर्ने चलन पनि त थिएन । पुस्तकको मोटाइ र लेखकको लोकप्रियता देखाएर फाइँफुईँ गर्ने अपरिपक्व मनोविज्ञानले सही दिशा दिन सक्दैन ।
तर, पाठ्यपुस्तक (कोर्स बुक) मा मात्र सीमित हुनुपर्ने र बाहिरी किताब पढ्न नहुने सोचबाट मुक्त हुनु नै त्यतिबेलाको हाम्रो सबल पक्ष थियो । पाठ्यपुस्तकभन्दा बाहिर पनि ठुलो संसार छ र त्यो संसारको यात्रा पनि थाल्नुपर्नेमा हामीलाई दुविधा थिएन । सबैलाई मनपर्ने अङ्ग्रेजीका गुरुका प्रेरक व्यवहारले हामीलाई पाठ्यपुस्तक बाहिरको संसार खोज्न हौस्यायो । नभए तिनताक विद्यालयहरूमा हुने वादविवाद प्रतियोगिताका विषयमध्ये एउटा विषय ‘पाठ्यपुस्तकबाहिरका किताब पढ्न कति उचितकति अनुचित ?’ समेत हुन्थ्यो ।
ज्ञानको ब्रह्माण्डमा पाठ्यपुस्तक भनेको सानो अंश हो । विद्यार्थीलाई त्यही सानो अंशमा मात्र कैद राख्नु सर्वथा गलत हुन्छ । पाठ्यपुस्तकको सूत्रमा ढालेर त्यसभित्रबाट बनाइएको प्रश्नपत्रमा सर्वाधिक अङ्क ल्याउनेलाई सर्वोत्कृष्ट विद्यार्थी घोषणा गर्नु सर्वाङ्गीण सिकाइको अवहेलना हो ।
गोर्कीको तीनखण्डे आत्मसंस्मरण ‘मेरो बाल्यकाल’, ‘मेरो विश्वविद्यालय’ र ‘मान्छेहरूका माझ’ पढ्दा त्यस्ता विख्यात साहित्यकार कुनै विद्यालय र विश्वविद्यालयमा नपढेको सुन्दा कतिलाई ताजुब लाग्न सक्छ । खासमा उनी बाँचेको समाज र उनले लुकीलुकी पढेका पुस्तक नै उनका विश्वविद्यालय बने । तिनैले गोर्कीलाई विख्यात साहित्यकार बनायो । उनले कुनै कक्षा कोठामा संसारको विराट रूप र समाजको जटिलता पढेका थिएनन् । आफूले भेटेका मानिस, भोगेका समय र जहाजको कोठामा पढेका पुस्तकले उनलाई संसार चिन्न मद्दत गर्यो । अब्राहम लिङ्कनको बौद्धिक जग हरेक दिन आफ्नो घर नजिकको नदी तरेर पारि एक जना धनीको घरमा दाउरा चिरेबापत पढ्न दिएका पुस्तकको भरमा बनेको थियो । अमेरिकी लेखक रिचर्ड राइटको संस्मरण ‘लाइब्रेरी कार्ड’ पढ्दा पनि यस्तै भाव आउँछ ।
विद्यार्थीकाल जो कोहीको जीवनको यस्तो कालखण्ड हो जसका धेरै कुराको प्रभाव आजीवन रहन्छ वा समयान्तरमा उसको जीवन चरित्र निर्माणमा त्यो कालखण्डले भूमिका खेलेको हुन्छ । ‘आवर इङ्गलिस’ पढाएका गुरुका कुराले हामीलाई लामो समयसम्म यति गहिरो प्रभाव छोडेको कुरा आज पछाडि फर्केर हेर्दा अनुभव हुन्छ । सायदै उतिबेला ती कुराले यति लामो समय यस्तो गाढा प्रभाव पार्ला भन्ने हेक्का थिएन । तर, विद्यार्थी जीवनका यस्ता धेरै तन्तुले नै सबैको जीवन चरित्र निर्माण गर्ने गर्छ ।
जीवनमा विभिन्न तहमा धेरै शिक्षकले पढाए । तर, पाइला पाइलामा सम्झिने त्यस्ता केही गुरु छन् जसका बारे लेख्ने र कसैलाई सुनाउने जाँगर चल्छ ।
केही महिनाअघि सामाजिक सञ्जालमा ‘आवर इङ्गलिस’ पढाउने गुरुले युरोप र अमेरिका आफ्नी श्रीमतीसँगै घुम्दै गरेका तस्वीर पोस्ट गरे । उनी उस्तै फूर्तिसँग देशदेशावर घुम्दै रहेछन् । निवृत्त जीवनका लागि थाती राखेका केही रहर पूरा गरेर उनी अरू रहर पूरा गर्ने दौडमा छन् । उनी कतिबेला अमेरिकाका चोक त कतिबेला युरोपका गल्लीका तस्वीर पोस्ट्याउँदै छन् । उनको मुहारमा उही चमक छ, जो हाम्रो कक्षामा आउनुअघि ‘बिटल्स’ का गीत गाउँदै विद्यालयको बार्दलीमा हिँड्दा देखिन्थ्यो ।
सायद उनी युरोपका गल्लीहरूमा पनि हाम्रो सामु गाएजस्तै गाउँदै होलान्–
‘इन द टाउन ह्वेर आइ वाज बर्न
लिभ्ड अ म्यान हु सेल त सिप
एन्ड हि टोल्ड अस अफ हिस लाइफ
इन द ल्यान्ड अफ सबमेरिन ।’
(बिटल्स ब्यान्डको गीत)

2 responses to “‘आवर इङ्गलिस’ का गुरु”

  1. Rupak Raj Khanal says:

    रोचक लेखका लागि लेखक निरज लवजूज्यूलाई धेरै धन्यवाद।

  2. Guragain Saraswoti says:

    धेरै राम्रो संस्मरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *