भर्खरै :

म्याक्सिम गोर्कीको जीवनीको एक चर्चा–८

म्याक्सिम गोर्कीको जीवनीको एक चर्चा–८

अन्तिम वर्षहरू
सन् १९२८ को मई महिनाको २८ तारिखका दिन गोर्की रूस फर्के । साठीऔँ जन्मोत्सव मनाइयो । उनले बालककालका दिन बिताएका ठाउँहरूको भ्रमण गर्ने उनको धोको पूरा भयो । उनी धेरै समयअगाडि रल्लिँदै हिँड्ने गरेका सडकहरूको बाटो भएर गए । उनले त्यहाँ थुप्रै नयाँ अनुभवहरू बटुले । पछि उनले सोभियत सङ्घ वारपार भन्ने आफ्नो कृतिमा लेखे – “यी वर्षहरूमा तीव्रताका साथ बढ्दै गरेको सजग र हाँकपूर्ण जीवनले मलाई सबभन्दा बढी प्रभावित पारे ।”
त्यसपछिका वर्षहरू रचनात्मक क्रियाकलापहरूले भरिपूर्ण थिए । उनी सोभियत सङ्घको साहित्यिक जीवनका अगुवा बने । उनले कैयौँ अखबार पत्रहरू सञ्चालन गरेर तिनीहरूको सम्पादन गरे । उनले कैयौँ महत्वपूर्ण साहित्यिक अभियानमा भाग लिए । उनको तत्परतामा उन्नाइसौँ शताब्दीका तन्नेरीहरूको इतिहास, हाम्रो विश्वमा एकदिन, गृहयुद्धको इतिहास, कलकारखानाहरूको इतिहास र उपन्यासहरूको पुस्तकालयसमेत कैयौँ ठूला साहित्यिक सङ्ग्रहहरू प्रकाशित भए । उनलाई चिठी लेख्ने असङ्ख्य मित्रहरूको विषयमा उनले चासो राखे, अनाथालयमा छोडिएका केटाकेटीहरूको जीवनस्तरको अध्ययन गरे र यसबाट उनले उनको लेखकीय सिर्जनात्मक प्रतिभाको लागि खुराक बटुले । उनको खराब स्वास्थ्यको कारणले गर्दा सन् १९३२ सम्म सरकारले उनलाई सोरेन्टोमा बस्ने अनुमति दियो ।
सन् १९३१ र १९३३ को बिचमा उनले येगोर बुलिचेम र अरूहरू सोमोग र अरूहरू र दोस्तीगेयेभ र अरूहरू भन्ने नाटक लेखे । यी नाटकहरू उनले बुर्जुवावर्गको पतन र समाजवादको विजय देखाउने किसिमले तर्जुमा गरेका छन् । सन् १९३२ मा रूसी सरकारले गोर्कीको साहित्यिक क्रियाकलापको चालीसौँ वर्षगाँठ मनायो । स्तालिनले उनलाई ‘अर्डर अफ लेनिन’ को विभूषणले सम्मानित गरे र लेखे– “म हृदयदेखि नै श्रमिकहरूको खुसीको लागि श्रमिक वर्गका दुश्मनहरूको बेचैनीको लागि तपाईँका थुप्रै सिर्जनात्मक वर्षहरूको कामना गर्दछु ।” गोर्कीको जन्मथलो, निश्नी नोभ्गोरोद्को नाम फेरेर ‘गोर्की’ राखियो । धेरै स्कूलहरू, नाट्यशालाहरू मस्को कलाकेन्द्रसमेत – विज्ञान प्रज्ञाप्रतिष्ठानको विश्वसाहित्य अध्ययनशाला र मस्कोको एउटा मुख्य सडकसमेत यही नाममा फेरिए ।
यी वर्षहरूका उनका निबन्धका विषयहरू खास गरेर आर्थिक सङ्कटको कारणबाट निस्केका परिणामहरूमा केन्द्रित रहे । फासिस्टवादको वृद्धि, यहुदीवादविरोधी क्रियाकलापहरू र रूसविरोधी अभियानको विरुद्धमा उनले कलम चलाए । गोर्कीका प्रयत्नहरू विश्व शान्ति कायम राख्नतिर परिलक्षित थिए । उनले विश्वभरि बढ्दै गरेको जातिवादविरुद्ध आवाज उठाए । उनले ‘अमानवत्वबारे’ भन्ने निबन्धमा लेखे, “मेरो सारा जीवनभरि म शान्तिप्रिय थिएँ । युद्धले मलाई विक्षिप्त बनायो र मानवप्रति लज्जित गरायो र मानिसहरूको संहार गर्ने योजना बनाएर जीवनलाई तहसनहस गर्ने दुष्टहरूप्रति घृणा भरियो ।”
गोर्कीले हिटलरको नाजीवादी तानाशाही प्रवृत्तिको कडा शब्दमा आलोचना गरे । त्यसको फलस्वरूप सन् १९३३ फेब्रुअरी ४ का दिन जर्मनी सरकारले जर्मनी भाषामा त्यो बेलासम्म उल्था भएका गोर्कीका सम्पूर्ण कृतिहरू जफत ग¥यो । सन् १९३३ को मई ४ मा गोर्कीले रोमाँरोलाँलाई लेखे –
सन् १९१४ मा, जब उनका एउटै मात्र छोरा म्याक्सिम बिते, गोर्कीले अत्यन्त ठूलो मार सहनु पयो । तर, उनको काम गर्ने प्रेरणा भने हराएन र मनमा अनेक नराम्रा चिन्ताहरू बोकेर र अशान्त वातावरणमा रहेर गोर्की बाँचे । उनले आफ्ना दुःख पिरहरूलाई व्यस्त क्रियाकलापूर्ण जीवन बनाएर लुकाए तर उनले स्तालिनको काम– कारबाहीप्रति आँखा चिम्लन सकेनन् । पुलिसको गुप्तचर विभागले गरेको दमनपूर्ण व्यवहारको विरुद्धमा लेनिनको पालामा उनले गरेको विरोधझैँ नै यसपटक पनि विरोध जनाए र उनको निवेदनले उनका मित्रहरू र शत्रुहरू दुवैथरीका जीवन बचाए ।
सन् १९३४ को अगस्त महिनामा रूसी लेखकहरूको पहिलो अधिवेशन भयो र गोर्की त्यसको अध्यक्षमा चुनिए । त्यस अवसरमा उनले समाजवादी यथार्थवादी कलात्मक तरिकाबारे र यसलाई भविष्यमा कसरी विकास गर्ने भन्नेबारे एउटा लामो वक्तव्य दिए ।
उनलाई इन्फ्लुएञ्जा रोगले समात्यो र उनको स्वास्थ्य दिन प्रतिदिन बिग्रँदै गयो । सन् १९३६ को जून महिनाको १८ का दिन मस्को रेडियोले उनको मृत्युको घोषणा ग¥यो । अत्यन्त भव्य अन्त्येष्टि समारोहमा उनको शव लेनिनको समाधिको अगाडि एउटा अग्लो चिहानमा राखियो । त्यो समारोहमा मोलोतोभले समवेदना पत्र वाचन गरे –
“यो क्षणमा हामीहरू सबैले हामी बिचबाट एउटा अत्यन्त चहकिलो पुञ्ज सदाको लागि हराएको महसुस गरेका छौँ । कामदारहरू र श्रमिक समूहका सबैले तिनीहरू आफूमा गोर्कीको प्रतिबिम्ब पाउँछन् । त्यहाँ उनीहरू आफ्नै जीवन, आफ्नै इज्जत र आफ्नै भविष्य देख्छन् । यसैकारणले गर्दा, हाम्रो देशका सम्पूर्ण कामदारहरू र अरू देशका कामदारहरूले समेत गोर्कीलाई उत्तिकै स्नेह गर्छन् । तिनीहरू अहिले पनि गोर्कीलाई स्नेह गर्छन् र सधैँ गर्नेछन् । उनको महानता उनको उर्बर मस्तिष्क, जनसमूहसितको उनको घनिष्ठता मानव समुदायको लाभको लागि उनले गरेको अत्यन्त परिश्रमपूर्ण निःस्वार्थ सङ्घर्षमा निहित छ । यिनै कुराहरूले उनलाई श्रमिक समुदायका अनन्य मित्र बनाएका छन् ।”
खुस्चोभ र बुल्गानिन सम्मान गारतमा थिए । स्तालिन, मालोतोभ आईसोनिकिड्से र कागानोभिचले अन्तमा शव बोकेर क्रेमलिन निवाससम्म लगे र यो त्यहीँ बन्द गरियो । त्यहाँ एउटा सामान्य स्तम्भमा स्मरणका लागि केवल उनको नाम र जन्म तथा मृत्युको तिथि लेखिएको छ ।
गोर्कीको मृत्युबारे विभिन्न तर्कहरू विद्यमान छन् । सन् १९३८ मा जब बुखारिनसम्बन्धी जाँचबुझ भयो, गुप्तचर पुलिस विभागको दोषी ठानिएको हाकिम योगोडाले गोर्कीका छोरा म्याक्सिम र गोर्की स्वयम्लाई हत्या गरेको कुरा स्वीकार्याे । यो काम उसले ट्राट्स्कीको आदेशमा गरेको थियो भन्ने उसले बतायो । यस काममा उसले ऊ जत्तिकै अपराधी मानिएको प्रोफेसर लपेट्न्योभ र क्रेमलिनका चिकित्सक डा. लेभिनको सहयोगमा गरेको कुरा खुलासा ग¥यो । गोर्कीलाई चौबीस घण्टाभित्र, “धतुराको विषालु झोलबाट बनेका दुईओटा इन्जेक्सन, चारओटा क्यापिन, दुईओटा डिगालेन र चालीसओटा कपुर (कम्फोर) इन्जेक्सन” दिइएको थियो ।
मस्कोको गोर्की सङ्ग्रहालयमा यस विषयमा नौला सूचनाहरू फेला परेका छन् । त्यो सङ्ग्रहालयमा गोर्कीको जीवन र कार्यबारे धेरै सामग्रीहरू समावेश भएको गोर्कीसम्बन्धी अनुसन्धानको लागि ग्रन्थरक्षालय छ । यहाँबाट प्राप्त जानकारीअनुसार गोर्कीको क्षयरोगग्रस्त शरीरको जाँचबुझ गर्नका लागि गठित चिकित्सकहरूको एउटा समितिले गोर्कीको लास जाँच गरेर के पुष्टि गरेको छ भने उनको शरीरमा क्षयरोगको विस्तार चरमबिन्दुमा पुगिसकेको थियो । उनको मृत्युको समयमा उनको फोक्सोको एक तृतीयांश मात्र रोगबाट आक्रमण हुनबाट बाँकी थियो । यो प्रतिवेदनअनुसार गोर्कीलाई इन्फ्लुएन्जाले गम्भीररूपमा समातेको थियो । उनी पुनः स्वास्थ्य लाभ गर्न असमर्थ थिए र यसैबाट उनको मृत्यु भयो । यस विषयमा मस्कोका अखबारहरूले उनी बिरामी परेको समत्र्रि दिनदिनै यस्तो लेखेका थिए
“ गोर्कीको मानवतावादी यथार्थवाद एउटा नौलो सिर्जनात्मक प्रयत्न हो । यसको प्रभावले रूसी साहित्यको गरिमालाई उचालेको छ । गोर्कीले नयाँ सामग्रीहरू प्रदान गरेर विश्व साहित्यको क्षेत्रमा एउटा नयाँ क्षितिज उघारे । यति मात्र होइन, उनले एउटा नयाँ र उदाहरणयोग्य शैली र तरिकाको पनि सूत्रपात गरे । म्याक्सिम गोर्कीका रूसी जनता जारतन्त्रीय रूसको मात्र होइन, विश्वभरिका थिचिएका जनताको पक्षमा उभिए ।”
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *