भर्खरै :

क्युवामाथि नाकाबन्दी अन्त्यको पक्षमा संरा सङ्घका बहुमत देश

संरा सङ्घ, १३ असोज । आज संसार जलवायु परिवर्तन, भुकम्प, आँधीहुरी, महामारी र आणविक युद्धजस्ता धेरै समस्या सामना गरिरहेको छ । तर सेप्टेम्बर २५ मा सम्पन्न संरा सङ्घीय महासभाको विशेष छलफलमा क्युवामाथि संरा अमेरिकाले लगाउँदै आएको आर्थिक, व्यापारिक र वित्तीय नाकाबन्दीको विरोधमा चर्को र प्रष्ट मत सुनिएको छ ।
बिस्तारित सभामा क्युवाप्रति विभिन्न देशहरुले ऐक्यबद्धता व्यक्त गरेका छन् । संरा अमेरिकी आक्रामक विदेश नीतिबाट सबभन्दा प्रभावित बनेको देश भेनेजुयलाका विदेशमन्त्री जर्ज अरियाजाले आफ्नो देश र क्युवाजस्तो देशमाथि वाशिङ्टनले थोपरेको आर्थिक नाकाबन्दीलाई एकपक्षीय र अवैध नाकाबन्दीको रुपमा व्याख्या गरे । क्युवामाथि विगत ५० वर्षभन्दा बढी समयदेखि संरा अमेरिकाले नाकाबन्दी थोपर्दै आएको छ ।
उरुग्वेका विदेशमन्त्री रोडोल्फो निन नोभाओ, संरा सङ्घका लागि मोजाम्बिकका स्थायी प्रतिनिधि एन्टोनियो गुमान्डे, संरा सङ्घका लागि अङ्गोलाका प्रतिनिधि गास्पर इमानियल मार्टिन्स, निकारागुआका उपविदेशमन्त्री तथा राष्ट्र सङ्घका स्थायी प्रतिनिधि मारिया रुबालियस तथा राष्ट्र सङ्घका लागि टिमोर लेस्टेका स्थायी प्रतिनिधि मारिया हेलेना पियर्सले पनि क्युवामाथिको नाकाबन्दी अन्त्यको माग गरेका छन् ।
साथै भियतनाम, लाओस, बेलिजे, साओ टोमे र प्रिन्सिपेलगायतका देशहरुले पनि क्युवामाथिको नाकाबन्दी अन्यायपूर्ण भएको भन्दै फिर्ताको माग गरे ।
डोमिनिकन गणराज्य, कम्बोडिया, माक्सिने पामिला ओमिता, नाइजर, तान्जानिया, सेन्ट किट्स र नेभिसका प्रतिनिधिहरुले पनि संरा अमेरिकाले क्युवामाथिको नाकाबन्दी तत्काल अन्त्य गर्नुपर्ने धारणा राखेका थिए ।
बहमास, प्रजग कोरिया, सुरिनाम, ग्रेनेडा, जमाइका, चाड, त्रिनिदाद र तोबागो, बुरुण्डीका कुटनीतिक प्रतिनिधिहरुले क्युवामाथिको अमानवीय नाकाबन्दी अन्त्यले विश्व शान्ति स्थापित गर्ने योगदान हुने बताए ।
संरा अमेरिकाले थोपरेको नाकाबन्दीका कारण क्युवाली जनताको आर्थिक, सामाजिक, साँस्कृतिक विकासमा अवरोध हुनुको साथै क्युवाली जनताको न्युनतम मानवअधिकारमाथि समेत हस्तक्षेप भइरहेको छ । पटक–पटक संरा सङ्घमा संसारभरका देशहरुले क्युवामाथिको नाकाबन्दी अन्त्यको पक्षमा अत्याधिक बहुमतले मत व्यक्त गरे पनि संरा अमेरिकी साम्राज्यवादले क्यारिबियाली टापु देशमाथि अमानवीय नाकाबन्दी थोपर्दै आएको छ ।

Comments are closed.