नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
राणा शासकहरूले जहानियाँ शासन टिकाउन अङ्गे्रजहरूको चाकरी गरे । बलियो अङ्गे्रजसँग जोरी खोज्ने हर्कत उनीहरूले गरेनन् । जङ्गबहादुर राणाले अङ्ग्रेजलाई खुसी पार्न ‘गोरखा भर्ती’ गराउने औपचारिक मान्यता प्रदान गरे । ब्रिटिस सरकारको विरुद्ध सन् १८५७ मा भारतमा भएको विद्रोह दबाउन स्वयम् जङ्गबहादुर राणाले १२०० गोर्खाली सेनाको नेतृत्व गरे । भारतको आजमगढ, लखनउ, गोरखपुर, जौनपुर आदि क्षेत्र कब्जा गरेर गोरखाली सेनाले अङ्ग्रेजहरूलाई खुसी पारे । राणा चन्द्रशमशेरले पनि भारतीय सीमा रक्षाको लागि १६०० गोर्खाली सेना अङ्गे्रजको चाकरीमा पठाएका थिए । नेपाली युवालाई अङ्ग्रेजको पाउमा चढाएर खुसी पार्ने परराष्ट्र नीतिकै कारण एकसय चार वर्षसम्म नेपालमा जहानियाँ राणा शासन टिक्न सकेको थियो । अङ्ग्रेजलाई खुसी पार्ने राणाहरूको नीति अहिले पनि नेपालका शासकहरूले अनुकरण गर्दै छन् ।
राणाहरूले नेपाली युवालाई पहिलो विश्वयुद्धमा बेलायतको पक्षमा लड्न पठाए । पहिलो विश्वयुद्धमा नेपालले ब्रिटेनको पक्षमा लडेको हुँदा भारतको ब्रिटिस सरकारले विसं १९७७ ताका सालिन्दा १० लाख रुपैयाँ अनुदान र एकमुष्ट भारु २१ लाख आर्थिक सहायता दिएको थियो । तर, यो सबै रकम राणाहरूको ढुकुटीमा गयो, नेपाली जनताको जीवनस्तर उकास्न खर्च भएन । अङ्गे्रजको सेवामा नेपाली युवाहरू पठाएको कारण विसं १९७७ असोज महिनामा भारतका जङ्डीलाठले नेपालका प्रम चन्द्रशमशेरलाई ‘हिज हाइनेस’ को मान प्रदान गरे । उक्त ‘हिज हाइनेस’ को मान र आर्थिक सहायता पाएको खुसियाली मनाउन प्रम चन्द्रशमशेरले विसं १९७७ कार्तिकमा (सन् १९२० नोभेम्बर २१) सिंहदरबारमा ठूलै समारोहको आयोजना गरे । जसमा पहिलो महायुद्धमा भाग लिएका सेनाहरूलाई काठमाडौँस्थित ब्रिटिश रेसिडेन्टले तक्मा प्रदान गरेको थियो ।
विसं १९७१ देखि १९७५ सम्ममा युरोपको महायुद्धमा लड्न गएका गोर्खाली पल्टनका करिब २ लाखजति नेपाली फौजी जवान लडाइँ सकिएपछि विसं १९७७ तिर दफाका दफा नेपाल फर्किए । नेपाल फर्कँदा उनीहरूले आफ्नो साथमा विशाल धनराशी (त्यतिखेरको अन्दाजी रु. १३०० लाख ।) र विदेशी बानी–व्यहोरा, लवाइखवाइ, चालचलन पनि बोकेर आए । जसले हाम्रो ग्रामीण जनजीवनमा निकै ठूलो प्रभाव पा¥यो । विदेशबाट ओइरिएको धनलाई उपयोग गर्ने नीति तत्कालीन सरकारसँग नभएको कारण नेपालले त्यसबाट फाइदा लिन सकेन । त्यो धनले नेपालको उत्पादन बढाउनुको सट्टा विदेशी सस्तो र राम्रो सामानको खपत बढाउन सुरु ग¥यो । त्यसपछि स्वदेशी उत्पादनले धानेको नेपालको जनजीवनलाई विदेशी सामानको पनि प्रभाव पर्न थाल्यो । नेपालीको आत्मनिर्भरता र आत्मविश्वास विस्तारै खस्कन थाल्यो । अन्ततः गोर्खा सेनाले विदेशमा आर्जन गरेर ल्याएको धन ‘हात्ती आयो हात्ती आयो फुस्सा ¤’ भनेझैँ जुन बाटोबाट आयो त्यही बाटो फर्कियो ।
नेपालको अहिलेका शासकहरू पनि विदेशीलाई खुसी पारेर आफ्नो कुर्सी जोगाउन मरिहत्ते गर्छन् । जसरी राणाहरूले अङ्ग्रेजलाई खुसी पारेर आफ्नो सत्ता जोगाए, उसैगरी अहिलेका शासकहरूले पनि विदेशीलाई खुसी पार्न कुनै कसर बाँकी राखेनन् । शासकहरूले नेपाली युवाहरूलाई गोर्खा भर्तीको नाममा विदेशीको सेवा र वैदेशिक रोजगारीको नाममा बहुराष्ट्रिय कम्पनीको सेवा गर्न पठाएकै छन् । शासक दलका नेताहरूले नेपाली युवाहरूलाई ‘फ्री भिसा’, ‘फ्री टिकट’ को लोभ देखाएर विदेश पठाउने काम अहिले पनि गर्दै छन् । दैनिक २ हजारका दरले नेपाली युवाहरू विदेसिन्छन् । यसरी विश्वका ११० भन्दा बढी मुलुकमा नेपाली युवाहरू रोजगारीको नाममा बहुराष्ट्रिय कम्पनीको सेवा गर्न बाध्य छन् । राणा शासकहरूको विरासत अहिले पनि आफूलाई प्रजातन्त्र र गणतन्त्रका पहरेदार ठान्ने शासक दलका नेताहरूले धानिरहेका छन् ।
पछिल्लो पाँच वर्षमा साढे ४१ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको तथ्याङ्क छ भने आव २०७८÷०७९ मा १० खर्ब ७ अर्ब रुपैयाँ भित्रियो । तर, रेमिट्यान्सको नाममा नेपाल भित्रिएको रकम विदेशबाट आउने विलासिताको सामानमा खर्च भइरहेको छ । शासक दलका नेताहरू नेपाल रेमिट्यान्सबाट चलेको झूटो प्रचार गर्छन् । यथार्थमा नेपाल भित्रिएको रेमिट्यान्स खोलो बगेसरि विदेशतर्फै बगिरहेको छ. नेपाल र नेपाली जनताको हित भएन । देश युवाविहीन भएपछि नेपालको उत्पादन कमजोर भई माग धान्न विदेशबाट आयात बढ्यो । निर्यातभन्दा आयात बढी भएपछि नेपालको विदेशीसँगको व्यापारघाटा पनि बढ्यो । राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार चालू आवको ६ महिनामा वस्तु व्यापारघाटा ७ सय ११ अर्ब ८६ करोड रुपैयाँ र सेवा व्यापारघाटा ३१ अर्ब २७ करोड गरी कुल व्यापारघाटा ७ सय ४३ अर्ब १३ करोड रुपैयाँ पुग्यो । यस्तो अवस्था बढ्दै गए कुनै दिन नेपाललाई विदेशीले कब्जा गर्छ ।
राणाकालमा नेपाली युवाहरूलाई अङ्ग्रेजको पक्षमा लड्न पठाएर खुसी पार्ने नीति भए पनि नेपालको स्वतन्त्र अस्तित्वमाथि अहिलेको जस्तो खतरा उतिखेर थिएन । त्यतिबेला विदेशीहरूले नेपालको हर मामिलामा आदेश निर्देश गर्न सक्दैनथे । तर, अहिले शासक दलका नेताहरू सत्ताको निम्ति विदेशीसामु लम्पसार पर्ने नीतिका कारण नेपालको सानोभन्दा सानो विषयमा पनि विदेशीको हस्तक्षेप बढ्दो छ । भर्खरै नेपालको सत्ता परिवर्तनमा देखिएको गतिविधिले विदेशी हस्तक्षेपको नाङ्गो रूपको प्रतिनिधित्व गर्छ । नेपालमा राष्ट्रपतिको निर्वाचनपूर्व देखिएका विदेशी अधिकारीहरूको अस्वाभाविक भ्रमणले नेपाल विदेशीको क्रिडास्थल बनिसकेको प्रमाणित हुन्छ । राणा कालको १०४ वर्षसम्म नेपाली जनतालाई राणा शासकहरूले अन्धकारमा राखे तर अहिलेका शासकहरू देश नै विदेशीलाई सुम्पेर नेपालीको अस्तित्व समाप्त पार्न उद्यत छन् । राणाहरूभन्दा खटरनाक छन् गणतन्त्रका दलाल शासकहरू । यसर्थ, नेपाली जनताले यस्ता शासकहरूलाई ठेगान लगाउनु जरुरी छ ।
Leave a Reply