पुस्तकालयलाई जीवन्त बनाउन पुस्तकालयकर्मीको दायित्व
- भाद्र १४, २०८३
बुटवलका वरिष्ठ पत्रकार मदनलाल पौड्याल खरो बोल्छन् र प्रस्ट लेख्छन् । दृढ आत्मविश्वासका साथ बोल्ने पौड्याल स्रोतालाई सम्मोहित पार्न माहिर छन् । उनी गम्भीर विषयवस्तुलाई पनि अत्यन्त रोचक ढङ्गबाट प्रस्तुत गर्छन् । अभिव्यक्ति कलामा सिपालु पौड्यालको कलमबाट सिर्जित ‘मृत्युले मुसारेको मानिस’ प्रकाशित भएको छ । ‘मृत्युले मुसारेको मानिस’ले वरिष्ठ पत्रकार पौड्यालको व्यक्तिगत जीवनका उकालीओरालीसँगसँगै तत्कालीन राष्ट्रिय–अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति, नेपालको कम्युनिस्ट आन्दोलन, नेपाली आर्थिक र सांस्कृतिक अवस्थाबारे अध्ययन गर्न विशेष अवसर दिएको छ ।
जन्मपछि मृत्यु अवश्यम्भावी छ । यद्यपि, मानिस मृत्युलाई स्वीकार गर्न चाहँदैनन् । मानिस चिरञ्जीवी चाहन्छन् । त्यसैले मृत्युशय्या छटपटाइरहेको मानिसको पनि स्वास्थ्यलाभको प्रार्थना गरिन्छ । आशा मारिसकेको दुःखद स्वास्थ्योवस्था पार गरी नियमित दैनिक जीवनमा फर्किएको व्यक्तिलाई मृत्युञ्जय भन्ने गरिन्छ अथवा मृत्युले मुसारेको मानिस भन्न सकिन्छ । वरिष्ठ पत्रकार पौड्यालको जीवनमा पनि यस्तो मृत्युले मुसार्ने घटना पटकपटक दोहोरिएका छन् । त्यसैले पौड्यालको आत्म संस्मरणात्मक पुस्तकको नाम ‘मृत्युले मुसारेको मानिस’ सार्थक देखिन्छ ।
वरिष्ठ पत्रकार मदनलाल पौड्याललाई झट्ट हेर्दा कसैले पनि बिरामी मानिस हो भन्न सक्दैन । सफा र आकर्षक दौरा–सुरुवालमा हँसिलो मुहारसहित फूर्तिका साथ प्रस्तुत हुने पौड्यालको बाह्य व्यक्तित्वले उनको शरीरमा कुनै स्वास्थ्य समस्या हुनसक्छ भन्ने सन्देह गर्न दिँदैन । यद्यपि, २०७८ वैशाख १२ गते बिहान ८ बजेदेखि राति ८ बजेसम्म पौड्यालको १२ घण्टा लामो शल्यक्रिया भयो । उक्त पाँचौँ पटकको शल्यक्रियाबाट क्यान्सरग्रस्त पौड्यालको मूत्रथैली र एउटा मिर्गौला निकालियो । पेट छेडेर प्वाल पारी मिर्गौलाबाट निस्किने पिसाब सीधै बाहिर कृत्रिम पिसाब थैलीमा जम्मा हुने व्यवस्था गरियो । ३२ घण्टासम्म भेन्टिलेटरमा राखियो । पौड्याललाई वार्डमा सारिएको भोलिपल्ट एक जना कोभिड बिरामीको शल्यक्रिया गरेका आफ्नो छोरा डा. सञ्जय पौड्यालमा कोभिड पोजिटिभ देखियो । श्रीमती दुर्गा पौड्याल मदनको कुरुवा बस्नुप¥यो । आठ दस दिनपछि अस्पतालबाट डिस्चार्ज भए पनि ज्वरोले छोडेको थिएन, वैशाख ३० गते पौड्याललाई पनि कोभिड पोजिटिभ भयो । मधुमेह रोगको लागि लामो समयदेखि इन्सुलिन लिइरहेका पौड्यालले एकपछि अर्को स्वास्थ्य जटिलता थपिएपछि श्रीमती दुर्गाबाट पीडा लुकाउन सकेनन् र भनेछन्, “मलाई त सञ्चो हुँदैन कि क्या हो ? अब दुवैतिरबाट पिसाब झर्न थाल्यो ।” सुस्केरा लिन थालेका पौड्यालले समयमै उच्चस्तरको उपचार र उचित स्याहार सुसार पाएको हुँदा छिट्टै तङ्ग्रिन पाए । “मेरो कृत्रिम मूत्रथैली शरीर बाहिरै झुण्डिएको छ । तर, पाइन्ट लगाएर हिँड्न मिल्छ । बिचबिचमा थैलीबाट पिसाब फाल्नुपर्छ । यो चिकित्सा विज्ञानको नयाँ प्रविधि रहेछ तर अत्यन्त महँगो महँगो उपचार भए पनि पुनर्जीवन पाएका पौड्याल ‘मृत्युले मुसारेको मानिस’को अन्तमा कामना गर्छन्, “पेटमा बनाएको प्वालबाट पिसाब नियमित आओस् ।”
२०२९ सालमा क्षयरोगको कारण पौड्याल निकै थलिए । उपचार गर्दा पनि सञ्चो नभएपछि पौड्यालले कम्युनिस्ट आन्दोलनको सक्रिय र भूमिगत राजनीतिक जीवन नै बदल्नु प¥यो । पौड्यालको राजनीतिक जीवनको बाटो फेर्न नेपाल कम्युनिस्ट पार्टीका महासचिव स्वयम् पुष्पलालले दिएको सुझाव उल्लेख गर्छन्, “तपाईँ टीबीले ज्यादै गल्नुभयो ।
तपाईँको स्वभाव पनि भूमिगत बन्नेजस्तो छैन । तपाईँले बाहिर बसेर वैधानिक मञ्चबाट पार्टीको काम गर्नुप¥यो ।” त्यतिबेला पौड्याल रूपन्देही पार्टी सचिव थिए । थुप्रै मुद्दा खेप्नुपरेको थियो । जग्गाजमिन नै लिलाम हुने अवस्था थियो । जग्गाको लिलामी रोक्न, औषधि उपचार सुलभ बनाउन पार्टी जिल्लाको निर्णयानुसार पौड्यालले भूमिगत जीवन छाडे ।
यसअघि बिरामी अवस्थामै भारतको दरभङ्गामा सम्पन्न विद्यार्थी सम्मेलनमा भाग लिन जाँदाको घटनालाई पनि पौड्यालले ‘मृत्युले मुसारेको मानिस’मा यसरी समेटेका छन् – तीन दिनको सम्मेलनपछि हामी फर्किने बेला भएको थियो । माइल्दाइले मलाई दरभङ्गा पार्टी अफिसमै नारायणमान बिजुक्छेसँग दुई चार दिन बसेर उपचार गराउने भनेका थिए । तर, नारायणमान अनुशासित नेता सफा हुनुपर्ने, चुरोट–बिँडी केही नखाने, अरुले खाएको पनि मन नपराउने, ट्वाइलेट–बाथरुम पूरा सफा राख्नुपर्ने, कपडा पनि सफा लगाउनुपर्ने । हामी भने त्यतिबेला चुरोटबिँडी खानेमध्येमा पथ्र्यौँ । उनी कतिसम्म भने अरुले पाइखानामा पिसाब गरेर निस्केपछि पानी हाले, नहालेको चियो गर्ने र नहालेको भए आफैँ पानी हालेर आउने । चुरोट तानेको देखेमा आफ्नो हातमा एस्ट्रे लिएर त्यहीँ पुग्ने । पाइखानामा पानी खन्याउन नारायणमान आफैँ पुग्ने गरेको मैले धेरै पटक देखेको थिएँ । त्यो देख्दा मलाई लाग्यो, म उनीसँग बस्न सक्दिनँ । मैले माइल्दाइलाई भनेँ, “म यहाँ बस्दिनँ । उतै गएर औषधोपचार पनि गराउँछु र पार्टीको काम पनि गर्छु ।” माइल्दाइले बस्न कर गरे पनि म मानिनँ । …. (त्यसपछि) पुष्पलालले मलाई सुझाएका थिए – भूमिगतभन्दा जेल जीवन सजिलो हुन्छ ।
भूमिगत जीवनमा खाने, बस्ने, सुत्ने, आराम गर्ने कुनै ठेगान नभएपछि पौड्याललाई ज्वरोले समात्यो । २०२७ सालतिर बुबाले पनि ‘कम्युनिस्टहरू जहाँ पनि खान्छन्, जे पनि खान्छन्, जातपात मान्दैनन्’ भनी पौड्याललाई घरबाट निकाल्न बाध्य पारे । आफू त बस्ने ठेगान छैन, दोजिया श्रीमती दुर्गालाई कहाँ राख्ने ? दुर्गा माइतमा बस्न थालिन् । यही अव्यवस्थामै दुर्गाले माइतमै छोरा पाइन् । पार्टी साथीहरूको सहयोगमा भूमिगत भएर आफ्नो र दुर्गाको सकेको उपचारमा लागे । तर, पनि उनले छोरा बचाउन सकेनन् । २०–२१ दिनको छोरा बितेपछि दुर्गा माइत पहाडमा गइन् । यता, सञ्चो हुनुको साटो मुखबाटै रगत आउन थालेपछि पौड्याल एकराज पाण्डे, वामदेव गौतम र स्वास्थ्यकर्मी हरिप्रसादको सल्लाहमा बनारस गए ।
बनारस पार्टी हेडक्वाटरमा माइल्दाइ (पुष्पलाल), गोविन्द ज्ञवाली, केशरमणि पोखरेल, हरिराम शर्मा बस्थे । पुष्पलालका परम मित्र डाक्टर ध्रुवज्योति मुखर्जीले चेकजाँच र एक्सरे गरेपछि टीबीको औषधि चलाए । ज्वरो घट्दै घटेन र साथीहरूले १०–१२ दिन त आशै मारे । नियमित उपचार गर्दागर्दै पौड्यालको होश खुलेजस्तो हुन थाल्यो । त्यतिबेला पुष्पलालले भनेका थिए, “तिमी त फर्कियौ । हामीले त आशै मारेका थियौँ ।”
पौड्यालको जीवनमा राजनीतिक कारण प्रहरी प्रशासनबाट बल्ल बल्ल जोगिएको वा बिरामी परेर आशा मारिसकेको कारण पटकपटक मृत्युले मुसार्न आएका धेरै प्रकरणहरू छन् । तर, पौड्याललाई ती मृत्युले मुसारेका अन्य घटनाहरूभन्दा ‘माओवादी’को नाममा मुसार्न आएको मृत्यु साँच्चिकै भयानक थियो । जहाँ आफैले मलजल गरेको कम्युनिस्ट आन्दोलनको नाममा सञ्चालित ‘माओवादी जनयुद्धकारी’ हरूले पौड्यालको प्राणलाई नगदसँग तौलेका थिए । ‘माओवादी जनयुद्ध’ कै पक्षमा जनमत बनाउन सञ्चार क्षेत्रमा सक्रिय पौड्याललाई पाँच लाख नगद नदिए सफाया गर्ने धम्की दिइएको थियो । जब कि वामदेव गौतम मालेबाट एमालेमा फर्किएको बेला पौड्यालले धेरै साथीहरूलाई ‘माओवादी’मा हुल्दिएका थिए । पुष्पलालको पालामा जम्मा गरी आफ्नो धन्सारमा लुकाइराखेको पाँच नाल बन्दुकमध्ये नबिग्रेको एउटा ६ राउन्ड गोली लाग्ने बेल्जियम बन्दुकलाई स्वयम् पौड्यालले आफ्नै कारमा राखी ‘माओवादी’ नेताकहाँ पु¥याइदिएका थिए । ती कहालीलाग्दो दिनबारे ‘मृत्युले मुसारेको मानिस’मा पौड्यालले सम्झेका छन्, “२०५८ सालतिर त्यसरी सहयोग गरेको थिएँ । लोकल माओवादी त मसितै रिसाएका रहेछन् । त्यसको परिणाम मलाई नै चर्को प¥यो । माओवादीले मसँग रु. पाँच लाख मागे । पैसा नदिए भौतिक सफाया गरिदिने धम्की दिए । तिनले भने, “दुई किलो जिलेटिन त हो नि, तेरो घर उडाइदिन्छौँ ।” यो कुरा मैले साथीहरू र माओवादीका नेताहरूसम्म पनि पु¥याएँ । …. आफ्नो थैलीमा त्यति धेरै पैसा थिएन । मैले जमिन बेच्न फुर्सद देऊ भनेर समय मागेँ । बुटवल नगरभित्रको नयाँ गाउँमा भएको अढाइ कत्ठा जमिन बेचेँ । अहिले त्यसको पाँच–छ करोड रूपैयाँ पर्छ । लुम्बिनी क्षेत्रमा कम्युनिस्ट सङ्गठन बनाउन मदनको योगदान ठूलो छ, पार्टीको बाँझो मारेको, जोतेको मान्छे हो भन्ने सम्झेनन् । अत्यन्त क्रूर भए । तीन महिनाजतिको आत्तुरीपात्तुरीमा पाँच लाख बुझाएँ मैले । तर, उनले तीन लाखको मात्रै रसिद दिए, दुई लाखको दिएनन् । त्यसपछि मैले माओवादीभित्र पनि भ्रष्टाचार रहेछ भनेर छसक्क कुरो उठाउन थालेँ । त्यो रसिद मसित अहिले पनि छ । भन्नलाई त क्रान्तिका निम्ति चन्दा भनेर लिए । तर, वास्तवमा त्यो उनीहरुले दण्ड लिएका रहेछन् । त्यो हर्जना तिरेपछि मेरो ज्यान बच्यो ।”
‘माओवादी’लाई भारतका पार्टीमार्फत भारत सरकारले सहयोग गरेको छ भन्ने टाइम्स अफ इन्डियाका चिफ रिपोर्टर, उनका भारतीय मित्र प्रेम बर्माले सुनाउँदा पनि पौड्यालले पत्याएका थिएनन् । पाँच लाख ‘हर्जना’ तिर्नुअघि पौड्यालले पत्रकारको रूपमा युद्धविरामको बेला गुल्मीमा जनसरकार घोषणासभामा सम्बोधन गरेका थिए । ८० वर्षीय कमलराज रेग्मीलाई पाल्पा जनसरकार घोषणासभामा जान उत्साहित गरेका थिए । २०१५ सालको संसदीय निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीबाट निर्वाचित चारमध्ये एक रेग्मी त्यतिबेला राज परिषद् स्थायी समितिका सदस्य थिए । राजसभाका सदस्य भएर पनि रेग्मीले ‘माओवादी’ सभामा भाषण गरेको भन्दै काङ्ग्रेसले विरोधमा वक्तव्य नै जारी गरेको थियो । त्यही ‘माओवादी’ नामको मृत्युले मुसारेपछिको स्थितिबारे ‘मृत्युले मुसारेको मानिस’मा पौड्यालले लेखेका छन्, “आफैँमाथि ठूलो षड्यन्त्र भएपछि भने माओवादीबारे म मौन रहनुपर्ने स्थिति भयो । मलाई भित्रभित्रै चसक्क भयो त्यतिबेला । केका लागि कम्युनिस्ट राजनीति गरिएछ भन्ने भयो । त्यसको जवाफ मैले अहिलेसम्म पाएको छैन ।” ‘माआवादी’सँगको लामो सङ्गतबारे पौड्याल थप्छन्, “माओवादीले अप्ठ्यारो पर्दाखेरि प्रयोग खुबै ग¥यो । अझ भनौं भने युज एन्ड थ्रो नै ग¥यो ।” ‘माओवादी’लाई पैसा तिरे पनि पौड्याल ‘माओवादी’को विरोधमा कहिल्यै लागेनन् । माओवादी एमाले एकता हुनुअघिसम्म पौड्याललाई माओवादी पत्रकार सङ्गठनमा सल्लाहकार राखिएको थियो ।
२००५ असार २८ गते गुल्मीको साबिक हरेवा गाउँ पञ्चायतको धारापानी, चन्द्रकोटमा जन्मेका मदनलाल पौड्यालका आमाबुबा भने जन्मस्थान बर्माबाट फर्केका थिए । त्यसैले पौड्यालको पूर्वजको खोजी गर्दा बर्माको माण्डले प्रदेश अन्तर्गत रहेको मोगोकमा पुग्नुपर्ने हुन्छ । त्यहाँ उनका पूर्वजहरू रैथानेजस्तै नेपाली बस्ती बनाएर बसेका थिए । सन् १९३०–३५ तिर घर र मावल दुवैतिरका हजुरबुबाहरू बर्मा गएको पौड्यालको अनुमान छ । पौड्यालका आमा मणिकर्णिका र बुबा यज्ञलाल पनि बर्मामै जन्मे । उनीहरू मुगा नामको पत्थर निकाल्ने व्यवसाय गर्थे । मुगा निकै महँगो पत्थर हो । पत्थर खन्ने क्रममा पौड्यालका मावली हजुरबुबाले ठूलो डल्लो भेटाएछ । ठूलै माल पाइएछ भन्दै डल्लो फोड्न खोज्दा पड्केर ठाउँको ठाउँ हजुरबुबा बितेछन् । खासमा त्यो दोस्रो विश्वयुद्धताका जापानले राखेको बम रहेछ । पत्थर बेचेर पौड्याल परिवारले धेरै सुन किन्ने गरेका थिए । विसं १९९५ पौड्यालका बुबा नेपाल फर्केका थिए । पौड्यालकी आमा नेपाल आउँदा २४० तोला सुन लगाएर आएकी थिइन् ।
पौड्यालले घरमै अक्षर लेख्न सिके । चार वर्ष जेठो बालसखा जीवराज न्यौपाने (आश्रित) सँगै दयानिधि शर्माको दलानमा सुरु गरिएको उदय विद्यालयबाट औपचारिक शिक्षा सुरु गरे । पुख्र्यौली जजमानी पेसामा पौड्यालले सानैमा नाम कमाए । एकै दिन तीन–चार घरमा श्राद्ध गराउन सक्ने फलानोको छोरा कस्तो तेज र दिमागवाला रहेछ भनेर पौड्यालको चर्चा हुन्थ्यो । विधिपूर्वक श्राद्ध गराउन मात्र नभएर पूजापाठ, सत्यनारायणको पूजा, काजकिरियालगायत कर्मकाण्ड गराउन पनि पौड्याल सिपालु थिए । पौड्याललाई दिनदिनै मन्त्र जप्नुपर्ने, ननुहाइकन भात खान नहुने, जनै निकाल्न नहुने र मन्त्र कसैलाई सुनाउन नहुने चार नियम जनैमन्त्र दिने गुरुले सिकाएका थिए । नियम पालना नगरेमा बहुलाइन्छ गुरुले भनेका थिए । जिज्ञासु स्वभावका पौड्यालले ती चारै निर्देशनलाई अवज्ञा गरेर हेरे । तर, पौड्याल बहुलाएनन् । त्यसैले पौड्याल भन्छन्, “म त थाहै नपाइकन भौतिकवादी भइसकेछु ।”
पौड्याललाई राजनीतिमा ठूलो बुबा पर्ने दयानिधि शर्माले दोहो¥याएका थिए । २०१५ सालको संसदीय निर्वाचनमा डा. केआई सिंहको चुनाव प्रचारमा पौड्यालहरू सक्रिय भए । दयानिधि शर्मा पहिला काङ्ग्रेसी नै थिए । डा. सिंहसँगै शर्मा पनि दिल्ली सम्झौताबाट असन्तुष्ट थिए । उनी ‘काङ्ग्रेस गद्दार हो, दिल्ली सम्झौता धोका भयो’ भन्दै रिसाए । २०१२ सालमा संविधानसभाको चुनाव हुनुहुन्न भनेर गतिविधि थालेपछि शर्मालाई काङ्ग्रेसीहरूले काठमाडौँमा समातेर परालसराल खुवाएछन् । पछाडिपट्टि गोबरसोबर दलेर नाराबाजीसहित सहर घुमाएछन् । त्यसैले शर्मा पछिसम्म पनि पञ्चायतमा नलागे, कम्युनिस्टमा त लागे हुन्छ तर काङ्ग्रेसमा लाग्नै नहुनेमा जोड दिन्थे । पौड्याल कम्युनिस्ट पार्टीमा लागे पनि शर्माबाट निरन्तर सहानुभूति पाइरहे । उनीहरूबिच सम्बन्ध अटुट रह्यो । दरबारिया शर्मासँग जेलबाट छुटेपछि मोदनाथ प्रश्रित र जीवराज आश्रितहरूले आर्थिक सहयोग लिइरहे ।
पौड्याल ११ वर्षको हुँदा सुत्केरी आमा बितेकी थिइन् । बिनाउपचार आमा मरेकाले पौड्याललाई डाक्टर बनाउने बुबाको सदिच्छा थियो । त्यसैले नोबेल साहित्य पुरस्कार विजेता कवि रवीन्द्रनाथ टैगोरले खोलेको शान्ति निकेतनमा पढ्न पौड्याल कोलकत्ता गए । उनी शान्ति निकेतनमा भर्ना हुन नसकेपछि आर्यपरिषद् उच्चतर माध्यमिक विद्यालयको कक्षा ९ मा भर्ना भए । कक्षा १२ पढ्दै गर्दा पौड्याल साथीहरूको लहैलहैमै भारतीय कम्युनिस्ट पार्टीका नेता नृपेण चक्रवर्तीको सम्पर्कमा पुगे । उनी स्टुडेन्ट फेडरेसन अफ इन्डियामा आबद्ध भए । साथीसङ्गतले पौड्याल कम्युनिस्ट कित्तामा पुगे । शिव बर्मा, रमेश बर्मा, रामासरे बर्मा, रमेश विद्रोही, यशपालहरूका ‘माक्र्सवाद परिचय माला’, ‘माक्र्सवाद क्या है’, ‘कम्युनिस्ट क्या चाहता है’ आदि किताब र बुकलेट पढ्न थाले ।
Leave a Reply