भर्खरै :

नख्खु – भैँसेपाटी सडक समयमै किन मर्मत हुँदैन ?

नख्खु – भैँसेपाटी सडक समयमै किन मर्मत हुँदैन ?

१२ चैत २०७९ को नेपाल समाचारपत्रको शीर्षक थियो– “६ वर्षदेखि ‘भीआईपी’ सडककै कन्तविजोग ।’ उपशीर्षकका विषय हुन्– ‘निर्वाचनको मुख्य नारा, जितेपछि चुपचाप’, ‘मन्त्री क्वार्टर मुख्य मन्त्री र प्रदेश प्रमुखको आवास बन्यो बाटो बनेन’, ‘उपप्रधानमन्त्री ३ पटक पुगे’ र ‘१ महिनाभित्रै सक्ने ठेकेदारको दाबी’ ।
समाचारपत्रले ‘को को भीआईपी बस्छन् ?’ भन्दै ती ठूलाबडाको नागरिक भावना र कर्तव्यलाई जनताको सामुन्ने छर्लङ्ग्याइदियो । पूर्वउपप्रधानमन्त्रीहरू दुई जना, ११ जना मन्त्री र अन्य सांसद र ठूलाबडाको लाम लामै छ । सन्दर्भ नख्खु–भैँसेपाटी सडकको दुरवस्थाको हो ।
यी ठूलाबडाकै बस्तीको कारण के होला भन्ने जिज्ञासा सबैलाई होला यसको सटिक उत्तर हो – यी सबै ‘महानुभावहरू’ काठमाडौँका होइनन्, ती सबै गाउँले हुन्, ती सबै राजनैतिक दलहरूकै नेताहरू हुन्, तिनीहरूका दलका नाम ‘समाजवादी’, ‘प्रजातन्त्रवादी’ र ‘कम्युनिस्ट’ आदि हुन् । तिनीहरूको पार्टीको घोषणापत्रहरूको सार एक सुन्दर र आदर्श निर्माण गर्ने हो । तर, व्यवहार यस्ता छन्–
क) काठमाडौँ आएर घर बनाउने, २–४ वर्षपछि चुनावमा कार्यकर्ता र जनतालाई शोषण, ठगी गरी घुसको पैसाको बलमा निर्वाचन जितेर पुनःपदमा पुगी ‘जिउँदै नैतिक मृत्यु’ मर्ने ।
ख) तिनीहरूले जहाँ गए पनि समाजलाई अनैतिक शिक्षा बाँड्दै छन् । तिनीहरू स्थानीय जनतालाई भौतिकरूपले ती ठाउँलाई नर्क र फोहर बनाउँछन् र अझ आफ्ना गाउँ–ठाउँलाई नर्क बनाएर भागेर काठमाडौँ आएका हुन्, जनताको गुनासो यही हो ।
ग) यिनीहरू सबै ठेकेदारकै मालिक हुन्, धेरै बिग्रेभत्केपछि मात्रै ठूलै रकमको ठेक्का लाग्छ । सानातिना भत्केबिग्रेको टाल्ने काम गर्दा करोड करोडको ठेक्का लाग्दैन । अनि यी नेताहरूले ठेकेदारहरूबाट भाग कसरी पाउने ?
घ) यहाँ विदेशी राजदूत र राजदूतावास भएमा यी मन्त्रीहरूले सहायता मागेर त्यसको प्रतिशत खान पछि पर्दैनन् ? यसकारण, स्थानीय जनता भन्ने गर्छन्, ‘भीआईपी‘ होइनन् यिनीहरू देशलाई ‘स्वर्ग’ बनाउने होइनन्† ‘यिनीहरू ‘स्वर्ग’ लाई नर्क बनाउने कीराफट्याङ्ग्रा, रोग किटाणु र अपराधीहरू हुन् ।”
केही वर्षअगाडि ‘दाङ’ जिल्लामा राजधानी सार्नुपर्ने कुरा उठाउनुको कारण के त्यस्ता अपराधीहरू ‘काठमाडौँ’ नपसून् भन्ने उद्देश्यले राजधानी सार्ने विषय उठाएको त होइन ? बालुवाटार मात्रै होइन शीतल निवास र सिंहदरबार नै आ–आफ्नो नाममा नामसारी गर्न पछि पर्दैनन् ‘भीआईपी’ वा ‘अपराधीहरू !’
रोषका साथ भन्छन् जनता, “यस्ता अपराधीहरूलाई देशबाटै निकालेपछि मात्रै राम्रो शासन व्यवस्था तथा नगर र गाउँहरू सफा र सुन्दर बन्ने छन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *