भर्खरै :

परिधि बाहिर

परिधि बाहिर

विद्यालय तहमा पढ्दै गर्दा हामी विद्यार्थी हित समितिमा सक्रिय थियौँ । विद्यार्थी हित समितिले हामीलाई जीवनका लागि आवश्यक धेरै कुरा सिकायो । तीमध्ये पनि सबभन्दा महत्वपूणर् हामीलाई त्यो समितिले पढ्न सिकायो । हामीलाई पाठ्यपुस्तकभन्दा बाहिरका गुनिला पुस्तक पढ्न सिकाएको विद्यार्थी हित समितिले नै हो ।
हामीभन्दा अघिका अग्रजहरूले विद्यार्थी हित समितिको नाममा केही पुस्तकको जोहो गरेका थिए । समितिको कुनै अलग ठाउँ नभएकोले एक जना साथीको घरमा ती सबै पुस्तक राखिएका थिए । हामी बेला बेला त्यहाँ पुस्तक लिन जान्थ्यौँ । मैले त्यहाँबाट सबभन्दा पहिला ल्याएको पुस्तक थियो- लेखक कसरी बन्ने ? पातलो आकारको त्यो पुस्तकका लेखक श्यामप्रसाद शर्मा थिए । उनी सरल भाषामा साधारण विषयमा साना आकारका निबन्ध र प्रबन्ध लेख्थे । उनका धेरै स-साना पुस्तक प्रकाशित छन् । समयान्तरमा उनका धेरै त्यस्ता साना पुस्तक पढियो । उनका पुस्तकमा धेरै ठूला र गहिरा कुरा हुँदैनन् । तर, जीवन र दैनिक आचरण-व्यवहारको निम्ति उनका पुस्तक उपयोगी हुन्छन् ।
हिजोआज हामीले ठूलठूला कुरा मात्र लेख्छौँ र बोल्छौँ । श्यामप्रसादले लेख्ने गरेजस्ता साधारण कुरा लेख्ने र सिकाउने मान्छे भेटाउन गाह्रो छ । त्यसको प्रभाव हाम्रो नयाँ पुस्ताका व्यवहार र आचरणमा हामी अनुभव गर्दै छौँ । श्यामप्रसादका लेखाइमा पाठकप्रति प्रेम र स्नेह अनुभव गर्न सक्छौँ ।
विद्यार्थी हित समितिका कार्यक्रममा हामीलाई अधिकांश अग्रजहरूले पढ्नमा जोड दिन्थे । पाठ्यपुस्तकभन्दा बाहिर ठूलो संसार छ । त्यसकारण, पाठ्यपुस्तकमा मात्र आफूलाई सीमित राख्न नहुने प्रशिक्षणले हाम्रो मनमा कस्ता पुस्तक पढ्ने त भन्ने जिज्ञासा जन्मायो । अनि त्यसको समाधान पनि हामीलाई विद्यार्थी हित समितिले नै दियो । हामीलाई विभिन्न देशमा क्रान्ति एवम् परिवर्तनको अगुवाइ गर्ने अगुवाका जीवनी, त्यहाँका जनताले गरेका सङ्घर्ष, समाजलाई बुझ्ने तरिका आदि विषयका पुस्तक पढ्न अभिप्रेरित गरियो ।
आफ्ना पाठ्यपुस्तक पढ्न पनि झ्याउ लाग्ने उमेरमा थप पुस्तक पढ्ने काम जो कोहीको लागि सुरु सुरुमा बोझ नै हुँदो हो । समितिका कक्षामा प्रशिक्षकले भनेका कुराले पढ्न हौस्याए पनि मलाई सुरुमा ती पुस्तक पढ्न जाँगर चल्दैनथ्यो । त्यसमाथि ती पुस्तकका शब्द र गहिरा कुरा मलाई बुझ्न गाह्रो लाग्थ्यो । हामीलाई त्यो उमेरमा सरल पुस्तक दिइएको भए पढ्नेमा रस अझ अगाडि नै बस्ने थियो कि त्त् विडम्बना त्त् आज पनि हामीसँग विद्यालय तहका विद्यार्थीको लागि उपयुक्त खालका पुस्तकको अभाव छ । स-साना भाइबहिनीलाई हामी पनि पढ्नुपर्छ भन्दै छौँ । तर, उनीहरूलाई ॅलौ यो पुस्तक पढ’ भनी दिन मिल्ने पुस्तक हामीसँग कमै सङ्ख्यामा मात्र छन् ।
समितिले नियमित जसो चलाउने कक्षामा प्रशिक्षकका कुराले हामीलाई पुस्तकका गहिरा कुरा बुझ्न सजिलो हुन्थ्यो । ठूलो आकारको रोटी एकै गाँसमा खान मुस्किल भए पनि टुक्रा पारेर खान सजिलो भएजस्तै पुस्तकका कुरा बुझ्न त्यस्ता प्रशिक्षणले सजिलो पाथ्र्यो । प्रशिक्षकले पनि सकेसम्म सरल भाषामा हामीलाई धेरै कुरा सिकाउँथे । जति कुरा बुझ्दै गयो, उति कुरा बुझ्न मन लाग्ने मानिसको स्वभाव हो । हामीमा पनि अझ धेरै कुरा सिक्ने र बुझ्ने हुटहुटी बढ्न थाल्यो । पहिला अग्रजले आयोजना गर्ने कार्यक्रमका सहभागी हुँदै हामी पछि आफै कार्यक्रम आयोजना गर्दै धेरै कुरा सिक्न थाल्यौँ । आफै कार्यक्रमको आयोजना गर्दा गाह्रो त हुने रहेछ । तर, सँगै धेरै कुरा पनि सिकिने रहेछ ।
त्यत्तिबेलाका हामी साथीहरूबिच कसले बढी पुस्तक पढ्छ र कसले कुन पुस्तकबाट नयाँ कुरा ल्याउँछ भनी प्रतिस्पर्धा नै चल्थ्यो । नयाँ आएको पुस्तक पढेर सबभन्दा पहिला सबैलाई सुनाउन सक्ने साथी देखेर हामीलाई इस्र्या लाग्थ्यो । त्यसकारण, हामी पनि त्यो पुस्तक पढिहाल्ने होडमा लाग्थ्यौँ । अर्को पालि उसले भन्दा पहिला आफूले नयाँ पुस्तक पढेर बखान सुनाउने मन हुन्थ्यो ।
कतै हिँड्दा पनि हामी साथीहरूलाई आफूले पढेका उपन्यासका कथावस्तु सुनाउँदै र पात्रका चर्चा गर्दै जान्थ्यौँ । एवम्रीतले हामी पाठ्यपुस्तकभन्दा बाहिरका पुस्तकप्रति आकर्षित र अभ्यस्त बन्दै गयौँ ।
पुस्तक पढ्ने मानिसका कुरा नै बेग्लै हुन्छन् । अरू साथीहरूले नपढेका पुस्तक पढेका हामी उनीहरूले भन्दा बेग्लै खालका कुरा गथ्र्यौँ । हामीलाई उनीहरूले जानेका भन्दा बढी कुरा थाहा भएजस्तो लाग्थ्यो । सायद त्यो उमेर नै त्यस्तो थियो कि त्त् आफूले पढेका र सिकेका गर्‍हुँगा शब्द बोलेर हामी साथीहरूलाई हायलकायल पाथ्र्यौँ । विभिन्न थरी वादका हाम्रा व्याख्या सुन्दा साथीहरू चकित पर्थे । आधा भरिएको गाग्री बढी छचलकिन्छ भनेजस्ता थियौँ हामी । तथापि, त्यो उमेरमा हामीले सिकेका कुरा नै हाम्रो लागि कालान्तरमा बलियो जग भएको अहिले अनुभव गर्छौँ ।
कक्षा दस पुगुञ्जेल हामीले जीवनमै अमिट छाप पार्ने केही उपन्यास पढिसकेका मात्र थिएनौँ, बरु तिनका बारेमा घण्टौँँ कुरा गर्न सक्ने भएका थियौँ । अझ मभन्दा वर्षौँ अघि नै ती उपन्यास छिचोलिसकेका पढाकु साथीहरू पनि हामीसँग थिए । रुसी लेखक म्याक्सिम गोर्कीको ॅआमा’ त्यस्ता उपन्यासमध्ये पथ्र्यो । पाभेल, युक्राइनी, शाशा, नताशा, आमाजस्ता पात्रहरूका कुरा गरेर हामी कहिल्यै अघाउँदैनथ्यौँ । किशोर मस्तिष्क- हामी आफूलाई पाभेल सम्झन्थ्यौँ ।
चिनियाँ लेखक लि सिन तियनको उपन्यास ॅचम्किलो रातो तारा’ त्यस्तै प्रभाव पारेको उपन्यास थियो । तुङ चले आफ्नो आमाको हत्याको बदला लिन जमिनदारको घरमा आगो लगाएको चित्रण अविस्मरणीय बन्यो । समाजमा दुःख दिने मानिस र वर्गविरुद्ध लड्नुपर्छ भन्ने शिक्षा त्यस्ता उपन्यासले हाम्रो मनमा पार्‍यो । त्यसको निम्ति सङ्गठित हुनुपर्ने र हाम्रो सन्दर्भमा विद्यार्थी हित समिति नै त्यस्तो सङ्गठन भएको हाम्रो निष्कर्ष हुन्थ्यो । तर, त्यस्ता उपन्यास लेखिँदाको सन्दर्भ नबुझ्दा तुङ चलाई दुःख दिएजस्तो हाम्रो समाजमा दुःख दिने सामन्त को होला भनी आफ्नो वरपर सामन्त खोज्ने र पाएसम्म दुःख दिने सोचाइ पनि उतिबेला हामीसँग थियो ।
याङ मोको ॅयुवाहरूको गीत’ हामीबिच निकै छलफल हुने उपन्यास थियो । त्यसकी नायिका लिन ताओको सङ्घर्ष र उनले बोल्ने संवादले उत्साहप्रद र सङ्घर्षशील जीवन बाँच्ने अभिप्रेरणा दिइरह्यो । निकोलाई आस्त्रोभस्कीको उपन्यास ॅअग्नीदिक्षा’ मा प्रमुख पात्र पाभेल आँखा नदेख्दा पनि जीवन यात्रालाई उही जाँगरका साथ अघि बढाउने जिजीजविषा देखेर चकित हुन्थ्यौँ ।
जुलियस फ्युचिकको ॅझुन्ड्याउँदा झुन्ड्याउँदै’, दक्षिण भियतनामी जीवनीपरक पुस्तक ॅन्युगेन भान त्राय’, अजम्बरी गाउँ’, ॅओयाङ हाइको गीत’, ॅलि फाङको जीवनी’ आदि किताब हाम्रो किशोर जीवनका अनन्य साथी थिए । पछि हामीले प्रजग कोरियाका नेता किम इल सङका संस्मरण ॅशताब्दीका साथ’ का शृङ्खला पढ्यौँ । ती संस्मरण कुनै उपन्यासभन्दा कम थिएनन् । हामीले तिनलाई त्यसरी नै पढ्यौँ । भाग सातसम्म हामीले मज्जा मानेर पढ्यौँ । तर, भाग आठको अनुवाद हामीलाई चित्त बुझेको थिएन । भाग नौ सौभाग्यवश हामीले नै अनुवाद गर्ने अवसर पायौँ । (भाग नौका सबै खण्ड भक्तपुर मासिकमा प्रकाशित भइसकेको छ ।)
मानिसको जीवन एउटै रङ्गले मात्र बनेको हुँदैन । खासमा जीवन धेरै रङ्गको कोलाज हो । निःसन्देह समयान्तरमा हाम्रो सोचाइलाई अरू धेरै पुस्तकले पनि प्रभावित बनायो । धेरै रङ्ग र अनुभवले जीवन र जगतलाई बुझ्ने आँखा अझ बृहत् बनायो नै । तथापि जग भने सधैँ महत्वपूणर् हुन्छ । त्यत्तिबेला पढेका पुस्तक नै हामीले कुनै पनि विषयवस्तुलाई बुझ्न जग बनेको अनुभव हुन्छ ।
पुस्तकसँगै बाँच्ने त्यत्तिबेला बसेको बानीले सधैँ केही न केही पढ्ने जाँगर दिइरह्यो । अगाडिको यात्रा अझ लामो छ । गर्न बाँकी काम अझ धेरै छन् । पढ्न बाँकी पुस्तक अझ अथाह छन् । सिक्न बाँकी कुरा अझ बृहत् छन् । तर, हजारौँ माइलको यात्रा एकै पाइलाबाट सुरु हुन्छ भनेजस्तै यो यात्राको आरम्भ भने विद्यार्थी हित समितिबाट नै भएको हो ।
पुस्तक पढ्ने रुचिले नै हामीलाई पुस्तकालय बनाउन हौस्यायो पनि । पुस्तकले मानिसलाई बदल्न सक्छ भन्ने बलियो विश्वासमा उभिएर हामीले आ-आफूसँग भएका केही पुस्तक जम्मा गरेर सानो पुस्तकालय बनायौँ । विद्यार्थी हित समितिका केही पुस्तक त हामीसँग पहिलेदेखि नै थिए । अहिलेको लेनिन पुस्तकालयको सुरुको आधार त्यही पुस्तकालय थियो । पुस्तक पढ्न साथीहरूलाई हौस्याउन पुस्तकको अध्ययन गोष्ठीहरू सञ्चालन भए । जसोतसो एक हजार रूपैँया जम्मा भएपछि काठमाडौँका पुस्तक पसल वा गोदाममा गएर सस्तो मोलका पुस्तक किनेर ल्याउँथ्यौँ र कति घरमा त कति पुस्तकालयमा राख्थ्यौँ । उतिबेला सस्तो मोलमा किनेका धेरै किताब त्यही बेला त पढिएन अथवा पढ्न सकिने थिएनन् । तर, अहिले ती पुस्तक पढ्ने र बुझ्ने भएका छौँ । उतिबेला किताब किनेर राम्रै काम गरेजस्तो अनुभव हुन्छ ।
पाठ्यपुस्तकभन्दा बाहिरका किताब पनि पढ्ने यो बानीले के दियो ? यसको ठ्याक्कै जवाफ त दिन सक्दिनँ । देखाउन मिल्ने उपलब्धि त घरमा थुप्रिएका पुस्तकबाहेक केही पनि छैनन् । तर, समाज, संसार, मानिस, मानिसका स्वभाव, जीवन, इतिहास आदिबारे थोरै नै सही केही भेउसम्म पाएको लाग्छ । पुस्तक पढ्ने मानिस कहिल्यै एक्लो हुँदैन भन्छन् । मलाई यो कुरा भने पटकपटक अनुभव हुन्छ । कोही नभए पनि पुस्तक साथमा भएजस्तो अनुभव हुन्छ । यसले अगाडिको बाटो, भोलिको बाटो हिँड्न हौसला दिएजस्तो लाग्छ ।
पुस्तकप्रतिको आकर्षण भने बाल्यकालबाटै बिजारोपण हुनुपर्छ । सानै उमेरदेखि पुस्तकलाई दैनिक जीवनको हिस्सा बनाउन जरुरी छ । त्यसको निम्ति अभिभावक, परिवार, विद्यालय र शिक्षकको अहम् भूमिका हुन्छ । विद्यालयमा पुस्तक पठनसँग सम्बन्धित नियमित कार्यक्रम मात्र गर्न सक्दा पनि नयाँ पुस्ता पठन संस्कृतिमा अभ्यस्त हुन्छन् । उनीहरू अझ बढी सृजनशील र आत्मविश्वासले भरिएका हुन्छन् । उनीहरूलाई यस्तो सुसंस्कार दिन भने शिक्षकको सबभन्दा बढी भूमिका हुन्छ । अभिभावकसँग भन्दा बढी समय नयाँ पुस्तक शिक्षकशिक्षिकासँग हुन्छन् । अनि ॅसर/मिसले भन्नुभएको’ भने पछि उनीहरूलाई मनाउन सजिलो पनि हुने । त्यसकारण, नयाँ पुस्तालाई पठन संस्कृतिमा अनुकूलनको लागि विद्यालय र शिक्षकको भूमिकालाई फैलाउन जरुरी छ । अहिले हामीले गरेका हेर्दा साधारण लाग्ने कदम र कार्यक्रम पनि भोलिको पुस्ताको दिमागमा अमिट छाप पार्ने खालका हुन्छन् । विद्यार्थी हित समितिमा सक्रिय हुँदा हामीले गरेका कामको छाप हाम्रो दिमागमा आजपर्यन्त परेजस्तै आज हामीले विद्यार्थीका निम्ति गरेका कामको प्रभाव सुदूरभविष्यसम्म रहनेछ । त्यसको निम्ति जरुरी छ त जाँगर र भविष्यप्रतिको प्रेम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *