अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
सबैलाई थाहा थियो, कोम्सोमोलका सदस्य सबैभन्दा साहसी र अग्रगामी युवा हुन्छन् । लेनिनवादी युवा कम्युनिस्ट लीगलाई छोटोमा कोम्सोमोल भनिन्थ्यो । पार्टीले जनताको हितमा कुनै खतरनाक मिसनमा निडर व्यक्तिहरू पठाउनुप¥यो भने सबैभन्दा अगाडि कोम्सोमोलका सदस्य नै जान्थे ।
त्यतिञ्जेल दुर्गम ठानिएका क्षेत्रमा बाटो बनाउनुप¥यो । पहिलो पुकारमै को अघि बढ्थ्यो ? कोम्सोमोलको सदस्य । लडाइँ सुरु भयो भने पनि युवा कम्युनिस्ट लीग नै अग्रपङ्क्तिमा रहन्थ्यो ।
गृहयुद्धताका कोम्सोमोलका सदस्यहरूले अनगिन्ती पराक्रमी कार्य गरेर देखाइदिए । साइबेरिया र युक्रेन, क्रिमिया र भोल्गा क्षेत्र, कुस्र्क र पेत्रोग्रादमा । जहातहीँ घाँस र फूलहरूले ढक्कमक्क ढाकेका कोम्सोमोल वीरहरूका हजारौँ चिहान छन् ।
लेनिनले कलम अलग्गै राखे । अघिल्तिर कुर्सीमा मसिनो र लाम्चा अक्षरमा लेखिएको कागत थियो । यो लेनिनको भाषणको रूपरेखा थियो ।
आज उनी कोम्सोमोल सङ्गठनको तेस्रो सम्मेलनमा भाषण दिन जाँदै थिए । कोम्सोमोल स्थापना भएको दुई वर्ष बितेको थियो । लेनिनलाई कोम्सोमोलका सदस्यहरूबारे सोचविचार गर्न असाध्यै मन पथ्र्यो । “कति जोसिला र लगनशील छन् या मजदुर र किसानका छोराछोरीहरू ¤ हामीले, हाम्रो पिँढीले क्रान्ति त गर्याैँ । तर, कम्युनिस्ट समाजको पूर्ण निर्माण सायदै गर्न पाउँला । यो काम नयाँ पिढीले गर्नेछ,” लेनिनले सोचे ।
यसैबिच कोम्सोमोलका प्रतिनिधिहरू सम्मेलन गर्न भेला भइसकेका थिए । सबैजना सिधै श्रमदान गरेर आएका थिए । बिहानभरि उनीहरूले रेल स्टेसनमा सामान उतार्ने, गोदाममा दाउराको चाङ लगाउने र सडक साफ गर्ने काम गरेका थिए । मस्कोको रूप फेरिएको थियो ।
२ अक्टोबर, १९२० को दिन थियो । चिसो बतास चलिरहेको थियो । आकाशमा बादल मडारिँदै थियो । हावाको झोक्काले शरद्कालीन रूखहरूबाट पहेँला पातहरू उडाइरहेको थियो ।
ताजा बिहान । पातहरूको सरसराहाट । सामूहिक कार्यले उनीहरूका हत्केला राता भएका थिए । तैपनि, सामूहिक कार्यले नै युवा कम्युनिस्टहरूमा अपूर्व उल्लास छाएको थियो । आज सम्मेलनमा लेनिनले भाषण दिनेछन् भनी सबैजना उचालिएका थिए ।
कोम्सोमोलका प्रतिनिधिहरू निर्धारित समयमा मालाया दिमित्रोभका सडकको ६ नं घरमा पुग्न उत्सुक थिए । यो स्वाभाविक पनि थियो । अहिले यस घरमा लेनिनवादी कोम्सोमोल नाउँको नाटकघर छ । त्यस बेला थिएटर थिएन । कुनै मञ्च पनि थिएन । सादा फलेक राखेर एउटा कामचलाउ मञ्च बनाइएको थियो । त्यसमाथि एउटा लामो टेबल राखिएको थियो । पछाडि पर्खालमा राता कपडामा लेखेका नारा र पोस्टर टाँगिएका थिए ।
एउटा पोस्टरमा बुद्योन्नीको फौजको सैनिकलाई देखाइएको थियो । त्यस लाल सैनिकले तीखो कानेटोपी लगाएको थियो । उसले दृढतापूर्वक सोधिरहेको थियो, “स्वयम्सेवकमा आफ्नो नाम लेखायौ ?”
सम्मेलनमा उपस्थित धेरै युवा कम्युनिस्ट प्रतिनिधि मोर्चाबाट नै आएका थिए । उनीहरू सिकारू थिएनन् । उनीहरूमध्ये धेरैजसो त जिन्दगीमा एकचोटि पनि किताब नसमातेका युवाहरू थिए । उनीहरूले कहिल्यै अध्ययन गर्ने अवसर पाएका थिएनन् । तर, सबैले प्रतिक्रान्तिकारी गिरोहलाई तोरीको फूल देखाइदिएका थिए । अद्भूत निर्भीकता देखाउँदै उनीहरूले शत्रुले लुकाइराखेका अन्न खोसेका थिए । सोभियत सत्ताको रक्षाहेतु सर्वस्व सुम्पिन जुर्मुराएका थिए ।
कोम्सोमोलका सदस्यहरू अधीर भई लेनिनलाई पर्खिरहेका थिए । उनीहरू लेनिनका विचार सुन्न हौसिएका थिए ।
लेनिनको प्रतीक्षामा उनीहरू सबैजना एक–अर्कासँग टाँसिदै बेन्चहरूमा बसेका थिए । उनीहरूमध्ये कोही फौजी ओभरकोटमा ठाँटिएका थिए भने कसैले छालाका ज्याकेट लगाएका थिए । तेस्रो दशकका युवा कम्युनिस्टहरूलाई स्वेर्दलोभको जस्तै छालाको ज्याकेट खुब मन पथ्र्यो । पसिना र बारुदको गन्धले बसाउने फौजी ओभरकोट पनि नजाती पोशाक त थिएन । त्यसबेला कोम्सोमोल सदस्यहरूका पोशाकमा चौडा ककेशियाली टोपी वा रातो तारायुक्त कानेटोपी छुट्दैनथ्यो ।
“लेनिनले के भन्नुहोला ?” प्रतिनिधिहरूले अनुमान लगाइरहेका थिए । लेनिन लडाइँको बारेमा बोल्नुहुनेछ, सङ्घर्ष गर्न, पराक्रम देखाउन हौस्याउनुहुनेछ भनी उनीहरूले अड्कल काटिरहेका थिए । लालसेनाले श्वेत गार्डहरूलाई भगाइरहेको थियो । तर, गृहयुद्ध अझै सकिएको थिएन ।
अघि बढ्नेछौँ एकजुट भई,
कार्यक्रमस्थलको एक कुनामा केही युवाहरूले गाउन सुरु गरे । त्यसपछि हल नै गुञ्जियो ।
सोभियत सत्ताको रक्षामा
बरू मर्नेछौँ एकजुट भई
यसको अस्तित्वको लडाइँमा !
अनि सबैजना चुप लागे । अध्यक्षमण्डलको चुनाव सुरु भयो । अध्यक्षमण्डलको टेबल रातो कपडाले ढाकिएको थियो । सबै साथीहरू आ–आफ्नो ठाउँमा बसे । भित्तामा माक्र्स र एङ्गेल्सको चित्र टाँगिएको थियो ।
अचानक ढोकानिर बसेको एक युवक चिच्यायो – “लेनिन !”
हलभरिका युवाहरू उभिएर ताली बजाउन थाले । कोम्सोमोलका युवाहरूले लेनिनलाई अत्यधिक रूचाउँथे । लेनिनमाथि उनीहरूको अटुट निष्ठा थियो । लेनिनले कालो मखमली कोट खोले र सम्हालेर कुर्सीमाथि राखे अनि, मञ्चमा बसेका साथीहरूसँग हात मिलाए । उनका सबै हाउभाउ, उनको मुस्कान अनि उनले अरू जे र जसरी गरे कोम्सोमोलका सदस्यहरूलाई सबै मन पर्यो । उनीहरूले लेनिनलाई कति असल, प्यारा र सहृदयी पाए भने भावावेगमा र उनीसँग भेट्ने असामान्य सौभाग्यको अनुभूतिले धेरैका आँखा रसाए । मञ्चको किनारामा आएर लेनिनले गोजीबाट सिक्रीमा जडेको ढकनीबिनाको घडी निकाले । त्यसलाई उनले यसरी देखाए मानौँ उनी बताइरहेका थिए, साथी हो ताली धेरै बजाइयो, अब सम्मेलनको कामकारबाही सुरु गरौँ ।
कोम्सोमोल युवाहरूको नजरमा उनीप्रतिको आकर्षण चुलियो । त्यसबेला उनले तपार्इँहरू सबैजना भर्खरै मोर्चा गइहाल्नुपर्छ भनेको भए, सबका सब मोर्चामा जाने थिए । तर, लेनिनले अर्थोक नै भने । प्रतिनिधिहरू पहिले त अकमक्क परे उनीहरूले सुरुमा त कुरा बुझ्न सकेनन् ।
लेनिन बोलिरहेका थिए । मञ्चमै यताउति हिँडिरहेका पनि थिए । ठाउँ कम थियो । अध्यक्षमण्डलमा जो ठूला थिए, उनीहरू कुर्सीको पछिल्लो लहरमा बसेका थिए । साना भने कुनै कुराको पर्वाह नगरी अगाडि भुइँमा नै बसेका थिए । लेनिनले होसियारीपूर्वक उनीहरूको छेउछाउबाट ओहोरदोहोर गर्दै बोलिरहेका थिए ।
“यसबेला कोम्सोमोल सदस्यहरूको सबैभन्दा ठूलो कर्तव्य हो – पढ्नु,” लेनिनले भनिरहेका थिए ।
सबै युवकहरू आश्चर्यचकित थिए । लेनिनले एकाग्र युवा अनुहारहरूमा आश्चर्य र अलमलको छाया देखिरहेका थिए । उनले आफ्ना विचारलाई सकेसम्म बुझ्न सकिने पारामा व्यक्त गर्ने कोसिस गरिरहेका थिए । छिट्टै नै गृहयुद्ध सकिनेछ, दुस्मनहरूलाई लखेटिनेछ । अनि त्यसपछि ? त्यसपछि के होला ? हामीले निर्माण सुरु गर्नु छ । कलकारखाना बनाउनु छ । ट्रेक्टर, हवाईजहाज, मेसिनहरू बनाउनु छ । देशलाई विद्युतीकरण गर्नु छ । विद्युतीकरण के हो ? थाहा छ ? छैन भने थाहा पाउनुपर्छ । अझ धेरै कुरा बुझ्नुपर्छ ।
ज्ञानबिना साम्यवादको निर्माण गर्न असम्भव छ भन्ने कुरा लेनिनले सरल र बुझ्न सकिने शैलीमा युवा कम्युनिस्टहरूलाई बताए ।
मिहिनेत गर्न पनि जरूरी छ । “मजदुर र किसानहरूसँग काँधमा काँध मिलाई श्रम गरेर नै साँचो कम्युनिस्ट बन्न सकिन्छ ।”
अन्त्यमा लेनिनले भने, “साम्यवादको शिक्षा पाउनुको अर्थ पुरानो व्यवस्थाविरूद्ध आफ्नो जीवनलाई पूर्णरूपले सर्वहारा सङ्घर्षसँग जोड्नु हो र नयाँ कम्युनिस्ट समाजको स्थापना गर्नु हो ।”
स्रोत : लेनिन कथा
Leave a Reply