भर्खरै :

बिस्का जात्रालाई यसरी व्यवस्थितरूपमा मनाऔँ

बिस्का जात्रालाई यसरी व्यवस्थितरूपमा मनाऔँ

तौमढीमा बिस्का जात्राको मुख्य आकर्षण भैलख (रथ) को निर्माण गत चैत १६ गतेदेखि रथका पाङ्ग्राको जडानका साथ आरम्भ भएको छ । यस वर्ष रथको पाङ्ग्रा, त्वरण, त्वानसिं, खाँबो, छाना आदि अत्यावश्यक काठका अन्य पार्टपुर्जाहरू चार पाँच महिना अगाडिदेखि विशेष तयारीका साथ भक्तपुरका कालिगढका शिल्पी हातहरू व्यस्त रहेको सबैको नजरमा परेको छ । काठमाडौँ उपत्यका स्वनिगःमा मनाउने चारपाङ्ग्रे रथमा देवताको मूर्ति विराजमान गराई मनाइने विभिन्न ऐतिहासिक जात्राहरूमध्ये एउटा छुट्टै विशेषता रहेको बिस्का जात्रा पनि एक हो । आठ रात नौ दिनसम्म मनाइने बिस्का जात्रामा विभिन्न देवदेवीहरूको टोलटालको जात्रामध्ये नौ दिनसम्म सर्वसाधारण जनताले देख्न, दर्शन गर्न वा अवलोकन गर्न पाइने भौतिक अवस्थिति रहने भनेको तीन तलाको छानासहित बेत द्यः (रुद्र रूपको रथको सबैभन्दा अगाडि वेतबाँसले हातखुट्टालाई बाँधिएर राखिने, छत्र र दुईतिर चिरागबत्तीसहित रहने देउता) विराजमान रहने यही भैल खः (भैरवको रथ) मात्रै हो ।
ऐतिहासिक तथा सांस्कृतिक महत्व रहेको बिस्का जात्राको चर्चा गर्दा जात्रा अवधिमा सञ्चालन हुने विभिन्न धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिकलगायत राज्यको सहयोग र सहभागितासमेतका गतिविधिहरूको विषय जोड्न पुग्छ । विशेषतः जात्राको क्रममा भक्तपुर नगरभित्र विभिन्न टोल–टोलमा रहेका देवदेवीहरूको मूर्ति राखेर खट (रथ) को परिक्रमा गरी मनाउने भएकोले यी खट (रथ) निर्माण तथा जात्रा सञ्चालनमा सम्बन्धित गुठी परिवार, जन सहभागिता र राज्य (सङ्घीय÷स्थानीय सरकार) को सहयोग र भूमिकाको पनि बहस हुने गर्दछ । बिस्का जात्राको प्रचलन भक्तपुरबाट विविध कालखण्डमा अन्य जिल्लाहरू प्युठान, टोखा, भोजपुर, बाग्लुङ आदि नेवार बस्तीहरूमा बसाइँसराइ गरेको समुदायले अद्यापि मनाउने गरेकोे देख्न र सुन्न पाइन्छ । बिस्का जात्रा मनाइने मुख्य दिनहरू यसप्रकार छन् –
१. भैल खः (रथ) तान्ने दिन : बिस्का जात्राको प्रारम्भको दिन “द्यो क्वाहाँ बिज्याइगु दिं” चैत २७ गते तौमढीमा निर्माण गरिएको भैरवको रथलाई गःहिटीमा पु¥याउने दिन र अन्तिम दिन “द्यो थाहाँ बिज्याकिगु दिं” वैशाख ५ गते गःहिटी रहेको भैरवको रथलाई तानी तौमढी ल्याई जात्रा बिसर्जन गर्ने दिन हो । यी दिनहरूमा रथलाई भक्तपुरका जनताले तौमढीको पूर्व माथिल्लो क्षेत्र र पश्चिम तल्लो क्षेत्रमा लाने गर्छन् । यसरी रथको डोरीमा आपसी सद्भावका हातहरू एकसाथ राखी रथलाई आफ्नो क्षेत्रमा तानेर लैजाने परम्परा नै बिस्का जात्राको एक छुट्टै आकर्षण र विशेषता रहेको छ ।
२. योसीं उठाउने दिन : बिस्का जात्रा प्रारम्भको भएको चौथो दिन चैत मसान्तको दिन भक्तपुरको दुई स्थान तालाक्वः र योसिंख्यल (भेलुखेल) मा तान्त्रिकरूपमा पूजा गरी ल्याएको योसीं ठड्याउने परम्परा रहेको छ । हात नभएको योसीं तालाक्वःमा बिहान १०–११ बजेभित्र यहाँका स्थानीय गुठी परिवार र टोलवासीहरूले सांस्कृतिक बाजागाजासहित उठाउने चलन छ । हात भएको योसीं भेलुखेलमा विशेष तयारीका साथ ठड्याउने परम्परा छ । यहाँको योसीं ठड्याउन भैरवको रथ, नकिंजु अजिमाको रथको आगमन अपरिहार्य हुन्छ । गःहिटी रहेको भैरवको रथ भेलुखेलमा पु¥याउन स्थानीय जनताको सहभागी हातहरूको विशेष परिश्रम आवश्यक पर्दछ । समयमा रथ नपुगेमा योसीं उठाउन पनि ढीला हुने भएकोले भैरव र नकिंजु अजिमाको रथको उपस्थिति गराई योसीं उठाउन निकै समय लागेको विगत वर्षहरूको अनुभव छ । यो दिन योसीं ठड्याउन सकिएन भने भक्तपुरवासीहरूको घरमा बिस्का जात्राको रौनक नरहने कथन छ । यसकारण, चैत मसान्तको दिन योसीं उठाउन सम्बन्धित गुठीयार, पुजारी, गुठी कार्यालय, स्थानीय प्रशासनले योसींका लागि आवश्यक पूजा, तयारी सामग्रीहरू, बलियो डोरीको समयमै व्यवस्थापन गर्नु पर्दछ ।
३. योसीं बिसर्जन गर्ने दिन : विक्रम संवत्को नयाँ वर्षको दिन भेलुखेलमा उठाएको योसीं बिसर्जन गरिन्छ । यो दिन बिहानैदेखि योसीं, भैरवको रथ, नकिंजु अजिमाको रथ एकसाथ एउटै क्षेत्रमा रहने भएकोले दर्शनार्थीहरूको ठूलै घुइँचो लाग्छ । भक्तपुरमा बिस्का जात्रा अवलोकनका लागि अतिथिहरूको पनि ठूलै सङ्ख्यामा आगमन हुने भएकोले बिस्का जात्राको मुख्य दिनको रूपमा चहलपहल र भिडभाड नै हुने गर्छ । आगन्तुकहरूको भिड र सुरक्षालाई मध्यनजर गरी योसीं बिसर्जन वा योसींलाई जमीनमा बसाउने कार्य साँझ ६ देखि ७ बजेसम्ममा सम्पन्न गर्न आवश्यक चाँजोपाँजो मिलाउनु आवश्यक छ । तालाक्वःमा ठड्याएको योसीं वैशाख ५ गतेमात्र बिसर्जन गर्ने हुँदा यसलाई पनि बिहान ११ बजेभित्र सम्पन्न गर्नु मनासिब नै देखिन्छ ।
४. खट जात्रा वा खट जुधाउने दिन : भेलुखेलको योसीं बिसर्जनपश्चात् भैरव र नकिंजु अजिमाको रथलाई तानेर गःहिटीमा पु¥याउने र सोही दिन बेलुका भैरव र नकिंजु अजिमाको रथ जुधाउने कार्य गःहिटीमा सम्पन्न भएपछि मात्र टोल टोलमा रहेको विभिन्न देवदेवीहरूको मूर्तिलाई खटमा राखी जात्रा गर्ने र खट जुधाउने पर्व मनाउन सकिने मान्यता रहेको छ । यही मान्यताअनुरूप वैशाख २ गते महाकाली–महालक्ष्मी, माहेश्वरी–ब्रह्मायणी, इन्द्रायणी, बाराहीको खट जात्रा सम्बन्धित टोलहरूमा सम्पन्न गरिन्छ भने वैशाख ३ गते सूर्यमढी टोलमा ब्रह्मायणी देवीको दीप जात्रा सम्पन्न हुन्छ । सोही दिन भक्तपुरका सबै टोल, चोकहरूमा विभिन्न देवदेवीहरूको मूर्तिलाई जात्रा हुन्छ ।
५. बो छाय्गु दिन : यो दिन भक्तपुरवासीहरूको एउटा छुट्टै विशेषता र भक्तपुरका सबै पीठ, द्योछेँमा विराजमान गराइएका देवदेवीहरूको पूजा, दर्शन गर्ने पर्वको रूपमा लिने गरिन्छ । भक्तपुरका जनताले घरघरबाट वा समूह–समूह मिलेर सामुहिकरूपमा टोल टोलमा भक्तपुरका सबै पीठ, द्योछेँमा विराजमान गराइएका देव देवीहरूको दर्शन, विशेष पूजा, परम्परागत भजन, बाजागाजासहित नगर परिक्रमा हुने गर्दछ । बिहानदेखि दिनभरि नै सांस्कृतिक बाजागाजासहितको पूजा, देवदेवीहरूको सार्वजनिक प्रदर्शनी र दर्शनार्थीहरूको गतिविधिले गर्दा भक्तपुर नगर एउटा पहिचान प्रस्फुटन हुने दिनको रूपमा लिन सकिन्छ । दिनभरिको पूजा आराधना सकिएपछि साँझ खट जात्रा गरी देवदेवीहरू राखिने घर ‘द्योछेँ’ मा सुरक्षितरूपमा विराजमान गराइन्छ ।
भक्तपुरमा बिस्का जात्रा भन्ने बित्तिकै एउटा अर्को चर्चामा आउने विषय हो भैरवको रथ तान्ने दिनमा हुने रथ तानातानका साथ माथिल्लो र तल्लो समुदायका बिच हुने ढुङ्गामुढा, तोडफोड र झैझगडा । भैरवको रथ तान्ने दिन ढुङ्गामुढा भएन भने के नपुगेको जस्तो चर्चा गर्ने, आपसी झै–झगडा बिस्का जात्राको पर्यायवाची भए जस्तो । यसले भक्तपुरको पहिचानलाई नै धुमिल बनाइराखेको कुरा यहाँका जनमानस, समुदायमा नभएको पनि होइन तर यस्तो विकृति, उच्छृङ्खल क्रियाकलापलाई रोक्न विभिन्न सभा, भेला, माइकिङ भए पनि ढुङ्गामुढा, तोडफोड रोक्ने प्रयास गतिलो हुन सकेको छैन । रथ तानातान गर्ने क्रममा नै आफ्नो क्षेत्रमा रथ लैजाने क्रममा एक अर्काको पक्षले रथको डोरी चुँडाउने, रथको पाङ्ग्रामा अवरोध सृजना गर्ने, अनावश्यक हुलडबाजी गर्दा नै झगडाको वातावरण सृजना हुन्छ । यसले जात्राका दर्शकहरूमा भय, त्रास उत्पन्न भई भयभित हुने र कलात्मक रथको सौन्दर्य विनाश हुनाले बिस्का जात्राकै ऐतिहासिकतामा नराम्रो आघात पुगेको सर्वविदितै छ । यी तथ्यहरूलाई मनन गरेर रथ जात्रालाई यसरी व्यवस्थित गर्न स्थानीय सरकार, प्रशासन, सुरक्षा निकाय, सम्बन्धित गुठी परिवार र जनसमुदायले इमानदारितापूर्वक पालना गर्नुपर्दछ । यसरी हाम्रो पुर्खाले सृजना गरेको जात्रा, कला, संस्कृतिलाई संरक्षित गरी प्रवद्र्धन गर्नमा सकारात्मक पहल गर्नु हामी सबैको कर्तव्य र दायित्व भएकोले सुसज्जित, सभ्य र सौम्य तरीकाबाट सम्पन्न गरी विभिन्न जात्राहरूजस्तै बिस्का जात्रालाई सभ्य र आकर्षक पर्वको रूपमा मनाउन सबैले हृदयदेखि मनन गर्न जरुरी भएको छ । यसै सन्दर्भमा बिस्का जात्रालाई यसरी सभ्य र भव्यरूपमा व्यवस्थित गरी मनाउन सकिन्छ कि भनी केही सुझावहरू यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु ।
क) भैरव रथको निर्माणमा गुणस्तरीय सामानहरूको मात्र प्रयोग गर्ने ।
ख) समयमा रथ तान्ने व्यवस्थाका लागि गुठी संस्थान कार्यालय, गुठीयार नाइके, भैल नायो परिवार, भजन खलःले समयमा रथमा देवगणको प्रतिस्थापन र पूजा गर्नुपर्दछ ।
ग) रथमा बस्न योग्य सदस्यहरू जस्तैः भैल नायो, राज खड्ग बोक्ने राजोपाध्याय गुरु, अन्य पुजारीहरू तोकिएको विशेष जामा वस्त्र लगाएर मात्र बस्ने र अरू सर्वसाधारण बस्न नपाउने कडा नियम बनाउनुपर्दछ । तर, बस्नैपर्ने अवस्था भएमा रथमा बस्दा पालन गर्नुपर्ने नियम बनाई सम्बन्धित गुठी, पुजारी वा स्थानीय प्रशासनको पूर्व स्वीकृति लिई विशेष पहिरनसहित मात्र बस्ने व्यवस्था गर्नुपर्दछ ।
घ) रथ तान्ने समयमा स्थानीय निकायका पदाधिकारीहरू, प्रशासनका प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू, गुठी कार्यालयका प्रमुखहरू पनि तौमढीमा समयमा उपस्थित भई जात्रा अवलोकन गर्ने व्यवस्था हुनुपर्दछ र सम्भव भएमा अतिथिहरूलाई पनि नजर गराउने वातावरणको सृजना गर्नुपर्दछ ।
ङ) रथ तान्ने स्थल तौमढी, योसीं उठाउने तालाक्वः र भेलुखेल÷योसीं ख्यःमा सांस्कृतिक सङ्गीतमय वातावरणका लागि विभिन्न धिमे बाजा तथा बाँसुरी बाजाहरूले परम्परागत नृत्यसहित साङ्गीतिक प्रस्तुति गरी रमणीय वातावरण बनाउन पहल गर्नुपर्दछ । (उदाहरणको रूपमा ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ तान्ने बेलामा जस्तै)
च) भक्तपुरको बिस्का जात्राको सम्बन्धमा जानकारी, सांस्कृतिक जगेर्नाका लागि जन सचेतना हुने गरी विभिन्न ¥याली तथा भेला टौमढी, भेलुखेल, प्रमुख चोक चोकमा प्रचारप्रसार गर्ने, माइकिङको व्यवस्था गर्ने ।
छ) उच्चतम प्रविधिको प्रयोग गरी तौमढी क्षेत्रको गतिविधिहरूलाई सीसीटीभी क्यामेरा जडान गर्ने र मिडियाहरूमार्फत विश्वव्यापी प्रसारण गर्ने प्रबन्ध गर्नुपर्दछ ।
ज) भक्तपुरको ऐतिहासिक धरोहरका सम्पदाहरू ङातापोल मन्दिर, भैरव मन्दिर, पचपन्न झ्याल दरबार, लुँ ध्वाखाः, विभिन्न मठमन्दिर, चैत्य स्तुप, विहार वही, देवालय, शिवालय, सार्वजनिक पाटी, फल्चा, हिटी आदि क्षेत्रमा विशेष सरसफाइ, छानाको किनारमा ह्याउँबाला राख्ने, रङ्गरोगन गर्ने र पर्याप्त बत्तीहरू बाली आकर्षक र उज्यालो बनाउनुपर्दछ ।
झ) स्थानीय प्रशासनले उच्छृङ्खल गतिविधि, हुलहुज्जत गर्ने व्यक्तिहरूको उचित निगरानीको व्यवस्थाका साथै सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्न जात्रा अवधिमा निश्चित समयसीमा तोकी खुला मद्यपानको बिक्री वितरण र कार्यक्रम गर्न रोक लगाउनुपर्दछ ।
ञ) रथ तान्ने काम निर्धारित समयमै सकाउने गर्नुपर्छ ।
ट) रथ तान्दा सर्वसाधारणको घरलाई क्षति नपुग्ने गरी रथ तान्न लगाउने, रथ बढीमा पूर्वमा सुकुलढोकासम्म र पश्चिममा बोलाछेँसम्म लाने व्यवस्था गर्नुपर्छ ।
ठ) ऐतिहासिक सम्पदा संस्कृतिलाई क्षति पु¥याउने, सर्वसाधारणको भौतिक सम्पत्तिमा हानि नोक्सानी गर्ने उद्देश्यले ढुङ्गामुढा, तोडफोडमा प्रत्यक्षरूपमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही र क्षतिपूर्ति गराउने गरी दण्ड सजायको व्यवस्था गर्ने ।
अन्त्यमा, भक्तपुरको ऐतिहासिक महत्व बोकेको मठमन्दिर, देवालय, मौलिक संस्कृतिको जगेर्ना गर्न भौतिक वा अभौतिक सम्पदा र हाम्रो परम्परागत जात्रा, बाजागाजालाई अझ आकर्षक, व्यवस्थित, सभ्य र भव्यरूपमा मनाउन सबैको सहयोग तथा सद्भावका लागि सम्पूर्ण भक्तपुुरवासीमा हार्दिक अनुरोध छ ।
पुनश्चः यस लेखमा भाषिक मौलिकतालाई कायम गर्न आफ्नै शब्द ‘बिस्कां’ (बिस्केट होइन), ‘योसीं’ (लिङ्गो होइन), ‘ङातापोल्हँ देगः’ (पाँचतले होइन) नै सम्भव भएसम्म प्रयोग गरिएको छ । हाम्रो आफ्नै शब्दको अर्थलाई प्राथमिकता दिई भाषिक विकृति, अप्रभंश हुने, अश्लीलतालाई प्रश्रय दिने शब्दहरू नलेख्न, नभन्न, प्रयोग नगर्न हुन सबैमा विशेष अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *