भर्खरै :

नेपाल क्रान्तिकारी महिला सङ्घ तेस्रो राष्ट्रिय सम्मेलन (२०७९ चैत २४–२५, चितवन) बाट पारित प्रस्तावहरू

नेपाल क्रान्तिकारी महिला सङ्घ तेस्रो राष्ट्रिय सम्मेलन (२०७९ चैत २४–२५, चितवन) बाट पारित प्रस्तावहरू

– यो सम्मेलन नेपाललाई युद्धभूमि बनाउने गरी संरा अमेरिकाले अघि बढाएको देशघाती एमसीसी सम्झौता (मिलिनियम च्यालेन्ज कम्प्याक्ट) खारेजीको जोडदार माग गर्दछ । साथै एमसीसी सम्झौतामा हस्ताक्षर गर्ने, पारित गराउन सहयोग गर्ने र पारित गराउने देशघाती सरकार एवम् शासक दलहरूको विरोध र भत्र्सना गर्दछ ।
– विदेशी नागरिकलाई सजिलै नेपालको नागरिकता दिई देशलाई सिक्किमीकरण र फिजीकरणको बाटोमा लाने गरी अघि बढाइएको देशघाती नागरिकता विधेयक तत्काल खारेज गराउन तथा विदेशीलाई दिएको नागरिकता छानबिन गरी खारेजी गराउन यो सम्मेलन माग गर्दछ ।
– भारतीय विस्तारवादले नेपालको ७१ स्थानमा ६० हजार हेक्टरभन्दा बढी भूमि अतिक्रमण गरेको छ । देशका विभिन्न स्थानमा भारतले बाँध र तटबन्ध निर्माण गरेको छ । दार्चुलामा महाकाली नदी अतिक्रमण गरी तटबन्ध निर्माण गर्दा नेपाल सरकारको उपस्थिति नभएपछि स्थानीय महिलाहरूले गुलेली लिएर भारतीय सशस्त्र प्रहरीसँग प्रतिकार गरे । ती साहसी महिलाहरूप्रति सम्मान व्यक्त गर्दै अतिक्रमित भूमि फिर्ता लिन नेपाल सरकारसँग जोडदार माग गर्दछ । साथै, भारतद्वारा निर्मित बाँध एवम् तटबन्ध भत्काई आजसम्म तटबन्ध र बाँधका कारण भएका क्षति भारत सरकारबाटै पूर्ति गराउन सम्मेलन जोडदार माग गर्दछ ।
– नेपाल–भारत खुला सीमाका कारण चेलीबेटी बेचबिखन, लागुपदार्थ ओसारपसार तथा तस्करजस्ता अपराध बढिरहेको छ । यो सबै नियन्त्रण गर्न तथा देशको सुरक्षा एवम् सार्वभौमिकता रक्षाको लागि नेपाल–भारत खुला सीमा नियमित गर्न वा बन्द गर्न सम्मेलन माग गर्दछ ।
– आजसम्मका सरकार र शासक दलहरूले देशलाई परनिर्भरतातर्फ धकेली पूर्णरूपमा भारत निर्भर बनाए । भारतले दाल–चामल नपठाए नेपाली भोकै बस्नुपर्ने अवस्था छ । भारतीय एकाधिकार पुँजीले नेपालको अर्थतन्त्र कब्जा गरिसकेको छ । देश परनिर्भर बनाउने आजसम्मका सरकार र मन्त्रीहरूको यो सम्मेलन विरोध एवम् निन्दा गर्दछ ।
– नेपाल कृषिमा आत्मनिर्भर हुन नसक्दा भारतबाट विषादीयुक्त खाद्यान्न, तरकारी, फलफुल भित्रिरहेको छ । यस्ता खाद्यान्नले जनताको स्वास्थ्य दिनानुदिन बिग्रिँदो छ । क्यान्सर रोगीको सङ्ख्या बढ्दै छ । सरकारले जनतालाई जानाजान मन्द विष खुवाएर मार्दै छ । भारतबाट आयातीत खाद्यान्न तथा तरकारीको विषादी परीक्षण गरी भित्र्याउन र देशलाई कृषिमा आत्मनिर्भर बनाउन हामी जोडदार माग गर्दछौँ ।
– देशमै मल कारखाना खोल्न र स्थानीय बीउबीजनको संवद्र्धन एवम् प्रवद्र्धन गरी किसानको उत्पादनलाई बजारसम्मको पहुँच पु¥याउन सरकारसँग माग गर्दछौँ ।
– महँगीको मारमा परेका बहुमत जनतालाई एकातिर मिटरब्याजीहरू र अर्कोतिर लघुवित्तहरूले आर्थिक शोषण गरिरहेका छन् । ती मिटरब्याजी र लघु वित्त सञ्चालकहरूलाई सरकार र शासक दलहरूले नै संरक्षणमा राखेका छन् । मिटरब्याजी र लघुवित्तहरूबाट ठगिएका जनतालाई न्याय दिलाउन र ठग मिटरब्याजी र लघुवित्तहरूलाई कडाभन्दा कडा कारबाही गर्न यो सम्मेलन जोडदार माग गर्दछ । सरकारले पनि हरेक कार्यको शुल्क, राजस्व उठाउँदा बढी जरिवाना तिर्न बाध्य पार्दा जनता विरोधमा छन् । सरकारले जनतामाथि थोपेको आर्थिक शोषणको सम्मेलन विरोध गर्दछ ।
– अन्धविश्वास र कुप्रथाको रूपमा रहेको बोक्साबोक्सी, छाउपडी, छुवाछुत, बालविवाहलगायत अन्त्य गर्नको निम्ति विशेष सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सरकारसँग जोडदार माग गर्दछ । साथै, गणतन्त्रको १५ वर्ष नाघिसक्दा पनि अन्धविश्वास र कुप्रथा अन्त्य नगर्ने सरकार र मन्त्रीहरूको विरोध एवम् निन्दा गर्दछ ।
– बलात्कारी, महिला बेचबिखनलगायत महिला हिंसाका गम्भीर अपराधीलाई मृत्युदण्डसमेतको बन्दोबस्त गर्न जोडदार माग गर्दछ ।
– तराईमा दाइजो र तिलक प्रथाको कारण गरिब महिलाहरूले अकालमा ज्यान गुमाइरहेका छन् । आर्थिक समानता नभएसम्म सम्पत्तिको निहुँमा हत्या हिंसा रोकिनेछैन । दाइजो र तिलक प्रथा अन्त्यको लागि सरकारले कडाभन्दा कडा कारबाही र स्थानीय तहमार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न/गराउन सम्मेलन माग गर्दछ ।
– वैदेशिक रोजगारीको नाममा म्यानपावर कम्पनी सञ्चालकहरूले महिलालाई विदेशी भूमिमा बेचिरहेका छन् । कतिपय महिलाहरू कार्यालय र घर मालिकहरूको चरम शोषणमा परिरहेका छन् । शारीरिक तथा मानसिक शोषणका कारण कतिपयको ज्यान गइरहेको छ । वैदेशिक रोजगारीमा गएका महिला र पुरुष विदेशबाट फर्किँदा न सम्पत्ति न परिवार नै बाँकी रहन्छ ।
– नेपालीलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न र ठग म्यानपावर कम्पनी र दलालहरूलाई छानबिन गरी कारबाही गर्न साथै पीडितलाई म्यानपावर कम्पनीबाट क्षतिपूर्तिसमेत भराउन सम्मेलन जोडदार माग गर्दछ ।
– महिलालाई श्रम शक्तिमा रूपान्तरण गर्न र बालबालिकाको शारीरिक एवम् मानसिक विकासमा सहयोग गर्न प्रत्येक वडा र टोल, कारखानाहरूमा शिशु स्याहार केन्द्र एवम् बालोद्यान स्थापना र सञ्चालनको निम्ति सम्मेलन जोडदार माग गर्दछ ।
– सम्पूर्ण तहको शिक्षा र स्वास्थ्योपचार निःशुल्क तथा व्यक्तित्व विकासमा समान अवसरको बन्दोबस्त गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *