भर्खरै :

नाटोको पूर्वी विस्तारले कसलाई प्रभावित बनाउँछ ?

नाटोको पूर्वी विस्तारले कसलाई प्रभावित बनाउँछ ?

अप्रिल ४ मा फिनल्यान्ड संरा अमेरिका नेतृत्वको उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) मा औपचारिकरूपमा त्यसको ३१ औँ सदस्यको रूपमा समाहित भयो । नाटोमा सदस्य भएर फिनल्यान्डले आफ्नो गैरसैनिक असंलग्नताको परिचय व्यवहारतः त्यागेको छ । “फिनल्यान्ड अब थप सुरक्षित भएको छ र फिनल्यान्ड सामेल भएपश्चात् नाटो अझ बलियो भएको छ । अब हाम्रो शक्ति दरिलो र उच्च क्षमतावान बनेको छ”, नाटोका महासचिव जेन्स स्टोल्टेनबर्गले खुसी हुँदै भने । नाटोको खतरनाक विस्तारले शान्तिको प्राथमिकतालाई ओझेल पारेको छ । त्यसले मस्कोसँग क्षेत्रीय तनावको जोखिम बढाएको छ र दिगो सुरक्षाको लागि युरोपेली वाचा निरर्थक बनाएको छ ।
नाटोमा फिनल्यान्डको सदस्यतालाई पूर्वतिर नाटो विस्तारको खतरनाक योजना कार्यान्वयन गर्न चालिएको कदम मान्नुपर्छ । मस्कोसँगको सीमावर्ती क्षेत्रमा नाटोको झन्डै दोब्बर फौजको तैनाथीले यो तर्कलाई प्रमाणित गर्छ । रुससँगको तनाव बढाउने यो प्रस्ट कदम गम्भीर सुरक्षा समस्यासँग गाँसिएको छ, जुन कुरा नाटोले युक्रेन द्वन्द्व सुरु हुँदा अस्वीकार गरेको थियो ।
त्यसको साथै नाटोको विस्तारवादी सोचाइले सबै देशका सामूहिक सुरक्षाप्रति ऊ बेपर्वाह भएको पुनः पुष्टि गरेको छ । यो शीतयुद्धकालीन बक्यौता हो । रुससँगको मुकाबिला नाटोको लागि अत्यावश्यक भएको कुरा स्थापित गर्न वाशिङ्टनले लामो समय मिहिनेत गर्नुप¥यो । यस्ता राजनीतिक र प्रभुत्ववादी व्यवहारले नाटोको पूर्वतिरको विस्तार ‘हरेक राष्ट्र’ को ‘आफ्नो बाटो छान्न पाउने’ अधिकारको अपमान भएको प्रस्ट हुन्छ ।
सैनिक प्रभुत्ववादको मुख्य लक्ष्यका साथ क्षेत्रीय सुरक्षा अलगअलग पार्ने अभ्यान्तरमा नाटो नरोकिने प्रस्ट छ । युक्रेनमा नाटोको दुस्साहस यात्राबाट युरोपले धेरै हानि नोक्सानी बेहोर्नु प¥यो । तथापि, नाटोले आफ्नो उच्च जोखिमपूर्ण विस्तारलाई सही ठह¥याउन अझ बढी युद्धकालीन घोषणामा जोड दिइरहेको छ । मस्कोसँग विश्वासको सङ्कट अझ फराकिलो बनाउन र क्षेत्रीय तनाव अझ फैलाउन नाटोको भूमिका कस्तो हुनसक्छ ?
यस्तो विश्वासको सङ्कट फराकिलो बनाउन नाटोको निर्णयको अहम् भूमिका हुन्छ किनभने युक्रेनमा पन्छाउन सकिने द्वन्द्वलाई समेत चर्काउन उसले भूमिका खेलेको थियो । फिनल्यान्डमा नाटोले आफ्नो रवैया बदल्न नचाहनुको अर्थ युरोप अकल्पनीय आर्थिक दलदलमा फस्दै छ भनी बुझ्नुपर्छ । जसले वास्तवमै दिगो युरोपेली सुरक्षा योजना अघि बढाउने संरचनाबारे पुनः विचार गर्न थप जटिल बनाएको छ ।
संसारले अन्तरएटलान्टिक सुरक्षाको परिप्रेक्ष्यमा नाटोको निरपेक्ष सुरक्षा र आक्रामक सैनिक क्षमताको प्रवद्र्धनलाई नियालिरहेको छ । विस्तारित नाटोले युक्रेनको द्वन्द्व समाप्त गर्दैन । नाटोले युक्रेनलाई दसौँ अर्ब बराबरको सैनिक सहायता दिएको छ र सुरक्षा उद्योगमा उसले अथाह लगानी गरेको छ ।
साथै, नाटोको पूर्वी विस्तारबारे रुसका चासोलाई बेवास्ता गर्नु र फिनल्यान्डलाई सैनिकरूपमा बलियो बनाउनु युरोपको रणनीतिक स्वतन्त्रता हासिल गर्ने बाटोको ठीक उल्टो बाटो हो । “फिनल्यान्डको सैनिक असंलग्नताको नीतिले लामो समयदेखि फिनिस जनताको राष्ट्रिय हितको रक्षा गर्दै आएको थियो । बाल्टिक सागर क्षेत्र र समग्र युरोपेली महादेशबिच विश्वास निर्माणको निम्ति फिनल्यान्डको यो नीति महत्वपूर्ण थियो”, रुसी विदेश मन्त्रीले भनेका थिए ।
निःसन्देह फिनल्यान्डको सदस्यतालाई नाटोले व्यापकरूपमा फैलिएको आन्तरिक एकताबाट निःसृत हुने झूटा अपेक्षामात्र जन्माउन उपयोग गर्नेछ । त्यहाँभित्रका विभाजन र मतान्तर घामजत्तिकै छर्लङ्ग छ । नाटो देशका विदेशमन्त्रीहरूबिच भएको पछिल्लो विदेशमन्त्रीस्तरीय सम्मेलनमा पनि त्यो प्रस्ट छ । सम्मेलनमा प्रमुख देशहरूले नै नाटोको अविछिन्न विस्तारको योजनाको विरोध गरेका थिए ।
फिनल्यान्डलाई नाटोको सदस्यताबारे मस्कोको आफूसँग ‘प्रतिरक्षा’ गर्नुबाहेक अर्को कुनै विकल्प नभएको भनाइ कुनै पनि सार्वभौम राज्यबाट आउने जायज प्रतिक्रिया हो ।
आखिरमा रुस–फिनल्यान्डबिच १३ सय किलोमिटर लामो सीमामा नाटोका गतिविधिले गहिरो अनिश्चितता निम्त्याउन सक्छ । त्यस्तै नाटोले विगतमा पूर्वतिर फौज परिचालन गर्ने र पूर्वाधार निर्माणका सम्भावनाका कुरा गर्दै रुसलाई चिढाउँदै आएको थियो । जसले रुसलाई भौगोलिक निगरानी बढाउन र क्षेत्रीयरूपमा सजग बन्न मद्दत गरेको छ ।
एकातिर संसारको एउटा हिस्सा रुस र युक्रेनबिच तनाव कम गर्नमा केन्द्रित भइरहेको बेला नाटो आफ्नो विस्तारमा लागेको छ, जसले सुदूर अस्थिरतालाई मलजल गरेको छ । आफ्नो प्रभुत्व जमाउने उद्देश्यसहित नाटोको यो कदमले द्वन्द्वको जोखिम सुदूर कुरा नभएको रुसलाई विश्वस्त बनाएको छ । यदि ‘द्वन्द्वको उल्लेख्य विस्तारको जोखिम’ बढ्दै गए पश्चिम र उत्तरपश्चिममा फौज तैनाथ गर्नुपर्नेमा रुस प्रस्ट छ ।
नाटोको विस्तारले द्वन्द्वको जोखिमलाई सही बनाएको छ र एउटा सैनिक मोर्चाको कदमले संसारलाई असुरक्षाको खाल्डोमा जाँक्ने सम्भावना बढाएको छ ।


(लेखक इस्लामाबाद नीति अध्ययन प्रतिष्ठानका सहायक अनुसन्धानकर्ता, विदेश मामिलाका टिप्पणीकार र लेखक हुन् ।)
स्रोतः सीजीटीएन
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *