भर्खरै :

शासकहरू दलगत र व्यक्तिगत स्वार्थमा लाग्दा देशमा डाँवाडोल

शासकहरू दलगत र व्यक्तिगत स्वार्थमा लाग्दा देशमा डाँवाडोल

भक्तपुर, २९ चैत । नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले लिशा इङ्गलिस सेकेन्डरी स्कूलको प्रि–स्कूल दीक्षान्त समारोह तथा नव वर्ष २०८० को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमको बुधबार एक समारोहबिच उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा उहाँले आमा शिक्षित भए पूरै परिवार शिक्षित हुने र आमा हरेक विषयमा पोख्त भए समाजलाई सही मार्गमा लैजान सजिलो हुने विश्वास व्यक्त गर्नुभयो ।
शासकहरूको अदूरदर्शिताको कारण युवाहरू विदेसिन थालेको, शासकहरू दलगत र व्यक्तिगत स्वार्थमा लाग्दा देशको स्थिति डाँवाडोल भएको प्रस्ट पार्दै उहाँले काम गरेर खाने जनताको जीवन कष्टकर बन्दै गएको बताउनुभयो ।
महिलाहरू विभिन्न पदमा पुगे पनि पुँजीवादी व्यवस्थाको कारण महिला समस्या ज्युँका त्युँ रहेको चर्चा गर्दै अध्यक्ष थापामगरले देश बनाउन र देश जोगाउन शासकहरूले गरिरहेको गलत कार्यको विरोध गर्नुपर्छ, महिला बेचबिखन, सीमा अतिक्रमणको विरोधमा जनतालाई सुसूचित पार्नुपर्छ भन्नुभयो ।
जनतालाई दुःख दिने, शोषण गर्ने शासकहरूको विरोधमा जनता सङ्गठित भएर नलडेसम्म देश र जनताको समस्या समाधान नहुने उहाँले प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “देश र जनताको सेवा गर्नु नै राजनीति हो ।”
“कृषिप्रधान देशमा रासायनिक मल छैन, सरकारले मलमा अनुदान घटायो, नेक्राकिसङ्घले राजधानीमा जुलुस प्रदर्शन गरेर विरोध जनायो । जनताको दबाबमा सरकारले आफ्नो निर्णय फिर्ता लियो,” उहाँले भन्नुभयो ।
उहाँले घर व्यवहारको कुरा छोराछोरी दुवैलाई सिकाउनुपर्नेमा जोड दिनुभयो ।
भनपा वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले विद्यालय निजी भएर पनि समुदायप्रति समर्पित भएर पठनपाठन गरिरहेको चर्चा गर्दै सङ्घीय सरकारले संविधानमा उल्लेख भएअनुसार मावि तहसम्म निःशुल्क शिक्षा लागु नगरेको बताउनुभयो ।
शिक्षा नाफामूलक होइन सेवामुखी हुनुपर्नेमा जोड दिँदै उहाँले देश र समाजप्रति समर्पित शिक्षित र देशभक्त पुस्ता तयार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
जीवनमा कालो दाग लागेपछि जीवनभर दुःख पाइरहने उल्लेख गर्दै उहाँले अभिभावकको मन जित्ने काममा लाग्न सुझाउ दिनुभयो ।
लिशा इङ्गलिस सेकेन्डरी स्कूलका सल्लाहकार विष्णुगोपाल कुसीले पवित्र मन, पवित्र विचार र पवित्र काममा लागेका शिक्षासेवी, समाजसेवी, विद्यालय सञ्चालक तथा व्यवस्थापकहरूको योगदानको स्मरण गर्दै विद्यालयको उद्देश्य विद्यार्थीहरूलाई ज्ञानी, गुणी बनाउनु, असल, योग्य, चरित्रवान र अनुशासित देशभक्त नागरिक तयार गर्नु हो भन्नुभयो ।
प्रजग कोरियामा राज्यले शिशु स्याहार केन्द्र, बालोद्यानको व्यवस्था गरेर बालबालिकालाई सम्मान गरिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले विद्यार्थीलाई पढाइसँगै संस्कार र संस्कृतिबारे पनि शिक्षित गर्नुपर्छ भन्नुभयो ।
विद्यालयका प्रिन्सिपल लिशा प्रजापतिले किताबी ज्ञानबाहेक व्यवहारिक शिक्षा दिइरहेको बताउनुभयो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् कार्यक्रमका सभापति बलराम प्रजापतिले देशका लागि आवश्यक जनशक्ति तयार गर्न समाजवादी शिक्षा आवश्यक छ भन्नुभयो ।
कार्यक्रममा शिक्षिका नारायणी खोजु, अभिभावक प्रतिनिधि अञ्जु नापित र विद्यार्थी प्रतिनिधि आदित्य बेराले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा एसईईमा उत्तीर्ण ४० जना विद्यार्थीलाई दीक्षित गरिएको थियो । पहिलो चरणको कार्यक्रमपछि स–साना भाइबहिनीहरूद्वारा नृत्य प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *