भर्खरै :

ख्वप इन्जिनियरिङ कलेजमा नव वर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान

ख्वप इन्जिनियरिङ कलेजमा नव वर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान

भक्तपुर, २९ चैत । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा बिस्का जात्रा तथा नयाँ वर्ष २०८० सालको अवसरमा बुधबार कलेजको सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका अतिथि भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले नयाँ वर्षको आगमनसँगै सबैमा थप ऊर्जा थपिने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा अझ संस्थाप्रति प्रतिबद्ध भई काम गर्न प्रेरणा दिनुभयो ।
चुनाव विचार र सिद्धान्तको लडाइँ भएको बताउँदै उहाँले पैसाको भरमा चुनाव जितेका शासक दलले देश र जनताको हितभन्दा आफ्नो स्वार्थपूर्ति गर्न र पद र पैसाकै निम्ति काम गरिरहेको प्रस्ट पार्नुभयो ।
भक्तपुर नपाले यस वर्षदेखि ख्वप कलेज अफ ल सञ्चालनमा ल्याएको अवगत गराउँदै नेपालका दक्ष युवा जनशक्ति विदेसिँदा यहाँका कलेजहरूले घाटा व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको र यो देश विकासको लागि दुर्भाग्यको विषय हो भन्नुभयो ।
भक्तपुर नगरपालिकाले भक्तपुर नगरलाई जीवन्त तुल्याइराख्न खेलकुद, सांस्कृतिक विधाका प्रतियोगिता सञ्चालनका साथै आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्रको रूपमा विकास गर्दै आइरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले कलेज स्थापनाको उद्देश्य पूरा गर्न कलेजमा कार्यरत शिक्षक कर्मचारीहरू अझ प्रतिबद्ध र समर्पित भएर लाग्न हौसला प्रदान गर्नुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य रवीन्द्र फोँजु र ख्वप कलेज अफ इन्जिनियरिङका उपप्राचार्य रत्नशोभा प्रजापतिले पठन संस्कृतिको विकास गर्ने मुख्य आधार पुस्तकालय भएको र कलेजमा कार्यरत शिक्षक कर्मचारीहरूले आफ्नो पठन संस्कृतिलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
दुवै कलेजका प्रशासन प्रमुख सिद्धिराम सुवाल, सञ्जय मानन्धर, आर्किटेक्चर विषयका विभागीय प्रमुख अर्चना बाडे श्रेष्ठ, इलेक्ट्रिकल इन्जिनियरिङका विभागीय प्रमुख राकेश ग्वाछा र कलेजका राजन जतिले नयाँ वर्षले सबैमा उत्साह, उमङ्ग थप्ने र ऊर्जाशील भएर काम गर्न प्रेरित हुनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *