भर्खरै :

४४ औँ शिक्षक दिवसमा सेवा निवृत्त शिक्षक सम्मान

४४ औँ शिक्षक दिवसमा सेवा निवृत्त शिक्षक सम्मान

भक्तपुर, २९ चैत । सार्वजनिक माध्यमिक विद्यालय संयुक्त परीक्षा समितिको आयोजनामा ४४ औँ शिक्षक दिवस तथा सेवा निवृत्त शिक्षक सम्मान कार्यक्रम स्थानीय वागीश्वरी मा.वि. कमलविनायकमा बुधबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छँे (रोहित) को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा समितिअन्तर्गतका विद्यालयहरूबाट सेवा निवृत्त हुनुभएका शिक्षकहरूलाई दोसल्ला ओढाई सम्मान गरिनुका साथै मायाको चिनोस्वरूप सरस्वतीको मूर्तिसमेत प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले शिक्षण पेसामा लागेर कसैले हीनताबोध गर्न नपर्ने बरु शिक्षकहरूले गौरव गर्नुपर्ने विचार राख्दै त्यसको लागि शिक्षकहरू पाठ्यपुस्तकमा मात्र सीमित नभई समसामयिक विषयमा पनि सधैँ अद्यावधिक भइरहनुपर्नेमा जोड दिनुभयो ।
पाठ्यक्रममा नभए पनि विद्यार्थीहरूलाई नागरिकशास्त्रको विषयमा अतिरिक्त कक्षा सञ्चालन गरेर शिक्षा दिन सके नयाँ पुस्तामा नागरिक भावनाको विकास हुने विचार राख्दै उहाँले ज्येष्ठ नागरिकको चेतनास्तरअनुसारका छुट्टाछुट्टै आदर निकेतनको खाँचो औँल्याउनुभयो ।
सेवा निवृत्त शिक्षकहरूले शारीरिक र मानसिकरूपमा आफूलाई सक्रिय गरिराख्न सुझाव दिँदै विद्यार्थीलाई देशभक्तिको पाठ सिकाउन शिक्षकहरू देशभक्त नभई नहुनेमा उहाँले जोड दिनुभयो ।
डलरको लोभले शासक दलहरूले एउटै शिक्षक सङ्गठनलाई फुटाएको चर्चा गर्दै उहाँले कार्यक्रममा लिखित मन्तव्य दिने परम्परा बसाल्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले ४४ वर्षअघि भएका शिक्षक सङ्घर्षका घटनाहरू स्मरण गर्दै हाल प्राप्त सेवा सुविधा त्यही सङ्घर्षका उपलब्धि हुन् भन्नुभयो ।
अध्यक्ष प्रजापतिले देशको अर्थतन्त्र खस्कँदै जानु सरकारको असफलताभन्दा पनि पुँजीवादी व्यवस्था नै असफल हुँदै गएको हुँदा विद्यार्थीहरूमा पुँजीवादी व्यवस्थाको विकल्प समाजवादी व्यवस्थाबारे प्रचार प्रसार गर्नुपर्ने बताउनुभयो ।
आयोजक परीक्षा समितिका अध्यक्ष एवं आदर्श आजाद मा.वि.का प्रधानाध्यापक श्रीकृष्ण किसीको सभापतित्वमा भएको उक्त कार्यक्रममा उहाँले सामुदायिक स्कूलको शैक्षिक स्तर उठाउन शिक्षकहरूले अझ धेरै मिहिनेत गर्नुपर्नेमा जोड दिनुभयो ।
सम्मानित शिक्षकहरूको तर्फबाट देवी माविका सेवा निवृत्त शिक्षक कृष्णगोपाल छुकांले आफ्नो शिक्षण अनुभव सुनाउनुभयो भने कार्यक्रममा वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छा र जोरपाटी माविका प्रअ हरिप्रसाद ढकालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *