भर्खरै :

अस्थिरतालाई एकताले प्रतिस्थापन गर्नुपर्छ विभाजनका प्रवृत्तिमाथि एकता प्रवृत्ति हाबी हुनुपर्छ

अस्थिरतालाई एकताले प्रतिस्थापन गर्नुपर्छ विभाजनका प्रवृत्तिमाथि एकता प्रवृत्ति हाबी हुनुपर्छ

विश्वकै लागि निकै चुनौतीपूर्ण रहेको २०७९ साललाई बिदा गर्दै गर्दा अर्थतन्त्रका साथै विश्वव्यापी सुरक्षाका जोखिमलाई ध्यानमा राख्दा आउँदै गरेको २०८० को बारेमा आशावादी हुन हामीलाई गा¥हो लाग्छ । संसारमा रूपान्तरण र अशान्तिको प्रवृत्ति दुवै निरन्तर विकसित भइरहेका छन् भने एकता र विभाजनका प्रवृत्तिहरू एकअर्कासँग लडिरहेका छन् । यो द्वन्द्वको प्रभावबाट नेपाल पनि मुक्त हुन सकेको छैन ।
अस्थिर संसार
कोरोनाले थला परेर तङ्ग्रिन नपाउँदै रसिया–युक्रेनबिचको द्वन्द्वले ऊर्जा सङ्कट र विश्वव्यापी खाद्य आपूर्तिको समस्या आउने वर्ष झनै जटिल बन्ने छ । मुद्रास्फीति र मन्दीको संयोजनले विश्वलाई थप आर्थिक कठिनाइको चपेटामा पार्नेछ । अन्तर्राष्ट्रिय मुद्राकोषको तथ्याङ्कअनुसार विश्व अर्थतन्त्रको वृद्धि ३.२ प्रतिशतमा रहेको छ भने यस वर्ष विश्वको कम्तीमा एकतिहाइ मानिस मन्दीको चपेटामा पर्ने बताएको छ । नेपालजस्तो विकासोन्मुख देशहरू सञ्चित ऋणको कारण सबैभन्दा बढी पीडित हुनसक्ने छन् र केहीले पूरै ऋण चुक्ता गर्न नसक्ने डर छ । धेरै विकासोन्मुख देशहरूले उच्च स्तरको ऋण लिएका छन् जुन विश्वव्यापी मुद्रास्फीति र ब्याज दर बढ्दै जाँदा थप बोझिलो बन्ने छ ।
विश्वमै द्वन्द्व बढ्दै गएको अवस्थामा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नयाँ सरकारले गत वर्ष पदभार ग्रहण गरेलगत्तै विश्वभर चिन्ताको लहर बढ्दै गएको थियो । इजरायलका नयाँ अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन–गभिरले जनवरीको सुरुमा जेरुसेलमको यहुदीहरूले ‘टेम्पल माउन्ट’ को रूपमा लिने मुसलमानहरूको पवित्र अल–अक्सा मस्जिद परिसरको भ्रमण गरेका थिए । भ्रमणले प्यालेस्टिनीहरूसँगको तनाव बढाउने जोखिम बढेको छ । पहिले नै उच्च भइरहेको पश्चिम किनारमा हिंसा झनै वृद्धि भएको छ । बेन–गवीरले तीर्थस्थललाई “यहुदी मन्दिरमा परिणत गर्ने प्रयासको रूपमा भ्रमण गरेको आरोप लगाउँदै प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद श्तेयेहले प्यालेस्टिनीहरूलाई “अल–अक्सा मस्जिदमा आक्रमणको सामना गर्न आह्वान गरे ।” यसले प्यालेस्टिनीहरूको आक्रमकतालाई अझै बढायो । उक्त धार्मिक स्थल ऐतिहासिकरूपमा इजरायली–प्यालेस्टीन तनावको लागि मुख्य कारक तत्व भएको छ । सबैभन्दा चरमपन्थी नेतान्याहु सरकारका नीतिहरू विश्व शान्तिको लागि गम्भीर हुने देखिन्छ । ती नीतिहरू प्यालेस्टाइनमा शान्तिको झिनो आशामाथि घातक प्रहार हुनसक्छ जुन अन्तर्राष्ट्रियरूपमै निन्दनीय ठहरिने छ ।
यसैगरी, ब्राजिलका वामपन्थी नेता लुला सत्तामा आउने बित्तिकै ब्राजिलका पूर्वराष्ट्रपति अतिवादी जैर बोल्सोनारोका समर्थकहरूले राष्ट्रपति भवन, काङ्ग्रेस र सर्वोच्च अदालतमा आक्रमण गरे भने सुरक्षा बलहरूविरुद्ध ब्यारिकेडहरू सिर्जना गरेर आक्रमण गरेका थिए । लुला दा सिल्भाबाट पराजित भएपछि बोल्सोनारोले शक्ति गुमाएको विरोधमा आक्रमणकारीहरूले ब्राजिलमा अशान्ति फैलाएको छ जुन विश्वशान्तिको लागि राम्रो सङ्केत होइन । विश्वमा बिग्रिएको आर्थिक अवस्थाको पृष्ठभूमिमा राजनीतिक अस्थिरता र बढ्दो हिंसाका यी जीवित उदाहरणहरू हुन् ।
अमेरिकी विदेश नीति विशेषज्ञहरूले आगामी वर्ष देखा पर्न सक्ने ३० सम्भावित द्वन्द्वहरूको सम्भावना र त्यसको प्रभावको मूल्याङ्कन गरेका छन् । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाको आणविक हतियार र लामो दूरीको ब्यालिस्टिक मिसाइलहरूको परीक्षणले सैन्य टकराव सुरु गरेको छ । इरानको आणविक कार्यक्रम, छिमेकी देशहरूमा लडाकु समूहहरूलाई इरानको निरन्तर समर्थन र सम्भावित अन्तर्राज्यीय युद्ध आगामी वर्षमा आउने सम्भावित तनाब इजरायल–इरानबिचको द्वन्द्वको परिणाम हुनसक्ने भविष्यवाणी गरिएको छ ।
युरोपेली बीमा कम्पनीले यो वर्ष आउन सक्ने खतराहरूको मूल्याङ्कन प्रतिवेदन तयार गरेको छ । प्रतिवेदनमा ५८ देशका करिब ४,५०० जोखिम विशेषज्ञहरूमाथि सर्वेक्षण गरिएको थियो । प्रतिवेदनले शीर्ष १० जोखिमहरूलाई क्रमबद्ध गरेको छ : जलवायु परिवर्तन, भू–राजनीतिक अस्थिरता, साइबर सुरक्षा जोखिम, ऊर्जा जोखिम, सङ्क्रामक रोग, सामाजिक तनाव, जैविक विविधता जोखिम, वित्तीय स्थिरता जोखिम, समष्टि आर्थिक जोखिम, मौद्रिक नीति जोखिम र वित्तीय नीतिको जोखिम हुन् ।
रचनात्मक भूमिका
विश्वले जोखिमहरूलाई टार्न मात्रै होइन मानवताको लागि साझा हित हासिल गर्न एकता, अखण्डता, निष्पक्षता र आशावाद एकसाथ ल्याउन आवश्यक छ । यस सन्दर्भमा विश्वका थुप्रै शक्ति सम्पन्न मुलुकहरूबिच आ–आफ्नो स्वार्थको कारण द्वन्द्व बढ्दै गइरहेको अवस्थामा चीनले भने मानव प्रगति र विश्वव्यापी सद्भावलाई पछ्याउन आफूलाई समर्पित गर्दै विभिन्न द्वन्द्वमा अल्झिरहेका रुस–युक्रेन र इरान–सउदी अरबजस्ता देशहरूलाई एक ठाउँमा ल्याउने प्रयास गरिरहेको छ । विश्वको कायाकल्प र दिगो समृद्धि हासिल गर्न विशेषगरी शक्तिशाली मुलुकहरूले आफूलाई समर्पित गर्नु आवश्यक छ । अन्तर्राष्ट्रिय प्रणालीको निरन्तरता र रूपान्तरणमा सबैले योगदान दिनुपर्छ । मानव विकासको नयाँ रूप सृजना गर्न र अन्य विकासोन्मुख देशहरूका लागि नयाँ विकल्पहरू उपलब्ध गराउन सम्पन्न मुलुकहरू उदार बन्नुपर्छ । यसले विकासोन्मुख मुलुकहरूको राष्ट्रिय अवस्था अनुरूप विकास मार्गहरू खोज्न र आधुनिकीकरणतर्फ द्रुत मार्गमा अघि बढ्न मद्दत गर्ने विश्वास गर्न सकिन्छ । प्रभुत्ववादी शक्ति राजनीतिको विरोध र अन्य देशहरूसँग पारस्परिक सम्मान, विश्वास र लाभको लागि काम गर्नुपर्छ ।
‘सङ्कटले परिवर्तन जन्माउँछ’ भन्ने कुराले आशा जन्माउँछ । अहिले बढिरहेको द्वन्द्वको स्तर र त्यसका प्रभावहरूलाई रोक्नका लागि निर्णयकर्ताहरू र संस्थाहरूप्रति उच्च आशा राखिएको छ । विश्वलाई आशावादी बनाउन जोखिमलाई टार्ने मात्र होइन सुधारका लागि सम्भावनाहरू पहिचान गर्न र एकता, अखण्डतामा कटिबद्ध हुन पनि संसार तयार हुनुपर्दछ । सभ्यताबिचको संवाद, सभ्यताबिच आदानप्रदान र आपसी सिकाइको वकालत गर्ने कुरामा सबै देश एकमत हुनुपर्छ । मानवताका साझा मूल्यहरूलाई प्रवद्र्धन गर्ने खालको प्रजातन्त्र र स्वतन्त्रता नै राजनीति हुनुपर्छ । विश्वमा स्थायित्व प्रवद्र्धन र अस्थिरता घटाउने कार्य जटिल मुद्दा हो । यसका लागि विश्वभरका व्यक्ति, समुदाय र सरकारहरूबाट सामूहिक प्रयास आवश्यक छ । अस्थिरतामा योगदान पु¥याउने अन्तर्निहित कारकहरूला ई सम्बोधन गर्दै राष्ट्रहरूबिचको अधिक सहयोग र समझदारी प्रवद्र्धनको निम्ति एकता नै उपयुक्त माध्यम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *