भर्खरै :

युक्रेन द्वन्द्वबारे चिनियाँ धारणा : संलग्न सबैले जिम्मेवारी लिनुपर्छ

युक्रेन द्वन्द्वबारे चिनियाँ धारणा : संलग्न सबैले जिम्मेवारी लिनुपर्छ

चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना फ्रान्सेली समकक्षी इमानुयल म्याक्रोँसँग कुरा गर्दै युक्रेन द्वन्द्वमा संलग्न सबै पक्षले ‘आ–आफ्नो भागको जिम्मेवारी लिनुपर्छ’ तथा राजनीतिक समाधान गर्न र स्थितिलाई चर्किनबाट रोक्न ‘पृष्ठभूमि बनाउनुपर्छ’ भन्नुभयो ।
म्याक्रोँले ‘रुसलाई होसमा आउने बनाउन र सबै पक्षलाई वार्ताको टेबलमा ल्याउन’ चिनियाँ राष्ट्रपतिको पनि समर्थन रहेको कुरा आफूलाई ‘थाहा भएको’ बताएपछि राष्ट्रपति सीले सो विचार राख्नुभएको हो ।
यो संवाद फ्रान्सेली राष्ट्रपतिको चीन भ्रमणको बेला अप्रिल ६ बिहीबारका दिन भएको थियो ।
भेटघाटमा राष्ट्रपति सीले म्याक्रोँलाई चीनले शान्तिको पक्ष लिने र युक्रेन सङ्कटको शान्तिपूर्ण समाधान एवम् संवादलाई बढावा दिइरहने बताउनुभयो ।
यस विषयमा उहाँले युक्रेन सङ्कटको राजनीतिक समाधान खोज्दा ‘सबै पक्षको वैध सुरक्षा चासो’ लाई ध्यानमा राख्नुपर्ने बताउनुभयो ।
तसर्थ, उहाँले ‘अन्तर्राष्ट्रिय समुदाय विवेकको पक्षमा उभिनुपर्ने र स्थिति बिगार्ने कुनै पनि कार्यलाई रोक्नुपर्ने’ बताउनुभयो ।
राष्ट्रपति सीले सङ्कट चर्किन नदिन संयम अपनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
फ्रान्सेली राष्ट्रपतिले रुसले कुनै पनि हालतमा बेलारुसी भूभागमा आणविक अस्त्र तैनाथ गर्न नहुनेमा जोड दिनुभयो । उहाँले कुनै पनि देशलाई अन्य देशमा आणविक गठ्ठाघर राख्ने अधिकार नभएको दाबी गर्नुभयो ।
यद्यपि, उहाँले फ्रान्सको मित्र देश संरा अमेरिकाको नाम उल्लेख गर्नुभएन । हतियार नियन्त्रण तथा अप्रसार केन्द्रले जनाएअनुसार संरा अमेरिकाले जर्मनी, बेल्जियम, नेदरल्यान्ड, इटाली र टर्कीजस्ता अनेक युरोेपेली देशहरूमा सयौँको सङ्ख्यामा आणविक अखडाहरू राखेको छन् ।
यस विषयमा चिनियाँ राष्ट्रपतिले आणविक हतियारको प्रयोग हुनेछैन र आणविक युद्ध गरिनेछैन भन्ने ‘भद्र प्रतिज्ञा’ लाई गम्भीरतापूर्वक लागू गरिनेछ भन्नुभयो ।
राष्ट्रपति सीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई मस्कोमा भेटेपछि चीन भ्रमण गर्ने म्याक्रोँ दोस्रो युरोपेली राज्यप्रमुख हुनुहुन्छ । यसअघि स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले चीन भ्रमण गर्नुभएको थियो । मस्को बैठकमा चिनियाँ राष्ट्रपतिले युक्रेन र समग्र विश्वमा शान्ति हासिल गर्ने प्रस्ताव राख्नुभएको थियो । बैठकपछि जारी गरिएको अन्तिम वक्तव्यले चीन–रुस मितेरीको सबलता अभिव्यक्त गरेको थियो ।
(एमआर अनलाइनबाट)
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *