भर्खरै :

द्वन्द्वलाई साझा सुरक्षाद्वारा प्रतिस्थान गर्नुपर्छ

द्वन्द्वलाई साझा सुरक्षाद्वारा प्रतिस्थान गर्नुपर्छ

चीनले रुस र युक्रेनबिचको विवादमा तटस्थ अडान राखेर दुवैसँगको सकारात्मक सम्बन्ध जोगाउने चीनको परराष्ट्र नीति हुँदाहुँदै पनि चीनलाई जबरजस्ती यो मुद्दामा घसेट्न पश्मिमी देशहरूले प्रयास गरिरहेको सन्दर्भमा चीनको वास्तविक अडान बुझ्न चिनियाँ लेखक जाङ चेङद्वारा लिखित यो अनुवादित लेख सान्दर्भिक हुनेछ – सम्पादक ।
रुसले युक्रेनमा आफ्नो विशेष सैन्य कारबाही सुरु गरेको एक वर्षपछि पनि सशस्त्र द्वन्द्वको अन्तिम नतिजाको भविष्यवाणी गर्न गा¥हो छ । यदि समाधान निकाल्ने प्रयास गरिएन भने युद्ध लामो हुने अवश्यम्भावी छ । यद्यपि, सन् १९९० को शीतयुद्धको अन्त्य भएयता दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय प्रणाली सबैभन्दा ठूलो दबाबमा रहेको छ । युक्रेन सङ्कटबाट विश्वका धेरै क्षेत्रमा हतियारको नयाँ दौड सुरु भएको छ । ठूला देशहरूबिच विश्वासको खडेरी लागेको छ । बहुपक्षीयतामाथि आक्रमण जारी छ र एकपक्षीयता व्याप्त छ । एक शताब्दीमा एक पटक आउने महामारी, युक्रेन सङ्कट, रुसमाथिको प्रतिबन्ध, बढ्दो मुद्रास्फीति र बढ्दो मन्दी एकअर्कामाथि खप्टिएको अवस्थामा अन्तर्राष्ट्रिय प्रणालीमाथि चेतावनीको घण्टी बजिरहेको छ ।
दीर्घकालीन असर
युरेशियाको पश्चिमतर्फका भूराजनीतिक प्लेट ठूलो परिवर्तनबाट गुज्रिरहेको छ । युरोप अहिले रुसविरुद्धको शत्रुता र वैमनस्यतामा फसेको छ । रसियाको सम्पूर्ण पश्चिमी संसारसँगको सम्बन्ध पूर्णरूपमा टुटेको छ । रूस अनिवार्यरूपमा पूर्व र दक्षिणतिर जाँदै छ । युक्रेनको पश्चिमतर्फ झुकाव स्वाभाविक हो । युरोपेली रणनीतिक स्वायत्तता घट्दै गएको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले एक पटक ‘ब्रेन डेड’ भनी टिप्पणी गरेको नाटो फेरि जीवित भएको छ र नयाँ सदस्य बनाइरहेको छ । अमेरिकाले नाटो र अन्य संस्थाहरूलाई पुनर्जीवित गरेर युरोपमा आफ्नो प्रभुत्व बलियो बनाएको छ ।
अमेरिकी राष्ट्रपति बाइडेनले आफ्नो इन्डो–प्यासिफिक रणनीतिमा ध्यान केन्द्रित गर्न अमेरिकाको रुस नीतिलाई ‘स्थिर र पूर्वानुमानयोग्य’ आधारमा राख्ने आशा गरेका थिए । तर, युक्रेनमा भएको युद्धले अमेरिकाको ध्यान विचलित गरिदिएको छ र अमेरिकी स्रोतसाधन दुरूपयोग भइरहेको छ ।
रूसविरुद्ध कठोर पश्चिमी प्रतिबन्धले ऊर्जाको मूल्य आकाशिएको छ । परिणामस्वरूप विश्वव्यापी आपूर्ति श्रृङ्खलाहरूमा अवरोधहरू आउँदा अमेरिका र युरोपमा मुद्रास्फीति उच्च भएको छ । अमेरिका र अन्य पश्चिमी देशहरूले भूराजनीतिक उद्देश्यहरू पूरा गर्न राजनीतिकरूपमा वर्चस्व निर्माण गर्ने प्रयासमा मूल्यहरूमा आधारित रेखाहरू कोरेका थिए ।
भूमण्डलीकरणमा अझ गहिरो र गम्भीर प्रभाव राजनीतिक रणनीतिक पक्षबाट आउँछ । सङ्कटको पछि लाग्ने विश्वको भूराजनीतिक र रणनीतिक परिदृश्यमा हुने परिवर्तनले युरोप र एसियामा मूल्य श्रृङ्खलालाई बाधा पु¥याउनेछ । विश्वव्यापी व्यापार र लगानी पनि धेरै ठाउँमा प्रभावित हुनेछ ।
द्वन्द्वको मार आम जनताले नै ब्यहोर्नु परेको छ । द्वन्द्वको प्रत्यक्ष सिकार लाखौँ युक्रेनीहरूले आफ्नो घर छोड्न बाध्य भएका छन् । परिणामस्वरूप युरोपले दोस्रो विश्वयुद्धको अन्त्यपछि भोगेको सबैभन्दा ठूलो शरणार्थी सङ्कटले शरण दिने देशमा लामो समयसम्म आर्थिक र सामाजिक प्रभाव पार्नेछ ।
अझै पनि कोभिड–१९ महामारीबाट तङ्ग्रिन सङ्घर्ष गरिरहेको अवस्थामा सङ्कटले विश्वव्यापी अर्थतन्त्रमा दूरगामी प्रभाव पारेको छ, विशेषगरी अमेरिकाका युरोपेली सहयोगीहरूलाई । यी राष्ट्रहरूले युद्धको लागि ठूलो मूल्य चुकाइरहेका छन् । युक्रेन सङ्कट शरणार्थीहरूको प्रवाह र ऊर्जा अभावको साथ पश्मिेली जनतासामु तेर्सिएको छ । युक्रेन सङ्कटले युरोको पनि अवमूल्यन गरेको छ । जुलाई २०२२ मा अमेरिकी डलरको तुलनामा युरो २० वर्षकै न्यून तहमा झरेको छ ।
युक्रेन सङ्कटले धेरै देशहरूमा खाद्यान्न, इन्धन र मलको लागत बढाएको छ । विश्वव्यापी खाद्य सङ्कट चुलिएको छ । संयुक्त राष्ट्रको विश्व खाद्य कार्यक्रमले अनुमान गरेअनुसार ८२ देशहरूमा ३४५ मिलियन मानिसहरूले आज तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका छन्, जबकि महामारीअघि ५३ देशहरूमा १३५ मिलियनमात्र थियो ।
शान्तिका लागि चिनियाँ आह्वान
युक्रेन मुद्दामा चीनको अडानले शान्तिको लागि वार्ता हुनुपर्ने भन्ने कुरामा विश्वव्यापी समर्थन बढ्दै गएको छ । चीन शान्ति र वार्ताको पक्षमा अडिग छ । चीनले युक्रेनमा मानवीय सङ्कट रोक्नको लागि पाँचबुँदे रूपरेखा प्रस्तुत गरेको छ । यसले तटस्थता र निष्पक्षताका सिद्धान्तहरूको पालना गर्ने कुरा सुनिश्चित गर्न आह्वान गरेको छ । युक्रेनमा र त्यहाँबाट विस्थापित व्यक्तिहरूलाई पूर्ण ध्यान दिने नागरिकहरूको सुरक्षा सुनिश्चित गर्ने† सुरक्षित र सहज मानवीय सहायता गतिविधिहरूको लागि सुरक्षा प्रदान गर्ने† युक्रेनमा विदेशी नागरिकको सुरक्षा प्रदान गर्ने र संयुक्त राष्ट्र सङ्घको समन्वयकारी भूमिकाको साथसाथै युक्रेनको लागि संयुक्त राष्ट्र सङ्कट संयोजकको कामलाई समर्थन गर्ने बुँदाहरू उल्लेख गरिएको छ । फेब्रुअरी २४ मा यसले युक्रेन सङ्कटको राजनीतिक समाधानमा चीनले आफ्नो स्थिति स्पष्ट पारेको छ ।
चीनले युक्रेनलाई सहायता पठाउँदै वार्ता पनि अघि बढाएको छ । चीनले न आगोमा घ्यु थप्ने काम गर्छ न आगोसँग खेल्ने विकल्प नै रोजेको छ । चीनले रुसलाई सैन्य सहायता प्रदान गरेको छैन । बरु चीनले युक्रेनलाई खाद्यान्न, सुत्ने झोला, सिरक, डसना र म्याटजस्ता धेरै आवश्यक मानवीय आवश्यकता आपूर्ति गरेको छ । यसको विपरीत अमेरिकाले युक्रेनलाई दिएको सहयोगमा ९५ प्रतिशत घातक हतियार रहेका छन् । संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्थायी सदस्य राष्ट्रको रूपमा रहेको जिम्मेवार मुलुक चीन यस विषयमा स्वतन्त्र, वस्तुनिष्ठ र निष्पक्ष रहेको छ ।
चीनले रुसको सैन्य कारबाहीबारे पहिले नै जानकारी पाएको र पेइचिङ २०२२ को शीतकालीन ओलम्पिक खेलकुद सम्पन्न नभएसम्म रुसलाई ढिलाइ गर्न आग्रह गरेको भनेर पश्चिमी मिडियाहरूले दाबी गरेका थिए । रुसले चीनसँग सैन्य सहयोग मागेको अफवाह पनि छ । चीनले यस युद्धको बारेमा थाहा पाएको, स्वीकार गरेको वा मौन समर्थन गरेका दाबीहरू विशुद्धरूपमा गलत सूचना हुन् । यी सबै भ्रामक दाबीहरूले चीनलाई दोष लगाउने र हिलोछ्याप्ने उद्देश्यले मात्र काम गरेको छ ।
सशस्त्र द्वन्द्व सुरु हुँदा युक्रेनमा ६ हजारभन्दा बढी चिनियाँ नागरिक थिए । चीन रूस र युक्रेन दुवैको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । चीन विश्वमा कच्चा तेल र प्राकृतिक ग्यासको सबैभन्दा ठूलो आयातकर्ता हो । रुस र युक्रेनबिचको द्वन्द्वले चीनलाई फाइदा गर्दैन । यदि चीनले आसन्न सङ्कटको बारेमा थाहा पाएको भए त्यसलाई रोक्न सक्दो प्रयास गर्ने थियो ।
सङ्कटको अवस्थामा चीनको अडानलाई विकृत वा दुषित पार्ने प्रयासस्वरूप पश्चिमी मिडियाबाट गलत प्रचार भइरहेको छ । थाइवान टापुमा बढिरहेको द्वन्द्वमाथि घ्यु थप्ने हिसाबले चीनको थाइवान क्षेत्र र युक्रेनलाई जोड्ने प्रयास गरेको छ । यी नितान्त फरक मुद्दा हुन् । युक्रेन एक सार्वभौम राज्य हो जबकि थाइवान चीनको अविभाज्य भाग हो । थाइवान प्रश्न चीनको आन्तरिक मामिला हो । थाइवानको सम्बन्धमा चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई कमजोर बनाउने मनसायले युक्रेनको सार्वभौमसत्तालाई रेखाङ्कित गर्नुको कुनै अर्थ छैन । चीन शान्तिपूर्ण पुनर्मिलनका लागि प्रतिबद्ध छ तर ‘थाइवान स्वतन्त्रता’ लाई रोक्न सबै विकल्पहरू खुला राखेको पनि छ । अमेरिकाले एक चीन सिद्धान्तलाई दृढतापूर्वक पालन गर्ने र ‘थाइवान स्वतन्त्रता’ पृथकतावादी गतिविधिलाई कुनै पनि रूपमा समर्थन नगर्ने आशा चीनले राख्दछ ।
अबको बाटो द्वन्द्वभन्दा पनि साझा सुरक्षामा आधारित हुनुपर्छ । साझा, सहकारी, बृहत् र दिगो सुरक्षाको दृष्टिकोणको वकालत गर्नुपर्छ । सन्तुलित, प्रभावकारी र दिगो विश्वव्यापी सुरक्षा संरचनाको लागि विश्वव्यापी साझेदारी आवश्यक छ ।
स्रोत : पेचिङ रिभ्यू
अनुवाद : राजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *