भर्खरै :

शोषणरहित समाज स्थापना आजको आवश्यकता

पुँजीवादी व्यवस्थाले श्रमजीवी वर्गको हितमा ऐन कानुन बनाउँदैन भन्ने कुरामा स्पष्ट छ । यो व्यवस्थामा भ्रष्टाचार बढ्नु, कमिसनले प्राथमिकता पाउनु, उच्छृङ्खल, अराजनीतिक र हिंसात्मक गतिविधि बढ्नु अनौठो होइन । पद र पैसाको निम्ति सिद्धान्त र विचारको बेवास्ता मात्र होइन असमान सन्धि र सम्झौता गरेर देशको स्वाधीनता र सार्वभौमसत्तामा आँच पु¥याउने काम गर्न पनि शासकहरू पछि परेनन् । देशघात र जनविरोधी काम गर्ने शासकहरूलाई ठाउँमा ल्याउन कसैले दबाब दिनु या खबरदारी गर्नु राम्रै हो । देश बनाउन र जोगाउन सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्छ । तर, पुँजीवादी व्यवस्थाको विकल्प सामन्तवादी राजतन्त्रात्मक व्यवस्था हुनसक्दैन । पुँजीवादी व्यवस्थाभन्दा सामन्तवाद प्रतिगामी या प्रतिक्रियावादी हुन्छ । राजतन्त्र शोषक र सामन्तहरूको प्रतिनिधित्व गर्ने व्यवस्था हो । अतः पुँजीवादी व्यवस्थाको विकल्प समाजवादी व्यवस्था हो । अहिलेको आन्दोलन र सङ्घर्ष समाजवादी व्यवस्थाको निम्ति हुनुपर्छ ।
राजतन्त्रवादी सांसदहरूले सीमा अतिक्रमण, विदेशी थिचोमिचो र हस्तक्षेपको विरोध गर्नु एउटा पाटो हो भने राजासहितको शासन प्रणाली माग्नु अर्काे पाटो हो । देशमा सुशासन कायम गर्न, भ्रष्टाचार, अनियमितता र कमिसनको जो कसैले विरोध गर्न पाउँछ, विरोध गर्नुपर्छ । भ्रष्टाचार र अनियमितताको विरोध गर्न देशमा संवैधानिक राजतन्त्र आवश्यक छैन । देशको स्थायित्व र विकास गर्न राजतन्त्रलाई सरकारमा स्थान दिनुपर्छ भन्ने कुरा होइन । अब त सङ्घीय गणतन्त्रलाई संस्थागत गर्दै समाजवादी गणतन्त्र स्थापनाको लागि अघि बढ्ने समय हो । राजतन्त्र र पुँजीवादी गणतान्त्रिक सरकारले बहुमत जनताको सेवा नगरेको अनुभव जनताले गरिसकेका छन् । बहुमत जनताको सेवा समाजवादी गणतन्त्रमा मात्र हुन्छ ।
तर, विडम्बना ¤ शासकहरूले सङ्घीय गणतन्त्रलाई संस्थागत गर्न होइन उल्टो बदनाम गरिरहेका छन् । सङ्घीय गणतन्त्रलाई शासकहरूले कमाउने धन्दा बनाइरहेका छन् । यसको फाइदा सामन्तवादी या राजतन्त्र पक्षधर दलहरूले लिइरहेका छन् । सामन्ती शोषणबाट मुक्ति पाउनकै निम्ति देशमा गणतन्त्र स्थापना भएको हो । अब फेरि हुकुमी शासन स्थापना गर्ने कुरा प्रतिगामी कदम हो । प्रतिगमनले न सरकारले स्थायित्व पाउँछ न त विकास नै हुन्छ । पुरानो व्यवस्था फर्काएर देश विकास गर्ने र जनताको जीवनस्तर उठाउने कुरा राजतन्त्र पक्षधरहरूको लोभलाग्दो कुरा हो । प्रतिगामी शक्तिहरू कहिले पनि परिवर्तनकारी हुँदैनन् । उनीहरू जस्तोसुकै ठूलठूलो स्वरमा चिच्याए पनि, भ्रष्टाचारको विरोध गरे पनि परिवर्तन चाहँदैनन् । उनीहरू कहिले धर्म, कहिले ईश्वर त कहिले साम्प्रदायिक कुरा गरेर जनता भाँड्ने काम गर्छन् । जसरी बन्दुक बोक्दैमा क्रान्तिकारी हुँदैनन् त्यसरी नै चर्काेचर्काे कुरा गर्दैमा, भ्रष्टाचारीहरूमाथि कारबाही गर्छु भन्दैमा कोही क्रान्तिकारी हुँदैनन् । कुनै दल या शासकहरूको आकर्षक कुरा होइन व्यवहार हेर्नुपर्छ । त्यस दलको वर्गीय दृष्टिकोण के हो त्यो जनताले थाहा पाउनुपर्छ । दलको सिद्धान्त र विचार सामन्त, पुँजीपति, प्रतिक्रियावादी वर्गको पक्षमा छ भने त्यस दलका नेताहरूले जस्तो माग गरे पनि आवाज उठाए पनि श्रमजीवी वर्गको सेवा हुँदैन, सेवा गर्दैन । त्यो त उनीहरूको जनताको मत तान्ने या जनतालाई आफूतर्फ लिने मन्त्रयुद्ध मात्र हुन्छ । अतः जनता सचेत हुनुपर्छ, कसैको प्रलोभनमा फस्नुहुँदैन । जनताको चाहना देशमा शोषणरहित समाज स्थापना हो । शोषणरहित समाज स्थापना गर्न देशका कम्युनिस्टहरू लाग्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *