पुस्तकालयलाई जीवन्त बनाउन पुस्तकालयकर्मीको दायित्व
- भाद्र १४, २०८३
धनी, गरिब, मध्यम वर्ग वा उमेरको हिसाबले युवा, वयस्क वा उमेर भएका मानिस तथा निरक्षर, पढे–लेखेका बुद्धिजीवी वा विशेषज्ञहरूसमेत आ–आफ्नो जीवनको उद्देश्य निक्र्योल गर्न नसकेर भौतारिरहेका हुन्छन् र भाग्य वा अरूलाई दोष दिएर दुःख मनाइरहेका हुन्छन् । विभिन्न वर्ग, समुदाय, पेसा र उमेरका मानिसहरूसँग सङ्गत र आवतजावत भएका व्यक्तिहरूको अनुभव र छलफलबाट प्राप्त जानकारीले निम्न निष्कर्षमा पुग्न सकिन्छ –
क) माध्यमिक तह कक्षा १२ सम्मका विद्यार्थीहरूमध्ये जीवशास्त्र पढ्ने छात्र–छात्राहरू चिकित्साशास्त्र पढेर जनताको सेवा गर्ने भावना व्यक्त गर्छन् । तिनीहरूको त्यो इच्छामा समाजमा डाक्टरको महत्व र इमानदारीपूर्वक एवं कसैसँग निहोरा नगरी जीवन सुखमय ढङ्गले चल्ने अनुमान लुकेको छ । यसकारण, तिनीहरू आ–आफूले बुझेजति अत्यन्त मेहनत गरेर पढ्छन् र चिकित्साशास्त्र अध्ययनको छात्रवृत्तिको परीक्षामा सामेल हुन्छन् ।
तर, दुई–चार जनाबाहेक गरिबका छोराछोरी सामान्यतया त्यसमा छानिनन् । त्यसकारण, तिनीहरू दुई–तीन पटक ती परीक्षाहरूमा असफल हुन्छन् र निराश भई आफूहरूलाई धिक्कार्छन्; भाग्यलाई दोष दिन्छन् । अभिभावकहरूको निम्ति यो असीम पीडा र चिन्ताको विषय बन्छ ।
ती सरल विद्यार्थीहरूलाई वर्गीय समाजमा धनी वा सम्पन्न परिवारका विद्यार्थीहरूको कक्षा १२ सम्मका विद्यालयहरू नै महँगा विद्यालयका उत्पादन हुन् भन्ने थाहा हुन्न । तिनीहरूको प्रतिस्पर्धामा गल्ली र गाउँका मा.वि.का विद्यार्थीहरू अति नै थोरै मात्र पुग्छन् । अत्यन्त बहुमत र मध्यम वर्गींय परिवारका विद्यार्थीहरू हीनताबोध र निराशामा डुब्छन् र कतिपयले आफ्नो जीवनलाई नै बोझ मान्ने गल्ती गर्छन् ।
सानैदेखि राम्रो पढेमा डाक्टर होइन्छ भन्ने जानकारीबाट उत्साहित ती विद्यार्थीहरूले भनसुन चल्छ, घुस चल्छ, लाखौँ लाख रुपैयाँ तिरेर निजी मेडिकल कलेजमा भर्ना भई डाक्टर पढ्न पाइन्छ र धनीका छोराछोरी मात्रै यो समाजमा पढ्न पाउँछन् भन्ने थाहा पाउन्नन् । अनि अभिभावक आएर गुनासो गर्छन्– हाम्रो घर र सम्पत्ति बेचेर पनि निजी मेडिकल कलेजमा पढाउन सकिन्न ।
छोराछोरीहरू ‘जे गरेर भए पनि मलाई डाक्टर नै पढ्न दिनुस्,’ भन्छन् । त्यो सम्भव नभए अन्य विषय अध्ययन गरेर पनि देश र समाजको सेवा र प्रतिष्ठाको जीवन बिताउन सकिन्छ भनी बुझ्दैनन् । साथै डाक्टर पढ्न गएका विद्यार्थीहरू कति पढ्न नसकेर आत्महत्या गर्छन्, डाक्टर भएर आउँदा काम पाउँदैनन् र लाखौँलाख खर्च गरे पनि आफ्नो देशमा सरकारी सेवामा काम पाउँदैनन् तथा भर्खरका एमबीबीएसका डाक्टरहरूलाई तुलनात्मकरूपले कम पारिश्रमिक दिन्छन् वा लामो समय काम गर्नु पर्दा थाक्छन् । काठमाडौँभन्दा टाढाटाढाका स–साना अस्पतालहरूमा उपकरणहरूको कमी, अनुभवको कमी एवं सहयोगीहरूको अभावमा रोगीको मृत्युपछि हुने झैझगडा, हातपात, क्षतिपूर्तिको माग, अस्पतालमा भिडको हमला आदिबाट डाक्टर पढेकोमा पछुताउनेहरूको जानकारी विद्यार्थीहरूलाई थाहा हुन्न । चित्त नबुझे निजी अस्पतालको जिम्मेवारीबाट हटाइने र समाजसँग मिल्न नजानेर फेरि युवा डाक्टरहरू निराशा र पश्चातापको शिकार हुन्छन् ।
उत्साहित भएर डाक्टर भएका युवाहरूमध्ये केही डाक्टर बनी आफ्नै अभिभावकहरूको व्यापार वा बढी तलब पाउने कम्पनीमा सामेल हुन्छन् र एक साधारण डाक्टरहरूले भन्दा बढी कमाउँछन् । उता अस्पतालका साधारण डाक्टर भने एमडी वा पीएचडीजस्ता विशेषज्ञ नभई नहुने थाहा पाएर अभिभावकको ऋण तिर्न नसकेको स्थितिमा आफ्नो डाक्टरको धर्म छोड्ने वा छोड्ने डरलाग्दो स्थितिमा पुग्छन् ।
मरिहत्ते गरेर डाक्टर पढ्ने विद्यार्थीहरू पछि विज्ञान र वातावरण, नक्षत्र र जीव विज्ञान र अन्य विविध विषय पढेर समाज र देशको सेवा गर्दै आफ्नो परिवारको इज्जतपूर्वक जीवनको यात्रालाई अगाडि बढाइरहेका धेरै छन् । कसैकसैले व्यापारमा लागेर सम्पन्नता हासिल गरेका हुन्छन् भने कतिले राजनीतिक क्षेत्रमा लागेर पनि आफ्नो जीवनलाई जनताको निम्ति समर्पण गरेका हुन्छन् । कतिपय अवस्थामा विदेशी कम्पनीका एजेन्ट र म्यानपावर कम्पनीका एजेन्टहरूले नयाँ नयाँ डाक्टर र नर्सहरूलाई विदेश जान बाध्य पार्छन् ।
२
चिकित्साशास्त्र पढ्ने विद्यार्थी र डाक्टर भई काम गर्दै गरेका व्यक्तिहरूको पश्चाताप र निराशाजस्तै इन्जिनियरिङ पढेका र विशेषज्ञ भई काम गर्दै गर्दा आफूले डिजाइन गरेको निर्माणसम्बन्धी कार्यहरू ठेकेदार र कामदारहरूको गल्तीले पुल भत्कँदा, सडक भासिँदा वा नहर, खानेपानी योजना र विद्युत्गृह बगाउँदा जिम्मेवार विशेषज्ञको के हाल हुन्छ होला ! कमजोरी अरूलाई पन्छाउने र ठेकेदारलाई दोष मुक्त गर्न खोज्दा जनताको आँखामा इन्जिनियर परिपक्व नभएको वा इमानदार नभएको प्रस्ट हुन्छ । त्यसबेला संवेदनशील युवा इन्जिनियरको हालत के होला ? जबकि उनी इमानदार हुन् तर ठेकेदार र कर्मचारीहरू एकातिर लागेका हुन्छन् ।
मानविकी क्षेत्रमा पनि युवाहरूले विषय छानेकोमा अलिकति तल–माथि हुँदा २–४ वर्ष पढाइमा असर पर्ने हुन्छ । हुन सक्छ, कुनै एक युवा आफूलाई पत्रकार भएर रेडियो, टीभीमा काम गरी प्रचारमा आउने मनको कुनै कुनामा लुकेको हुँदो हो, उसले अर्थशास्त्र वा समाजशास्त्र लिन पुग्यो भने कुनै समय मनमा लागेको प्रकाशमा आउन खोज्ने इच्छा पनि गुलाफजस्तै भित्रभित्र फुल्न थाल्छ । पढेको विषय र मनमा लुकेको प्रतिभा फरक भएका अनेक उदाहरणहरू छन् – कति डाक्टर पेसा भए पनि साहित्य र सङ्गीतमा चर्चित छन्, कोही राम्रा कानुनका जानकार र संविधानबारेमा विशेषज्ञ भए पनि सङ्गीतमा गहिरो चाख राख्ने हुन्छन् । एकै व्यक्तिमा पनि विविध प्रतिभा हुन्छ । चर्चित र सम्मानित डाक्टर भए पनि उनी कानुनको अध्ययन गरेर अदालतमा वकालत गर्छन् । यो आश्चर्यको विषय भएन ।
तर, समाज आफैँ राम्रा, नराम्रा र तटस्थ मानिसहरूको सङ्गम हो । ‘नराम्रा’ वा स्वार्थी मानिसहरूले सङ्गीतको प्रशंसा गर्दै आफ्नो मुद्दा जित्ने उद्देश्य राखेर वकिललाई शोषण गर्न पुग्छन् । कोही नाउँ चलाउन खोज्ने सरल समाजशास्त्रीको सङ्गीतको तारिफ गरेर एक व्यापारीले आफ्नो व्यापारमा फसाउन्छ ।
परिस्थितिले वकालतप्रति अति आकर्षण भएको युवा छात्रवृत्ति अङ्ग्रेजी साहित्यमा पाएर अङ्ग्रेजीको प्राध्यापक भए । उनले बडो चलाकी साथ कथा र उपन्यासका कुना कुन्तरमा कानुनका विषयलाई उजिल्याएर विद्यार्थीहरूलाई कानुन पढ्न उत्साहित गर्छन् । हो, मानिसको व्यक्तित्वको अर्थ उनीभित्र निहित गुण हो भने सानैदेखि फूटबलप्रतिको आकर्षण उनको चाख वा ‘हवी’ होला । जहाँ पनि खतरा ‘नराम्रो मानिस’ अर्थात् पेसाले द्रव्यपिशाचहरूले राम्रा र सम्भावित व्यक्तिहरूलाई ख्यालख्याल गर्दै उनको प्रतिभालाई उल्टो दिशातिर लान बेर छैन । झूटो तारिफबाट झस्केका एक व्यक्तिले स्वीकारे, “के गर्नु ईश्वर त तारिफबाट मुग्ध हुन्छन् भने म त मानिस न हुँ ।”
आर्थिक प्रलोभनमा लागेका शिक्षक वा डाक्टर होऊन्, इन्जिनियर होऊन् वा लेखक, तिनीहरूले आ–आफ्नो शिकारलाई परिवार, साथीभाइ, सङ्गठन र समाजमा ‘खलनायक’ बनाएर छोडेका अनेक उदाहरण छन् । तारिफमै बहकिएर ‘होली वाइन’ पूर्वप्रधानमन्त्रीहरू डलरको हरियो रङ्गले सडकमा ल्याइपु¥याए ।
नेपालको गएको संसदीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा केही नयाँ दलहरू ‘राष्ट्रिय’ पार्टीहरूको रूपमा देखिए, अखबारहरूको पहिलो पृष्ठमा तिनीहरूका तस्बिर र प्रशंसा छापिँदा पुराना राजनीतिक खलनायक उतैतिर आकर्षित भए । अनि थाहा भयो – आ–आफ्ना दलका योग्य र जीउँदा जाग्दा विदेशमा पढेका भविष्यका उज्याला नायकहरू कुन कुन देशका रङ्गीन चराहरू हुन् ।
नेपाली समाजमा आज पनि गम्भीर लेखकहरूको खाँचो भएको बुद्धिजीवी समुदायमा चर्चा हुन्छ । तर, विश्वविद्यालय र प्रज्ञा भवनको चिया टेबुलमा साहित्य, सिद्धान्त र प्राज्ञको विषय उठ्दैन बरु तलब, भत्ता, भ्रमण र डलरबारे चासो र चिन्ता हुन्छ । सङ्गत र समाजले राम्रोलाई रसरङ्गमा पु¥याए पनि समाजले एकपटक छोडेकालाई पनि पुनः सही ठाउँमा ल्याउँछ । चुनावमा व्यक्तिको वास्तविक व्यक्तित्व उजागर हुन्छ । भनौँ रक्सीले सबैलाई नारायणगोपाल बनाउँदैन, बाटा बिराउनेहरूलाई समाजले सम्हाल्दै आएका धेरै उदाहरण छन् ।
Leave a Reply