भर्खरै :

भारतमा इतिहास आतङ्क

भारतमा इतिहास आतङ्क

भारतीय स्कूलहरूमा पढाइ हुने इतिहासका कतिपय अंशहरू हटाइएको छ । सोको विरोध र समर्थनमा अहिले भारतभर तरङ्ग देखिएको छ ।
इन्डियन हिस्ट्री कङ्ग्रेस (आइएचसी) ले एनसिइआरटीद्वारा स्कूलका पाठ्यपुस्तकहरूमा मुगल इतिहास, महात्मा गान्धीसँग सम्बन्धित कयौँ सामग्री र केही अंश हटाइएकामा चिन्ता व्यक्त गरेको छ ।
आइएचसीका अध्यक्ष प्रा. केशवन वेलुथट र सचिव प्रा. नदीम अली रिजवीले विद्वानहरूले तार्किक वैज्ञानिक ज्ञानको मूल्य बु्झ्ने हुनाले यस किसिमको परिवर्तनलाई तिनले स्वीकार गर्न नसक्ने बताएका छन् ।
भारतीय पाठ्यक्रमहरूमा मुगलका इतिहासको पूरै अध्यायसँगै गुजरातमा भएको २००२ को साम्प्रदायिक दङ्गा, नक्सलवादी हिंस्रक आन्दोलन तथा दलित लेखकका सामग्रीहरू समेत हटाइएको छ । यो निर्णयसँगै अब सिबिएसईअन्तर्गतका उत्तर प्रदेश र एनसिइआरटी पाठ्यक्रम मान्ने अन्य राज्यहरूका पाठ्यक्रम परिवर्तन हुनेछन् ।
आइएचसीले भनेको छः मुगलकालका सारा कुराहरू हटाइँदा त्यो बेलाको ज्ञानबाट अब आउने पिँढी वञ्चित हुने र त्यसले भारतको राजनीतिक एकता, अकबरको धार्मिक सहिष्णुताको नीति र आधुनिक भारतीय समाजको विचार तयार गर्ने सांस्कृतिक तथा बौद्धिक विकासको महत्वलाई विद्यार्थीहरूले नबुझ्ने बताइएको छ ।
महात्मा गान्धीको हत्यासँग सम्बन्धित कथालाई पनि तोडमरोड गरी पेश गरिएकामा आइएचसीले आपत्ति जनाएको छ । यस किसिमको सङ्कीर्ण साम्प्रदायिक दृष्टिकोण हुनु अहिलेको आधुनिक प्रगतिशील समाजविपरीत रहेको टिप्पणी आएचसीको छ ।
१२ कक्षामा पढाइ हुने राजनीतिक विज्ञानमा पनि चर्चित आन्दोलनहरू, २००२ को गुजरात दङ्गा तथा समाजशास्त्रको पाठ्यपुस्तक समाज बुझौँ भन्ने पाठ्यपुस्तक पनि हटाइएको छ ।
यसअघि नै देशविदेशका करिब २५० इतिहासकारहरूले हुँदै गरेका परिवर्तनमाथि आलोचना गरेका थिए ।
अमेरिका होस् या भारत, पाठ्यपुस्तक प्रतिबन्ध लगाउने, तिनलाई संशोधित गर्ने या तिनलाई चुनौती दिने प्रक्रिया स्वतःस्फूर्त हुँदैन । यसका पछाडि रूढीवादी, सङ्कीर्ण दृष्टिकोण राख्ने सङ्गठन, समुदाय अथवा आस्थाका आधार हुन्छन् र त्यसैका आधारमा एकअर्कालाई दुस्मन साबित गर्ने क्रम चलिरहन्छ ।
टु किल अ मोकिङ बर्ड संसार प्रसिद्ध छ । हार्पर लीद्वारा लिखित यो उपन्यासमा श्वेत युवतीका साथ बलात्कारको आरोपमा फसाइएको एउटा अश्वेत युवकलाई दोषमुक्त साबित गर्न एटिकस फिन्च नामक श्वेत वकिलले एक्लै गरेको सङ्घर्षमाथि यो उपन्यास लेखिएको छ ।
अमेरिकामा अश्वेतहरूले आफ्नो अधिकारका लागि सङ्घर्ष गरिरहेका बेला सो उपन्यास प्रकाशित भएको थियो र त्यसले निस्कनेबित्तिकै चर्चा पाएको थियो । यस उपन्यासले त्यो बेलाका पिँढीलाई प्रभावित गर्दै नश्लील शोषण र उत्पीडनकाविरूद्ध आवाज उठाउन भूमिका खेल्यो ।
केही वर्षअघि संसारभरका लाइब्रेरियनहरूले पढ्नै पर्ने पुस्तकको सूचीमा राखेका थिए तर अमेरिकाका विभिन्न स्कूलमा भने सो पुस्तकलाई प्रतिबन्ध नै लगाइदिए । अहिले पनि कैयौँ स्कूलले यो पुस्तक पढ्नबाट प्रतिबन्ध लगाएका छन् । यो मात्र होइन, पछिल्लो समय त कैयौँ पुस्तकहरूलाई युवा पाठकले पढ्न नहुने सूचीमा राखिएको छ । यसले स्कूलभित्रको अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई गम्भीरतापूर्वक बाधा पु¥याएको भन्दै आलोचनासमेत हुन थालेको छ ।
तर, भारतमा भने संसारकै ठूलो लोकतन्त्रको कुरा गरिए पनि विद्यार्थीले के लगाउने, के खानेदेखि, कस्ता गीत र प्रार्थना गाउने, कुन उत्सव मनाउनेजस्ता कुरामा चासो र चियो गर्न थालेपछि विद्यालयका हरेक कुरा विवादास्पद र विषाक्त बन्न पुगेको छ । पाठ्यक्रममा मनमानी परिवर्तन, विशेषज्ञहरूको सल्लाहबिना परिवर्तन गरिएका मापदण्डजस्ता कुराले अहिले ठूलो विवाद निम्त्याइरहेको छ । बालबालिकाहरूको पठन बोझ कम गर्ने र पाठ्यक्रमलाई सुव्यवस्थीकरण गर्ने भनिए पनि नियत अर्कै हो कि भन्ने आशङ्का बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *