छानबिन आयोगको जेनजी आन्दोलनबारे सम्बन्धित पदाधिकारीसँगको बयानको सार सङ्क्षेप – ३
- बैशाख ५, २०८३
भक्तपुर, ९ वैशाख । सभामुख देवराज घिमिरेले चाँगुनारायण नगरपालिका वडा नं २ झौखेलमा निर्माण गरिएको स्थानीय रेडक्रस संस्थाको भवन शनिबार उद्घाटन गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि नेपाल मजदुर किसान पार्टीको तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेम सुवालले आफ्नो सम्बोधनमा राख्नुभएको ख्वप विश्वविद्यालयको विधेयक पारित गर्नुपर्ने, विश्व सम्पदा सूचीभित्रको चाँगुनारायण मन्दिरको संरक्षण गर्नुपर्ने लगायत विषयमा सम्बोधन गर्दै सभामुख घिमिरेले आफ्नो तर्फबाट पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सांसद सुवालले भन्नुभयो, “सांसदले देश र जनताको समस्या समाधान गराउन संसद्मा राख्ने हो । प्रतिनिधिसभाको नियमावली केही हप्ताअगाडि संसद्बाट पारित भयो । नियमावलीअनुसार सांसदहरूको आवाजलाई सम्बोधन गर्न सभामुखले सरकारलाई निर्देशन दिने प्रक्रिया पनि सुरु भयो ।
सांसद सुवालले खानेपानीको समस्या देशभरि नै भएको उल्लेख गर्दै विश्व सम्पदा सूचीको चाँगुनारायण मन्दिर रहेको डाँडा वरिपरि बालुवा र माटो निकाल्न लगाउने तथा ढिस्को खोस्रेर निजी प्लटिङ गर्न दिने कामले खानेपानीको मुहान सुक्नुका साथै मन्दिर नै जोखिममा परेको चर्चा गर्नुभयो ।
नगरकोट र बागेश्वरीबिचको खानेपानीको मुहान सुकाउन मझुवामा जङ्गल काटेर रग्वी खेल मैदान निर्माण कार्य गरिएको तत्काल रोक्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले देशभरिनै निजी प्लटिङलाई रोक लगाउन आफूलाई जनताबाट सुझाव प्राप्त भएको उल्लेख गर्नुभयो ।
नगरकोट सडक ९ वर्षसम्म पनि निर्माण सम्पन्न नभएको र दुवाकोट सडक निर्माण अवरूद्ध भएको पनि तीन वर्ष भएको उल्लेख गर्दै सांसद सुवालले प्रम दाहालकै घरभेटी नगरकोट सडकको ठेकेदार भएको र दुवाकोट सडकको ठेकेदार प्रतिनिधिसभाको वर्तमान सांसद भएको औँल्याउनुभयो ।
भक्तपुर नगरपालिकाका कलेजहरूमा ७७ रै जिल्लाका विद्यार्थीहरू कम शुल्कमा उच्च शिक्षा अध्ययन गरिरहेको उल्लेख गर्दै सांसद सुवालले चाँगुनारायण नगरपालिकाको २५० भन्दा बढी विद्यार्थीहरू ख्वप इन्जिनियरिङ कलेजहरूमा इन्जिनियर पढेको चर्चा गर्नुभयो र ख्वप विश्वविद्यालय विधेयक पारित गराउन र चाँगुनारायण मन्दिर संरक्षणको लागि सभामुखको तर्फबाट आवश्यक सहयोग हुने अपेक्षा गर्नुभयो ।
झौखेलमा रेडक्रसको भवन निर्माण गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सांसद सुवालले रेडक्रसमा आर्थिक अनुशासन नभएको र भ्रष्टाचार बढेको समाचार प्रकाशित भएको उल्लेख गर्नुभयो । राज्यको चौथो अङ्ग सञ्चार माध्यममा प्रकाशित रेडक्रसमा भ्रष्टाचार भएको समाचारलाई बेवास्ता गर्न नहुने बताउँदै सांसद सुवालले ‘हावा नचली पात नहल्लिने’ उखान स्मरण गराउनुभयो ।
सांसद सुवालले गत चैत २८ गतेको ‘अन्नपूर्ण’ दैनिकमा ‘भ्रष्टाचारको दलदलमा रेडक्रस’ लगायत आमसञ्चारमा प्रकाशित ‘रेडक्रसमा भएको भ्रष्टाचारको विषयमा छानबिन गर्ने स्पष्ट कानुनी व्यवस्था नहुँदा समस्या, ‘रेडक्रसमा भ्रष्टाचारः संसदीय समितिले गृहमन्त्रीलाई बोलाउने’, ‘रेडक्रसको रक्त सञ्चार केन्द्रमा पाँच लाख घोटाला’, ‘रेडक्रसको घोटालामा अनदेखा किन ?’, ‘रेडक्रसका पदाधिकारीले गरेको अनियमितताको छानबिन संसदीय समितिले गर्ने’, लगायतका शीर्षकहरू वाचन गर्नुभयो र समाचारमा करोडौँ होइन, अर्बौँ रुपैयाँ भ्रष्टाचार भएको
उल्लेख भएको तर्फ सबैको ध्यानाकर्षण गराउनुभयो ।
झौखेल रेडक्रसका सभापति राजकुमार थापा, संस्थापक सभापति रामेश्वर थापा, निर्माण समिति अध्यक्ष शिवराम सुलु, वडाध्यक्ष श्यामसुन्दर धिमाललगायतले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।
चन्दादाताहरूलाई सभामुख घिमिरे र सांसद सुवालले धन्यवादपत्र वितरण गर्नुभएको थियो ।
कूल खर्च ५५ लाख रुपैयाँमा निर्माण गरिएको सो भवनको लागि स्थानीय जनताले पनि आधाआधी नै चन्दा दिएका थिए ।
Leave a Reply