जेनजी आन्दोलनको छानबिन आयोगमा बयानको सार सङ्क्षेप – २
- बैशाख ४, २०८३
पुँजीवाद सपनाको बिस्कुन बिछ्याउन माहिर हुन्छ । सपनाको पछि लाग्दालाग्दै मानिसको प्राणान्त हुन्छ । तर, सपनाको शिलशिलाको अन्त्य हुँदैन । गरिबको धनी बन्ने, धनी अझ धनी बन्ने अनि अझ धनीको अझ धनी बन्ने । कमजोर बलियो बन्ने, कुरूप सुन्दर बन्ने, घर नभएकाको घर बनाउने, एउटा घर हुनेको धेरै घर बनाउने, साइकल चढ्नेको मोटरसाइकल किन्ने, मोटरसाइकल चढ्नेको कार चढ्ने, कार चढ्नेको महँगो गाडी चढ्ने, एन्ड्रोइड फोन बोक्नेको आइफोन किन्ने– पुँजीवाद खासमा सपनाको अन्त्यहीन शिलशिलाको हो । यस्तै सपनाको आकर्षणले मानिस पुँजीवादमा यन्त्रजस्तै श्रममा घोटिन्छन् । एवम्रीतले मानिस यन्त्र बन्छ । सपना साकार बनाउने धुनमा मानिसले मानिस हुनुको भावना गुमाउँदै जान्छ र यान्त्रिकतालाई नै जीवन ठान्ने भ्रममा बाँच्छ । पुँजीवादले सम्पूर्णतामा कहिल्यै पूरा नहुने सपनाको आकर्षणले मानिसलाई यन्त्र बनाउने गर्छ । मृत्यु शøयामा अन्तिम प्रहर छिमल्दै गर्दा पनि मानिसका आँखामा अधुरा र अपूरा सपनाको ठूलो रास उस्तै रहन्छ । आफ्नो पाखुरा बलियो हुञ्जेल मानिसले आफ्ना सपना आफैँले साकार बनाउन खोज्छ । मानिसलाई बुढ्यौलीले गलाउँदै लगेपछि उसले आफ्ना सन्तानले आफ्ना सबै अधुरा सपना पूरा गरिदेओस् भन्ने अर्को पुरक सपना देख्ने गर्छ । अनि सन्तानको पुस्ता पनि उही सपनाको दौडमा दौडिन्छ । यही अन्त्यहीन चक्रले पुँजीवाद चलेको हुन्छ ।
संरा अमेरिकी नाटककार अर्थर मिलरको विख्यात नाटक ‘द डेथ अफ अ सेल्सम्यान’ पुँजीवादमा एक जना साधारण मानिसले देख्ने तर कहिल्यै पूरा हुन नसक्ने सपनाको नाटक हो । सन् १९४९ को फेब्रुअरी महिनामा यो नाटक पहिलो पटक संरा अमेरिकामा मञ्चन भयो । तत्कालीन अमेरिकी समाज र सपनाको सटिक चित्रणकै कारण यसले पुलिट्जर पुरस्कार जितेको थियो । त्यसयता संसारका अधिकांश भाषा र देशमा यो नाटकको मञ्चन भयो । दोस्रो विश्वयुद्धपछि ‘अमेरिकी सपना’ (अमेरिकन ड्रिम्स) निकै चर्चाको शब्दावली थियो । विश्वयुद्धमा युरोपलाई हातहतियार बेचेर मनग्य धनार्जन गरेको संरा अमेरिका युद्धपश्चात् पनि ध्वस्तप्रायः युरोपलाई आफ्नो बजार बनाउन उद्यत् थियो । युरोपको हातमा रहेको संसारको लगाम आफ्नो हातमा पार्न संरा अमेरिका हौसिएको थियो । त्यसैको सह–उत्पादन थियो– ‘अमेरिकी सपना’ को सङ्कथन । अमेरिकी सपनाले अमेरिकी जनतामाझ सपनाको बिस्कुन लगाएको थियो । मानिसहरू आफ्ना अधुरा सपना पूरा हुने सपना देख्न थालेका थिए । तर, शोषणकारी पुँजीवादी व्यवस्थाले देखाउने सपना भ्रम र मोहजाल मात्र भएको गहिरो बोध समाजको अन्तरकुन्तर नियाल्न जानेका साहित्यकारसँग नभए कोसँग होला ? अर्थर मिलरले अमेरिकी सपनाको मोहजाल बुझेका थिए र त्यसैलाई उनले नाटकको रूप दिए ।
सन् १९४९ मा अमेरिकी समाजमा झाङ्गिएको पुँजीवाद आज नेपाली समाजको पनि यथार्थ बन्दै छ । नेपाली समाजमा पनि पुँजीवादले सपनाको खेती र व्यापार विस्तार गरेको छ । मानिसभित्र अनन्त अभिलाषा र अन्त्यहीन सपनाका साथ ‘डाँडामाथिको दरबार’ (अमेरिकी सपनाको प्रतिबिम्ब) पुग्ने दौडमा दौडिरहेका छन् । भूमण्डलीकरणले नेपालीसमक्ष संसारको फराकिलो क्षितिज उघारिएको छ । अन्त्यहीन सम्भावनाले मानिसलाई मोहित बनाएको छ । नेपाली समाजको आजको यही वास्तविकता बोध गरेर कवि विप्लव प्रतीकले मिलरको नाटकलाई नेपाली समाजसमक्ष पस्किने जमर्को गरे र निर्देशक अनुप बरालले त्यसलाई निर्देशन गरे अनि तयार भयो नाटक– ‘एउटा सपनाको अवसान’ ।
यो नाटक एक जना साधारण सेल्सम्यानको कथा हो जो लामो लामो यात्रा गरेर आफ्नो अफिसका सामान बेच्ने गर्छन् । सामान बेचेर उनले बनाएको कीर्तिमानी देखेर कम्पनीका मालिक तारिफ गरेर कहिल्यै थाक्दैनन् । सेल्सम्यान विरेनप्रताप रात दिन मेहनत गरेर बैङ्कको कर्जाले बनाएको घर पूर्णतः आफ्नो बनाउन चाहन्छन् । त्यसकारण, उनको परिवार आफ्ना स–साना चाहना र इच्छा मारेर पनि, थाती राखेर पनि बैङ्कको ब्याज तिर्छन् । सहरमा आफ्नै एउटा घर होस् भन्ने चाहना आम निम्न मध्यम वर्गीय नेपालीको सपनाजस्तै । आफ्नो घर बनाउने सपनाको दौडले वीरेनप्रतापलाई पुँजीवादी यन्त्र मानव बनाएको हुन्छ । उनलाई घर, छोरा र आफ्ना सपनाबाहेक कुनै कुराको वास्ता छैन । उनलाई आफ्नो ओइलाउँदो उमेरको समेत ख्याल हुँदैन । बीसौँ वर्षपछि बैङ्कमा तिर्नुपर्ने सबै कर्जा चुक्ता भएपछि जब उनी मुक्त अनुभव गर्छन्, सँगै उनले आफू शारीरिकरूपमा शिथिल बन्दै गएको पनि अनुभव गर्छन् । उनका आँखा धमिलो धमिलो बन्दै गएको महसुस गर्छन् । तथापि, उनको गौरव र स्वाभिमानले भरिएको स्वरमा कति पनि तलमाथि भएको हुँदैन किनभने आफ्ना चलाख छोरा सनुप प्रतापले आफ्ना बाँकी कार्यभार पूरा गर्नेमा उनी विश्वस्त छन् । सनुपप्रति बुबाको सानैदेखिको ठूलो अपेक्षा र ती अपेक्षा पूरा गर्ने क्रममा उसले भोग्ने अन्योल, गर्ने बदमासी, बोल्ने झूटले ऊ आफैँलाई खुम्च्याउँदै लगेको हुन्छ । बुबाको सपना र सनुपको सपनाबिचको अन्तरले उसलाई क्रमशः आफ्ना बुबा–आमाबाट पर पर धकेल्दै लान्छ । ऊ हेटौँडामा कृषि फार्म खोल्न हिँड्छ । तर, हरेक न्यून मध्यम वर्गका नेपाली परिवारका समस्या उसले पनि सामना गर्छ– पुँजीको अभाव । बल्लबल्ल बैङ्कबाट घर निखन्नेका साधारण सेल्सम्यान बुबाबाट सनुपले आफ्नो कामको लागि पुँजीको आशा गर्नु बेकार थियो । वीरेनप्रताप भने सनुपको भविष्य सेल्सम्यान बन्नुमै भएकोमा विश्वस्त हुन्छन् ।
वीरेनप्रताप र सनुपबिच बुबा छोराको यो अन्तरसम्बन्ध पुँजीवादी उत्पादन सम्बन्धको जुरो हो । वीरेनप्रतापले आफ्ना अपूरा सपना छोराबाट पूरा गर्न खोज्छन् । तर, सेल्सम्यान हुँदा बुबाले गरेको परिश्रम र त्यसबाट प्राप्त प्रतिफलबाट असन्तुष्ट सनुप अझ त्योभन्दा नाफामुखी काम खोज्दै हिँड्छ । सनुपका पनि सपनाको आफ्नै चक्र छ । आफ्नो कामप्रति सदैव गौरव गर्ने बुबाले छोराको यो परिवर्तित भावनाको भेउ पाउन सक्दैनन् र उसमाथि लाद्न खोज्छन् आफूले पूरा गर्न नसकेका सपनाको भारी ।
पुँजीवादले सबभन्दा बढी खिल्ली उडाउँछ स्वाभिमानको । स्वाभिमान पुँजीवादको चाकडी र चाप्लुसी, झूट र धोखाधडीसामु शिर निहुराउन अधिकांशतः बाध्य हुन्छ । पुँजीवादमा कसैले स्वाभिमानको भजन गाएर बस्छ भने अभावको बलियो झापडले उसलाई कर्कलोजस्तै गलाउँछ । त्यसकारण, छिमेकीले दिन खोज्दाखोज्दै पनि जागिर खान नमानेको र आफ्नो अफिसले आफ्नो मिहिनेतको कदर गर्ने आशामा झुन्डिएको वीरेनप्रताप आफूले जीवन दिएको कम्पनीबाटै निष्काशनमा परेपछि सधैँ छेडछाड चल्ने उही छिमेकीकै छातीमा घुँक्कघुँक्क रुन्छन् । त्यहाँ वीरेनप्रतापको स्वाभिमान कर्कलोजस्तै गलेको हुन्छ । डोरबहादुर विष्टको शब्दमा ‘भाग्यवाद र चाकडीबाजले चलाएको नेपाली समाज’ को सन्दर्भमा त स्वाभिमानीलाई सजाय गर्न अझ पुँजीवाद पनि आइरहनपर्दैन । राणाको चाकडी नगरेका कति स्वाभिमानीले भोकै रात काट्नु परेको होला । शासकका दैलोमा हातको कचौरा बनाएर जान नचाहने कति मानिस कर्कलो जस्तै गल्ने कहर कुरेर बसेका होलान् ।
वीरेनप्रतापकी श्रीमती लीलाको कुनै ठूलो सपना छैन । अथवा श्रीमान्, छोराहरूका सपनाको रासमा उनका चाहना पुरिए । तर, थकित वीरेनलाई हौसला दिनु, उनका कुरा सुनिदिनु, घरधन्दामा कुनै कसर बाँकी नराख्नु नै उनका काम हुन् । सेल्सम्यान वीरेन सामान बेच्न लामो लामो यात्रामा निस्कँदा लजमा गैरवैवाहिक सम्बन्धमा बसेको कुरा न उनलाई थाहा छ, न उनलाई यस्तो कुरामा पत्यार नै लाग्छ । तर, छोराहरू ठुला भएपछि ओइलाउँदै गएका वीरेनप्रतापप्रतिको रुखो व्यवहार उनलाई कुनै पनि कारणले मान्य थिएन । त्यसकारण, वीरेनको हतप्रभ मनोस्थितिसँगै छोराहरूको असहयोगलाई लीलाले कदापि सहन सकेकी हुँदैनन् । पुँजीवादी समाजमा महिलाको स्थान नाटकमा या त लीलाजस्तै घरेलु र पतिको पतिव्रता नारीको रूपमा, नभए बारमा सजाउन राखिएका नर्तकी र यौनकर्मीको रूपमा चित्रण गरिएको छ । पुँजीवादले महिला आफैलाई बलियो पात्रको रूपमा कदापि स्वीकार्न नसक्ने बरु व्यापारको वस्तुजस्तै बनाउने वास्तविकता नाटकमा देखाइएको छ ।

पुँजीवादी समाज धोखाधडीको व्यवस्था हो । धोखाधडीबाटै पुँजीवादी समाज चलेको हुन्छ । व्यापार, पेसा, समाज हुँदै घर परिवारमा समेत धोखाधडी चल्छ र त्यसमै पुँजीवादी सम्बन्ध र समाज चलेको हुन्छ । वीरेनप्रतापले श्रीमती लीला र छोरा सनुपलाई धोखा दिइरहेका हुन्छन् । बुटवलको होटलमा अर्की एक महिलासँग वीरेनप्रतापको सम्बन्धबारे लीलालाई कहिल्यै थाहा भएन । सनुप बा¥ह कक्षामा ब्याक लागेपछि अचानक बुटवल पुग्दा बुबाको त्यो सम्बन्ध थाहा पाउँदा छाँगाबाट खसेजस्तो हुन्छ । त्यहीँबाट बुबा र छोराबिचको सम्बन्ध चिसिन्छ । छोराले परिवारलाई बुबाले दिइरहेको धोखा बल्ल बुझ्छन् । सनुपले पनि आफ्नै बुबालाई पनि उस्तै धोखा दिइरहेका हुन्छन् । बुबाले आफूमाथि गर्ने अपेक्षामा कुनै ठेस नलागोस् भन्ने धुनमा उनले चोरेर ल्याएका कति सामान कसैले दिएको भन्दै जोगिन खोज्छन् । आफ्ना चाहना र बुबाको सपनामा मेल नखाएको कुरा उनले लामो समयसम्म बुबालाई भन्न सक्दैनन् किनभने बुबाले सानैदेखि पालेको अपेक्षालाई उनी बिथोल्न र दुःखी बनाउन चाहँदैनन् ।
वीरेनप्रतापले आफ्नाबारेमा पालेका कुरा कति भ्रमपूर्ण र अवस्तुगत हुन्छन् । तर, उनलाई अन्तिम समयसम्म पनि त्यसो लागेको हुँदैन । आफ्ना दाजुले अफ्रिकामा हिरा खोज्न सँगै जान गरेको प्रस्तावलाई अस्वीकार गर्दै आफ्नै ठाउँमा केही गर्ने निस्पृह भावनालाई समयक्रमले छिन्नभिन्न बनाएपछि वीरेनप्रताप दाजुका भनाइ सम्झिरहन्छन् । टुहुरा भएपछि दाजुुसँगै वीरेनप्रतापले जीवनमा धेरै नुनिलो पानी पिए । तर, आफ्नै मिहिनेतले नुन पगाल्ने वीरेनप्रतापको प्रयासमा प्राप्त ‘सफलता’ ले उनलाई सपनाको सिँढी बनाउने जाँगर चल्छ । विडम्बना ¤ पुँजीवादमा सपनामात्र मृगतृष्णा बन्ने गर्छ जसको पछि लाग्दालाग्दै जीवन रित्तिसकेको हुन्छ । महत्वाङ्क्षाको भारीले नै सनुपप्रताप अन्ततः असफलताको भासमा फस्छ भने उनलाई पछ्याउने सामान्य सपना देखेका भाइहरू ‘धरानमा वकिल बन्न’ जान्छन् ।
‘द डेथ अफ सेल्सम्यान’ अमेरिकी पुँजीवादको धोखाधडीको नाटक हो जसले रित्तो सपना देखाएर मानिसलाई पुँजीवादको सेवा गर्ने औजार बनाउने गर्छ । नेपाली समाज पनि आज उही लयमा हिँडिरहेको छ । त्यसकारण, ‘एउटा सपनाको अवसान’ नेपाली समाजको नाटक पनि बनेको छ । यो आजको नेपाली समाज, विशेषतः सहरिया मध्यम वर्गको मनस्थितिलाई बोक्न सक्ने नाटक हो ।
विप्लव प्रतीक र अनुप बरालको शिल्प र प्रतिभाले नाटकलाई साँच्चै हेर्नैपर्ने नाटक बनाएको छ । तीन घण्टा लामो नाटक हेर्दा कतै पत्यार लागेन । बरु धेरै दृश्यमा पात्रका संवादमा आफैलाई अनुदित अनुभव हुन्छ । नाटकघरमा कतिबेला हाँसो गुञ्जिन्छ अनि कतिबेला गहिरो सन्नाटा छाउँछ । नाटकमा प्रयुक्त वास्तु र त्यसको बहुउपयोगिता शिल्प नाट्यशिल्पमा अनुपम छ । एक दर्जनभन्दा बढी कलाकारहरू समावेश नाटकका कलाकारहरूको अब्बलताले नाटक अझ स्तरीय बनाएको छ । दिया मास्केजस्ता पाका कलाकारले नाटकलाई ओजपूर्ण बनायो । मण्डला नाटकघरमा अब केही दिनको लागि यो नाटक मञ्चन हुँदै छ ।
Leave a Reply