“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
भक्तपुर, १२ वैशाख । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा २०७२ सालको भूकम्पको स्मरणमा कलेजका प्राध्यापक तथा कर्मचारीहरूबिच मङ्गलबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले देशको सन्तुलित विकास गर्न उपत्यका बाहिर स–साना सहरहरूको विकास गर्नु आवश्यक भएको बताउनुभयो ।
उहाँले विनाशकारी भूकम्प गएका दिनहरूमा भूकम्पीय जोखिम न्यूनीकरण गर्ने उपाय र प्रविधिबारे छलफल राख्न आवश्यक भएको उल्लेख गर्दै भन्नुभयो, “सिक्टा सिंचाइको नहर परीक्षणमै बगाइयो । त्यसको दोष त्यस ठाउँको माटोलाई दिनु विज्ञानसम्मत होइन । यथार्थमा सिक्टा सिंचाइ निर्माण गरिँदा भूगर्भ अध्ययन प्रतिवेदनलाई बेवास्ता गरिएको थियो ।”
उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकामा जमिनमुनिको पानी निकाल्ने काम बढ्दो छ । पानी पुनःस्थापना हुने यहाँका अधिकांश क्षेत्रहरू सडक र सहरले छोपिएका छन् । एक पूर्वप्रधानमन्त्रीले काठमाडौँ उपत्यकामा विपद्को बेला भागेर लुक्ने ठाउँ नभएको बताए । तर, पानी भरिएको कचौरा अवस्थाको यो उपत्यकामा देशभरिका मानिस ल्याएर बसोबास गराइएकोले जोखिम बढ्यो । देशको सन्तुलित विकास गर्न जरुरी छ ।”
डकर्मी–सिकर्मीलगायतलाई भूकम्पीय जोखिम कम हुने संरचना निर्माणबारे तालिम चालु राख्नु जरुरी भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “हाम्रो कार्यक्रममा सबै जनप्रतिनिधिहरूलाई सहभागी गराउनु आवश्यक छ । भूकम्पीय जोखिम न्यूनीकरण प्रविधिबारे देशभरिका जनतालाई सचेत बनाउने कार्यक्रम सुरु गर्नु उपयुक्त हुनेछ ।”
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७२ सालको भूकम्पपश्चात् भएको धनजनको क्षतिले गर्दा धेरै पाठ सिक्ने अवसर मिलेको बताउनुभयो ।
भूकम्पपश्चात् भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले सम्पदा पुनःनिर्माण र भूकम्पसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन गरी प्राविधिक टीमलाई अझ क्रियाशील बनाई अध्ययन अनुसन्धानलाई व्यापक बनाउँदै आएको उहाँले बताउनुभयो ।
उहाँले भूकम्पको समयमा विपद् व्यवस्थापन र उद्धार कार्यमा इन्जिनियरिङ कलेजको सिङ्गो टीमले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै विपद् र सङ्कटमा विदेशी सङ्घ—संस्थाको चलखेल बढ्नेतर्फ नागरिकहरू सचेत हुन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले २०७२ सालको भूकम्पमा कलेज र इन्जिनियरिङ समाज नेपालले विपद् जोखिम न्यूनीकरणमा खेलेको भूमिकाबारे प्रस्ट पार्नुभयो ।
उक्त कार्यक्रममा ई. रोशन प्रजापति, ई. सुभम प्याकुरेल, ई. ससिन प्रजापति र डा. सुबिक श्रेष्ठले भूकम्पमा हुने जोखिम र जोखिम न्यूनीकरणका उपायहरूबारे प्रस्तुतीकरण देखाउनुभएको थियो ।
Leave a Reply