भर्खरै :

राष्ट्रपतिको ‘सवारी’ र सिमात फः फः स्व

कृष्णलाल
राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार भक्तपुरको नवदुर्गा दर्शन गर्न आइन् । धर्मनिरपेक्ष देशका राष्ट्रपतिले हिन्दु राजाकै चालचलनको निरन्तरता दिंदै फेरि पनि मन्दिर–मन्दिर चहार्दै हिड्नुले धर्मनिरपेक्षता फेरि पनि झुठ सावित भएको छ । धर्मनिरपेक्ष देशका राष्ट्रपतिको कुनै धर्म नहुनु पर्ने हो । तर भण्डारी राष्ट्रपति पदमा निर्वाचित भएपश्चात पहिलो महिनाको तलब पशुपतिलाई चढाएर धर्मनिरपेक्षताको खिल्ली उडाएकी थिइन् । त्यसमाथि विगतमा एउटा कम्युनिष्ट पार्टीकी नेतृले मुर्ति पुजालाई प्रश्रय दिंदा उनको कम्युनिष्ट नैतिकतामा प्रश्न उठेको छ । व्यक्तिगत रुपमा उनको कुनै धर्मप्रति आस्था भए पनि राज्यको सम्पत्ति खर्च गरेर उनको मन्दिर–मन्दिर चहार्ने परिपाटी सिद्धान्तनिष्ठताको परिचय होइन ।
बिहीबार राष्ट्रपति भक्तपुर ‘सवारी’ हुँदा उनको लावालस्कर हिजो राजाको सवारी हुँदा भन्दा कुनै पनि कोणमा फरक महसुस जनताले गरेनन् । राजा आउँदा जस्तो तामझाम हुने गथ्र्यो, राष्ट्रपतिको ‘सवारी’को तामझाम पनि उस्तै थियो । राष्ट्रपति आउने दिन भएर उनी आउने बाटो र वरपरका क्षेत्रमा सुरक्षा निकै कडा मात्र बनाइएको थिएन, बरु बिहानैदेखि बाटोमा यातायातका साधनहरुको आवागमनसमेतलाई नियन्त्रण गरिएको थियो ।
राजाको छोरा राजा हुने र जनताप्रति कुनै उत्तरदायित्व नहुने भएकाले साथै जनतामाथि चर्को दमन गरेका हुनाले राजालाई सुरक्षाको आवश्यकता हुने गथ्र्यो । तर राष्ट्रपति जनताको सन्तान र जनताबाटै निर्वाचित भएर पनि उनलाई दिइएको सुरक्षाले उनी पनि राजा जस्तै बन्न खोजेको आभास भयो । राष्ट्रपति त जनताको बीचमा रमाउनुपर्ने हो । तर राष्ट्रपतिको ‘सवारी’ पनि साहित्यकार रामशेखर नकर्मीको ‘सिमात फः फः स्व’ (रुखहरु लाजले झुकिरहे)कथामा वर्णन भएको दृश्य जस्तो हुनुले देशमा राजाको स्थानमा राष्ट्रपति आए पनि नेपाली राजनीतिको मनस्थिति पुरानै भएको कुरा प्रष्ट भएको छ । राष्ट्रपति आउँदा सुरक्षाको नाममा फेरि पनि जनतालाई दुःख दिने काम आडम्बर मात्र हो । राजा बन्ने मानसिकताको शिलशिला मात्र हो ।
राष्ट्रपति साँच्चै जनताका प्रतिनिधि भएको भए जनताकै बीचबाट जानुसक्नु पर्ने होइन र ? राज्यको अथाह सम्पत्ति खर्च गरेर फेरि जनजीवन अस्तव्यस्त बनाउने राष्ट्रपति जनताको प्रतिनिधिभन्दा बढी शासक वर्गीय चिन्तनको निरन्तरता मात्र हो । राष्ट्रपतिको ‘सवारी’ ‘सिमात फः फः स्व’ मा मुन्टो बटार्ने जनता जस्तै भयो भने देशमा गणतन्त्र आएको के अर्थ भयो र ? साथै हिजो पञ्चायतकालमा जस्तै केही मानिसहरुलाई मन्दिरको प्राङ्गणमा पुसमा डल्लो परेका छाउरा जस्तै गरी राष्ट्रपतिको सवारीमा लाइन लगाउनुले के देशमा गणतन्त्र आएको आभास पनि गराउँछ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *