लुलाको जीतलाई विश्व नेताहरूले भने “ऐतिहासिक”
- कार्तिक १०, २०८३
-चिन्मय
मज्जाको मौसम छ आज । सिम्सिमे पानी परिरहेको छ । त्यसैले मुग्लिङदेखि नागढुङ्गा आइपुग्दा पनि धुलो खानु परेन । बसको रफ्तारसंगै दृश्यहरु पनि फिल्मको रिलजस्तै दौडिरहेका छन् । यसपालिको यात्रा फरक छ । पहिले यी डाँडाकाँडा धुलोको पर्दाले गर्दा फुस्राफुस्रा देखिन्थे । भर्खरै जन्मेको बच्चाजस्तै निर्मल र ताजा देखिन्छन् यी दृश्यावलीहरु आज । मनै फुरुङ्ग हुन्छ । विथोभनको छैटौँ सिम्फोनीको ‘प्यास्टोरल’ मनमा आफै बजिरहन्छ ।
नागढुङ्गा कटेपछि काठमाडौँले हल्का धुलोका मुस्लाले हम्काएर हाम्रो स्वागत गर्छ । नाक थुन्दिन । योभन्दा बाक्लो धुलोमा मास्क लगाएर पौडिने बानी जो परिसकेको छ । बस गोंगबु पुग्छ । गोंगबु बसपार्कले रातभर नुहाएको प्रतीत हुन्छ । राजधानीमा मानिसहरुको चहलपहल पनि कमै छ । दशैँतिहारले मानिसहरुलाई देशभर छरिदिएको छ । भक्तपुर जाँदैगर्दा सधैँ हिँडेको यो बाटोछेऊ नयाँ परिदृश्यहरु लहरै बसेको आभास हुन्छ । मानिसहरु आरामले हिँडिरहेछन् । कसैको ठेलमठेल छैन । गाडी नपाइने पो हो कि भन्ने पीरले कसैको अनुहार बटारिएको छैन । एउटा नौलो उमंग नजानिँदो ढंगले काठमाडौँ एवं यसका रैथानेहरुमा देखिन्छ । विकेन्द्रीकरणले काठमाडौँलाई कति सुन्दर बनाउँदो रहेछ । मनैमन कल्पिन्छु । यत्तिकैमा भक्तपुर आइपुग्छ । बसले सधैँभन्दा धेरै छिटो ल्याइपु¥याएको अनुभव हुन्छ ।
आज नेपालभाषा साहित्य तःमुंज्या शुरु हुने दिन । भक्तपुरको रैथाने परिकारसंगै दिनको सुरुवात गर्छु । नास्ता पसलमा एक किशोर भेटिन्छन् । तःमुंज्या यिनको उमेरभन्दा पनि पाको कार्यक्रम हो । यसपालि तःमुंज्या आफ्नो सैँतीसौँ अंक प्रस्तुत गर्दैछ । कार्यक्रमको उत्साह यी किशोरको गालामा छचल्किरहेको स्पष्ट देखिन्छ । साँझपख आफूपनि कार्यक्रममा जाने उनले बताउँदा उनको अनुहार चम्क्यो ।
च्याम्हासिंह बसपार्कमा साथीसित भेट हुन्छ । दाँतको पीडा हत्केलाले दबाएर साथी जनस्वास्थ्यमा आएका रहेछन् । अस्पतालमा बिहानी शान्ति र शितलता छाएको छ । भक्तपुर जनस्वास्थ्यमा बस्दैगर्दा धेरै नौला कुरा थाहा हुन्छ । बहिरङ्ग सेवा यति बिहानै खुलेको मैले यसअघि अन्त कतै देखेको थिइन । साथीलाई यहाँको उपचार खर्च सोध्छु । मैले पनि दाँतको पीडा भोगेको छु र उपचार खर्चले अत्तालिएको पनि छु । तर यहाँ यसको उपचार खर्च निजी मेडिकलमा भन्दा अति नै सस्तो रहेछ ।
काभ्रे पढाउने एक शिक्षकसंग भेट हुन्छ । उनी आमालाई लिएर आएका रहेछन् । आमा दाँतको पीडाले रन्थनिनुभएको छ । तर राम्र्रो उपचार हुनेमा विश्वस्त हुनुहुन्छ । शिक्षकसित म बात मार्छु । राम्रै शिक्षा पाएर पनि उनले विदेशिने सपना नपालेको देख्दा उनको शालिनताप्रति नमन गर्न मन लाग्छ । जबकी विश्वविद्यालयलाई विदेश जाने ढोका बनाउने बजारु विद्यार्थीहरुको भरमार छ राजधानीमा । तःमुंज्यामा आफूपनि जाने बताएर उनी आमालाई वार्डभित्र लग्छन् ।
बाहिरपट्टि ‘मजदुर’ दैनिक खरिद्दै गर्दा हामीले एकजना बाजेले पनि ‘मजदुर’ किनेको देख्छौँ । चाउरिएको अनुहार, कृशकाय होँचो ज्यान, पाल्पाली ढाकाको टोपी, नेपाली लबेदामाथि एक थान आस्कोटमा सजिएका बाजे खाँटी भक्तपुरे किसान देखिनुहुन्छ । उहाँका आँखा कमजोर भैसकेका रहेछन् । पत्रिकालाई आँखैनजिक लगेर पढेको देख्दा हामी जिल्ल पर्छौँ । उहाँ पुरानो किसान कार्यकर्ता हुनुहोला भन्ने अनुमान लगाउँछाँै । मलाई हठात सुरेश ढकालहरुले गरेको भक्तपुर नगरपालिकासम्बन्धी अध्ययनको सम्झना हुन्छ । त्यस अध्ययनमा भक्तपुरको पिछडिएको आकृतिलाई नयाँ रुप दिनका लागि उहाँजस्ता किसान कार्यकर्ता, भक्तपुरका जनता र नेपाल मजदुर किसान पार्टीका गतिविधीहरुलाई रेखाङ्कित गरिएको छ ।

कार्यक्रम शुरु हुनेबेला एक झर्को पानी पर्छ । वातावरण फेरि नुहाउँछ । ङातापोलबाट अल्लि तल्तिर फराकिलो स्थान रहेछ, ल्यासिंख्य । नेपाल भाषामा ल्यासिंख्यको अर्थ मूल बजारभन्दा बाहिर परेको स्थान भन्ने हुँदोरहेछ । धेरैपटक भक्तपुर आएर पनि म यो मनोरम स्थानमा नआएको रहेछु । चपिङ्घाट खोलाको किनारमै यो फराकिलो ल्यासिंख्य अवस्थित छ । केही अग्लो स्थानमा भएकोले यहाँबाट पूर्वका हरिया डाँडाहरुले आफ्नो छटा फैलाइरहेको छ्याङ्गै देखिन्छ । खोलापारि भीमसेनस्थानको मन्दिर पनि प्रष्टै देखिन्छ । खोला आरपार कयौँ प्राचीन खण्डहरहरु पनि देखिन्छन् । ती खण्डहरको असंरक्षित अवस्था देख्दा ल्यासिंख्य नामले अर्थ भेटाएकोजस्तै लाग्छ । जेहोस्, शहरको यो भागमा आएर पनि भन्न करै लाग्छ, भक्तपुर मन्दिरै मन्दिरको शहर हो ।
ल्यासिंख्यको ढुङ्गा बिछ्याइएको प्राङ्गणमा तःमुंज्याको मञ्च सजाइएको छ । रञ्जना लिपीको तुल झुण्डाइएको छ । नेवारी शैलीमै गजुरसहितको मञ्च सजावट गरिएको छ ढुङ्गेधारामाथि । पानसमा दीप प्रज्वलित छ । मञ्चमा विभिन्न फाँटका विज्ञहरु अतिथिको रुपमा विराजमान हुनुहुन्छ । मञ्चअगाडि कवि, कलाकार, नेता, कार्यकर्ता, किसान, मजदुर, डाक्टर, वकिल, इन्जिनियर, शिक्षक, विद्यार्थीलगायत जीवनका विविध क्षेत्रका जनता साहित्य, कला र संस्कृतिबारे ज्ञान बढाउनका लागि उपत्यकाका विभिन्न स्थानबाट उपस्थित छन् । आमजनतामा ज्ञानको यस्तो लालसा नेपाली समाजमा बिरलै देख्न पाइन्छ । साहित्यकार एवं चर्चित साहित्यिक पत्रिका ‘जनमत’का सम्पादक मोहन दुवाल यस्तै भन्नुहुन्छ । साहित्यिक कार्यक्रमहरुमा प्रायः साहित्यिकहरुको मात्र जमघट हुन्छ काठमाडौँमा । जनसहभागीताको कमी हुन्छ रे । यता भक्तपुरमा अपवाद छ ।
नेपालभाषा साहित्य तःमुंज्या मूलतः नेपाल भाषीहरुको कार्यक्रम हो । तर बीचबीचमा नेपालीमै पनि कथा, कविता, मन्तव्यहरु भनिन्छन् । प्रहसन, नृत्य, आदिको प्रस्तुती हुने रातको लसकुश कार्र्यक्रम जात्रामय हुँदोरहेछ । प्रत्येक प्रस्तुती बेजोड थिए । नेपाल भाषा नै किन ? यसको पनि ऐतिहासिक कारण रहेछ । प्रगतिवादी साहित्यकार मातृका पोख्रेलले नेपाल भाषालाई जनभाषा हो भनी व्याख्या गर्नुहुन्छ कार्यक्रममा । राणाकालमा नेपाल भाषामा साहित्य लेख्नु दण्डनीय मानिन्थ्यो किनभने जनताले यो भाषा बुझ्दथे । तर पनि नेपाल भाषाका साहित्यकारहरुले नेपाल भाषामा साहित्य लेखिरहे र आज नेपालमा प्रचलित सबै भाषामध्ये नेपाल भाषामा प्रगतिशील साहित्य बढी भएको दाबी उहाँले उदाहरणसहित बताउँदा नेपाल भाषाका साहित्यिकहरु हर्षित भएको अनुमान भयो । त्यसैगरी इतिहासकार डा.पुरुषोत्तमलोचन श्रेष्ठले नेपालभाषा साहित्य तःमुंज्याको मूल नारा “जनता म्वासा भाषा म्वाइ” लाई ऐतिहासिक तवरले पुष्टि गर्नुभयो । जनता बाँचे भाषा बाँच्दछ । उहाँले नेपाल भाषा किँरातकालीन भाषा भएको र लिच्छवीकालमा संस्कृत भाषा राजकाजको भाषा भएतापनि जनताले यसलाई जोगाइआएको बताउनुभयो । लाग्यो, तःमुंज्या जनताको यहीँ परम्पराको सिलसिला रहेछ ।
तःमुंज्या राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक विसंगतिविरुद्ध परिवर्तनको शंखघोष पनि रहेछ । थे्रसहोल्ड कसरी पञ्चायती प्रणालीको निरन्तरता हो, विज्ञहरुले यसको चर्चा गर्दै यो कामदार वर्गको पार्टी नेमकिपालाई बाँध्नका लागि ल्याइएको सिक्री भएको बताए । दलीय भागबण्डा, भ्रष्टाचार र राजनीतिक संस्कारको अभावबारे धेरै विद्वानहरुले टिप्पणी गर्नुभयो । नेपाल र नेपाली भाषाका साहित्यकारहरुले यस्ता विषयलाई आधार बनाएर रचनाहरु प्रस्तुत गर्नुभयो । नेपाल भाषाका एक साहित्यकारले भूतप्रेतसम्बन्धी जनधारणालाई वर्तमान राजनीतिक दैत्यहरुसंग तुलना गरेर साहित्यवाचन गर्दा मानिसहरु दंग परेको देखियो । प्रसिद्ध युवा कवि अभय श्रेष्ठले तःमुंज्याबारे पटकपटक लेखहरु लेखेको त पढिन्थ्यो । यसपटक तःमुंज्याकै मञ्चमा उहाँको कविता सुन्न पाइयो । उहाँले लेनिन र अक्टोबर क्रान्तिबारे मूलधारका पत्रिकामा अफवाहहरु फैलाइरहेको बेलामा क्रान्तिकारीहरुले यसको प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्या विविध ज्ञानविज्ञान बाँड्ने, साट्ने चौतारो पनि रहेछ । यहाँ डाक्टर, इन्जिनियर, प्राध्यापक, वकिललगायत जीवनका अनेक क्षेत्रका वक्ताहरुले आफ्ना पेशागत अनुभव र वर्तमान समाजमा आ–आफ्नो क्षेत्रमा देखिएका पूँजीवादी विकृतिहरुको चर्चा गर्नुभयो । यसले गर्दा आमजनताले एउटै छानामुनि चालै नपाई धेरै कक्षाहरु लिँदा रहेछन्, प्रशिक्षित हुँदा रहेछन् । जस्तै मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले आफ्नो संस्थाको प्रगतिको बारेमा बताउनुभयो । आज महंगो उपचार खर्चका कारण भारत पाकिस्तानका बिरामीहरु सस्तोे र गुणस्तरीय उपचारका लागि भक्तपुर आइरहेको बताउँदा गर्व लाग्यो । तर आफ्नो सेवालाई तीन गुणा विस्तार गर्नका लागि ताकेता गर्दा कुनै पनि स्वास्थ्य मन्त्रीले नसुनेको बताउँदा स्वास्थ्य मन्त्रालय मेडिकल माफियाको हातमा छ भन्ने प्रष्टियो । यी कुरा सुन्दै गर्दा दर्शकहरुमा वर्तमान व्यवस्थाप्रति घृणाभाव फैलिन्छ । वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालको भूगोलका पक्षमा संघर्ष गर्दाको अनुभव सुनाउनुभयो । जलश्रोत अभियन्ता रतनबहादुर भण्डारीले निर्भिक भइ भारतीय विस्तारवादको पोल खोल्नुहुन्छ । सेनाका सेवा निवृत्त जनरेल एवं सैन्य इतिहासकार प्रेमसिंह बस्नेतले देशभक्तिपूर्ण मन्तव्य दिइरहँदा मानिसहरु मञ्चतिर झुम्मिन्छन् । नेपाली जनतालाई जातजाति र कुनै सम्प्रदायमा नबाँडी देशको पक्षमा बोल्ने सैन्य अनुशासनयुक्त नेमकिपाको झण्डामुनि गोलबन्द सबै जनताबाट आफू प्रभावित भएको बताउँदा हावामा करतल ध्वनी गुञ्जिन्छ । एक शिक्षक भन्नुहुन्छ स्वस्थ राजनीतिक संस्कारसहितको नयाँ राजनीतिक पुस्ता नहुर्काउँदासम्म देशले कायापलट गर्नेछैन । मनोविदहरु आफ्ना अनुभवहरु बताउनुहुन्छ । यी र यस्ता अनुभवहरुको आदानप्रदानले दीक्षित हुनपाउनु नेपालभाषा साहित्य तःमुंज्याको विशेषता नै रहेछ ।
अग्रजहरुका सार्थक पाइला पछ्यानु, उनीहरुसामु नतःशिर हुनु नेपालभाषा साहित्य तःमुंज्याको अर्को विषेशता रहेछ । भक्तपुरको संस्कृतिलाई जीवन्त राख्न निरन्तर खनजोत, गोडमेल गर्ने संस्कृतिकर्मीहरुलाई वर्षैपिच्छे सम्मानित गरिँदोरहेछ । दाफा भजनादिमा योगदान दिनुहुने केही पाका उमेरका संस्कृतिकर्मीहरुलाई सम्मानित गरिन्छ श्रमजीवी जनताको यो मञ्चबाट । त्यसैगरी संस्कृतिविद् तेजेस्वरबाबु ग्वंगःलाई सम्मानित गरिन्छ । उहाँले आफ्नो मन्तव्यलाई लम्बाएर जनतालाई प्रशिक्षित गर्ने आफ्नो लालसामा यो वृद्धावस्थामा पनि कमी नआएको झल्को दिनुभयो । न्याय क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्व कृष्णप्रसाद भण्डारीलाई पनि सम्मान गरिन्छ । उमेर र सामाजिक सक्रियताको हिसाबले मिथक बनिसक्नुभएको उहाँको जीवनी सुन्दैजाँदा उहाँबारेको अल्पज्ञानले खिज्याइरहेको अनुभूति हुन्छ । वामपन्थी विचारबाट उहाँको जीवन अनुप्राणित रहेछ । आफ्नो मन्तव्यको क्रममा उहाँले दुईजना किसान कार्यकर्ताको नाम लिनुभयो । एकजना तराईका र अर्का काठमाण्डौका । ती कार्यकर्ताले गर्दा नै आफ्नो यो व्यक्तित्व बनेको उहाँले बताइरहँदा सहभागीहरुमा कम्युनिष्ट जीवनशैलीको उष्मा भरिएको निस्तब्ध वातावरणले पुष्टि गर्छ । आफ्नो जीवनलाई उहाँले किसान कार्यकर्ताहरुको देन भन्नुभयो । नेपाली समाजलाई अघि बढाउने हो भने नयाँ पुस्ताले उहाँको जीवनदर्र्शन सिक्नैपर्ने देखिन्छ । त्यसो त नेपालभाषा साहित्य तःमुंज्या आफैपनि एउटा दर्शन बाँचिरहेछ । यो कार्यक्रम भक्तपुरको कामदार जनताको जीवनमा भिजिसकेको रहेछ । मानिस जति नै विद्वान किन नहोस, उसको ज्ञान व्यापक जनताको काम आउँदैन भने उसको विद्वताको कुनै अर्थ रहँदैन । प्रातःस्मरणीय कृष्णप्रसाद भण्डारीका यी शब्दलाई वर्षौँदेखि साकार पारिराखेको रहेछ नेपालभाषा साहित्य तःमुंज्याको यो (कथित मुलधारको मिडियाबाट) गुमनाम दबुलीले ।
कार्यक्रमको अन्ततिर माननिय सांसदहरु प्रेम सुवाल र अनुराधा थापामगरको सशक्त मन्तव्यमा देशको दयनीय राजनीतिक अवस्था उजागर हुन्छ । साथै जनताका सांसदहरु कसरी संसदमा संघर्षरत हुनुहुन्छ झल्किन्छ । दुई दिने कार्यक्रमको पटाक्षेप हुन्छ का.रोहितको सरल तथा सारपूर्ण मन्तव्यसंगै । नाम र दामको पछि नलागी जनताको पक्षमा अविराम काम गर्ने व्यक्तिहरुलाई नै साहित्यले नायक बनाउनुपर्नेमा उहाँले मार्गदर्शन गर्नुहुन्छ । उहाँले पत्रिका वितरकहरुलाई पनि यसकोटीमा राख्नुहुन्छ । नेपाल भाषाको उहाँको विचारलगायत अन्य नेपाल भाषी वक्ताहरु एवं प्रस्तुतीहरुलाई झिँजो नमानीकन छेउमै बसेर नेपालीमा उल्थ्याउने मित्रजनलाई धन्यवाद ।
यसबीच काठमाडौँमा कोलाहल थपिएको छ । धुवाँधुलो बाक्लिएको छ । बिहानी बतासले सुसेलेको प्रष्ट सुनिन्छ, “यस्ता कार्यक्रमहरु देशका कुनाकाप्चाले गर्ने कहिले हो ?” शायद मुक्ति चाहन्छ शहर । तर निरुत्तर छन् तमाम गाउँहरु । मनमा जिमरको ‘अ वे अफ लाइफ’ गुञ्जिरहन्छ, गुञ्जिरहन्छ… ।
Leave a Reply