भर्खरै :

भीमसेन थापा देशभक्त हुन्

भीमसेन थापा देशभक्त हुन्

अद्भूत र देशभक्त पात्र जङ्गबहादुर शीर्षकमा लेखक इन्द्रकुमार श्रेष्ठले शनिबारको ‘मजदुर’ दैनिकमा ऐतिहासिक उपन्यास लेखक श्रीकृष्ण श्रेष्ठको उपन्यास जङ्गबहादुरबारेको टिप्पणी छपाउनुभएको रहेछ ।
इन्द्रकुमार श्रेष्ठले भीमसेन थापाको पालामा भएको सुगौली सन्धिबाट ‘ग्रेटर नेपाल’ खुम्चिन पुगेको र यति हुँदाहुँदै पनि भूभाग गुमाउने भीमसेन थापालाई राष्ट्रिय विभूति घोषणा गरिँदा जङ्गबहादुरप्रति न्याय गरिएन भन्ने विश्लेषकहरू रहेको विचार राखेका रहेछन् ।
तर, इतिहासकारहरूले भीमसेन थापालाई एक देशभक्तको रूपमा सम्मान गर्छन् । लेखक श्रेष्ठले विद्वान लेखक चित्तरञ्जन नेपाली (नारायणप्रसाद राजभण्डारी) को पुस्तक ‘पारिवारिक षड्यन्त्रका कथाहरू’ पढ्नु भएन होला । त्यस पुस्तकको ‘नेपाल र ब्रिटिस साम्राज्य’ शीर्षकमा बेलायती साम्राज्यवादले नेपालका तत्कालीन प्रधानमन्त्री भीमसेन थापालाई कसरी षड्यन्त्रमूलक तरिकाबाट पदच्युत ग¥यो भन्ने व्याख्या गरिएको छ । बेलायती साम्राज्यवादविरूद्ध लड्ने क्रममा भीमसेन थापाको हत्यासमेत भयो ।
राजा रणबहादुर शाह ब्रिटिस साम्राज्य समर्थक आफ्नै भाइ शेरबहादुरको हातबाट मारिए । तर, तत्कालै शेरबहादुर पनि मारिएपछि भीमसेन थापा नेपालको मुख्तियार भएका थिए । भीमसेन थापाले फ्रान्सेली प्राविधिक तथा अधिकृतहरूबाट नेपाली सेनालाई आधुनिक तालिम दिन लगाए । त्यसबेला फ्रान्स बेलायती साम्राज्यवादविरोधी थियो । सो तालिम लिँदा शत्रुको शत्रु मित्र हुन्छ भन्ने चाणक्यको सिद्धान्त लागु गरिएको थियो । तर, फ्रान्सेली सेनालाई नेपाल भित्रिन दिइएको थिएन । यसबाट ब्रिटिस सत्ता नेपालसँग क्रुद्ध भएको थियो ।
सन् १८१४ मा नेपाल र ब्रिटिस भारतबिच युद्ध भयो । भीमसेन थापाले लेखक चित्तरञ्जनकै शब्दमा अङ्ग्रेजसितको युद्धमा चीन, तिब्बत तथा भारतका विभिन्न राज्य रजौटाहरूसित पनि सहयोगको अनुरोध गर्दै अङ्ग्रेजको विरोधमा एकसाथ खडा हुनसमेत आह्वान गरेका थिए । त्यस युद्धमा नेपालले हा¥यो भने बेलायत तिब्बत र चीनको बनिम्ति खतरा हुन जाने भनी प्रम भीमसेन थापाले चीनका बादशाहलाई पत्र पठाएका थिए । भीमसेन थापा समस्त दक्षिण एसियाबाटै अङ्ग्रेजलाई निकाल्न चाहन्थे । तर, कतै पनि सहयोग प्राप्त नभएपछि नेपाल एक्लिनुप¥यो । अन्ततः नेपालले हार खायो र सन् १८१६ (सं. १८७३) मा अङ्ग्रेजसँग सुगौली सन्धि गर्नुप¥यो । परिणामस्वरूप ब्रिटिस रेजिडेन्ट काठमाडौँमा बस्न थाल्यो । विसं १८७७ मा प्रम भीमसेन थापाले ब्रिटिस साम्राज्यविरूद्ध मिलेर लड्न भारतीय राज्यहरूलाई फेरि आह्वान गरे । काडमाडौँको ब्रिटिस रेजिडेन्टमाथि पनि कडा निगरानी गर्न छोडिएन । रेजिडेन्टले प्रमसँग मात्र सम्बन्ध राख्न पाउने थिति बनाइयो । साथै, रेजिडेन्ट नेपाली सेनाको घेरामा राखिएको थियो । तर, राजदरबार र भीमसेन थापाबिच बढ्दै गएको कटुताबाट लाभ उठाउँदै ब्रिटिस रेजिडेन्ट हज्सनले भीमसेन थापालाई मुख्तियारीबाट हटाउने प्रपञ्च रचे ।
भीमसेन थापालाई कुनै अपराधमा फसाई उनको राजनीतिक पतन गराउने षड्यन्त्र सुरू भयो । यसैबिच महारानी साम्राज्यलक्ष्मीका ६ महिनाका छोरा राजकुमार देवेन्द्रविक्रमको निधन भयो । यही मौका छोपेर विष खुवाएर हत्या गराएको आरोप लगाई भीमसेन थापालाई पक्राउ गरियो । त्यसअगाडि महारानीले आफ्नोअनुकूलको एक छुट्टै सैनिक टुकडी खडा गरिसकेकी थिइन् । भीमसेन थापासँग जोडिएका सबै मानिसलाई पक्राउ गरी अमानवीय यातना दिन थालियो । कतिपयलाई चारपाटे मुडियो र सर्वस्वहरण पनि गरियो । भीमसेन थापाकी कान्छी मुखिनीको ‘हुर्मत लिइन्छ’ भन्ने हल्ला गराई नजरबन्दमा परेका भीमसेन थापालाई मानसिक यातना दिइयो । बदनामीको शोक र तापले विह्वल भएका भीमसेन थापा आफ्नै खुकुरीले सेरिए भनिन्छ तापनि वास्तवमा उनको हत्या भएको थियो । ब्रिटिसको षड्यन्त्रको सिद्धान्त नेपालमा यसरी सफल भयो । त्यसबेलादेखि नेपाली शासकहरू बेलायतीको गोटी बने ।
त्यसैले, साम्राज्यवादीहरूले लेखेको इतिहास पढाउन अब बन्द हुनुपर्छ र इतिहासको पुनःलेखन गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *