भर्खरै :

श्रमिक दिवसमा ललितपुरमा प्रवचन

श्रमिक दिवसमा ललितपुरमा प्रवचन

ललितपुर, १८ वैशाख । नेपाल क्रान्तिकारी मजदुर सङ्घ ललितपुर जिल्ला समितिको आयोजनामा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले जहाँ दमन हुन्छ त्यहाँ विद्रोह हुने चर्चा गर्दै अन्तर्राष्ट्रिय श्रमिक दिवस त्यसैको उपलब्धि हो भन्नुभयो ।
विश्व प्रसिद्ध मजदुर आन्दोलनबारे गहन छलफल, अन्तरक्रिया र मजदुरवर्गलाई राजनीतिकरूपमा सचेत र सङ्गठित गर्नु अहिलेको आवश्यकता हो, उहाँले भन्नुभयो ।
नेमकिपा वर्गविहीन समाजवादी स्थापनाको लागि सङ्घर्षरत रहेको केन्द्रीय सदस्य महर्जनले बताउनुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य राजवीर डंगोलले भारतीय एकाधिकार पुँजीले नेपाली मजदुरहरूलाई विस्थापित गरिरहेको बताउनुभयो ।
उहाँले मजदुरहरूको बिचमा जातजाति, भाषाभाषी र क्षेत्रीय भेदभाव गरी पुँजीपतिवर्गले फूट ल्याउने गरेको तर्फ मजदुरहरू सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले पुँजीवादी व्यवस्थामा श्रमिकहरू शोषणबाट मुक्त नहुने हुँदा शोषणविहीन समाज स्थापनाको लागि सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “जबसम्म मजदुरहरू राजनीतिक र वर्गीयरूपमा सचेत र सङ्गठित हुँदैनन् तबसम्म अधिकार प्राप्त गर्न सकिँदैन । सचेत र सङ्गठित शक्ति नै आमूल परिवर्तनको बाहक हुने गर्छ ।”
नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतम लासिवाले मजदुर सङ्घर्ष ट्रेड युनियनवादी अर्थात् आर्थिक सहुलियत र सुविधामा केन्द्रित नभई आमूल परिवर्तनमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
अशोक महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा नरेश महर्जनले पनि बोल्नुभएको थियो ।
त्यस्तै नेपाल मजदुर किसान पार्टी महालक्ष्मी नगर समिति ललितपुरको आयोजनामा १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस प्रवचन कार्यक्रम गरी मनाइयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय प्रतिनिधि एन. महर्जनले भन्नुभयो, “मई दिवस मजदुरवर्गले विजय प्राप्त गरेको सम्झनामा मनाइने दिन हो । ८ घण्टाको कामको दिन र ज्याला बढाउने माग राखी मजदुरहरूले सन् १८८६ मई १ का दिनबाट संरा अमेरिकामा मजदुर आन्दोलन सुरु गरेका थिए ।
मजदुरहरू न्यायोचित माग पूरा गराउन सङ्घर्षमा उत्रिए । फलस्वरुप मजदुरवर्गको ८ घण्टाको कामको दिन र ज्याला वृद्धि गर्ने माग पूरा गराउन सफल भयो ।”
कार्यक्रममा नेमकिपा ललितपुर जिल्ला समिति सदस्य महन्त महर्जनले विश्वमा अशान्ति र युद्धको कारक पुँजीवाद र साम्राज्यवाद भएकोे, अमेरिकालगायत साम्राज्यवादी देशहरूले विश्व व्यापार सङ्गठन, विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाली विकास बैङ्कमार्फत गरिब देशहरूको प्राकृतिक स्रोत, जनशक्ति र बजार कब्जा गरी लुट मच्चाउँदै छन् भन्नुभयो ।
नेमकिपा महालक्ष्मी नगर समितिका आशाराम महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा चन्द्र महर्जन, इन्द्र्र महर्जन, तुल्सीनारायण, एकके महर्जन, कृष्णभक्त महर्जन र रूपा महर्जनले पार्टीको सिद्धान्तअनुसार नेपाल क्रान्तिकारी मजदुर सङ्घले समाजवादी विचार फैलाउने र मजदुरवर्गलाई राजनैतिकरूपले सचेत गर्ने कार्य गरिरहेको प्रकाश पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *