भर्खरै :

काठमाडौँमा १३४ औँ अन्तराष्ट्रिय श्रमिक दिवस

काठमाडौँमा १३४ औँ अन्तराष्ट्रिय श्रमिक दिवस

काठमाडौँ, १८ वैशाख । नेपाल क्रान्तिकारी मजदुर सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा टोखामा प्रवचन कार्यक्रम सोमबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय वैकल्पिक सदस्य तथा नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले भन्नुभयो , “१ मे श्रम गर्नेहरूको उत्सवको दिन हो । यो मजदुरवर्गको सङ्घर्षको दिन हो । कामदारवर्गले सङ्घर्ष गरी सफल गरेको दिनको रूपमा यसलाई लिने गरिन्छ । श्रमिकहरूको सङ्घर्षकै कारण श्रमिकहरूले आठ घण्टा कामको दिन र मजदुरको ज्याला वृद्धि गर्न सफल भएको हो । हरेक श्रमिकलाई ८ घण्टा सुत्ने, ८ घण्टा काम गर्ने र ८ घण्टा मनोरञ्जन गर्ने समय हुनुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता रहेको छ ।”
उहाँले भन्नुभयो, “ट्रेड युनियनले मजदुरवर्गको सुविधा बढाउने कुरामात्र गर्छ भने क्रान्तिकारी मजदुर सङ्घले समाजवादी सत्ता प्राप्तिको लागि सङ्घर्ष गर्ने कुरा गर्छ । प्रत्येक कम्युनिस्टले राजनैतिकरूपमै मजदुरलाई शिक्षित गर्ने कार्य गर्दछ । सोभियत सङ्घमा मजदुरवर्गले सङ्घर्ष गरी समाजवादी क्रान्ति गरेको थियो ।”
उहाँले श्रमको सम्मान गर्ने व्यवस्था समाजवाद हो भन्दै पुँजीवादी विचार बोक्नेले श्रमिकलाई अपमान गर्दछ भन्नुभयो ।
कार्यक्रममा नेमकिपा बाग्मती प्रदेश समितिका सदस्य एनवी श्रेष्ठले भन्नुभयो, “विश्वमा अशान्ति र युद्धको कारक पुँजीवाद र साम्राज्यवाद हो । अमेरिकी साम्राज्यवादले केही वर्षदेखि सिरियामा प्रशाको लागि लड्ने विद्रोहीलाई हतियार र डलर सहयोग गरेको छ । इराक र लिवियाजस्ता सार्वभौम देशमाथि आक्रमण गरी ध्वस्त बनाइयो । प्रजग कोरिया र क्युवामाथि नाकाबन्दी गर्दै आइरहेको छ ।”
उहाँले भन्नुभयो, “१ मई १८८६ बाट दिनको ८ घण्टा काम र ज्याला बढाउने माग राखी संरा अमेरिकाका मजदुरहरू हडतालमा उत्रे । उक्त आन्दोलन दबाउने कार्य अमेरिकी सरकारले गर्यो । कैयाँै मजदुरको ज्यान गयो । धेरै घाइते भए । तर, मजदुरहरू चुप लागेनन्, उनीहरू आफ्नो माग पूरा गराउन सफल भए ।”
कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सचिव राजवीर डंगोलले उत्पादनका मुख्यमुख्य साधन र सेवा सामाजिकीकरण, शिक्षा र स्वास्थ्य निःशुल्क, नेपालीको सम्पत्तिको सीमा निर्धारण र विदेशमा सम्पत्ति राख्न नपाउने, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको लागि सङ्घर्ष गर्र्दै आएको छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ काठमाडाँै जिल्ला समितिका अध्यक्ष धर्मसेन महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा रवीन्द्र डंगोल, जितेन्द्र डंगोललगायतले नेपालमा बेरोजगारी समस्या बढेको र मजदुरवर्गले उचित ज्याला नपाएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *