भर्खरै :

आफ्नै खुट्टामा बञ्चरो हान्दै दक्षिण कोरिया

आफ्नै खुट्टामा बञ्चरो हान्दै दक्षिण कोरिया

कोरियाली गणतन्त्र (दक्षिण कोरिया) का राष्ट्रपति यून सुक–योलले आफ्नो देशको हितअनुकूलको विदेश नीति अभ्यास गरिरहेका छैनन् । अप्रिल महिनाको मध्यतिर रोयटर्स समाचार संस्थालाई उनले प्रजग कोरिया (उत्तर कोरिया) का आणविक कार्यक्रम तथा कोरिया प्रायःद्वीपमा नसुल्झिएको द्वन्द्वको सन्दर्भ जोड्दै ताइवानको प्रश्नलाई प्रजग कोरियाजस्तै ‘संसारको मामिला’ भएको बताएका थिए । चीनले उनको सो अभिव्यक्तिप्रति आपत्ति जनाएको थियो । चिनियाँ सहायक विदेशमन्त्री सुन वेइतोङले एक चीन नीति नस्वीकारेको भन्दै दक्षिण कोरियाली राष्ट्रपतिको आलोचना गरेका थिए ।
यति कुराले कसैलाई चीनको आन्तरिक मामिलामा खेल्ने यूनको कुनै मनसाय नभएको लाग्न सक्छ । तर, यो अनुमानलाई उनले गत साता वाशिङ्टन भ्रमणको क्रममा संरा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग जारी गरेको संयुक्त वक्तव्यमा असत्य सावित गरेका छन् । संरा अमेरिकासँग दक्षिण कोरियाको कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा यून वाशिङ्टन पुगेका थिए । बाइडेन–यून संयुक्त वक्तव्यमा ‘हिन्द–प्रशान्तमा यथास्थितिमा फेरबदल ल्याउने एकपक्षीय प्रयत्न’ प्रति खेद जनाइएको छ । वक्तव्यमा ‘ताइवान जलडमरुको शान्ति र स्थायित्वको रक्षा गर्नु महत्वपूर्ण भएको’ उल्लेख हुनु प्रस्टतः चीनको विरोध थियो ।
जवाफमा चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला निर्देशक ल्यु चिनसोङले दक्षिण कोरियाका वरिष्ठ कूटनीतिज्ञलाई भेटेर एक चीन नीतिप्रति दक्षिण कोरियाले सम्मान गर्नुको महत्वबारे प्रकाश पारेका थिए । त्यस्तै, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले दक्षिण कोरियाले संरा अमेरिकासँग गरेको समझदारीको भत्र्सना गरेका थिए । दुई देशबिच भएको समझदारीमा दक्षिण कोरियाली बन्दरगाहमा अमेरिकी आणविक हतियार भएको पन्डुबी राख्न अनुमति दिइएको छ । त्यसो सहमतिले ‘क्षेत्रीय सुरक्षालाई बेवास्ता गर्नु’ का साथै ‘तनाव सिर्जना गर्ने’ चिनियाँ प्रवक्ताको भनाइ थियो ।
संरा अमेरिकी संसदमा यूनले दिएको भाषणमा उनले कोरिया युद्ध, विशेषतः चिनियाँ सेनाले संरा अमेरिकी जलसेनाविरुद्ध लडेको चाङचिन तालको लडाइँको प्रसङ्ग उठाएका थिए । यूनको यो कार्यलाई पनि चीनमाथिको घातका रूपमा व्याख्या गरिएको छ । प्रस्टतः यूनको वाशिङ्टन भ्रमणको मूल प्रयोजन संरा अमेरिकालाई खुसी बनाउन क्षेत्रीय समस्या उछाल्नु देखिन्छ । यसले दक्षिण कोरियालाई वाशिङ्टनको ‘साझेदार भाइ’ जस्तो देखाएको छ । चीन र संरा अमेरिकाबिच तनाव बढिरहेको अवस्थामा असंलग्न रहनुमा दक्षिण कोरियाको हित निहीत छ । तर, राष्ट्रपति यूनको यस्तो गतिविधि भने दुःखदायक छ ।
संरा अमेरिकाको एकधु्रवीय प्रभुत्ववाद ओरालो झरिरहेको छ । यस्तो अवस्थामा उसले अवश्यम्भावी ऐतिहासिक प्रक्रियालाई स्वीकार्नु र उदीयमान बहुधु्रवीय विश्व व्यवस्थामा शान्तिपूर्ण भूमिका कसरी निभाउन सकिन्छ भन्ने कुराको खोज गर्नुको सट्टा अमेरिकी नीति निर्माताहरू संसारमा अस्थिरता फैलाउन उद्यत्त छन् । उनीहरू आफ्नै कारणले मच्चिएको उत्पातबाट फाइदा उठाउने तीव्र आशा पालेर बसेका छन् । विश्व मामिलामा आफ्नो हात सधैँ माथि नै रहोस् भन्ने चाहना पालेर संरा अमेरिकाले यस्तो काम गर्ने गर्छ । त्यही सोचका साथ संरा अमेरिका युक्रेनमा रुससँग छाया युद्ध लडिरहेको छ । सँगै चीनलाई पनि ‘घेर्ने’ प्रयास गरिरहेको छ ।
युरेपियाली रणनीतिका दुवै खम्बा (रुस र युक्रेन) यतिबेला दक्षिण कोरियाको लागि आवश्यक छन् । युक्रेनमा हातहतियार सहायता गर्न संरा अमेरिकाले गरेको आग्रह दक्षिण कोरियाले मानेको थिएन । यदि दक्षिण कोरियाले युक्रेनमा हातहतियार पठाए प्रजग कोरियालाई अत्याधुनिक हातहतियारले सुसज्जित बनाउने रुसका पूर्वराष्ट्रपति तथा सुरक्षा परिषद्का हालका उपाध्यक्ष दिमित्री मेदभेदेभले चेतावनी दिएको कारणले पनि दक्षिण कोरिया संरा अमेरिकाको त्यो मागप्रति हच्केको हुनुपर्छ ।
तर, यूनले गएको एकै सातामा चीनविरुद्ध चर्कै विषवमन गर्न भ्याए । उनले चीनको आन्तरिक मामिलालाई ‘विश्व मामिला’ भनी झूटो व्याख्या गरे । उनले प्रस्टतः चीनविरुद्ध लक्षित भाषा प्रयुक्त संयुक्त वक्तव्यमा हस्ताक्षर गरे । आफ्नो देशका बन्दरगाहमा अमेरिकी आणविक हातहतियारले सुसज्जित पण्डुबी राख्न सहमति दिए । अनि उनलाई सत्कार गरेको देशको शक्ति केन्द्र (अमेरिकी संसद्) मा कोरिया युद्धको प्रसङ्ग उठाएर चीनविरुद्धको भावनालाई अझ आगोमा घ्यु थप्ने काम गरे ।
यी घटनाक्रमले यूनको विदेश नीतिमा भएका अस्पष्टता मेटिएको छ । दक्षिण कोरियाका वस्तुगत राष्ट्रिय हित गुमाउने मूल्यमा अब ऊ संरा अमेरिकाको शून्य योगफल खेलको पछाडि लागेको छ । दक्षिण कोरिया आफ्नो प्रमुख व्यापार साझेदार देश चीनसँग क्षेत्रीय समस्या उछाल्नतिर लाग्दै छ । झर्दो एकधुव्रीय प्रभुत्ववादको पछाडि लागेर यूनले वाशिङ्टनको चीनविरोधी योजनाको साक्षी बस्ने खतरनाक खेल खेल्नतिर लागेको छ ।
निकट भविष्यमा दक्षिण कोरियाले अउकस (संरा अमेरिका, अस्टे«लिया र बेलायत सम्मिलित गठबन्धन) मा सम्बन्ध स्थापना गर्ने सम्भावना प्रबल छ । सो सैनिक गठबन्धनलाई चीनलाई अघि बढ्न रोक्न बनाइएको नाटोकै संरचना र शैलीको गठबन्धनको भ्रुण मानिएको छ । आणविक प्रविधि साझेदारीमा सहभागी नभए पनि तीन देशको यो गठबन्धनमा अरू पनि देश सामेल हुनसक्ने पूर्वानुमानहरू हुन थालिसकेको छ । गत साता यूनले फैलाएको चीनविरोधी विषवमनलाई यही पृष्ठभूमिको पूर्वतयारी हुनसक्ने अनुमान गरिएको छ ।
यदि यो अनुमान नै सत्य भए राष्ट्रपति यूनले युक्रेनमा हातहतियार पठाउने विषयमा कम्तीमा छोटो समयकै लागि भए पनि विचार गरेजस्तै यसमा पनि गम्भीर विचार गर्नु उपयुक्त हुनेछ । यूनका गैरजिम्मेवारी अभिव्यक्ति र संरा अमेरिकी पण्डुबी राख्न दिने सहमतिले अहिले नै दक्षिण कोरियाको राष्ट्रिय हितमा निकै खती पु¥याइसकेको छ । तथापि, उनीहरूले चाहे अझै पनि चीनसँगको सम्बन्ध सुधार्नै नसकिने गरी बिग्रिसकेको भने छैन ।
(लेखक मस्कोमा बस्ने अमेरिकी राजनीतिक विश्लेषक हुन् ।)
स्रोतः सीजीटीएन
अनुवाद : नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *