भर्खरै :

दैलेखको गुराँस गाउँपालिकामा प्रशिक्षण

दैलेखको गुराँस गाउँपालिकामा प्रशिक्षण

दैलेख, २० वैशाख । सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्सको २०५ औँ तथा १३४ औँ श्रमिक दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी गुराँस गाउँ समितिले मङ्गलबार प्रशिक्षण कार्यक्रम सम्पन्न ग¥यो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले कार्ल माक्र्सको सिद्धान्तलाई अनुशरण गरेर रुस, चीन, कोरिया, भियतनाम, क्युवालगायतका देशमा क्रान्ति सम्पन्न भएको भन्दै उत्पादनका साधनहरू सामाजिकीकरण नगरी समाजवाद स्थापना नहुने भनाइ राख्नुभयो ।
उहाँले नेपालका कम्युनिस्ट नामका पार्टीहरूले राज्यको स्वामित्वमा रहेका उद्योग तथा कलकारखानाको निजीकरण गरेको भन्दै शिक्षा र स्वास्थ्यको बन्दोबस्तको जिम्मेवारी नलिने कम्युनिस्ट हुनैसक्दैन भन्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले मे दिवस कम्युुनिस्टहरूले सबभन्दा पहिले मनाउन थालेको उल्लेख गर्दै संयुक्त राष्ट्र सङ्घले मे दिवस मनाउन थालेदेखि विश्वभर मजदुर दिवस मनाए तापनि श्रमिक दिवसको मूल मर्मको प्रचार कम भएको भनाइ राख्नुभयो ।
नेमकिपाका पूर्वकेन्द्रीय सदस्य उदयजङ शाहीले उद्योगधन्दा राम्ररी विकास नभएको कारण मजदुर आन्दोलन अगाडि बढ्न नसकेको भन्दै किसानहरूको बलियो सङ्गठन गर्नुपर्ने विचार राख्नुभयो । उहाँले करिब डेढसय वर्षअगाडि मजदुरले खानसमेत पाएन भनेर आन्दोलन गरेको इतिहास स्मरण गर्दैगर्दा १८–२० घण्टा काम गरेर पनि नेपाली किसानले खानसमेत नपाएको भनाइ राख्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले मजदुर आन्दोलनले मजदुरको शक्ति कति हुन्छ भन्ने देखाएको भन्दै आन्दोलन तथा सङ्घर्षले ठुल्ठुलो परिवर्तन ल्याउने तर्क गर्नुभयो ।
नेमकिपा, गुराँस गाउँ समितिका अध्यक्ष हस्तबहादुर घलेगुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा आयोजक समितिका उपाध्यक्ष सीता शाही र सचिव रेशमबहादुर शाहीले पनि मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *