कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, २० वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग प्रदेश लोक सेवा आयोग, बाग्मती प्रदेशका अध्यक्ष सुरेशमान श्रेष्ठसहितको अनुगमन टोलीले बुधबार नगरपालिका सभाकक्षमा भेट गर्यो । भेटमा उहाँहरूबिच स्थानीय तहको स्वीकृत दरबन्दीमा रिक्त रहेका विभिन्न सेवा, समूह, उपसमूहका पदहरूको पदपूर्ति तथा विविध विषयमा छलफल भयो ।
नगर प्रमुख प्रजापतिले सङ्घ, प्रदेश र स्थानीय तह आफैमा स्वायत्त र स्वतन्त्र संस्था भएको हुँदा स्थानीय तहलाई अधिकार सम्पन्न बनाई कर्मचारी भर्नाको अधिकार दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले प्रदेश लोक सेवाबाट नियुक्त कर्मचारीहरू र सरुवा भई आएका कर्मचारीहरूको अवकाशपछिको निवृत्तिभरण वा उपदानलगायत अन्य सुविधा कसले व्यहोर्ने स्पष्ट हुनुपर्ने बताउँदै स्थानीय तहमा कर्मचारी प्रदेश लोक सेवाले पठाउने व्यवस्था स्थानीय स्वायत्त शासन ऐन, २०५५ भन्दा प्रतिगामी रहेको र स्थानीय तहमाथि प्रदेशको हस्तक्षेपको रूपमा रहेको स्पष्ट पार्नुभयो ।
स्थानीय सरकार भन्ने तर कर्मचारी जति प्रदेश लोक सेवा आयोगले पठाउने व्यवस्थाले स्थानीय जनताको भावनाअनुसार काम हुन नसक्ने बताउँदै उहाँले स्वायत्तताको पूर्ण कार्यान्वयनको लागि कर्मचारी भर्नाको सम्पूर्ण अधिकार स्थानीय तहलाई नै दिनुपर्छ भन्नुभयो ।
शिक्षकलाई तलब खुवाउने काम स्थानीय तहबाट हुँदै आए पनि त्यसको नियन्त्रण जिल्ला शिक्षा समन्वय एकाइमार्फत सङ्घ सरकारले नियन्त्रण गर्न खोज्नु सिद्धान्ततः गलत भएको बताउँदै उहाँले शिक्षकलाई तलब खुवाउने र सरुवा, बढुवा गर्ने समेतको सम्पूर्ण अधिकार स्थानीय तहको हुनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख प्रजापतिले स्थानीय तहलाई सङ्घ र प्रदेशको मातहतका ‘एकाइ’ जस्तो व्यवहार गर्नु सङ्घीयताको मर्मविपरीत रहेको बताउनुभयो ।
भेटमा प्रदेश लोक सेवा आयोग, बाग्मती प्रदेशका अध्यक्ष सुरेशमान श्रेष्ठले स्थानीय तहमा रिक्त दरबन्दीको विवरण पठाउन प्रदेश लोकसेवा आयोगबाट पटकपटक ताकेता भए पनि केही स्थानीय तहहरूबाट हालसम्म उक्त विवरण उपलब्ध नगराएको बताउनुभयो ।
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रदेश लोक सेवा आयोगका सदस्य शर्मिला न्यौपाने, टेकेन्द्र अधिकारी र राजुराज अर्याल, भक्तपुर नपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामगोविन्द श्रेष्ठ र प्रशासकीय अधिकृत दामोदर सुवालको उपस्थिति थियो ।
Leave a Reply